कोसीपारि : विकासमा सधैं ‘पारि’

सुनकोसीपारिको क्षेत्रलाई भूगोलले टाढा, विकासमा विकट बनाए पनि राजनीतिक पहिचान पुरानो छ, प्रतिबद्धता दोहोर्‍याउँदै उम्मेदवार भोट माग्दै छन्

कार्तिक ३०, २०७९

विद्या राई, ज्योती श्रेष्ठ

मदनकुँडारी, काभ्रे — धारा पुगेपछि कान्छी लामा तामाङले छिमेकीको गाली खानु नपरेको कुनै दिनै हुँदैन । आक्कलझुक्कलबाहेक उनले पानी थाप्ने पालो पनि पाउँदिनन् । ‘म एकल महिला हुँ भनेर छरछिमेकी सबैले हेप्छ, बचन लाउँछ, पालै दिँदैन, कतिपल्ट रुँदै आ’को छु,’ ५८ वर्षीया कान्छीले पानीका लागि सास्ती एकसाथ सुनाइन् । घर नजिकैको स्वस्थानी मावितर्फ देखाउँदै थपिन्, ‘धन्न यो स्कुलले दया गरेको छ, सरहरूले, बिचरा ! एकल महिला छ दिऊ भनेर दिन्छन्, आज नि १० बजे स्कुल खुलेपछि थाप्ने हुँ ।’

उनका छिमेकीहरू भने ३ सय मिटर परको धारामा कोही पानी थाप्ने पालो कुर्दै थिए, कोही जर्किन, गाग्रोमा पानी भरेर घर जाँदैथिए । काभ्रेको विकट क्षेत्र मानिने चौरीदेउराली गाउँपालिका–७ को मदनकुँडारी गाउँमा खानेपानीको अभाव नयाँ समस्या होइन । धारामा गाउँलेको हानाथाप हुन्छ, कान्छीका लागि हेलोहोचो, अवहेलनाको थप कारक यही छ । 

कोही नयाँ मान्छे घर आइपुगे भने पीडा पोख्न थालिहाल्छिन् । भूकम्पले भत्काएर भ्वाङ परेको छानो र पुनर्निर्माणका लागि ०७६ जेठ ४ मा पाएको सरकारी निस्सा (रातो कार्ड) देखाउँछिन् । चार वर्ष बिते पनि उनको घर पुनर्निर्माणका लागि सरकार आइपुगेको छैन । वर्षामा पानी चुहेर भुइँतलामै पुग्छ । माथिको तलामा पानी थाप्न राखिएका माटाका भाँडाले थेग्दैनन् ।

‘कति रात पानी माथि नै सुतेकी छु, घर बन्छ भनेर यो रातो कार्ड दिएर गएको थियो मान्छेहरू, खोइ कहिले आउँदैन, सहयोग पाउने ठाउँमा भनिदिनु है, मेरो फोटो खिचेर देखाइदिनु,’ उनले भनिन् । आइतबार बिहान साढे ७ बजेतिर उनले यो दुःख बिसाइरहँदा खानेपानी र सडकको पुरानै नारा बोकेर राजनीतिक दलहरू चुनावी अभियानका लागि गाउँ–गाउँ पुगेका थिए । सदियौंदेखिको खानेपानी समस्यालाई टार्न निर्माणाधीन मदनकुँडारी लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष कर्म लोप्साङ लामा ओर्तिरको चियापसलमा गठबन्धनको चुनावी प्रचारप्रसारमा भेटिए । ‘तल चौरीखोलाको पानी लिफ्ट गरेर खाने योजना हो, काम हुँदै छ तर बजेट पुग्दो छैन । वर्षमा ५०/७५ लाख रुपैयाँ आउँछ, यसपालि चुनावले गर्दा अहिलेसम्म सम्झौता गरिदिएको छैन,’ योजना निर्माण ढिलासुस्तीबारे आफ्नो बचाउ गर्दै उनले भने । 

