नेपाली राजनीतिक परिवर्तनको जीवित साक्षी, करिब सय वर्ष पुरानो कोइराला निवासलाई आगोको लप्काले निल्यो । चाक्सीबारीमा थियो गणेशमान सिंह चढेको बा१च ४४०१ नम्बरको ‘डेमोक्रेसी’ जिप, कांग्रेसका नेताहरूका लागि तीर्थजस्तै रहेको त्यो जिप पनि जोगिएन । सन्त नेता कृष्णप्रसाद भट्टराईले बोकेका छाता, सुराही र ट्यांका खरानीमा परिणत भए ।
विराटनगर, काठमाडौं — २४ भदौ दिउँसो, घडीले ३ बज्नै लागेको हुन्छ । कोशी अस्पताल अघिल्तिरको गल्लीबाट अराजक भीड पश्चिमतर्फ सोझिन्छ । केही पाइलामै हरियो रङले पोतिएको पुरानो फलामे गेट भत्काएर अराजक हूल भित्र छिर्छ । अनि सुरु गर्छ ताण्डव । पहिला तोडफोड, लुटपाट पछि आगो झोसेर टोली बाहिरिँदै जान्छन् । करिब सय वर्षभन्दा पुरानो राजनीतिक इतिहास बोकेको कोइराला निवासलाई आगोको लप्काले निल्दै जान्छ ।
भीषण आगोको ज्वालाले क्षणभरमै खरानीमा परिणत हुन्छ, नेपाली राजनीतिक परिवर्तनको जीवित साक्षी कोइराला निवास । जेन–जी आन्दोलनको उन्मादले विराटनगरको मुटु हल्लिरहेको थियो, नेताहरूविरुद्धको नाराको गर्जन सहरभर गडगडाएको थियो ।
त्यही उथलपुथलको घडीमा २००७ साल अघिदेखि गणतन्त्रको घोषणासम्म निरन्तर राजनीतिक बिगुल फुक्दै आएको ऐतिहासिक घर आगोको लप्कामा विलिन भयो । अब इतिहासका पानामा मात्रै सीमित रहनेछ ।
‘शताब्दी घर’ को जग
विसं १९८६ (सन् १९२९) तिर नेपालमा जहानियाँ राणा शासन उत्कर्षमा थियो । छिमेकमा इष्ट–इन्डिया कम्पनीको सत्ता त्यत्तिकै सबल । त्यही कठोर समयको बीचमा विराटनगरको एउटा कुनामा देख्दा सामान्य तर अर्थपूर्ण घर उभियो ।
कपडाको साधारण व्यापार गर्ने कृष्णप्रसाद कोइरालाले आफ्नै मिहिनेत र पसिनाको कमाइले सिर्जिएको त्यो घर एक दिन नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण साक्षी बन्नेछ भन्ने अनुमान कसैले गरेका थिएनन् । खासमा मूल्यवान काठले बनेको त्यो घर मात्रै थिएन, नेपाली लोकतन्त्रको जन्मगृह थियो ।
कृष्णप्रसाद कोइराला पेसाले व्यापारी थिए भने समाज सुधारकको भूमिकामा पनि अग्रणी । उनका तीन छोराहरू विभिन्न समयमा नेपालका प्रधानमन्त्री बने– मातृकाप्रसाद कोइराला (२००८), विश्वेश्वरप्रसाद कोइराला (२०१६ जेठ) र गिरिजाप्रसाद कोइराला (२०४८ जेठ) । एकै परिवारबाट तीन प्रधानमन्त्रीको उदय हुनु इतिहासमै अनुपम र दुर्लभ उदाहरण हो ।
सिन्धुलीको दुम्जा गाउँमा जन्मेका कृष्णप्रसाद पछि विराटनगर बसाइँ सरे । उनले देशभरका विभिन्न भन्सार ठेक्का लिएर ठूलो सम्पत्ति कमाए । व्यापारका क्रममा कोलकातासम्मको आवतजावत बढ्दा उनी राजनीतिक क्रियाकलापमा सक्रिय भए । विराटनगरमा विद्यालय स्थापनासँगै महिला समितिमार्फत महिलामाझ चेतना फैलाउने, छोरीहरूको शिक्षा प्रोत्साहन गर्नेजस्ता समाज सुधारका कार्यहरूमा नेतृत्व गरे ।
पछि मातृका, बीपी, गिरिजाहरूकै नेतृत्वमा नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिको बिगुल फुक्यो । जसले प्रजातन्त्रको उज्यालो ल्यायो र पटक–पटक अधिनायकवादको प्रतिरोध गर्यो । २००७ साल, ३० वर्षे पञ्चायती कालरात्रि, २०४६ को जनआन्दोलनदेखि २०६२/२०६३ को दोस्रो जनआन्दोलनसम्मै यो घर राजनीतिक केन्द्र बन्यो । धेरै विद्रोही आन्दोलन देखेको/भोगेको यो विद्रोही घर जेन–जी विद्रोहको आवेगमा खरानी भयो ।
राणाविरोधी आन्दोलनको उद्गम
सन् १९४७ मा भारतमा बेलायती शासकविरुद्ध ‘भारत छोडो’ आन्दोलन सफलताको बाटोमा थियो । त्यही बेला विराटनगरमा पनि भारतीय आन्दोलनको प्रत्यक्ष प्रभाव महसुस हुन थाल्यो र त्यसैको रापतापमा राणा शासनविरुद्ध सबै एकढिक्का हुँदै गए ।
