मन्त्री आवास नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको थियो, यसलाई मल्लकालीन शैली पनि भन्ने गरिन्छ, वास्तुसमेत मिलाएर बनाइएको थियो
भैंसेपाटीमा मन्त्री आवास बन्न झन्डै सात वर्ष लाग्यो । तीन अर्ब सकियो । यतिका समय र पैसा खर्चेर उभिएको आवास एक दिनमै जलेर ध्वस्त भयो । भवनको बाहिरपट्टि कालो धूँवाले पोतिएको छ । भित्री केही सरसामान जल्न बाँकी छैन ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालयसमेत रहेको भैंसेपाटीको यो क्षेत्र जल्दा कति क्षति पुग्यो ? फेरि प्रयोगमा ल्याउन सकिन्छ कि सकिँदैन ? पहिलेकै अवस्थामा आउन कति समय लाग्छ ? यसको विस्तृत अध्ययन प्रतिवेदन त आइसकेको छैन । सरसर्ती हेर्दा भने यो तुरुन्तै प्रयोगमा आइहाल्ने देखिँदैन । मन्त्री आवासको यो हविगत कसरी भयो त ?
भ्रष्टाचारविरुद्ध २३ भदौमा आह्वान गरिएको जेन–जी आन्दोलनमा नसोचिएको नरंसहार मच्चियो । संघीय संसद् भवन घेराउ गर्न पुगेका आन्दोलनकारीमाथि प्रहरीले गोली बर्साउँदा एकै दिन १९ युवा मारिए । त्यो आक्रोश भोलिपल्ट बिहानैदेखि सडकमा पोखिन थाल्यो ।
ललितपुर महानगरपालिका वडा नं १८ र २५ नम्बरमा रहेको मन्त्री आवासमा पनि बिहानैदेखि प्रदर्शनकारीले नारा जुलुस लगाउन थालिसकेका थिए । खोकना, बुंगमती, सैंबु, नक्खु जस्ता ठूला बस्तीको बीचमा रहेको मन्त्री आवास केहीबेरमै घेराउमा पर्यो । मिनेट–मिनेटमा प्रदर्शनकारीको संख्या बढ्दै गयो । नाराबाजी चर्किंदै गयो । यसले भीडलाई आक्रोशित बनाउँदै लाग्यो । आवासको मुख्य गेटमा टायर जल्न थाल्यो ।
आक्रोशित भीड बढेपछि सुरक्षाका लागि थप सैनिक तैनाथ भयो । हेलिकोप्टरबाट सैनिक झर्न थाले । आ–आफ्नो पोजिसन लिन थाले । तर प्रदर्शनकारी पछाडि हटेनन् । मन्त्री आवासको मुख्य गेट नै तोडेर भित्र प्रवेश गर्ने प्रयासमा लागे ।
सिंहदरबारबाट ६ किमिको दूरीमा रहेको मन्त्री आवासभित्र प्रायः सबै संघीय मन्त्री थिए । उनीहरूका परिवार, सवारीसाधन र कर्मचारी पनि भित्रै थिए । मन्त्री र उनीहरूको परिवार नै जोखिममा परेपछि मध्याह्न १२ः२६ देखि सेनाले हेलिकोप्टरमार्फत उद्धार गर्न थाल्यो । उद्धार सक्न झन्डै आधा घण्टा लाग्यो । ‘मन्त्री आवास सबैभन्दा सुरक्षित लागेर छाडेका थिएनौं । यसरी भाग्नुपर्छ भन्ने लागेको थिएन,’ तत्कालीन एक संघीय मन्त्रीले भने, ‘त्यो दिन हामीलाई भैरवनाथ गण लगेर सुरक्षित राखियो ।’
मन्त्री उद्धार अन्तिम चरणमा पुग्दा नपुग्दै एक हूल प्रदर्शनकारी मन्त्री आवासको उत्तरी भागबाट भित्र प्रवेश गरे । उत्तरी भागमा झन्डै तीन सय मिटरमा जस्ता मात्रै लगाएर घेरिएको थियो । स्थानीयसँग सडक विवाद भएपछि अग्लो पर्खाल बनेको थिएन । स्थानीयले ११ मिटरको सडक छोडेर पर्खाल लगाउनुपर्ने दबाब दिएका थिए । आयोजनाले ८ मिटर मात्रै छोड्न सकिने अडान राखेको थियो । आयोजनाको भनाइ थियो, ‘११ मिटरको सडक चाहिने भए स्थानीयले आफ्नोपट्टि जग्गा छोड्नुपर्छ । सेन्टर लाइन राखौं । त्यसबाट दुवैतर्फ आयोजना र स्थानीयले कति जग्गा छोड्ने हो, त्यो छोड्नुपर्छ ।’
