संविधानसभाले नयाँ बानेश्वर सम्मेलन केन्द्रमा बसेर संविधान बनाएको थियो, यहीँबाट ३ असोज २०७२ मा संविधान घोषणा गरिएको थियो ।
जनताले चुनेका विधायकहरूले कानुन निर्माण गर्ने थलो हो संघीय संसद् भवन । नयाँ बानेश्वरस्थित त्यही सभाहलको परिसरमा २३ भदौमा एकैछिनमा सुरक्षाकर्मीको गोली लागेर १९ युवाले ज्यान गुमाए । अब त्यस सभाहलमा आँखा पुग्नेबित्तिकै हरेकले मुलुकका होनहार युवा गुमाएको इतिहास सम्झिनेछन् ।
संसद् भवन क्षेत्रमा एकै दिन त्यति धेरै युवा मारिएको आक्रोशले भोलिपल्ट आगोको रूप लियो र देशभर सल्कियो । संसद् भवनसमेत आगजनीमा पर्यो । सभाहल र ठूलाठूला बैठक कोठाको भित्री भागसमेत जल्यो । सभाहल मानव कंकालजस्तै छ अहिले ।
भवनको इतिहास
मुलुकमा विदेशी पाहुनासमेतको सहभागितामा हुने बैठक तथा सभा आयोजना गर्ने आधुनिक हलको आवश्यकता चालीसको दशकमा महसुस गरिएको थियो । विशेषतः दक्षिण एसियाली सहयोग संगठन (सार्क) को बैठकका लागि विदेशी पाहुना सहभागी गराउने सभाहलको खाँचो टड्कारो भएको थियो । त्यही आवश्यकता पूरा गर्न तत्काल राजा वीरेन्द्र शाहले सभाहल बनाइदिन चीनसँग अनुरोध गरेका थिए । त्यो अनुरोध स्विकार गरेर चीनले उपहारस्वरूप सभाहल बनाइदिएको थियो ।
चीन सरकारको करिब १ अर्ब अनुदान र नेपाल सरकारको डेढ करोड लागतमा तीन दशकअघि बनाइएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रिय सम्मेलन, ठूला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, शैक्षिक सेमिनार, राजनीतिक दलका महाधिवेशन, ठूलठूला भोजसमेत हुँदै आएका थिए । तत्कालीन शाही नेपाली सेनाको क्याम्प रहेको त्यस स्थानमा बनेको भवनको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले नै नोभेम्बर १९९३ अर्थात् मंसिर २०५० मा गरेका थिए । भवनको नाम वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) राखिएको थियो । भवनको डिजाइन चिनियाँ इन्जिनियर तथा आर्किटेक्टले गरेका थिए । चीन सरकारको करिब १ अर्ब अनुदान र नेपाल सरकारको डेढ करोड लागतमा सम्मेलन केन्द्र तयार भएको थियो ।
नेपालमा पहिलो सार्क शिखर सम्मेलन नोभेम्बर १९८७ मा काठमाडौंको प्रज्ञा भवनमा भएको थियो । त्यतिबेला सवैभन्दा राम्रो र ठूलो सभाहल प्रज्ञा भवन मात्र थियो । त्यति बेला मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री थिए । त्यसपछि दोस्रो पटक नेपालले जनवरी २००२ मा ११ औं सार्क शिखर सम्मेलन गर्दा बानेश्वरस्थित यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोग गरिएको थियो । त्यति बेला प्रधानमन्त्री शेरबहादुर देउवा थिए । तेस्रो शिखर सम्मेलन २०१४ मा पनि यहीँ भएको थियो । त्यति बेला सुशील कोइराला प्रधानमन्त्री थिए ।
अन्तर्राष्ट्रिय सम्मेलन, ठूला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, शैक्षिक सेमिनार, राजनीतिक दलका महाधिवेशन, ठूलठूला भोजसमेत यही सम्मेलन केन्द्रमा हुँदै आएका थिए । करिब ४ सय सवारीसाधन पार्किङ गर्न पनि सकिने १ सय ५३ रोपनी जमिनमा फैलिएको केन्द्रलाई आकर्षक थलोका रूपमा विकास गरिएको थियो ।
२०१७, राष्ट्रिय पञ्चायत र २०४८ पछिको संसद् बैठक सिंहदरबारको पुतली बगैंचामा सञ्चालन गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनपछि सिंहदरबारको पुतली बगैंचामा ३ सय ३० सांसद अटाउने ठाउँ तयार गरिएको थियो । त्यस सभाहलमा अन्तरिम व्यवस्थापिका संसद्को बैठक सञ्चालन गरिएको थियो । त्यसो त बीआईसीसी बन्नासाथ नै त्यसलाई संसद् भवन बनाउनुपर्ने सुझाव आएको थियो ।
बीआईसीसी उद्घाटन हुनुअघि तत्कालीन चिनियाँ राजदूतले संसद् सचिवालयका सचिव सूर्यकिरण गुरुङलाई भेटेर भनेका थिए, ‘तपाईंको देशमा प्रजातन्त्र आएको छ । अब हाम्रो सहयोगमा बनेको बानेश्वरको भवनलाई संसद् भवन बनाउँदा राम्रो होला ।’ गुरुङले राजदूतको यो भनाइ तत्कालीन सभामुख दमननाथ ढुंगानालाई सुनाए । तर ढुंगानाले प्रस्ताव अस्वीकार गरे । गुरुङका अनुसार ढुंगानाले भनेका थिए, ‘संसद् बैठक बस्ने भवन आफ्नै पैसाले बनाउनुपर्छ । संसद् बैठक बस्ने भवन पनि विदेशीले बनाएको सन्देश जानु राम्रो होइन ।’ गुरुङका अनुसार त्यति बेला ढुंगानाले नमानेकै कारण संसद् बैकठले सिंहदरबारमा निरन्तरता पाएको थियो ।’