राणाविरोधी गतिविधि तीव्र बन्दै गएपछि जुट मिल हडतालको आह्वान गरियो । जुट मिल नेपालकै पहिलो उद्योग हो । यो विसं १९९३ मा स्थापना भएको थियो । यही घरको बैठक कोठामा बसेर आन्दोलनको ‘डिजाइन’ तयार पारिएको थियो । कृष्णप्रसादको कोठामा बसेर बीपीले श्रमिक नेताहरूसँग रणनीति तय गर्दै भनेका थिए, ‘अब यसलाई निर्णायक आन्दोलन बनाउनुपर्छ ।’
यहीँबाट पहिलो पटक आम हडताल र जनआन्दोलनको विचार प्रक्षेपण भयो र क्रमशः भुसको आगोझैं देशभर आन्दोलन सल्किँदै गयो ।
खासमा व्यापारी भए पनि कृष्णप्रसादको राजनीतिक चेत निकै उच्च थियो । स्वभावले उनी साहसी र आँटिला थिए । त्यसैले होला, एक पटक तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई किसान र मजदुरको दुःख देखाउन कृष्णप्रसादले फाटेका लुगा दरबारमा पठाएका थिए । त्यही कारण राणा प्रधानमन्त्री चन्द्रशमशेरले सर्वस्वहरण गरेपछि कृष्णप्रसाद सन्तानसहित भारत निर्वासित भए ।
विराटनगर महानगर १२ का ८३ वर्षीया जगत अर्याल सम्झिन्छन्, ‘कृष्णप्रसाद भन्थे, दरबारलाई जनताको पीडा देखाउनै पर्छ, तब मात्र परिवर्तन सम्भव हुन्छ ।’
पञ्चायत प्रतिरोधको गढ
विसं २०१७ पुस १ गते, तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी पञ्चायती शासनको आरम्भ गरे । बीपीले तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी जीवन बिताए ।
उनी जेलमा रहँदा पनि कोइराला निवास फेरि पञ्चायतविरुद्धको प्रतिरोधको गढ बनेको थियो । घरको आँगनमा कान्छा भाइ गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसका नेताहरू रणनीति तय गर्थे, गोप्य छलफल हुन्थे र आन्दोलनको तयारीमा जुट्थे । जेलबाट छुटेपछि बीपी आफैं आन्दोलनको अग्रपंक्तिमा देखिन थाले ।
आधुनिक नेपाली लोकतन्त्रका ‘जननेता’ बीपी कोइराला यही घरमा बस्दै सात सालको क्रान्तिमा सहभागी भए । २०१५ सालको पहिलो आमनिर्वाचनमा बीपी यहीँबाट उम्मेदवार बनेर विजयी भए र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । २०३७ सालको जनमत संग्रहमा बहुदल पक्षको प्रचारप्रसारको सचिवालय पनि यही घर थियो ।
२०४२ को सत्याग्रह, पञ्चायतकालीन दमनको प्रतिरोध, २०४६ को जनआन्दोलन र दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि कोइराला निवास नै विराटनगरको राजनीतिक केन्द्र बनिरह्यो ।कोइराला निवास निरन्तर बैठक, गोप्य योजना र राजनीतिक छलफलको अड्डा पनि थियो ।
यो घर नेपाली लोकतन्त्रको अनेकौं निर्णायक क्षणको साक्षी बनेको थियो । कहिले पञ्चायतको अधिनायकवादसँगको संघर्ष, कहिले प्रजातन्त्रको उज्यालो फैलाउने तयारी । प्रत्येक बैठक, प्रत्येक रणनीतिले यही घरको आँगनमा आकार लिन्थ्यो । अनि राष्ट्रको राजनीतिक दिशालाई निर्देश गर्थ्यो ।
नेपाल–भारतको साझा थलो
कोइराला निवास नेपाली नेताका लागि मात्र होइन, भारतीय लोकतन्त्रका महत्त्वपूर्ण पात्रका लागि पनि आश्रयस्थल बनेको थियो । भारतका पूर्वप्रधानमन्त्री र समाजवादी नेता चन्द्रशेखर अक्सर कोइराला निवासमा आउजाउ गर्थे । कोइराला परिवारकी सदस्य पाना उराँउ सम्झिन्छिन्, ‘एक पटक भारतीय नेता चन्द्रशेखर आउनुभएको थियो । उहाँ गिरिजाबाबुको खटियामा सुत्नुभएको थियो । उहाँले आफूलाई कोइराला निवास घरजस्तो महसुस भएको बताउनुभएको थियो ।’
