‘द भिगन सोसाइटी’ को २०२० को प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा शाकाहारी जनसंख्या ७ करोड ९० लाख नाघेको छ । यसलाई मानव सभ्यतामा आएको हरित लहर भनी टिप्पणी पनि गरिएको छ ।
What you should know
मन परेको कुरा गर्नलाई ज्यादा चाहिनेभन्दा बढ्ता झन्झट उठाउन हुन्न भन्नका लागि पश्चिमाहरू अक्सर एउटा वाक्य प्रयोग गर्छन्– खानेकुरा मन पर्यो भन्दैमा रेस्टुरेन्ट नै नकिन्नु । आमरूपले मानिसहरू यो उखानको विपक्षमा जानु त के जाने विचार पनि गर्दैनन् । किनभने, थोरै आनन्दका लागि बढ्ता झमेला लिन कोही पनि हम्मेसा तयार हुँदैन ।
तर, ललितपुर लेलेका कल्याण सिलवाल भने यस मामिलामा ठीक विपरीत निक्लिए । उखानमै भनेजस्तो, उनले खाना मीठो लागेपछि रेस्टुरेन्ट नै किनिदिए ! झम्सिखेलको ‘भिगन हाउस’ मा जानुभयो भने तपाईं त्यहाँ सिलवालको मनपसन्द खानेकुरा अर्डर गरेर खान सक्नुहुन्छ । यसरी, तीन वर्षदेखि उनले भिगन रेस्टुरेन्ट चलाउनुको एउटा रमाइलो कथा छ ।
कुरा के भने माछा–मासु, दही–दूध जे पनि खाने कुनै समयका ‘सर्वहारी’ सिलवाल जीवनको एउटा बिन्दुमा आइपुग्दा भिगन अर्थात् जनावरबाट आएको केही पनि नखाने मानिसमा दर्ज हुन पुगे । लकडाउनका बेला सडकमा कुकुर र बाच्छाबाच्छीलाई खुवाउने काम गर्थे । सुनाकोठीमा बसेर ढोलाहिटीका चौपायालाई खुवाउने उनको नियमित चर्याले गर्दा होला, ढोलाहिटीतिरबाट गुज्रँदा उनलाई ती चौपायाले चिनेझैं गरी हेर्न थाले र नजिक पुगेपछि मायाले लुटपुटिए ।
‘जनावरमा यति ठूलो बुझाइ रहेछ, अब यिनलाई दुःख दिएर निकालिएको केही पनि खान्न भन्ने मलाई लाग्यो’ सिलवाल भन्छन्, ‘त्यसैले म भिगन भएँ ।’ तिनताक झम्सिखेलमा भर्खर—भर्खर खोलिएको भिगन रेस्टुरेन्ट ‘सिया’ मा उनी नियमित रूपले जान्थे र खानपिन गर्थे ।
माछा–मासु र दही–दूध केही पनि नपाइने हुनाले ग्राहक भने त्यहाँ उति हुन्नथे । घाटामा चलाइरहन सम्भव नभएपछि सियाकी सञ्चालक निरु गुरुङ यसलाई कि बेच्ने कि बन्द गर्ने मनस्थितिमा पुगिन् । यो थाहा पाएपछि सिलवाललाई ललितपुरमा भएको एउटै भिगन रेस्टुरेन्ट पनि बन्द होला कतै भन्ने शंकाले घेर्यो । र, सिलवाल आफैंले यसलाई किने । अनि नाम र केही डेकोरेसन फेरेर उनले भिगन अर्थात् शुद्ध शाकाहारी रेस्टुरेन्ट चलाउँदै आएका छन् ।
पेसाले पर्यटन व्यवसायी सिलवाल सधैं नै रेस्टुरेन्ट स्याहारेर बस्न सक्दैनन् । त्यसैले उनले जनावरहरूलाई माया गर्ने र सडकका कुकुरहरूलाई बिहान—बेलुकै खुवाउने काममा लाग्दै आएकी पशु कल्याणकी अभियन्ता अर्चना भुर्तेललाई बिजनेस पार्टनर बनाए । अचेल ढुक्कले रेस्टुरेन्ट पनि चलाउन र समय लिएर पदयात्रामा पनि निक्लन कल्याणलाई कुनै बाधा छैन ।
