जेन-जी जगाउने भ्रष्टाचार काण्ड : जेन-जी, जसले जन्मँदै देशमा कैयौं भ्रष्टाचार सुन्यो, देख्यो र भोग्यो

जेन–जी त्यो पुस्ता हो, जो सन् १९९७ (वि.सं. २०५३) यता जन्मेको हो । यो पुस्ताले जन्मेकै दिनदेखि देशमा भ्रष्टाचार सुनेको छ, देखेको छ र भोगेको पनि छ । भ्रष्टाचारका काण्डहरूले देशमा निराशा फैलाए र जेन–जीलाई जगाए, ‘कान्तिपुर’ ले यसपटक ‘कोसेली’ मा तिनै कथा स्मरण गरेको छ :

आश्विन २५, २०८२

मातृका दाहाल, जयसिंह महरा, दुर्गा दुलाल

The Corruption Scandal That Awakens Jin-ji : Jin-ji, who has heard, seen and experienced many corruptions in the country he was born into.

What you should know

काठमाडौँ — चरम भ्रष्टाचार र बेथितिविरुद्ध गम्भीर खबरदारी गरे– ‘जेन–जी’ ले । भ्रष्टाचारविरोधी शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका तिनीहरूमाथि बर्बर दमन गर्‍यो, एमाले–कांग्रेस गठबन्धन सरकारले ।

त्यसपछि संसद् विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम मन्त्रिपरिषद् चुनावी तयारीमै जुटिसकेको छ । र, यो अन्तरिम सरकारमाथि चुनौतीका चाङ छन्– विगतमा सार्वजनिक पद र सत्ता दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्नेहरूमाथि छानबिन गरी तिनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने दबाब छँदै छ ।

७४ जनाको ज्यान गएको जेन–जी विद्रोहले केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ मात्रै भएन, अर्बौं खर्चेर बनेको जननिर्वाचित थलो प्रतिनिधिसभा पनि भंग भई २१ फागुनमा मध्यावधि चुनाव घोषणा भइसकेको छ । तर, जेन–जी विद्रोहको जगमा भएको परिवर्तनले तब सार्थकता पाउनेछ, जब देशमा सुशासन बहाली हुनेछ । र, भ्रष्टाचारविरुद्ध जेन–जीको बलिदानीको सम्मान खातिर सरकारले राज्य–दोहनमा संलग्नमाथि ‘बिना मोलाहिजा’ अनुसन्धान अनि कारबाही गर्नुपर्छ भन्ने माग पनि उठिरहेकै छ । वि.सं. २०४६ पछिका साढे ३ दशक सत्ता–शक्तिमा रजगज गर्दै आएका राजनीतिक दलका नेता–कार्यकर्ता, सार्वजनिक पद ओहोदाधारी र कर्मचारी अहिले आलोचनाको केन्द्रमा छन् ।

नेता र तिनका पारिवारिक सदस्यको रवाफिलो जीवनशैली, अदृश्य र अपारदर्शी सम्पत्ति आर्जन, कर्मचारी–सुरक्षाकर्मी सरुवा–बढुवामा मोलमोलाइ, चुस्त सार्वजनिक सेवा प्रवाहमाथि बेवास्ता, ठेक्कापट्टामा मिलेमतो जस्ता विकृत–कृत्यले पछिल्लो दशक सबैभन्दा बढी कोही आलोचनाको असली केन्द्रमा छन् भने ती नेता नै हुन् । ‘सत्तामा छँदा पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको’ भन्दै निष्पक्ष जाँचबुझ हुनुपर्ने माग जनताको थियो । तर, आफूमाथि उठेका प्रश्नहरूबाट नेताहरू पन्छिएनन् मात्रै, न्यायिक परीक्षण हुन नदिन सत्ता–शक्तिको दुरुपयोग पनि गरिरहे । जेन–जी विद्रोहमा सबैभन्दा बढी पेचिलो उठाइएको विषय पनि यही हो ।

भ्रष्टाचार होस् वा तस्करी– प्रमुख दलका शीर्ष नेताहरू जोडिएका/मुछिएका छन्, कुनै न कुनै काण्डमा । तर, ‘काण्डहरू’ माथि निष्पक्ष छानबिन–अनुसन्धान कहिल्यै भएन र भएका/गरिएका अनुसन्धान पनि दबाब र प्रभावमा सधैं प्रभावित पारिए । तर, ती काण्डहरूले शीर्ष नेताहरूलाई सधैं अल्झाइरहन्छ र तिनका कृत्य सम्झाइरहन्छ । जस्तो लडाकु घोटाला प्रकरणले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सधैं सताइरहन्छ, तर उनी अनुसन्धानमा तानिएकै छैनन् । वाइडबडी विमान खरिद काण्डमा त दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा, तीनै जना नेता विवादको घेरामा छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि उपकरण खरिदमा कांग्रेस–एमाले र माओवादी तीनै सरकारका पालामा रचिएको काण्डलाई सामसुम पार्न प्रयास गरियो । अख्तियारबाट अनुसन्धान भएर मुद्दा लैजाँदा पनि एक मन्त्री र कर्मचारी तहमाथि मात्रै मुद्दा दायर भयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र एमालेका शीर्ष नेताहरू नै दागी बने, तर ती अनुसन्धान बाहिरै रहे । दोस्रो तहका नेता–कर्मचारीमाथि अनुसन्धान भए पनि लामो समयदेखि जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