नेपाली राजनीतिका बीपी साहित्यका विश्वेश्वर थिए । भारतीय नेताहरू त आउने नै भए, साहित्यकार पनि आइरहन्थे । त्यसैमध्ये पर्थे, चर्चित साहित्यकार फणीश्वरनाथ रेणु । उनी बीपीसँग साहित्यका कुरा गर्न रेल चढेर विराटनगर ओर्लिन्थे । केही समय कोइराला निवासको राजनीतिक र साहित्यिक धड्कन सुनेर फर्किन्थे । उनी भन्ने गर्थे, ‘यो घर राजनीतिक केन्द्र मात्र होइन, दक्षिण एसियाली राजनीतिक मित्रताको अनुपम नमुना पनि हो ।’
लेखक चन्द्रमणि गौतमका अनुसार २००३ सालको मजदुर आन्दोलनदेखि २००७ सालको ऐतिहासिक जनक्रान्तिसम्म रेणु विराटनगरमा बस्दै बौद्धिक र भौतिक दुवै तरिकाले सक्रिय रहे । उनी लेखक मात्रै थिएनन्, स्वतन्त्रता नेपालको प्रजातन्त्र प्राप्तिका सेनानी पनि थिए । ‘आन्दोलनको उग्र क्षणमा उनी गोली लागेर घाइतेसमेत भए तर स्वतन्त्रता र सामाजिक न्यायका लागि उनको साहस अडिग रह्यो,’ गौतमले लेखेका छन् । कोइराला निवासबारे जानकार विराटनगरका अग्रज पत्रकार अनन्तराज न्यौपाने भन्छन्, ‘कसैले कल्पना पनि गर्न सक्दैन, एउटा साधारण व्यापारीको घर यति धेरै ऐतिहासिक–राजनीतिक घटना र अन्तर्राष्ट्रिय भेटघाटको साक्षी बनेको कुरा ।’
गिरिजाप्रसाद–गणेशमानको ऐतिहासिक रात
२०५१ सालको एउटा राजनीतिक घटनाले यो घरको ऐतिहासिकतालाई थप उजागर गर्छ । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद्मा प्रस्तुत आफ्नै नीति तथा कार्यक्रम अस्वीकार भएपछि संसद् विघटनको घोषणा गरे ।
यसको जड भने केही वर्षअघिको पार्टीभित्रको आन्तरिक कलह थियो । २०४८ सालमा कोइराला प्रधानमन्त्री बनेपछि उनी र सर्वोच्च कमान्डर गणेशमान सिंहबीच मतभेद तीव्र हुँदै गएको थियो । विवादको सुरुवात राष्ट्रिय योजना आयोगको उपाध्यक्ष कसलाई बनाउने ? भन्ने विषयबाट भएको थियो । कोइरालाले रामशरण महतलाई उपाध्यक्ष नियुक्त गरे तर गणेशमान त्यो नियुक्तिको खिलाफ उत्रिए ।
उनले चुनावमा पराजित व्यक्ति नियुक्त गर्नु उपयुक्त नहुने तर्क मात्रै राखेनन्, पदीय भागबन्डामा सधैं ‘बाहुन–क्षत्री’ लाई मात्र प्राथमिकता दिने प्रवृत्तिको पनि आलोचना गरे । यसरी सुरु भएको असहमति क्रमशः गहिरिँदै गएर अन्ततः संसद् विघटनको निर्णयसम्म पुग्यो । गिरिजाप्रसाद राजीनामा दिएर बसेका थिए ।
नेपाली कांग्रेस चरम रूपमा आन्तरिक विवादमा जकडिएका बेला पार्टीका सर्वोच्च कमान्डर गणेशमान सिंह देशव्यापी जनजागरण यात्रामा निस्किए । त्यही मेसोमा गणेशमान आइपुगे विराटनगर । यी परिघटनाहरूले गिरिजासँग उनको सम्बन्ध चिसिएको आम बुझाइ थियो । त्यसैले उनले पक्कै गिरिजालाई भेट नगर्लान् भन्ने आम आकलन फेल खायो ।
सिंहले गिरिजालाई भेटेनन् मात्रै त्यो रात कोइराला निवासमै बिताए । राति गिरिजासँगै सुतेका गणेशमानले बिहानै पत्रकार सम्मेलन गरे । अरू बेला गिरिजाले यही घरको बार्दलीबाट पत्रकार सम्मेलन गरी महत्त्वको राजनीतिक घोषणा गर्थे । कुनै बेला विवादास्पद टिप्पणी गरेर आलोचित पनि बन्थे । तर त्यो बेला गणेशमानले गिरिजाविरुद्ध फायर मात्रै खोलेनन्, पार्टी नै परित्यागको घोषणा गरे, जसले कांग्रेसको राजनीतिमा नयाँ कोर्सको सुरुवात भयो ।
खरानी बनेको सम्पदा
यो घरमा नेपाली कांग्रेसका अमूल्य अभिलेख, ऐतिहासिक दस्ताबेज, महाधिवेशन प्रतिनिधिहरूको सूची, बीपीका हस्तलिखित पत्र, राणाविरोधी गोप्य योजनाका टिपोटदेखि विभिन्न कालखण्डका दुर्लभ तस्बिरसम्म सुरक्षित थिए । केही वर्षअघि सुन्दरीजलको बीपी संग्रहालयमा केही पुराना कागजात पुर्याइएको भए पनि बाँकी सबै यतै थिए । बीपी, गिरिजाका पुराना सम्झनादेखि गाडीसम्म सबै आगोमा स्वाहा भए ।
