प्रदर्शनको तारोमा पर्दा ६ दशकको इतिहास बोकेको ‘जनकपुर चुरोट कारखाना लिमिटेड’ को भौतिक संरचना ध्वस्त बनेको छ, जहाा मधेश प्रदेश सरकारको मुख्यालय र आवास पनि छ।
जनकपुर — २३ भदौको काठमाडौंको जेन–जी प्रदर्शनमा भएको सरकारी दमनको आक्रोशले भोलिपल्ट २४ भदौमा जनकपुरमा पनि सडकमा उतार्यो युवालाई । प्रदर्शनकारीको एउटा ठूलै समूह मधेश–प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) तिर सोझियो ।
जचुकालिको महाप्रबन्धक बस्ने मुख्य कार्यालय र चुरोट उत्पादनका लागि मेसिन जडान गरिएको भवनबाहेक मधेश प्रदेश सरकारले सबै भवन र आवास प्रयोग गरिरहेको छ ।
मुख्य भवनसँगैको रातो बंगलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छ । सुरुमा प्रदर्शनकारीले त्यहींबाट विध्वंस मच्चाए– सुरक्षार्थ खटिएका नेपाल प्रहरीलाई लखेट्दै मुख्यमन्त्री कार्यालय प्रवेश गरेर । लुटपाट, तोडफोड र आगजानीपछि तिनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को नेमप्लेट मेटेर लेखे– ‘जेन–जी मन्त्रिपरिषद्’ ।
त्यसपछि त्यो भीडले जचुकालिकै परिसरमा रहेको शिक्षा तथा संस्कृति मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय, जचुकालिको अधिकृत तहका अधिकारीहरू बस्ने चारतले एउटै भवनमा रहेको स्वास्थ्य, अर्थ, वन तथा वातावरण र उद्योग तथा पर्यटन कार्यालयमा पनि आगजानी र तोडफोड गर्यो ।
भीड त्यसपछि जचुकालिको आवासीय क्षेत्र प्रवेश गर्यो, जहाँ ठूलो संख्यामा प्रदेश सरकारका कर्मचारी परिवारसहित बस्छन् । कर्मचारी र उनका परिवारहरू हात जोडेर उभिएपछि प्रदर्शनकारीले त्यहाँ केही गरेनन् । प्रदर्शनकारीले जचुकालिभित्रैको प्रदेश प्रमुखको कार्यालय र सचिवहरू बस्ने निवासमा पनि तोडफोड र आगजनी गरे ।
प्रदेश प्रमुखको आवास रहेको जचुकालिको चेयरम्यान बंगला, मुख्यमन्त्रीको निवास रहेको जचुकालिको गेस्ट हाउस र मन्त्रीहरू बस्ने निवासमा भने नेपाली सेनाको सक्रियताका कारण क्षति हुन पाएन । प्रदेश सरकारले प्रयोग गर्ने करिब दर्जन बढी गाडीमा प्रदर्शनकारीले आगो झोसिदिए ।
जचुकालिको खरानी टकटक्याएर प्रदेश सरकारले फेरि सचिवालय चलाउने तयारी थालिसकेको छ । तत्कालका लागि मुख्यमन्त्री कार्यालय जचुकालिको कभर्ड हलबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । मुलुक संघीयतामा गएपछि जनकपुर चुरोट कारखानाको आवासीय क्षेत्रमा प्रदेश सरकारको सचिवालय राख्न संघीय सरकारले अनुमति दिएको थियो । जेन–जीको आन्दोलनमा प्रदेश सरकार तारोमा पर्दा जचुकालिको भौतिक संरचना ध्वस्त बनेको छ ।
