१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाटन अस्पतालमा बिरामीको भीड बढ्दो

फातिमा बानु

काठमाडौँ — कोभिड–१९ का बिरामी भर्ना गर्न थालेपछि सुनसान बनेको ललितपुरको पाटन अस्पतालमा केहीदिनयता भीड बढ्न थालेको छ । लकडाउन अवधिभर अस्पतालको आकस्मिक,ओपीडी लगायत सबै सेवा खुला भएपनि चहलपल न्यून हुन्थ्यो ।

पाटन अस्पतालमा बिरामीको भीड बढ्दो

अस्पताल प्रवेश गर्नेहरु कोरोना सरिहाल्छ कि भनेर त्रसित हुन्थे । केहीदिनयता अस्पतालको वातावरण सामान्य देखिन थालेको छ । बिरामी,कुरुवा र स्वास्थ्यकर्मी पहिले जस्तो त्रसित छैनन् ।

ललितपुरकी २८ वर्षिया नजमा खातुन बिहीबार गर्भ जाँच गराउन पाटन अस्पताल पुगिन् । कोभिड १९ संक्रमण फैलिएको सुरुवाती दिनमा उनलाई अस्पताल छिर्न डर लागेपनि अहिले सामान्य लाग्ने बताइन् । ‘पहिले त डाक्टरले बोलाएपनि कति पटक अस्पताल आइन,’उनले भनिन्,‘यहाँ कोरोनाको बिरामी नै भर्ना छन् भनेको सुन्दा पेटको बच्चालाई सर्ने जस्तो लाग्थ्यो ।’

उनलाई जस्तै ठेचोका हरि महर्जनलाई पहिले जस्तो अस्पताल पस्न डर लाग्दैन । तीन महिने शिशु बोकेर उनी अस्पताल आएका थिए । बिहीबार उनले शिशुको जाँच गराए । अस्पतालकै क्यान्टिनमा खाजा खाए ।

अस्पतालको टिकट काउन्टर ,फार्मेसी, पैसा तिर्ने काउन्टर र ल्याब रिर्पोट लिने ठाउँ सबैतिर उत्तिकै घुइँचो थियो । मुल गेटमै साबुनपानीले हात धोएर सामाजिक दुरि कायम गर्दै मानिसहरु अस्पतालभित्र पसिरहेका थिए । दैनिक १५ जनासम्म सुत्केरी भइरहेका छन् । आकस्मिक बाहेक अन्य शल्यक्रिया पनि भइरहेका छन् । संक्रमितलाई छुट्टै राखेर उपचार गरेकाले अन्य बिरामीलाई अस्पताल आएर सेवा लिन डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।

दैनिक दुई हजार बिरामी आउने यो अस्पतालमा कोभिड संक्रमणका कारण बिरामी घटेर डेढ सय सम्म पुगेका थिए । अस्पतालका निर्देशक डा.विष्णुप्रसाद शर्माका अनुसार केही दिनयता पाँच सयको हाराहारीमा बिरामी आइरहेका छन् । ढोकैमा ज्वरो नाप्ने, भित्र पसेपछि अन्य वार्ड छिर्नु अघि फेरि ज्वरो नाप्ने,सबैको हिस्ट्री सोध्ने गरिएको छ । शंकास्पदलाई ज्वरो क्लिनिक हुँदै आइसोलेसन सम्म लग्ने गरिएको उनले बताए ।

‘कोभिडसँग डराएर संधै अस्पताल बन्द गरेर अब साध्य छैन,’ उनले भने,‘कोभिडमा मात्रै ध्यान दिँदा अन्य रोगका बिरामीले बढि ज्यान गुमाउने स्थिती आइसक्यो, अब हामीले जुधेर अघि बढ्न आवश्यक छ ।’

बिरामीको आगमन घट्दा अस्पताललाई आर्थिक घाटा पुगेर कर्मचारीलाई तलब दिन मुस्किल हुँदे गइरहेको डा. शर्माले बताए । ‘बिरामीबाटै उठेको पैसाबाट चलेको अस्पताल हो,’उनले भने,‘बिरामी नै कम आएपछि १५ सय कर्मचारीलाइृ तलब खुवाउन गाह्रो भइरहेको छ ।’

संक्रमितको उपचार गर्नका लागि सरकारले तोकेको २ लेबलको अस्पताल हो पाटन । चार कोठालाई आइसोलेसन विस्तार गरेर चार तले भवन तयार भैसक्यो । जहाँ १५ जना संक्रमित राख्ने क्षमता छ । शंकास्पद बिरामी राख्न ६ वटा आइसोलेसन कोठा छन् ।

उपचारका लागि १४ भेन्टिलेटर सहित २१ बेडको आईसीयू कक्ष तयार रहेको डा.शर्माले बताए । शंकास्पदको स्वाब लिएर परीक्षण गर्न टेकुको भर पर्ने अवस्था छैन । अस्पतालले दैनिक एक सय वटा सम्म कोभिड परीक्षण गरिरहेको छ । हालसम्म पाटनमा कोभिड शंकास्पद तीन सय ८९ भर्ना भएका छन् भने २२ संक्रमित निको भएर डिस्चार्ज भैसके । शंकास्पद मात्रै तीन सय भर्ना भए । बिहीबार यहाँ सात जना संक्रमित भर्ना भएका थिए ।

प्रकाशित : जेष्ठ २९, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?