विराटनगर आउनेबित्तिकै कांग्रेस नेता शेखर कोइराला सधैं यही घरमा बस्ने गर्थे । जसरी विगतमा काका गिरिजा बस्थे, उसैगरी शेखरले यो घरलाई संरक्षण गरिरहेका थिए । बीपी र गिरिजाका माइला दाजु केशव कोइरालाका छोरा हुन्– शेखर । उनी भन्छन्, ‘यो घर यसरी एकैछिनमा मासिन्छ भन्ने कुरा हामीले सपनामा पनि सोचेका थिएनौं ।’
घरका प्रमुख उत्तराधिकारी डा. शेखर अहिले पुनर्निर्माणको योजना बनाइरहेका छन् । उनको भनाइमा यो घर काठ, इँटा र ढुंगाको थुप्रो मात्र होइन, नेपालको लोकतान्त्रिक यात्राको जीवित स्मृति हो । यसलाई पुरानो स्वरूपमै फर्काउने योजनामा उनी छन् ।
विराटनगर महानगर नेपाली कांग्रेसका सभापति दीपक चापागाईं भन्छन्, ‘यो घर जनताको अधिकारका लागि राणा र राजाविरुद्ध लडेको प्रतीक हो । जेन–जीका नाममा योजनाबद्ध रूपमा जलाइएको हाम्रो दाबी छ, यो गलत भयो ।’ नेपाली कांग्रेस सुनवर्षीका नेता यज्ञ कार्कीले आफू विद्यार्थी रहँदा पटक–पटक कोइराला निवास आएको स्मरण गर्दै नोना आमाले खाना पकाएर खुवाएको बताए । भने, ‘यो घरमा सबैका लागि सधैं भात पाक्थ्यो । जसले आएर खाँदा पनि हुन्थ्यो ।’
पञ्चायतकालमा पनि पटक–पटक आक्रमणको ‘तारो’ बनेको यो घर यस पटक भने कसैले जोगाउन सकेनन् । ‘पहिले हरेक आक्रमणबाट स्थानीयवासी ढाल बनेर जोगाउँथे तर यस पटक भने कसैले जोगाउन सकेनन्,’ उनी भन्छन् । कोइराला निवासको अगाडि पसल सञ्चालन गर्ने एक प्रत्यक्षदर्शी सम्झिन्छन्, ‘अचानक थाम्नै नसक्ने भीड आयो । भीडले हाम्रो कुरा सुन्ने अवस्था नै थिएन ।’
ऐतिहासिक धरोहरहरू जोगाउने जिम्मा राज्यको थियो । तर, त्यो अराजक भीडसामु राज्य आफैं निरीह थियो । सुरक्षाकर्मी आत्मसमर्पण गरेर बसेका थिए । ‘त्यो एक दिन भीडतन्त्र थियो । भीडले गरेको निर्णय अन्तिम निर्णय थियो,’ विराटनगरकी पुराना बासिन्दा उमा पोखरेलले भावुक हुँदै सुनाइन्, ‘भीडतन्त्रले लोकतन्त्रको केन्द्र खरानी पार्यो ।’
र, खरानीमाथि अंकुर
लामो परिवर्तनको साक्षी कोइराला निवास अब खरानीमा बदलिएको छ । तर यसको योगदान अझै नेपाली जनताको चेतनामा ज्वलन्त छ । जेन–जीको विद्रोह होस् वा अर्को पुस्ताको आन्दोलन, लोकतन्त्रको बाटो यही स्मृतिको खरानीमाथि पुनः अंकुराउनेछ ।
पाना उराँवको पहरेदारी
विसं २०३४ साल । विराटनगरको कोशी अस्पताल छेउको पुरानो घर, कोइराला निवास ।त्यही घरमा पहिलो पटक आदिवासी युवती पाना उराँवले ढोका ढकढक्याइन् । त्यसबेला जननायक बीपी कोइराला जीवित थिए, यो घर राजनीतिक रस्साकसीको केन्द्र थियो । त्यो दिनदेखि आजसम्म, करिब पाँच दशकयता पाना यो घरको अदृश्य छाया बनेर बसिरहिन् ।
यसबीचमा कति सदस्य बिते, कति नयाँ जन्मिए, कति राजनीतिक आँधीबेहरी आए–गए । तर पानाको जीवन भने त्यही पुरानो ढोका, त्यही बुइगल, कौसी आँगनसँग अडिएर रह्यो । पानाले विवाह गरिनन्, छुट्टै संसार बनाइनन् । किनकि कोइराला निवासको रखवाली गर्दागर्दै उनले फुर्सदै पाइनन् ।
‘कोइराला निवास नै मेरो परिवार हो, माइती पनि यही, मावली पनि यही,’ उनको प्रस्ट स्वरमा घरको इतिहासजस्तै गहिरो दृढता सुनिन्छ । कृष्णप्रसाद कोइरालाले जग हालेको यो घरलाई पानाले आफ्नो रगत–पसिनासँग गाँसेर जोगाइन् । आज ६५ वर्ष पुगेकी उनी अझै यहीँको सेवामा समर्पित थिइन् ।
तर, २४ भदौको डरलाग्दो घटना देखेपछि उनी विचलित भइन् । त्यसअघि उनलाई कहिल्यै त्यस्तो भएको थिएन । आँखा अघिल्तिर इतिहास जलेको दृश्यले अझैसम्म उनी काँपिरहेकी छन् ।जीवनभर कोइराला निवासको पहरेदारी गरेकी उनी त्यो दिन बिलकुल मौन रहिन् । ‘मलाई त ऐंठन भएझैं भयो,’ त्यो घटना सम्झिन्छिन्, ‘कसोकसो ज्यानचाहिँ जोगियो ।’ त्यो घटनापछि उनी पहिलो पटक कोइराला निवास छाडेर बाहिर निस्किइन् ।
...
