कलेजो रोग र कोभिड- १९ बारे जान्‍नु पर्ने केही कुरा

डा. प्रदेज सापकोटा

काठमाडौँ — कोभिड- १९ सार्स-कोभ-२ भाइरसको संक्रमणका कारणले हुने गर्दछ । विभिन्न उमेर समूहका दीर्घरोगीका साथै कलेजोसम्बन्धी रोग भएकाहरू कोभिड-१९ संक्रमणबाट हुने गम्भीर रुपमा बिमारी हुने जोखिम समूहमा पर्दछन् । पुराना कलेजो रोग जस्तै हेपाटाईटिस बी, सी, कलेजोको सिरोसिस वा यससम्बन्धी जटिलता भएका व्यक्तिहरूलाई कोभिड-१९ को संक्रमण भएमा मृत्युको बढी जोखिममा हुन्छ ।

कलेजो रोग र कोभिड- १९ बारे जान्‍नु पर्ने केही कुरा

कोभिड-१९ संक्रमण भएर अस्पतालमा भर्ना भएका केही बिरामीहरूमा कलेजोका इन्जाइम्स्हरू जस्तै एएलटी, एएसटीको मात्रा बढेको पाइन्छ जसले अस्थायी रूपमा कलेजोलाई क्षति गरेको बुझिन्छ। अध्ययनहरू अनुसार कोभिड-१९ को संक्रमण भएका १५-५५ प्रतिशत बिरामीहरूमा यी इन्जाइम्सहरू बढेको पाइएको छ ।

हेपाटाईटिस

हेपाटाईटिस संक्रमण भएका व्यक्तिहरुमा कोरोनाभाइरसको संक्रमणले गम्भीर बिरामी बनाउने उच्च जोखिम हुन्छ । हेपाटाईटिस बी र सी संक्रमणको उपचार भइरहेका बिरामीहरूले औषधी सेवनलाई निरन्तरका दिँदै आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग परामर्श लिनुपर्दछ। हेपाटाईटिस एको प्रकोप कोभिड -१९ महामारीको अवस्थामा पनि जारी छ। हेपाटाईटिस एको उच्च जोखिममा रहेका व्यक्तिहरुले कोभिड -१९ बाट बच्न र फैलन नदिन रक्षात्मक कदमहरु अपनाउन जरूरी हुन्छ।

मास्कको प्रयोग गर्ने, २ मिटरको दुरी कायम राख्ने भिडभाडमा नजाने, राम्रोसँग हावा चल्ने कोठामा बस्ने, राम्रोसँग हात धुने, हात धुन नमिल्ने अवस्थामा ७०% भन्दा धेरै अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने जस्ता सामान्य मापदण्डहरू अवलम्बन गर्नुपर्दछ। यस्ता उच्च जोखिममा भएका व्यक्तिहरुले हेपाटाईटिस एको खोप (पहिले नलगाएको खण्डमा) लगाउनु पर्दछ ।

हेपाटाईटिस बी र सी संक्रमण भएका व्यक्तिहरूले स्वस्थ जीवनशैली अपनाउनुका साथै माथि उल्लेखित सबै साबधानी का उपायहरु अङ्गाल्नुपर्दछ। दैनिक शारीरिक व्यायाम र पोषिलो खानेकुरा खानु जरुरी छ ।

यो महामारीको अवस्थामा कलेजो रोगका बिरामीहरुले आफुले प्रयोग गरिरहेका औषधीहरु पर्याप्त मात्रामा २/३ महिनालाई पुग्ने गरी घरमा राख्दा अनावश्यक रुपमा औषधी पसल वा अस्पताल धाइराख्नु पर्दैन । चिकित्सकहरुको सल्लाह अनुसार धेरै पुरानो कलेजो रोगको बिरामीहरुले हेपाटाईटिस ए, इन्फ्लुएन्जा, न्यूमोकोकल रोगको भ्याक्सिन लगाउनुपर्दछ। माहामारीको यस विषम परिस्थितिमा सकेसम्म आफ्नो नियमित चिकित्सक वा स्वास्थ्यसेवा प्रदायकसँग टेलिमेडिसिनको सम्पर्क आधार बनाएरआवश्यक परामर्श र जानकारी लिन सकिन्छ।



मदिरा तथा सुर्तीजन्य पदार्थहरु सेवन गर्नु कलेजो रोगका बिरामीहरुको लागि निकै नै घातक हुन्छ। दुखद कुरा यो छ की माहामारीको यो अवस्थामा मादक पदार्थ सेवनका कारण हुने कलेजो रोग बढ्दो अवस्थामा छ। न्यू योर्कका अस्पतालहरूमा गरिएको एक अनुसन्धान अनुसार यस्ता रोगका बिरामीहरू कोभिड-१९ अगाडि ३५% मात्रै थिए भने अहिले तिनको संख्या ४९% रहेको छ। कोभिड -१९ संक्रमण घटेको अवस्थामा ४२% उपचारका लागि अस्पताल भर्ना भएकाछन् । यो तथ्याङ्कले लकडाउनमा अत्याधिक मादक पदार्थको सेवनले गर्दा नयाँ कलेजोरोगीको संख्या बढेको देखाउँछ। त्यसरी नै धुम्रपानले कोभिड -१९ संक्रमण भई श्वास प्रश्वास समस्यासँग जुधिरहेकाहरुलाई झन् जोखिम थप्ने काम मात्र गर्दछ।