२०६४ को पहिलो संविधानसभा निर्वाचनबाट ६ सय १ जना सदस्य निर्वाचित हुने भएपछि विकल्पका रूपमा नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्रलाई छनोट गरिएको संसद् सचिवालयका तत्कालीन कायममुकायम महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । ‘पुतली बगैंचाको पुरानो संसद् भवनमा बैठक सञ्चालनको सम्भावना नभएपछि मन्त्रालयका सचिवहको बैठकले बीआईसीसीमा व्यवस्थापिका संसद् सञ्चालन गर्ने निर्णय लिएको हो,’ उनले भने, ‘मुलुक चुनावमा होमिएका कारण राजनीतिक रूपमा निर्णय गर्ने अवस्था नभएकाले मेरो नेतृत्वमा जोखिम मोलेर सचिवहरूको सहमतिमा त्यस्तो निर्णय गरिएको हो ।’
दुवै संविधानसभा नयाँ बानेश्वरकै भवनमा सञ्चालन गरियो । अर्थात् संविधानसभाले यही सम्मेलन केन्द्रमा बसेर संविधान बनाएको थियो । ३ असोज २०७२ मा यही सम्मेलन केन्द्रमा संविधान घोषणा गरिएको थियो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले यही हलबाट मुलुक गणतन्त्रमा गएको घोषणा गरेका थिए । सम्मेलन केन्द्रमा बसेर सांसदहरूले सयौं कानुन बनाएका छन् ।
संसद् भवन क्षेत्रमा एकै दिन १९ युवा मारिएपछि उत्पन्न भएको आक्रोशले भोलिपल्टै आगोको रूप लियो र देशभर सल्कियो । संसद् भवनसमेत जोगिएन । मुलुक संघीयतामा गएपछि यसलाई संघीय संसद् भवनका रूपमा चिनिँदै आएको छ । संसद् भवनको सगरमाथा हलमा प्रतिनिधिसभा र नुप्से हलमा राष्ट्रिय सभाको बैठक बस्ने गरेको थियो । कुर्सी पनि सांसद बस्ने र बैठक सञ्चालन गर्ने गरी बनाइएको थियो । लोत्से हल बहुउद्देश्यीय उपयोगमा थियो । एक सय जना क्षमतको गौरी हलमा राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक बस्दै आएको थियो । शंकर हलमा प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक बस्ने गरेको थियो ।
गण्डकी र कोशी हलको क्षमता ५०–५० जना अट्ने थियो । गण्डकी हललाई राष्ट्रिय सभाको अध्यक्षको कार्यकक्ष र कोशी हलमा विपक्षी दलको कार्यकक्ष तथा उपाध्यक्षको कार्यकक्ष बनाइएको थियो । अन्नपूर्ण स्काई लाइट नाम दिइएको एउटा खुला हल थियो । बाल्कोनीभन्दा माथिल्लो तलामा मर्यादापालकको पोसाक परिवर्तन गर्ने कैलाश हल थियो । भवनको कुल बन्द क्षेत्रफल १२ हजार ५ सय ७३ वर्ग मिटर रहेको छ । उक्त भवनमा बैठक कोठा, कार्यालय कक्ष, अतिथि स्वागत हल र प्रेस कक्षको पनि व्यवस्था थियो । भवनलाई उच्चस्तरको ध्वनि प्रणाली, प्रकाश व्यवस्थापन तथा अनुवाद प्रविधिले सुसज्जित गरिएको थियो ।
मूल सभाहलमा १ हजार ४४ जना अट्थे । सांसद बस्ने सिट भने ‘ग्राउन्ड फ्लोर’ मा ४ सय ७८ र बाल्कोनीमा ५ सय ३६ जना अटाउने गरी डिजाइन गरिएको थियो । संघीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा) बैठक सञ्चालनका लागि भाडामा लिएको सभाहल प्रयोग गरेबापत संसद सचिवालयले बर्सेनि १५ करोड सरकारलाई बुझाउने गरेको छ । दुवै सदनको संयुक्त बैठक पनि यही सभाहलमा बस्ने गरेको थियो ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको संघीय संसद् भवनमा २०७२ को भूकम्पका बेला आंशिक क्षति भएको थियो । त्यसपछि चीन सरकारले नै मर्मत गरिदिएको थियो । सिंहदरबारमा संघीय संसद् भवन बनिरहेको छ । त्यसैले नयाँ बानेश्वरको भवन पुनर्निर्माण गरिए पनि आगामी निर्वाचनबाट आउने विधायकहरूको बैठक सिंहदरबारकै भवनमा सञ्चालन हुने सम्भावना छ ।
मन्त्रिपरिषद्ले १३ कात्तिक २०८१ मै ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश)’ पारित गरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका ठूला भवन निजी क्षेत्रलाई भाडामा दिने प्रक्रिया अघि बढाएको थियो । गठन आदेश ३ मंसिर २०८१ मै नेपाल राजपत्रमा प्रकाशित भइसकेको थियो ।
के–के जले ?
संसद् सचिवालयका अनुसार संसद् भवनका फर्निचर, कम्प्युटरलगायत सबै सरसामान जलेका छन् । करोडभन्दा बढी मूल्य पर्ने क्यामरा, टेलिभिजन पनि जोगिएनन् । पछिल्लो संसद्का रेकर्ड सबै नष्ट भएका छन् । संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेका अनुसार सबै दलको संसदीय दलको सम्पर्क कार्यालय, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मिडिया सेन्टरलगायतका कार्यालयमा रहेका महँगा फर्निचर जलेका छन् ।