किनभने भिगन हाउसको रेखदेख र सञ्चालन सझेदार उनै भुर्तेलले गर्छिन्, जहाँ सुरुमा आउँदा मेनुमा आफूलाई मन पर्ने परिकार नदेखेर ग्राहकहरू नाक खुम्च्याउँछन् तर पछि सेटान (भिगन मिट) र भिस (भिगन माछा) देखि भिगन दही, दूधसम्म पनि खान स्वाद मानेर पाएपछि तिनै ग्राहक आश्चर्यले आँखीभौं उचाल्छन् ।
‘यहाँ माछा–मासु र दही–दूध मात्रै होइन, घिउ र मह पनि खान पाइन्न भन्दा सुरुमा ग्राहकहरू अब के खाने त भनेर नरमाइलो मान्थे,’ सिलवाल भन्छन्, ‘तर, खानेकुरा चाखेपछि चाहिँ उनीहरू कति मीठो पो रहेछ भनेर खुसी व्यक्त गर्थे ।’ यसरी खुसी भएका ग्राहकहरू बढेपछि र उनीहरू नियमित जस्तो आउन थालेपछि अचेल भिगन हाउस ‘ब्रेक इभन’ (लगानी उठ्ने गरी हुने व्यापार) बिन्दुमा पुगिसकेको छ ।
‘मानिसहरूले सन्तुष्टि मानेर खाएको देख्दा खुब मज्जा आउँछ,’ सिलवाल र भुर्तेल दुवैको एउटै अनुभव छ, ‘माछा–मासु र दही–दूध बिना पनि मिष्ठान्न भोजन गर्न सकिन्छ भन्ने विश्वास उनीहरूमा पलाएको देख्दा भिगन जीवनशैली फैलाउने आफ्नो मिहिनेत सफल भयो भनेजस्तो लाग्छ ।’
माछा–मासुमा त सिधै हिंसा छँदै छ— मह, दही–दूध र अन्डामा पनि ठूलो हिंसा छ भन्दै अचेल संसारभर ‘प्लान्ट बेस्ड डायट’ अर्थात् शुद्ध शाकाहार भोजन गर्ने चलन बढेको छ, जसलाई भिगनिजम अर्थात् प्राणीहरूबाट निकालिएको पदार्थ नखाने अभियानका रूपमा लिइन्छ । भिगनहरू मासु खान मन लागे सेटान (अंकुरित गेडागुडीलाई पेलेर बनाइएको हेर्दा र खाँदासमेत मासु जस्तो देखिने एक परिकार) खान्छन् ।
दूधको तिर्सना लागे नरिवल, भटमास वा देशी बदामको दूध निकालेर खाने र आवश्यक पर्दा त्यसैबाट खिर पनि बनाउने गर्छन् । यस्तो सट्टापट्टापूर्ण सुविधाले गर्दा भिगन परिकार खाने र पछि त शुद्ध रूपले भिगन नै पनि हुनेहरूको संख्या बढेको कल्याणको अनुभव छ ।
पश्चिमा समाजमा अचेल एकदमै तीव्रताका साथ फैलिएको भिगन जीवनशैली सुरु हुनेताकाको समय भने बिलकुल भिन्नै थियो । त्यतिबेला मानिसहरूका लागि भिगन बिलकुलै नसुनिएको शब्द थियो भने त्यसको अर्थ त झन् थाहा हुने कुरै भएन । नेपालको पहिलो भिगन रेस्टुरेन्ट ‘लबिङ हार्ट’ कि सञ्चालक सामु योञ्जनलाई दुई दशकअघि यसबारे मानिसहरूलाई बुझाउन ठूलो सकस पर्ने गर्थ्यो । कतिसम्म भने वर्षौंसम्म, धेरै पटक ग्राहकहरू उनको रेस्टुराँको टेबलबाट केही पनि नखाईकन निक्लेका छन् ।
