What you should know
स्वादहरूको यो संग्रहालयभित्रगोलघरजस्तो त्रासद एकान्तमावर्षौंदेखि कैद छु
म-हाकु छोयला
पत्रकार महोदय !
लेखिदिनुस् न- मेरो कथा, मेरो व्यथा
हुनुपर्ने त हो म, खासमा यतिबेला
चोक, गल्ली र दाफाको वरिपरि खुलेका
भव्य रेस्टुरेन्टहरूमा
बार र स–साना भट्टीहरूमा
-मानिसहरूको रमाइला सन्ध्याकालीन गफहरूबीच
- दुःख, पीडा र प्रेमका अनगिन्ती गीतहरूबीच
- श्रम र सभ्यताको बिसौनीजस्ता मधुर–मधुर धुनहरूबीच
म त प्लेटभित्र चम्चाको संगीतसँगै नाचिरहेको हुनुपर्ने हो ठाँटले
तर म,
कसरी आइपुगें यो विशाल संग्रहालयको तिरष्कृत गोलघरभित्र ?
म जन्मिँदा-
यो सहरमा जन्मेकै थिएन-बिस्का र कुमारी जात्रा,
जन्मेकै थिएन- घिन्ताङ घिसी ट्वाक र मत्स्येन्द्रनाथको रथयात्रा,
गणे–द्यौ र भीमसेन–द्यौहरू खेल्ने
संस्कृतिका आदिम पटांगिनीहरू जन्मेकै थिएन,
मान्छे र देउताले खड्ग साटेको समय
सुरु भएकै थिएन,
जतिबेला भयो- यो धर्तीमा आगोको आविष्कार
भोकको आदिम सभ्यतासँगै मिसिएर
त्यतिबेलै जन्मेको हुँ म आदिवासी चुल्होमा
घाँसे धूवाँको नोस्टाल्जिक हरकसहित
हो, हुनुपर्ने त हो म यतिबेला
प्रत्येक आदिवासी चुल्होका लयहरूमाझ
वालामयजूको मोहनीलाग्दो बाँसुरीको धूनहरूसँगै
नाचिरहेको हुनुपर्ने हो म हर मानिसको जिब्रो–जिब्रोमा
तर म,
कसरी आइपुगें- संग्रहालयको चिसो छिँढीमा
इतिहास बनेर ?
म त मै हुँ नि !
हाकु छोयला
अर्थात् परालको आगोले डढाएको कालो छोयला
तपाईं आफैं भन्नुस् न-
के म पिज्जा बन्न सक्छु ?
सहरमा नयाँ खुल्दै गरेका असंख्य बर्गर हाउसहरूभित्र
के म आफ्नो स्वाभिमान बेच्न सक्छु ?
बेइजिङ डक र चिकेन प्लाटरका प्लेटहरूसित
के म साट्न सक्छु आफ्नो स्वादको मौलिकता ?
कुनै समय-
मै थिएँ, यो सहरको जेसुम स्वाद
जहाँ–जहाँ पुग्यो नेवारी सभ्यता
बालकुमारी, भीमद्यौ र नासाद्यौ
पछ्याउँदै पुगेको थिएँ म पनि
फैलिएको थिएँ म पनि आयतनभरि
जसरी सुनको औंठीमाथि टल्किएको सुन्दर
इयुजस्तै ठिमीको उकालोमा
सभ्यताको आयतन फैलाउन आर्ट ग्यालरी खोलिरहेछन्-दीपेन्द्र बनेपाली र चन्द्रा श्रेष्ठ
छाडेर भोटजस्तै प्रवास भासिन मदनकृष्ण श्रेष्ठहरू
जसरी बनाइरहेछन् ठिमीको समृद्ध मार्गचित्र
रैथाने बास्ना फैलाउन चारैतिर
जसरी चलाइरहेछन् जेसुम अभियान
अनिता लामाहरू
म पनि त त्यसैगरी बन्न सक्थें होला स्वादहरूको राजदूत !
पत्रकार महोदय !
सोध्नुस् न तपाईंकै पेसाका पुर्खाहरूलाई
अक्षर संवादका थुप्रै माधुरी साँझहरूमा
मैले कसरी साथी बनेर सघाएको थिएँ ?
कसरी ऊर्जाको स्रोत बनेको थिएँ म ?
हो, हुनुपर्ने त हो म यतिबेला
हर पत्रकारहरूको अक्षरहरूसित नाच्दै
तर, कसरी आइपुगें म
स्वादहरूको यो संग्रहालयभित्र ?
प्रिय पत्रकार,
कुनै समय भेट भयो भने यो देशको विधायकसित
सोधिदिनुहोला-
स्वादहरूको आत्मपहिचान जगाउने विधेयक कहिले आउँदै छ ?