एक समय राष्ट्रलाई सर्वाधिक कर बुझाएको, करिब ४ हजारलाई प्रत्यक्ष रोजगारी दिएको र धेरैजसो आन्दोलनको साक्षी बनेको जचुकालि युवाको आक्रोशको सिकार बन्यो । ३३ बिघा, ९ कट्ठा जग्गा चर्चेको जचुकालिको ८ बिघामा रहेको कारखाना भवन र प्रमुख प्रशासनिक भवनबाहेक क्षेत्रमा हाल मधेश प्रदेश सरकारको मुख्यालय र आवास छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी र प्रदेशसभा सचिवालयबाहेक मधेश प्रदेश सरकारका सबै मन्त्रालय एवं मन्त्री, सचिव र कर्मचारीको आवास जचुकालिभित्रै छ । जचुकालिको आफ्नै विद्यालयमा भने मुख्य न्यायाधिवक्ताको कार्यालय छ, अस्पताल भवनमा सुरक्षाका लागि सशस्त्र प्रहरीको युनिट तैनाथ गरिएको छ । बैंक भवनमा शिक्षा तथा संस्कृति मन्त्रालय खडा गरिएको छ ।
प्रादेशिक संरचनापछि सरकारले ७ वटा प्रदेशको अस्थायी राजधानी तत्कालीन प्रदेश–२ को मुकाम जनकपुरलाई मात्र तोकेन, जचुकालिको आवास क्षेत्र प्रयोग गर्न अनुमति पनि दिइयो । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले जचुकालिलाई जिल्ला प्रशासन कार्यालय धनुषा मातहत ल्याएर प्रदेश सरकारलाई प्रयोग गर्न अनुमति दिने निर्णय गरेका थिए ।
जचुकालिको स्वर्णिम इतिहास
जचुकालिले उत्पादन गर्ने र सर्वाधिक खपत हुने ‘याक’ चुरोटको स्लोगन थियो, ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।’ फिल्टर नभएको ‘गैंडा’ चुरोट तराईदेखि हिमालसम्मै रुचाइएको थियो । ‘याक’, ‘गैंडा’, ‘सयपत्री’ र ‘देउराली’ ब्रान्डका चुरोट उत्पादन गर्ने जचुकालिले ०६८ चैतदेखि चुरोट उत्पादन बन्द गर्यो । ०७० असार २० गतेदेखि यो कारखाना बन्द छ ।
तत्कालीन सोभियत संघका राष्ट्रपति मार्शल बोरोसिलोभ २०१६ माघ २४ गते नेपाल भ्रमणमा आउँदा जनकपुर चुरोट कारखानासँगै खोपासी (पनौती) हाइड्रो, तत्कालीन महेन्द्र राजमार्गको पथलैया–ढल्केबर खण्ड, कृषि सामग्री कम्पनी, कान्ति अस्पताल, वीरगन्ज चिनी कारखानालगायतका क्षेत्रमा लगानी गर्ने सम्झौता भएको थियो । नेपालमा सुर्ती अम्मलीको भरथेग बिँडी र भारतीय चुरोटले गरिरहेको थियो । नेपालमा पनि चुरोट कारखाना स्थापना गर्ने सरकारको सोच थियो । सोभियत संघबाट सहयोग प्राप्त भएपछि ‘जनकपुर चुरोट कारखाना’ को शिलान्यास २०१९ मंसिर ८ गते भयो । २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्रले कारखाना उद्घाटन गरेका थिए ।
जचुकालिभित्र चुरोट उत्पादन गर्ने कारखाना, प्रशासनिक भवन, सुर्ती राख्ने गोदामसँगै आवासीय क्षेत्र, गेस्ट हाउस, बैदेही स्कुल, अस्पताल, कभर्ड हल र फुटबल मैदान पनि बनाइयो । ‘कर्मचारीका बच्चा जचुकालिकै स्कुलमा पढ्थे, त्यहींको अस्पतालबाट उपचार पाउँथे,’ जचुकालिका पुराना कर्मचारी अनुराग गिरी भन्छन्, ‘जचुकालि कारखाना मात्रै थिएन, सयौंको परिवारको घर पनि थियो ।’ गिरीका अनुसार बिहान साढे ६, ७, ११, साढे २, ३ र राति ११ बजे बज्ने जचुकालिको साइरनसँगै जनकपुर उठ्ने र सुत्ने गर्थ्यो ।