बा.१ च ४४०१ नम्बरको जिप । यो केवल धातुको टुक्रा थिएन, यो नेपालको लोकतन्त्रको साक्षी थियो । गणेशमान सिंहले चढेको गाडी, जुन काठमाडौंका सडकहरूमा आन्दोलनको हुंकार बोकेर हिँड्यो । चाक्सीबारीको आँगनमा पालले छोपेर राखिएको यो जिप कांग्रेसका नेताहरूका लागि तीर्थजस्तै थियो । उनीहरू आउँथे, जिपमा टाँसिएर फोटो खिच्थे, श्रद्धा गर्थे । पछि यसको नाम नै ‘डेमोक्रेसी जिप’ राखियो ।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले गणेशमानको घर मात्रै जलाएनन्, घरको खुला चउरमा पालले छोपेर राखिएको त्यो ऐतिहासिक धरोहर पनि खरानी बनाए । गणेशमानसँगको कैयन् यात्राको साक्षी बनेर ठडिरहेको जिपमा आगो बलिरहेको देख्दा फोटो पत्रकार मीनरत्न वज्राचार्यको आँसु थामिन सकेन ।
‘गणेशमानसिंहसँग लामो अन्तरालको भावना जोडिएर पनि होला, एकातिर गणेशमान सुत्ने शयन र बैठक कक्ष खरानी भइरहेको थियो, अर्कातर्फ चउरमा इतिहास बोकेको जिपमा दनदनी आगो बलिरहेको थियो, त्यो दृश्य खिच्न मलाई धेरै कठिन भयो,’ ०४५ सालदेखि ०५४ सालसम्म गणेशमानलाई पछ्याएर फोटो पत्रकारिता सिकेका वज्राचार्य भन्छन्, ‘आँसु त झर्यो नै, पूरै शरीर नै काँप्यो, त्यो जिप बलिरहेको थिएन, एउटा इतिहास जलिरहेको थियो ।’
लोकतन्त्र बहाली र अन्तरिम सरकार बन्नु अगाडि ४ वैशाख २०४७ को एउटा घटना उनले सम्झिए । त्यति बेला राजा र राजनीतिक दलहरूबीच अन्तरिम सरकार र संविधान निर्माणका विषयमा तारन्तार भेटघाट चलिरहेका थिए । नेताहरू दरबार आउजाउ गर्ने क्रम भइरहेको थियो । त्यो दिन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई मात्रै दर्शनभेटका लागि बोलाए । त्यति बेला उनका ड्राइभर थिए, शानदास मानन्धर ।
मानन्धरले त्यही जिप तयार पारे । गणेमानसँगै फोटो पत्रकार वज्राजार्य सँगै बसे । त्यति बेला उनी लक्का जवान थिए । भर्खरै फोटो पत्रकारिता सिक्दै थिए । औपचारिक पोसाकमा नभएकाले दरबारभित्र छिर्ने आँट गरेनन् ।
गणेशमानलाई दरबार पुर्याएर चाक्सीबारी नै फर्किए । पछि गणेशमानलाई लिन फेरि त्यही गाडीमा गए । राजा र गणेशमानजीसँग राजनीतिक कुरा के भयो, उनलाई थाहा भएन । उनी भन्छन्, ‘पछि सुन्दा पो थाहा भयो त्यही भेटमा राजा वीरेन्द्रले गणेशमानलाई अन्तरिम सरकारको प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको रहेछ । गणेशमानजीले मेरो स्वास्थ्य स्थिति राम्रो छैन सरकार, शौचालय गर्न पनि दुई, तीन घण्टा लाग्छ, म सक्दिनँ, कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुहोस् भन्नुभएको रहेछ ।’
चाक्सीबारी, काठमाडौंको चेहरापाटीमा लुकेको एउटा पुरानो बस्ती, जहाँ गणेशमान सिंहको जीवन र संघर्षको कथा जोडिएको छ । गणेशमान जन्मिएको ठाउँ भने यो होइन । उनी मखन गल्लीको यदखामा जन्मिएका थिए । २००७ सालको परिवर्तनपछि नेता तथा कार्यकर्ताको बाक्लो आउजाउले ठाउँ साँघुरो भए पनि अलि खुला ठाउँ खोज्न थाले ।