गिरिबन्धु टी–इस्टेट मामिलामा ओलीमाथि नै अनुसन्धान हुनुपर्ने माग उठेको लामै समय भयो । ललिता निवास काण्ड, पतञ्जलि जग्गा काण्ड, यती/ओम्नी, बाल मन्दिर जग्गा हिनामिना, बाँसबारी जग्गा प्रकरण, सहकारी ठगी, भिजिट भिसामा मानव तस्करी, टीकापुर जग्गा प्रकरण, नेपाल स्काउट जग्गा जस्ता ठूला घोटाला र अनियमिततामा पनि नेताहरू नै छन्– प्रश्नको घेरामा । यी यावत् प्रकरण सञ्चारमाध्यमबाटै सतहमा आयो र बेथितिविरुद्ध जनताको आक्रोश बढ्दै गयो । तर, सत्तामा रहनेहरूले प्रकरण र आक्रोशमाथि बेवास्ता गरिरहे । पछिल्लो पटकको संसद् विघटन र अन्तरिम सरकार गठनपछि भने यी काण्डहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग बढिरहेको छ ।

जेन–जी आन्दोलनको एजेन्डा थियो— भ्रष्टाचार नियन्त्रण, सुशासन बहाली र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने । तर, प्रदर्शनकारीको प्रदर्शनपछि नेताहरूको जलेका घरको खण्डहरमा नेपाली–विदेशी मुद्राको भिडियो र तस्बिर देखेपछि जनताको माग छ— यो पैसा भ्रष्टाचारबाटै आर्जन भएकाले उनीहरूमाथि सूक्ष्म अनुसन्धान हुनुपर्छ । त्यसपछि तीनै जना शीर्ष नेता (ओली, दाहाल र देउवा) का निवास पुगेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घटना मुचुल्का कागज खडा गरेको छ ।

जेन–जी आन्दोलनअघि पनि नेताहरूको नियमित आम्दानी–स्रोत, रवाफ, जीवनशैली र आवासगृहमाथि प्रश्न नउठेको होइन, तर निष्पक्ष अनुसन्धान कहिल्यै भएन । अनुसन्धानपछि अदालत पुगेका मुद्दाहरू पनि कमजोर बनाएर आफूअनुकूल फैसला दिलाउन सत्ता–शक्तिमा हुनेहरूले निरन्तर ‘हतकण्डा’ अपनाइरहे । यस्ता कृत्यहरूकै नतिजा हो— जेन–जी आन्दोलन । राज्यको यस्ता कृत्यहरूले नागरिकमा राज्यमाथिको भरोसा मात्रै टुटेन, नेताप्रतिको आक्रोशको ग्राफ पनि जेन–जीसम्मै फैलियो ।

के भन्छन् विज्ञ ?

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीको विचार छ– गलत व्यक्ति भर्ती गरी अख्तियारलाई नेता चोख्याउने ठाउँमा परिणत गरियो । ‘अख्तियारमा नियुक्ति प्रक्रिया नै परिवर्तन गर्नुपर्छ । योग्य व्यक्तिलाई लैजानुपर्छ,’ उनी भन्छन् ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल पनि देशमा भ्रष्टाचारीलाई कारबाही गर्ने होइन, चोख्याउने काम चलिरहेको दाबी गर्छन् । ‘अख्तियारले राजनीतिकर्मीलाई कारबाही नगर्न मिहिनेत गरेको छ । भ्रष्टाचार भइसकेपछि गरिने कारबाहीको मूल्यांकन गर्नुको अर्थ हुँदैन,’ उनी भन्छन् ।

भ्रष्टाचारका ठूला मुद्दामा अनुसन्धान गर्नेभन्दा पनि नगर्ने क्रम बढेको बताउँछन्, अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय । ‘अख्तियारमा नियुक्ति पाउने व्यक्तिबारे प्रश्न उठेको छ र उनीहरूकै कारण अख्तियार कमजोर भएको छ,’ उनी भन्छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्वअध्यक्ष भरत थापा नीतिगत भ्रष्टाचार बढेको बताउँछन् । पूर्वगृह सचिव खेमराज रेग्मी समय–समयमा भ्रष्टाचारका केही ठूला मुद्दामा अनुसन्धान पनि भएको, तर त्यो पर्याप्त नभएको बताउँछन् ।

०००

१. लाउडा जहाज भ्रष्टाचार

२. वाइडबडी जहाज खरिद

३. सुडान घोटाला

४. लडाकु शिविर अनियमितता

५. कर फर्छ्योट आयोग

६. ललिता निवास जग्गा

७. पतञ्जलि जग्गा प्रकरण

८. गिरीबन्धु टि–इस्टेट

९. टीकापुर जग्गा

१०. लिची बगान जग्गा

११. बालमन्दिर र बाासबारी जग्गा

१२. नक्कली भुटानी शरणार्थी

१३. भिजिट भिसा प्रकरण

१४. ओम्नी औषधि खरिद

१५. नेपाल ट्रस्टको जग्गा प्रकरण

१६. ३३ किलो सुन तस्करी

१७. ६० किलो सुन तस्करी

१८. सहकारी ठगी

१९. सेक्युरिटी प्रेस खरिद (७० करोड)

२०. टेरामक्स

२१. अन्तःशुल्क स्टिकर

२२. मेलम्ची आयोजना

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully