कविता : हाकु छोयलाको प्रेस विज्ञप्ति 

श्रावण २४, २०८२

फूलमान वल

Kavita: Haku Choyla's press release

What you should know

स्वादहरूको यो संग्रहालयभित्रगोलघरजस्तो त्रासद एकान्तमावर्षौंदेखि कैद छु

म-हाकु छोयला

पत्रकार महोदय ! 

लेखिदिनुस् न- मेरो कथा, मेरो व्यथा

हुनुपर्ने त हो म, खासमा यतिबेला

चोक, गल्ली र दाफाको वरिपरि खुलेका

भव्य रेस्टुरेन्टहरूमा 

बार र स–साना भट्टीहरूमा

-मानिसहरूको रमाइला सन्ध्याकालीन गफहरूबीच

- दुःख, पीडा र प्रेमका अनगिन्ती गीतहरूबीच

- श्रम र सभ्यताको बिसौनीजस्ता मधुर–मधुर धुनहरूबीच

म त प्लेटभित्र चम्चाको संगीतसँगै नाचिरहेको हुनुपर्ने हो ठाँटले 

तर म, 

कसरी आइपुगें यो विशाल संग्रहालयको तिरष्कृत गोलघरभित्र ?

म जन्मिँदा-

यो सहरमा जन्मेकै थिएन-बिस्का र कुमारी जात्रा,

जन्मेकै थिएन- घिन्ताङ घिसी ट्वाक र मत्स्येन्द्रनाथको रथयात्रा,

गणे–द्यौ र भीमसेन–द्यौहरू खेल्ने

संस्कृतिका आदिम पटांगिनीहरू जन्मेकै थिएन,

मान्छे र देउताले खड्ग साटेको समय 

सुरु भएकै थिएन,

जतिबेला भयो- यो धर्तीमा आगोको आविष्कार 

भोकको आदिम सभ्यतासँगै मिसिएर 

त्यतिबेलै जन्मेको हुँ म आदिवासी चुल्होमा

घाँसे धूवाँको नोस्टाल्जिक हरकसहित

हो, हुनुपर्ने त हो म यतिबेला

प्रत्येक आदिवासी चुल्होका लयहरूमाझ

वालामयजूको मोहनीलाग्दो बाँसुरीको धूनहरूसँगै 

नाचिरहेको हुनुपर्ने हो म हर मानिसको जिब्रो–जिब्रोमा

तर म, 

कसरी आइपुगें- संग्रहालयको चिसो छिँढीमा 

इतिहास बनेर ?

म त मै हुँ नि !

हाकु छोयला

अर्थात् परालको आगोले डढाएको कालो छोयला

तपाईं आफैं भन्नुस् न-

के म पिज्जा बन्न सक्छु ?

सहरमा नयाँ खुल्दै गरेका असंख्य बर्गर हाउसहरूभित्र

के म आफ्नो स्वाभिमान बेच्न सक्छु ?

बेइजिङ डक र चिकेन प्लाटरका प्लेटहरूसित 

के म साट्न सक्छु आफ्नो स्वादको मौलिकता ?

कुनै समय-

मै थिएँ, यो सहरको जेसुम स्वाद

जहाँ–जहाँ पुग्यो नेवारी सभ्यता

बालकुमारी, भीमद्यौ र नासाद्यौ

पछ्याउँदै पुगेको थिएँ म पनि

फैलिएको थिएँ म पनि आयतनभरि

जसरी सुनको औंठीमाथि टल्किएको सुन्दर

इयुजस्तै ठिमीको उकालोमा

सभ्यताको आयतन फैलाउन आर्ट ग्यालरी खोलिरहेछन्-दीपेन्द्र बनेपाली र चन्द्रा श्रेष्ठ 

छाडेर भोटजस्तै प्रवास भासिन मदनकृष्ण श्रेष्ठहरू

जसरी बनाइरहेछन् ठिमीको समृद्ध मार्गचित्र

रैथाने बास्ना फैलाउन चारैतिर 

जसरी चलाइरहेछन् जेसुम अभियान

अनिता लामाहरू 

म पनि त त्यसैगरी बन्न सक्थें होला स्वादहरूको राजदूत ! 

पत्रकार महोदय ! 

सोध्नुस् न तपाईंकै पेसाका पुर्खाहरूलाई 

अक्षर संवादका थुप्रै माधुरी साँझहरूमा

मैले कसरी साथी बनेर सघाएको थिएँ ?

कसरी ऊर्जाको स्रोत बनेको थिएँ म ?

हो, हुनुपर्ने त हो म यतिबेला

हर पत्रकारहरूको अक्षरहरूसित नाच्दै 

तर, कसरी आइपुगें म 

स्वादहरूको यो संग्रहालयभित्र ?

प्रिय पत्रकार, 

कुनै समय भेट भयो भने यो देशको विधायकसित

सोधिदिनुहोला-

स्वादहरूको आत्मपहिचान जगाउने विधेयक कहिले आउँदै छ ?

फूलमान वल

Link copied successfully