खोज्दै जाँदा हाल निर्वाचन आयोग रहेको स्थानको पुरानो घर र चाक्सीबारीको घर चर्चामा थिए । गणेशमानकै संगतमा राजनीतिमा हाम फालेका तत्कालीन सांसद राजेन्द्र केसीका अनुसार चाक्सीबारीको गणेशमान बस्ने घरलाई ‘भुताह घर’ भनिन्थ्यो । गणेशमान लोकतन्त्रका लागि लड्ने वीर, निडर र लडाकु नेता थिए । ‘मानिस भन्थे, यहाँ भूत बस्छ । गणेशमानले हाँस्दै खोइ भूत कस्तो हुन्छ, हेरौं न त भनेर चाक्सीबारीकै जग्गा २००९ सालमा किन्नुभएको रहेछ,’ केसी भन्छन् ।
यो घर किन्दा कतिले राजा त्रिभुवनले ४५ हजार रुपैयाँ सापटी दिएको भन्ने गर्छन् । तर, केही दिन अगाडिको एक भिडियो अन्तर्वार्तामा छोरा प्रकाशमानले बैंकबाट पैसा लिएर किनेको बताएका छन् । कांग्रेस र कम्युनिस्टबीच इतिहासको कालखण्डदेखि नै लामो दरार थियो । बीपी कोइराला वामपन्थीसँग मिल्न नहुने मत राख्थे तर गणेशमानले बामपन्थीसँग मिल्दा नै लोकतन्त्र बहाली गर्न सकिन्छ भनेर आठ वाम घटकलाई जोडे र यही चाक्सीबारीबाट ७ फागुन ०४६ देखि आन्दोलन हुने शंखनाद गरे ।
भारतीय नेता चन्द्रशेखर, सुप्रसन्नम स्वामीजस्ता व्यक्तिहरूले यहाँ आएर लोकतन्त्र बहालीका लागि हौसला दिएका थिए । फोटो पत्रकार वज्राचार्यका अनुसार चाक्सीबारी राजनीतिको केन्द्र मात्र थिएन, अन्तर्राष्ट्रिय मिडियाको मञ्च पनि बनेको थियो । आठ वाम घटकलाई जोडेर संयुक्त आन्दोलनको सुरुवात गरेकाले नेपालमा प्रजातन्त्र पुनःस्थापनाको लडाइँ चाँडो सफल भएको बुझाइ लोकतन्त्रवादीको छ । त्यसपछि नै गणेशमानलाई ‘सर्वोच्च कमान्डर’ र कांग्रेसले ‘सर्वोच्च नेता’ को उपमा दिएको थियो ।
लोकतन्त्रको यही धरोहर २४ भदौमा प्रदर्शनकारीको निसानामा पर्यो । उनीहरूले चाक्सीबारीमा आगो लगाए । गणेशमान बस्ने पुरानो घर जलाए । त्यसअघि सचिवालय, पार्किङमा रहेका ६ वटा गाडी, मोटरसाइकल सबै जलाए ।
उपप्रधान तथा सहरी विकासमन्त्री भए पनि छोरा प्रकाशमान मन्त्री क्वार्टर नगएर यहीँ बस्थे । एक घण्टा अगाडिसम्म उनी पनि घरमै थिए । आक्रमणको सूचना पाएपछि सेनाले उनलाई बेलैमा सुरक्षित ठाउँमा लगेको थियो । उनकी श्रीमती सिर्जना विदेशबाट फर्कने क्रममा बैंककमा अड्किएकी थिइन् । ‘प्रकाश दाइलाई समयमै लगेकाले हातपात भएन, नत्र शेरबहादुर देउवाको जस्तो हालत बनाउने रहेछन्,’ फोटो पत्रकार वज्राचार्य भन्छन् ।
निवर्तमान सांसद केसी ‘चाक्सीबारी’ मा लगाइएको त्यो आगो एउटा घरमा होइन, लोकतन्त्रकै पाठशालामा लगाइएको बताउँछन् । अहिले देखिने गणेशमान बस्ने पुरानो घरको कालो भित्ता, आगोको लप्कामा झ्यालबाट फालिएको फर्निचर र डेमोक्रेसी जिपको खरानीले इतिहासको कथा सुनाउँछन् । छोरा प्रकाशमानले पश्चिमतिर नयाँ घर थपे, त्यस घरमा छोराबुहारी बस्थे । तर उनी पुरानै घरमा सुत्थे ।
१२ वैशाख ०७२ को भूकम्पले टुटफुट भए पनि मर्मत गरेर बसे । तर २४ भदौको आगोले सबै नष्ट गर्यो । ‘यो अकल्पनीय घटना लोकतन्त्रवादीका लागि स्वाभाविक होइन,’ केसी थप्छन्, ‘लोकतन्त्र भनेको सत्ता होइन, बलिदान हो । भौतिक रूपमा गणेशमानलाई सम्झने धेरै अवशेष सक्किए । तर लोकतन्त्रको आत्मा भने मर्दैन । चाक्सीबारी यही खण्डहरमा बाँचिरहनेछ ।’
...