जचुकालि सञ्चालनताका ३ सय कर्मचारी भर्ती गरिए । कारखानाको सुरुवाती अधिकृत पुँजी ८ करोड र चुक्ता पुँजी ४ करोड रुपैयाँ थियो । बहुदलअघि जचुकालिले वार्षिक ७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएर सरकारलाई ३ करोड ३५ लाख कर तिरेको थियो । पुराना कर्मचारी गिरीका अनुसार, जचुकालि सरकारलाई सर्वाधिक कर तिर्ने कारखाना मात्रै थिएन, उसले नेपालका खेलाडीलाई तलबै दिएर खेलकुद प्रवर्द्धन पनि गर्थ्यो ।
‘सबैजसो खेलका खेलाडीलाई जचुकालिले अनुबन्ध गरेको थियो,’ गिरी अतीत सम्झिन्छन्, ‘खेलाडीको काम हुन्थ्यो– खेल अभ्यास गर्नु र जचुकालिको टिमबाट प्रतियोगिता खेल्नु ।’ फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबल, टेबलटेनिस, पौडी, ब्याडमिन्टन, खोखोलगायतका खेलमा जचुकालिको आफ्नै र अब्बल टिम थियो । जचुकालि टिमबाट थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय ह्यान्डबल प्रतियोगिता खेलेका पूर्वकर्मचारी पवनलाल कर्णका अनुसार, जचुकालिले खेललाई प्रोत्साहन मात्रै गरेको थिएन, खेलाडी आश्रित परिवारको गुजारा पनि त्यहींबाट चलेको थियो । ‘हाम्रो काम खेल्ने मात्र थियो । खेल सामग्रीदेखि तलबसम्म जचुकालिले नै पुर्याउँथ्यो,’ कर्ण भन्छन्, ‘जचुकालिले राम्रा खेलाडी उत्पादन गरेर दिएको थियो ।’
कर्मचारी रामलखन शर्माका अनुसार, जचुकालिको सुरुवाती चरणमा ‘आशा’, ‘ज्वाला’ र ‘गरुड’ नामका चुरोट उत्पादन थालिएको थियो । ‘पछि, गैंडा, चुचुरा, सिंह र जानकी ब्रान्डको चुरोट उत्पादन थालियो,’ शर्माले भने, ‘त्यसलगत्तै मुनाल, कोसेली, कस्तूरी, दोभान र हिमचुली चुरोट पनि बजारमा ल्याइयो ।’ शर्माका अनुसार, जचुकालिले चुरोट–पारखीका रोजाइअनुसार ब्रान्डमा लगालग परिवर्तन गर्दै गयो । ‘याक, देउराली, सयपत्री, उपहार र लालीगुराँस चुरोट जचुकालिको पछिल्लो उत्पादन थियो,’ उनी भन्छन्, ‘यी सबै उत्पादनमध्ये याक, गैंडा, देउराली र सयपत्री धेरै रुचाइयो ।’
बजारमा चुरोटको माग बढेपछि ०४४ सालमा कारखानामा ठूलो संख्यामा कर्मचारी भर्ती गरियो । ४ हजार ७ सय कर्मचारीले जचुकालिमा काम पाएका थिए भने तीन सिफ्टमा चुरोटको उत्पादन हुन्थ्यो । जचुकालि नेपालको पहिलो कारखाना हो, जहाँ चुरोटको कच्चा पदार्थ सुर्ती ल्याउन रेलको लिक नै बिछ्याइएको थियो ।
जनकपुर मात्र होइन, मुलुकका २६ सहरमा भवन र जग्गा थियो– जचुकालिको । जचुकालि घाटामा गएपछि धेरै ठाउँका भवन र जग्गा बेचेर कर्मचारीलाई तलब खुवाइएको थियो । काठमाडौंको बानेश्वरमा रहेको जचुकालिको भवन बिक्री भइसकेको छ । बुटवलस्थित जचुकालिको क्षेत्रीय कार्यालयको दुईतले भवन हाल एक जना कुरुवाको भरमा प्रयोगविहीन छ । नारायणगढको भवन पनि प्रयोगमा छैन । धनुषा, महोत्तरी, विराटनगर, उदयपुर, वीरगन्ज, पोखरा, नारायणघाट, नेपालगन्ज, सुर्खेत, दिपायल, सिन्धुली, धनगढीमा रहेको जचुकालिको जग्गा प्रयोगविहीन छ ।