उनीहरू चुरोट खान खोज्थे । योञ्जन हात जोडेर भन्ने गर्थिन्– ‘हजुर, यो त यहाँ बेचिन्न ।’ मासु र चुरोट पनि उनले यसै गरी जौंला हात जोरेर ‘छैन’ भन्दा तैबिसेक शान्त देखिएकाहरू जब ‘दही, दूध र घिउसमेत पनि खान पाइन्न ?’ सोध्थे र भन्थे— ‘हैन के बेच्नु हुन्छ त हौ ? यस्ताले के खुवाउन खोलेको रेस्टुरेन्ट ?’ भनेर झर्कन्थे र फरक्क फर्कन्थे । सामु भने उही नम्र पारामा भिगन खाना भनेको के हो र यहाँ के पाइन्छ भन्नेबारे सम्झाउन तल्लीन हुन्थिन् ।
माछा, मासु नखाने तर दही, दूध खाने मानिसलाई शाकाहारी भन्छन् भन्ने त कसैले कसैलाई सम्झाइराख्नै पर्दैन । अझ कतिले त माछा र अन्डा पनि शाकाहार नै मानेर काम चलाइराखेका हुन्छन् । तर, जनावरबाट आएको कुनै पनि पदार्थ नखाने कामलाई ‘शुद्ध शाकाहार’ हो भनेर सबैलाई नै अर्थ्याइरहन पर्ने अवस्था रहेछ भन्ने सामुलाई तब थाहा भयो जब उनले ‘शुद्ध शाकाहारी’ भनेर ‘लबिङ हर्ट’ माने मायालु हृदय नामको चमेना गृह खोलिन् ।
जनावरलाई दुःख दिएर क्रूरतापूर्वक तयार पारिने कुनै पनि पदार्थ खान छाडेकी सामुलाई बाहिरफेर भोजन गर्न सितिमिती नजुरेपछि एउटा रेस्टुरेन्ट त आफैं खोल्छु भन्ने लागेछ । तब ध्यानीहरू धेरै आउने ठाउँ भएकाले चल्छ होला भनेर उनले बौद्धमा शुद्ध शाकाहार माने भिगन रेस्टुरेन्ट खोलिन्, जहाँ मेनुमा मदिरा र चुरोट त परै जाओस्, मासु र दही, दूधका परिकार पनि नदेखेपछि ग्राहकहरू कसरी भड्कन्थे भन्ने त माथि नै पढिसक्नुभयो । नेपालीहरूले ज्यादै नबुझेपछि गोरेहरूले बुझ्छन् कि त भनेर उनले रेस्टुरेन्टलाई पर्यटकहरू आउने ठाउँ ठमेल सारिन् । ठमेलमा भने सिजनमा ग्राहकहरूको दुःख उनलाई भएन ।
भिगन जीवनशैलीको मुख्य दर्शन हो– क्रूरताबिनाको खाना । जनावरलाई मारेर मासु निकाल्नु वा सास्ती दिएर दूध दुहुनु, मह काढ्नु वा अन्डा लिनुजस्ता काममा हिंसा र क्रूरता हुने हुनाले भिगनहरू त्यो खाँदैनन् । फलफूल, अन्नपात र सागसब्जीले नै पर्याप्त पोषण दिने र त्यसबाट अनेकन परिकार बन्ने हुनाले जनावरलाई खानेकुरामा समावेश गर्न उनीहरू रुचाउँदैनन् । पछिल्लो दशकयता भिगनहरू संसारभर नै बढेका छन् ।
‘द भिगन सोसाइटी’ को २०२० को प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा शाकाहारी जनसंख्या ७ करोड ९० लाख नाघेको छ । यसलाई मानव सभ्यतामा आएको हरित लहर भनी टिप्पणी पनि गरिएको छ । मानवीय करुणा त छँदै छ, आफ्नै स्वास्थ्यका लागि पनि जनावरलाई भोजनमा संलग्न गराउनु हुन्न भन्ने चेतनाले पनि भिगन हुनेहरू बढेका छन् ।