प्रजातन्त्रका लागि जीवन समर्पण गरेका सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को गोदावरी नगरपालिका–१४ ललितपुरको बाँडेगाउँ आश्रमको मूल गेटबाट नछिर्दै देखिन्छ जलेर ध्वस्त भएको २१७७ नम्बरको गाडी । गेटबाट पस्नासाथ आँखा परिहाल्ने अर्को वस्तु हो, बा२च १८४२ नम्बरको जिप । जुन जिप किसुनजी ५० को दशकमा चढ्ने गर्थे ।
ग्यारेजमा राखिएको उक्त जिप जलेर पूर्णतः ध्वस्त भएको छ । सिसा, गमला र फलफूलका बिरुवा छरपस्ट छन् । ‘यहाँ त किसुनजीको पूर्ण कदको ठूलो प्रतिमा थियो, त्यो खोइ त ?’ एक महिलाले राखेको जिज्ञासामा स्थानीय एक युवकले जवाफ दिए, ‘माटोको अर्धकदको त्यो प्रतिमालाई आन्दोलनकारीले ढालेर घिसार्दै लगेर जलाएको सुनेका हौं ।’
किसुनजीको निधनपछि सहयोगीका रूपमा त्यही आश्रममा आउजाउ गरिरहने स्थानीय रामशरण भण्डारीले प्रदर्शनकारीको हूलले आश्रमलाई एकछिनमै ध्वस्त बनाएको सुनाए । ‘नजलाउन धेरै हारगुहार गर्यौं तर टेरेनन् । हामीमाथि नै आक्रमण गर्न थालेपछि ज्यान जोगाउन भाग्यौं,’ उनले भने ।’
प्रदर्शनकारीले लगाएको आगोसँगै किसुनजीको पहिचान बोकेका छाता, सुराही र ट्यांका पनि खरानीमा परिणत भए । खरानीको थुप्रो देखाउँदै गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले भनिन्, ‘यही थिए किसुनजीले प्रयोग गरेका वस्तु, जुन क्षणभरमै खरानीमा परिणत भए । कतिपय सामान आन्दोलनकारीले लगेर गए ।’
अधिकारीका अनुसार सामान लुटेर लगेको सीसी टीभीमा देखिएको छ । सामान फिर्ता गर्न गोदावरी नगरपालिकाले सूचनासमेत जारी गरेको उनले बताइन् । ती छाता, सुराही र ट्यांका किसुनजीका पहिचान थिए । दुई पटक प्रधानमन्त्री भएका किसुनजीले विवाह गरेका थिएनन् भने उनका नाममा जमिन र सम्पत्ति पनि थिएन । त्यसैले उनलाई सरकारले नै ५ रोपनी जमिनमा आश्रम बनाएर राखेको थियो । उनी २०४६ को अन्तरिमकालमा र २०५६ मा प्रधानमन्त्री भएका थिए । अविवाहित र धनसम्पत्तिको लोभ नभएकाले उनलाई ‘सन्त नेता’ भन्ने गरिन्थ्यो । उनलाई लामो समयदेखि अमिता कपालीले हेरचाह गर्दै आएकी थिइन् ।
२०६७ फागुन २० मा निधन भएपछि किसुनजीको पार्थीव शरीरलाई सोही आश्रममा लगेर श्रद्धाञ्जली दिइएको थियो । त्यसपछि पनि अमिता आश्रममै बस्दै आएकी थिइन् । प्रदर्शनका क्रममा गत २४ भदौमा आश्रम जलाइएको सूचना पाएपछि आश्रममा आउनेहरूको भीड लागेको थियो ।
साना–ठूला ५ वटा भवनहरू रहेको आश्रमको भित्री भाग तथा त्यहाँ रहेका सबै सामान जलेका छन् । आश्रममा भेला भएका स्थानीयले भने, ‘प्रदर्शनकारीले राम्रा र उपयोगी सामान लुटेर लगेपछि आगो लगाए । आगोले सबै संरचना जलेर भवनको खण्डहर मात्र बाँकी छ । जल्न नसकेका वस्तुहरूलाई फुटाएर फ्याँकिएको छ भने भट्टराईको जीवनकालका सबै इतिहास खरानीमा परिणत भएका छन् । उनको फोटो राखेर बनाइएका ‘लकेट’ हरू भुइँमा छरपस्ट देखिन्थे भने यत्रतत्र खरानीको थुप्रो मात्रै छ ।