कलेजोको सिरोसिस

कलेजोको सिरोसिस भएका व्यक्तिहरु कोभिड-१९ का कारण विकास हुने जटिलताको उच्च जोखिममा हुन्छन् । सिरोसिस भएका बिरामीलाई संक्रमण भएमा भईरहेको कलेजो सम्बन्धी रोगले धेरै समस्या निम्त्याउने, लामो समयसम्म अस्पताल बस्नुपर्ने वा मृत्‍युकै जोखिम हुन्छ। यस् प्रकृतिका बिरामीहरुले कोभिड -१९ को संक्रमण हुन नदिन सावधानीहरू अपनाउनु जरुरी छ।

जब कलेजो भित्रका स्वस्थ तन्तुहरुलाई दाग भएका तन्तुहरुले बदलिदिन्छन्, त्यस्तो अवस्थालाई कलेजोको सिरोसिस भनिन्छ। यो पुरानो कलेजो रोगहरु जस्तै भाईरल हेपाटाइटिस, अत्याधिक मदिरा सेवन, अत्याधिक मोटोपना, मधुमेह, पित्त नलिका रोगहरु, विभिन्न प्रकारका विषाक्तहरू र जन्मजात रोगहरुको कारणले हुने गर्छ।

एक तिहाइ कलेजोले पर्याप्त कार्य गर्दै गरेको अवस्थासम्म धेरै मनिसहरुको जीवन सामान्य नै हुन्छ तर जब उनीहरु रोगको उच्च बिन्दुमा पुग्छन् वा गम्भीर बिमारी जस्तै कोभिड-१९ को संक्रमण हुन्छ तब छोटो समयमा नै बिरामीको अवस्था सिथिल भई मृत्‍यु हुनसक्छ। यस्तो अवस्थामा ६५ वर्ष उमेर भन्दा माथिका मानिसहरु उच्च जोखिम वर्गमा पर्दछन् ।

कलेजोको क्यान्सर
कलेजोको क्यान्सर भएका बिरामीहरुमा यस कोभिड-१९ रोगबाट हुने जटिलता र मृत्‍युदर उच्च हुनुका मुख्य २ कारणहरू कलेजोको सिरोसिस र क्यान्सर आफैं हो । कोभिड -१९ को संक्रमणको बेलामा कलेजोको क्यान्सरको उपचार निकै नै असहज भएको पाइन्छ। अस्पतालहरुमा क्यान्सर जाँचको लागि सिमित पहुँच, सिमित आईसीयू र अस्पतालका शैयाहरु, बिशेषज्ञ चिकित्सकहरुलाई रेफरल घट्नु आदि कुराहरुले गर्दा कलेजो क्यान्सरका बिरामीहरुको थप व्यवस्थापन र उपचारमा बाधाहरु आइपर्ने हुन्छन्।

उपचार हुँदै गरेका कलेजो क्यान्सर भएका बिरामीहरु जसमा कोभिड -१९ को संक्रमण देखिन्छ त्यस किसिमका बिरामीहरुले संक्रमण अवधिमा क्यान्सरका लागि भइरहेको उपचारलाई अस्थाइ रुपमा बन्द गर्नु उचित हुन्छ।

संक्रमणबाट मुक्त भएको १ हप्तापछि पुनः क्यान्सरसम्बन्धी उपचारलाई सुचारू गर्नुपर्दछ। उपचार पुनः सुरु गर्दा कम्तीमा ३ दिन ज्वरो नआएको र श्वासप्रश्वाससम्बधी लक्षण हुनु हुँदैन। साथै केमोथेरापी दिनुपर्ने, अप्रेसन गर्नुपर्ने आदि कलेजोका क्यान्सरका बिरामीहरु जसमा कोभिड-१९ को संक्रमण भएको वा सन्दिग्ध भएका बिरामीहरुको उपचार २ हप्ताको लागि स्थगित गरी ज्वरो र श्वास प्रश्वासका लक्षण नभएको ३ दिन पछी पुन: सुरु गर्दा बेस हुन्छ।

कलेजो सम्बन्धी रोगहरु आफैमा निकै नै जटिल हुन्छन् र यी बिरामीहरुमा यदी कोभिड -१९ को संक्रमण भएको खण्डमा यसले निम्त्याउने जटिलता र मृत्‍युदर निकै उच्च रहेको छ । कोभिड -१९ संक्रमणबाट बाच्न अपनाउनुपर्ने सावधानीका उपायहरू सतर्कताको साथ अपनाउँदा कलेजो सम्बन्धी दीर्घरोगीहरुले आफुलाई सुरक्षित राख्न सकिन्छ। यदी समस्या नै आइपरेको खण्डमा आफ्ना चिकित्सकलाई फोन, इमेलको माध्यमबाट सम्पर्क गरी आवश्यक परामर्स लिन सकिन्छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?