उनका अनुसार मदनकुँडारीमा ५ सयभन्दा बढी परिवारलाई खानेपानीको समस्या छ । चार वटा खानेपानी योजनाहरू छन् । तर, मुहानहरू सुक्दै गए । भूकम्पपछि समस्या झनै बढ्यो । हिउँदमा मुहानको पानी सुक्छ । धारा दिनको दुई पल्ट एक/एक घण्टाको दरले खुल्छ । एउटा परिवारले दुईदेखि तीन गाग्रो मात्रै पानी भर्न पाउँछन् । त्यसैले खानेपानी, सरसफाइ, बस्तुभाउलाई पुर्‍याउनुपर्छ । मुहानबाटै पानी आएन भने तीन घण्टा धाएर गाउँभन्दा तलका कुवा पुग्नुपर्छ । गाउँले सबै एकैचोटि जानुपर्ने भएपछि पानी भर्ने पालो पाउन दिनभर कुर्नुपर्छ ।


खानीपानीमा सास्ती खेप्दै आएकी कान्छीमाया तामाङ । तस्बिर : विद्या/कान्तिपुर

यिनै समस्याको दीर्घकालीन समाधान गर्न भनेर केही वर्षयता गाउँमुनिको चौरीखोलाबाट लिफ्ट गरेर खानेपानी ल्याउने आयोजना आएको हो । तर काममा ढिलासुस्ती भइरहेको कारण कान्छी जस्ता एकल महिला, असहाय, असक्तहरूका लागि पानीको निहुँमा हेपिनुपरिरहेको छ । काभ्रेको उत्तर–पूर्वी भेगमा पर्ने यो गाउँलाई राजधानी काठमाडौंले ‘कोसीपारि’ को नाउँ दिएको छ । काठमाडौं उपत्यका जोडिएको जिल्ला भएर पनि विकास पूर्वाधार तथा सुविधामा पनि साँच्चिकै ‘पारि’ नै छ ।

मदनडाँडाको पेमा होमस्टेका सञ्चालक फुर्वा लामा विकास निर्माणका योजनामा माथितिर चौरी (गाउँपालिकाको कार्यालय आसपास) र तल मदन भनेर राजनीति हुने गरेको गुनासो गर्छन् । ‘तल तामाङको बस्ती हो, मान्छे जानेको बुझेको छैन,’ उनले भने । गाउँका ६५ वर्षीय बयानबहादुर तामाङ आफ्नो गाउँलाई हेपिएको ठान्छन् । ‘काठमाडौं नजिकैको ठाउँ भएर पनि यहाँको सडक किन कालोपत्रे भएन ?’ उनले भने, ‘शक्ति भएको ठाउँ मात्र विकास काम छिटो हुन्छ, हाम्रो जस्तो ठाउँमा विकास काम सधैं ढिलो ।’

कोसीपारिको यो अन्तिम गाउँ रामेछापको सुनपाती र दोरम्बा गाउँपालिका, काभ्रेको भुम्लु र तेमाल गाउँपालिका, सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाको बीचमा छ । काठमाडौंबाट दोलालघाट भुम्लुटार, चौबास, कात्तिकेदेउराली हुदै मदनकुँडारी झन्डै ८० किलोमिटर छ । यहाँका तल्लो गाउँहरूबाट दोलालघाट पुग्न मात्रै ४ देखि ५ घण्टा लाग्छ । अन्तिम गाउँ भए पनि २०५२ सालतिरै सडक जोडिएको थियो । सडक भने साँघुरो, एकतर्फी र कच्ची छ । कतिपय घुम्ती काट्न बसलाई हम्मे पर्छ । बर्सेनि दुर्घटना भइरहन्छन् ।

०७३ साउनमा काठमाडौंबाट जाँदै गरेको बस बिर्तादेउराली (मदनकुँडारी माथि) को खहरेखोलामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । बस सडकमा चिप्लिएर तीन सय मिटर तल पहाडबाट खसेको थियो । यही दुर्घटनामा परेर विद्यार्थी नेता यशु लामा गम्भीर घाइते भइन् । उनकी जेठी दिदीको मृत्यु भएको थियो । लामा अहिले वाग्मती प्रदेशसभा सदस्यका लागि गठबन्धनबाट समानुपातिक उम्मेदवार छिन् । उनले भनिन्, ‘त्यो दुर्घटनालाई मैले भुलेको छैन । नयाँ पुस्ताबाट आएकी छु, मतदाताको अपेक्षा छ, मैले सडक, खानेपानीको समस्यालाई प्राथमिकतामा राखेकी छु ।’ शनिबार साँझ एक दर्जन जिप, स्कर्पियो, गाडीहरू यात्रु बोकेको बससँग ठोक्किँदै चौरीदेउरालीका गाउँहरूमा चुनावी प्रचारप्रसार गरेर कात्तिके देउराली उक्लिँदै थिए । मतदातासित भोट माग्न गाउँ छिरेकी लामा १५ महिनाको छोरो च्यापेर यही हुलमा देउराली निस्कँदै थिइन् । उनीजस्तै उम्मेदवारहरू सडक र खानेपानीकै समस्यालाई मुख्य एजेन्डा बनाएर गाउँ छिरेका छन् । 