जचुकालिको उद्घाटनका दिन जनकपुरमा ठूलो हर्ष थियो । सयौं मानिस त्यो क्षणको साक्षी थिए । देशकै मेरुदण्ड रहेको जचुकालि राजनीतिक परिवर्तनको साक्षी मात्रै बनेनन्, त्यसको कोपभाजनमा पनि पर्यो । कारखानालाई सोभियत संघको सहयोग प्राप्त हुँदा दलहरू प्रतिबन्धित थिए । प्रजातन्त्र बहालीपछि २०१६ सालमा बीपी कोइराला नेतृत्वको सरकारमा रहेका उद्योग तथा वाणिज्यमन्त्री रामनारायण मिश्रले जनकपुरमा चुरोट कारखाना स्थापना गर्ने निर्णय गरे । तर १ पुस, २०१७ मा निर्दलीय पञ्चायत आएपछि जचुकालि बन्ला कि नबन्ला संशय थियो ।
२०४६ सालमा बहुदल स्थापनासँगै कारखानाको उत्पादन र बजार विस्तार बढ्दै थियो । ०४६ को आन्दोलनमा कारखानाको साइरन फरक समयमा बज्यो– एक दिन । जनकपुरवासी आश्चर्यचकित भए । कारखानाका कर्मचारी सबै सडकमा उत्रिए । त्यो दिन जनकपुरको आन्दोलन उत्सर्गमा पुगेको थियो । बिस्तारै जचुकालिमा पनि राजनीति पस्यो । ट्रेड युनियनका नाममा कर्मचारीको मनोपोली
बढ्यो । नेतृत्वमा राजनीतिक नियुक्ति हुन थाल्यो । प्रतिस्पर्धी सूर्य टोबाको बजारमा आएपछि जचुकालिको बजार खुम्चियो । एकताका देशलाई सर्वाधिक कर तिर्ने जचुकालि घाटामा चल्न थाल्यो । २०७० असार २० गते मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले जचुकालि बन्द गर्ने निर्णय गर्यो । अब जचुकालि पुनः सञ्चालन, निजीकरण वा प्रदेश सरकारकै मुख्यालयका लागि प्रयोग गरिरहने ? यो विवाद छँदै छ ।
२०७५ माघ दोस्रो साता । मधेश प्रदेश सरकार भर्खर तंग्रिँदै थियो । मन्त्रालयमा कुर्सी–टेबल–कार्पेट मिलाउन व्यस्त रहेका बेला तत्कालीन उद्योगमन्त्री मातृकाप्रसाद यादव लावालस्करसहित जचुकालिको प्रमुख प्रशासनिक भवनमा पुगे । सञ्चारकर्मीलाई पनि त्यहीं बोलाइएको थियो । प्रदेश सरकारलाई प्रयोग गर्न तोकिएको आवास क्षेत्रबाहिर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राखेपछि यादव आक्रोशित बनेका थिए । सरकारी निवासबाटै कार्यालय सञ्चालन गरिरहेका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले जचुकालिको कार्य महाशाखा भवनमा मुख्यमन्त्री कार्यालय राखेपछि यादव–राउतबीच टसल नै भयो ।
‘जचुकालि पुनः सञ्चालनमा ल्याइनेछ । प्रदेश सरकारलाई ठाउँ सर्न भनेको छु,’ तत्कालीन उद्योगमन्त्री यादवले सञ्चारकर्मीसित भनेका थिए । यादव जचुकालिबाट प्रदेश सरकारलाई धपाउन लागिपरे पनि तत्कालीन मुख्यमन्त्री राउतले भने जचुकालिको नामै फेरेर ‘मधेश भवन’ राखिदिए । जचुकालिको नाम फेरेर मधेश भवन राखिएको झोंकमा तत्कालीन उद्योगमन्त्री यादवले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्यद्वारमै ‘जनकपुर चुरोट कारखाना लिमिटेड’ को बोर्ड झुन्ड्याउन लगाए ।