आक्रमणका क्रममा आश्रममा रहेकी उपप्रमुख अधिकारीका अनुसार किताब, उपहार, विदेशीसँगको भेटघाट र छलफल गरेका फोटाहरू तथा कांग्रेसका ऐतिहासिक दस्ताबेजहरू जलेका छन् । आश्रम पुगेका किसुनजीका अनुयायी रामेछाप गुन्सीभदौरेका गोविन्द चौलागाईंले जलेको आश्रम हेर्दै भावुक मुद्रामा भने, ‘यस्तो आक्रमण प्रजातान्त्रिक आन्दोलनको इतिहास मेटाउने ‘रिहर्सल’ हो । ‘जीवनभर प्रजातन्त्रका लागि संघर्ष गरेर अहिलेको पुस्तालाई स्वतन्त्रता ल्याइदिने निःस्वार्थी दिवंगत नेतामाथि यो हदको अपमान निकृष्ट समाजले मात्र गर्न सक्छ,’ चौलागाईंले आक्रोश पोखे ।
किसुनजीका अनुयायीहरू आश्रम पुगेर जल्न बाँकी एल्बममा रहेका केही फोटाहरू पल्टाउँदै मोबाइलमा खिचिरहेका भेटिन्थे । आश्रममा भेटिएका किसुनजीका भतिजा विनोद भट्टराईले जल्न बाँकी एल्बम पल्टाउँदै भने, ‘संरचना त बन्ला तर खरानी बनाएको इतिहासका पानाहरू अब सधैंका लागि आगोमा विलय भएको छ ।’ उनले काका किसुनजीले सन् १९४७ देखिका फोटो तथा दस्ताबेज आश्रममा राखेको बताए । उहाँ (काका) ले सबै एकै ठाउँमा राखौं भनेर आश्रममै ल्याउनुभयो, ‘अब कुनै पनि इतिहासको रेकर्ड हामीसँग छैन । आश्रममा यस्तो होला भन्ने सोचेका थिएनौं ।’
आश्रमका सहयोगी रामशरण भन्छन्, ‘हजुरबुबा (किसुनजी) ले लेखेका सबै कागज यहीँ थिए । उपहारमा पाएका महँगा वस्तुहरू पनि थिए । सबै सजाएर राखिएको थियो । अहिले खरानी भएको छ ।’ उनले कपालीलाई आवश्यक सामान ल्याइदिने र आवश्यक पर्दा चालकको काम गर्थे ।
स्थानीयले गेट बाहिरको गाडीमा आगो लगाएपछि आइपुगेका रामशरणका अनुसार प्रदर्शनकारीले किसुनजीका महत्त्वपूर्ण सामान कम्पाउन्डको पश्चिमतर्फको बारबाट बाहिर निकालेका थिए । आश्रमको ठूलो फ्रिज लैजान नसकेपछि कामै नलाग्ने गरी तोडफोड गरेर छाडिएको छ । सानो फ्रिज भने लुटिएको छ ।
फलफूल तथा सजावटका बोटबिरुवा उखेलिएका छन् । कलात्मक शैलीमा बनाइएका काठका संरचनाहरू सबै जलेका छन्, भवन खण्डहर बनेको छ । रामशरणले भने, ‘प्रदर्शनकारीलाई पहिले केही नगर्न अनुरोध गरेको हो, नमानेपछि हामी आफ्नै ज्यान बचाउन लाग्यौं ।’
आगजनी हुँदा आश्रममा कपाली र उपप्रमुख अधिकारी त्यहीँ थिए । किसुनजीको स्याहारसुसार गरेर बसेकी कपाली आश्रममै बस्दै आएकी थिइन् । रामशरण भन्छन्, ‘नजलाउन हात जोड्दा पनि नमानेपछि कपालीले आफू आश्रममै मर्ने बताएकी थिइन् । तर प्रदर्शनकारीले उनलाई गालीगलौज गर्दै हातपात नै गर्न खोजेपछि मैले फकाएर आश्रमबाट सुरक्षित स्थानमा लगें ।’ आश्रम नछाड्ने बताएपछि रामशरणले कपालीकी आमालाई फोन गरेर मनाउन लगाएका थिए । उनको पनि सबै सामान जलाइएको छ ।
आश्रममा भेटिएका स्थानीय कांग्रेस नेता राजेन्द्र महर्जनले आश्रमको जग्गा बढाएर थप व्यवस्थित बनाउन खोजिरहेका बेला संरचना जलाएको बताए । आश्रममा कांग्रेस उपसभापति र केन्द्रीय सदस्य रामहरि खतिवडा जाने गरेका थिए । ‘अन्य कांग्रेस नेताहरू खासै जाने गरेका थिएनन्,’ स्थानीयले बताए । उक्त स्थानको संरक्षण नभएका कारण पनि बेवारिसेजस्तै बनेको गुनासो स्थानीयको रहेको छ ।