तर मतदाताहरू नेताका कुरासँग आश्वस्त देखिँदैनन् । स्थानीय बुद्धि लामाले भने, ‘यिनारु जितेर के गर्थ्यो, चुनावपछि फर्केर आउँदैनन् ।’ लामा माओवादी लडाकु र सहिद परिवारका सदस्य हुन् । दाजुभाइ माओवादीमा सक्रिय थिए । ०६० फागुनमा उनका कान्छा भाइलाई राज्यपक्षले हत्या गरेको थियो । त्यतिबेला उनी १९ वर्षका थिए । बुद्धि ०५२ सालदेखि १० वर्षसम्म रुकुम–रोल्पातिरै भए । शान्ति प्रक्रियामा आएपछि पनि केही वर्ष सेनामै रहे । त्यसपछि काठमाडौंमा किराना पसल थापेर बसे । केही वर्षपछि गाउँ फर्किए । त्यसपछि श्रीमतीसँग सिन्धुली गएर पाँच वर्ष बाख्रापालन गरि हेरे । व्यवसाय नचलेपछि अहिले गाउँमै खेतीपाती गरेर बसेका छन् । सक्रिय राजनीतिलाई त्यागेका उनलाई चुनावी आश्वासन अपत्यारिला लाग्छन् । ‘हामी गाँस, बाँस, शिक्षा, स्वास्थ्य, खानेपानीको सुविधा, भ्रष्टाचार अन्त्य भनेर हिँडेको हौं, अहिले हेर्दा भ्रष्टाचार, बेतिथि बढाउन हिँडिएछ जस्तो लाग्छ, पार्टीले पनि अवसरवादीलाई मात्रै अवसर दिँदो रहेछ,’ उनले भने, ‘अहिले हामीलाई सहिद परिवार त भन्यो, त्यत्रो लडे पनि खेतीपातीको खेतीपातीमै छौं । राज्यले हेरेन ।’

सुनकोसी पारिको यो क्षेत्रलाई भूगोलले टाढा, विकासमा विकट बनाए पनि राजनीतिक पहिचान पुरानो छ । यहाँका माओवादी नेता कमानसिंह लामा ०४८ मा सांसद थिए, कोरियाका लागि राजदूत पनि भएका थिए । एमाले नेता नविना लामा पूर्वसांसद हुन् । गैरसरकारी संस्थाहरूको महासंघ नेपालका पूर्वअध्यक्ष जिताराम लामा यहींका हुन्, उनी स्थानीय तह निर्वाचनमा भर्खरै गाउँपालिका अध्यक्षमा पराजित भए ।

माओवादीबाट ०६४ मा संविधानसभा सदस्य भइसकेकी रेणुका चौलागाईं अहिले चौरीदेउराली गाउँपालिकाको अध्यक्ष छिन् । उनी काभ्रेका १३ पालिकाहरूमध्येकै एक्ली महिला अध्यक्षसमेत हुन् । एकीकृत समाजवादीमा आबद्ध यहीका दीपक गौतम काभ्रे जिल्ला समन्वय समितिका प्रमुख छन् । गठबन्धनबाट वाग्मती प्रदेशसभा सदस्यका लागि उम्मेदवार रत्न ढकाल प्रदेशकै युवा तथा खेलकुदमन्त्री भइसकेका छन् । द्वन्द्वकालमा ‘राजनीतिक गतिविधि’ हुने प्रमुख थलो बनेको थियो कोसीपारि । राज्य र तत्कालीन विद्रोही पक्षबाट मदनकुँडारीका १० जना मारिएका तथा बेपत्ता पारिएका थिए । 