यसमा स्थानीयको चित्त बुझेन । पक्की पर्खाल लागेन । जस्ता लाग्यो । त्यही जस्तालाई प्रदर्शनकारीले लडाइदिए । भित्र छिरेर मन्त्रीका गाडी जलाउँदै अगाडि बढे । कोठाभित्र छिरेर आगो लगाइदिए । हेर्दाहेर्दै मन्त्री आवासबाट धूवाँको मुस्लो निस्कियो । भैंसेपाटीकै आकाश धूवाँले ढाक्यो । आगो रातभरि बलिरह्यो । आगोबाट एक सय २५ रोपनी क्षेत्रफलमा रहेका सुविधासम्पन्न भवन जल्यो । रक्षामन्त्रीको निवास मात्रै जोगियो ।
मन्त्री आवास नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको थियो । यसलाई मल्लकालीन शैली पनि भन्ने गरिन्छ । भवनको ढलानमाथि झिंगटी राखेर परम्परागत शैली दिइएको थियो । सकभर वास्तु मिलाइएको थियो । भुइँतलामा ठूलो प्रतीक्षा कोठा, गोप्य कोठा, १५ जना अट्ने बैठक कोठा, निजी कोठा र स्वकीय सचिव बस्ने कोठा तयार गरिएको थियो । दोस्रो तलामा आवासीय, योग, पूजा कोठा थियो । तेस्रो तलामा अतिथि गृह थियो ।
भवनको बाहिरी कम्पाउन्डसँगै ३ मिटरको हिँड्ने बाटो छ, जहाँ मन्त्री र उनका परिवारका सदस्यले ‘मर्निङ वाक’ गर्थे । ३८ रोपनी क्षेत्रफल खुला हरियाली क्षेत्रका लागि छुट्याइएको छ । झन्डै २१ रोपनी जग्गा आवासभित्रको आन्तरिक सडकले ओगटेको छ भने ११ रोपनी हेल्थ क्लबका लागि छुट्याइएको छ । एक सय सवारीसाधन अटाउने पार्किङ छ ।
संघीय मन्त्री बस्ने कम्पाउन्डभित्रै ३० वटा भवन छन्, जसमध्ये २४ वटा संघीय मन्त्रीका लागि छन् । दुई वटा राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष, एउटा प्रतिनिधिसभाका उपसभामुखको निवास छ । यसबाहेक सुरक्षा गार्ड, हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङ पुल, पार्किङ र सुरक्षाकर्मीका तीन वटा भवन छन् ।
अर्को कपाउन्डभित्र प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवाससहितको सम्पर्क कार्यालय रहने गरी १४ सुविधासम्पन्न भवन छन् । संघीय मन्त्री र प्रदेश भवन रहेको क्षेत्रलाई सार्वजनिक बाटोले छुट्याइएको छ ।
१७ मंसिर २०७५ मा मन्त्रिपरिषद्को बैठकले भैंसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूका लागि आवास बनाउने निर्णय गरेको थियो । त्यसको १० महिनापछि फिल्डमा काम देखिन थालेको थियो । संघीय सरकारले १३ असोज २०७६ मा निर्माण सुरु गरेको थियो ।
भैंसेपाटी बस्नुअघि मन्त्रीहरूको निवास ललितपुरको पुल्चोकको हरिहर भवनमा थियो । १४ मन्त्रीका लागि २०२८ सालमा त्यहाँ बनाइएका भवन जीर्ण अवस्थामा पुगेका थिए । त्यहीं २०५४ सालमा थप ५ वटा भवन बनाइएको थियो । सबै मन्त्रीलाई निवास नपुग्दा कतिपयले बाहिर नै बस्नुपर्ने अवस्था थियो ।
भैंसेपाटीको मन्त्री आवास बनाउन पहिलो चरणको कामका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रुपैयाँ छुट्याएको थियो । त्यसपछि हरेक वर्ष सरकारले बजेट
छुट्याउँदै आयो । अहिलेसम्म सबै काम पूरा गर्न तीन अर्ब रुपैयाँ नाघ्यो । कोभिड महामारीले केही समय काम बिथोलियो । यो आयोजना अझै पूरा भइसकेको छैन । थप भौतिक पूर्वाधार बन्ने प्रक्रियामा नै छ । मन्त्री निवास छेउमै घर भएका सुर्खेतका ऋषि शर्मा भन्छन्, ‘मलाई मन्त्री आवास सुन्दर लाग्थ्यो । यसले भैंसेपाटी परिचित बनाएको थियो । हरेक बिहान उठ्नेबित्तिकै जलेको भवन देख्छु । यो देख्दा मन साह्रै खिन्न हुन्छ ।’