२०७९ साउन ११ गते जचुकालिको निरीक्षण गर्न आइपुगेका तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले जचुकालि पुनः सञ्चालनमा ल्याइने बताएका थिए । ‘जचुकालिका कति मेसिन उपयोग गर्न सकिन्छ ? नेपाल सरकार आफैंले चलाउने कि निजी क्षेत्रसँग मिलेर सञ्चालनमा ल्याउने ? त्यो विषय छलफलपछि तय हुनेछ,’ बडूले त्यतिबेला भनेका थिए । तर, जचुकालिका पूर्वकर्मचारी र प्राविधिकहरू जीर्ण भवन र खिया लागेको मेसिनबाट जचुकालिलाई पुनः सञ्चालनमा ल्याउन सम्भव नभएको बताउँछन् । ‘अहिलेको हालतमा जचुकालिलाई सरकार वा निजी क्षेत्र कसैले पनि सञ्चालनमा ल्याउन सक्दैन,’ जचुकालिका पूर्वमहाप्रबन्धक अनुराग गिरी भन्छन्, ‘भारत, चीन र नेपालकै ठूला घरानाले जचुकालि सञ्चालनमा ल्याउन चासो देखाएका हुन्, तर सम्भावना देखिँदैन ।’
गिरीका अनुसार, यो जचुकालिको जीर्ण बनेको भवन र कवाड बनेका मेसिन होइन, जग्गामा आँखा लगाएर पुनः सञ्चालन वा निजीकरण गर्ने मनसाय हुन सक्छ । ‘त्यो सडेको माल कसले किन्छ ? त्यसमाथि जचुकालिभित्र एउटा सरकार नै बसेको छ,’ उनी भन्छन्, ‘सरकारलाई बाहिर निस्क कसले भन्ने होला ? त्यसैले जचुकालिलाई पुनः सञ्चालन वा निजीकरण गर्ने कुरा राजनीतिक स्टन्ट मात्रै हो ।’
जचुकालि बन्द भएको ११ वर्षयता बनेका प्रायः सबै संघीय उद्योगमन्त्रीले जचुकालिलाई पुनः सञ्चालनमा ल्याइने वाचा गर्दै आएका छन् । तर, मधेश प्रदेश सरकारका मन्त्रालय, निकाय, विभाग, कार्यालय भने जचुकालिभित्र थपिन रोकिएको छैन । नयाँ संरचना नबनाएर पुरानैलाई मर्मत–सम्भार गरी प्रयोग गर्ने सर्तमा जचुकालि प्रदेश सरकारलाई दिइएको हो । तर, ७ वर्षदेखि जचुकालि प्रयोग गरिरहेको प्रदेश सरकारले भने गृह, सञ्चार र कानुन मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्टाछुट्टै भवन बनाएको छ । निवास क्षेत्रमा थुप्रै नयाँ भवन थपिएको छ ।
प्रदेश सरकारले जचुकालिभित्रै रहने वा अन्यत्र प्रशासनिक भवन बनाउने, अन्योलै छ । जनकपुरमा जग्गा प्राप्तिको दुई समस्या छ । एउटा, यहाँको जग्गाको मूल्य चर्को छ । दोस्रो, अधिकांश जग्गा गुठी संस्थान र मठ–मन्दिरको छ । जचुकालि जनकपुरको मुख्य बजारमै छ । एकैथलोमा अटाएको मधेश प्रदेश सरकारलाई भने जचुकालिको परिसर नै प्यारो लागेको छ । ‘मधेश प्रदेश सरकारको संक्षिप्त परिचय’ मा पनि जचुकालिबारे उल्लेख गरिएको छ । ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत अधिकांश सबै मन्त्रालय प्रदेश सरकारको निर्णयअनुसार जचुकालिभित्रका पुराना भवन मर्मतसम्भार गरी कार्य गरिरहेका छन् । चुरोट कारखानाका पुराना घरहरू मर्मत गरी प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूको आवास व्यवस्था गरिएको छ,’ मुख्यमन्त्री कार्यालयको संक्षिप्त परिचयमा लेखिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह जचुकालि हाल प्रदेश सरकारको स्वामित्वमै रहेकाले तत्काल यहाँबाट सिफ्ट हुने कुनै योजना नरहेको बताउँछन् ।