राजनीति व्यवस्था फेरियो, यहाँका बासिन्दाको जीवनस्तरमा खासै परिवर्तन छैन । स्थानीय प्यारोलाल लामा तामाङका अनुसार सडक नखुल्दासम्म दोलालघाट पुग्न ९ घण्टा हिँड्नुपर्थ्यो । सडक जोडिएपछि काठमाडौंसँगको आउजाउ बढ्यो । यहाँका तामाङले थांका बुन्ने सीप काठमाडौंको ठमेल, बौद्ध, मंगलबजार र भक्तपुरको दरबार स्क्वायरसम्म पुर्‍याए ।

थांका बेच्दै काठमाडौं छिरेकाहरू उतै बसेर काम थाले । गाउँमा खानेपानीको समस्या, शिक्षा, स्वास्थ्यको असुविधाले गर्दा अरूले पनि ज्यालामजदुरी, सानोतिनो व्यापार गर्दै परिवारै काठमाडौं बस्न थाले । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने चलन बढेको छ । तर भूकम्पपछि भने काठमाडौंबाट गाउँ फर्कने बढे । कोभिड महामारीपछि मात्रै यहाँका करिब डेढ सय परिवार गाउँ फर्किसकेको लामा बताउँछन् । ‘जहाँ बसे पनि अन्तिममा खेतीपातीमै पुग्नुपरेको छ,’ उनले भने, ‘गाउँमा सुविधा नभएर सहर जानेहरू खेदिएर फर्किए ।’ कोरोना महामारीका बेला काठमाडौंबाट गाउँ फर्कनलाई बसको व्यवस्था गरिदिन तत्कालीन सांसदहरूसँग अनुरोध गर्दासमेत सुनुवाइ नभएकाले उनलाई नेतृत्वप्रति असन्तुष्टि छ । 

पुस्तौंदेखिको खेतीपातीले मात्रै जीविका नचल्ने भएपछि युवायुस्ताहरू वैदेशिक रोजगारी र काठमाडौं पसे । ज्यालामजदुरी गर्दै छोराछोरी पढाउन थाले । गाउँ वृद्धवृद्धाहरू मात्रै छन् । गाउँका विद्यालय सुनसान भइसके । मदनकुँडारीको स्वस्थानी माविका १२ वर्षअघिसम्म वार्षिक ३०० विद्यार्थी हुन्थे । अहिले ५० जना मात्रै छन् । बालविकास केन्द्रमा पढ्ने एक जना मात्रै छन् । प्रधानाध्यापक आशाराम लामाले भने, ‘जन्मदर कम, सुविधाका लागि काठमाडौं बस्ने बढ्दा गाउँमा बच्चाहरू नै छैनन्, विद्यार्थी कम भएका विद्यालयहरू गाभिएका छन् ।’ 

चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले भने खानेपानी, सडक, रोजगारीको समस्याकै कारण गाउँ छाडेकालाई फर्काउने प्रयास गरिरहेको बताइन् । ‘गर्नुपर्ने काम थुप्रै छन्, बजेट कम छ, बजेटका लागि सम्बन्धित निकायमा पहल गरिरहेकी छु,’ उनले भनिन् । मदनकुँडारी काभ्रेमा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र १ र प्रदेशसभाका लागि क्षेत्र २ मा पर्छ । प्रतिनिधिसभाका लागि गठबन्धनतर्फ माओवादीका उम्मेदवार सूर्यमान दोङले भने, ‘मेरो पहिलो प्राथमिकता नै सडक र खानेपानी हो । रोजगारी पनि हाम्रो एजेन्डामा राखेका छौं ।’

एमालेका उम्मेदवार रेशम लामाका पनि प्रतिबद्धता फरक छैनन् । उनले भने, ‘खानेपानी, बाटो, शिक्षा, स्वास्थ्य नै यहाँको प्रमुख समस्या हो । समस्यालाई सम्बोधन गर्न पनि चुनावी मैदानमा छु ।’

विद्या विद्या राई कान्तिपुरकी संवाददाता हुन् । उनी जलवायु र लैगिंकता, मानवअधिकारलगायत सामाजिक मामिला सम्बन्धी विषयमा समाचार तथा लेख लेख्छिन् ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully