कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मतदातामा किन छैन उत्साह ?

पटक–पटक उही व्यक्ति उम्मेदवार भए पनि समस्या नसुल्झिएपछि मतदातामा निराशा र आक्रोश
गंगा बीसी, अर्जुन राजवंशी

झापा — राजनीतिक दलहरूले तीन दशकदेखि निर्वाचनमा ठुल्ठूला सपना देखाए तर मतदाताका ससाना सपना पूरा भएनन् । हरेक निर्वाचनमा उम्मेदवारले घरआँगनका बाटाघाटा निर्माण, लाखौं रोजगारी, देशलाई विकसित बनाउनेजस्ता आश्वासन दिँदै आएका छन् । पछिल्ला निर्वाचनमा मतदातालाई उनीहरूको आश्वासनले  तानेको छैन ।  

मतदातामा किन छैन उत्साह ?

कान्तिपुरले कुरा गरेका झापा र मोरङका अधिकांश मतदाताले भने, ‘आजसम्म भोट हालेर के भयो ?’ धेरै पटक मतदान गरेका मतदाताले उम्मेदवारको प्रतिबद्धतामा भुक्तभोगी भइसकेका छन् । पहिलो पटक मतदानमा गइरहेका युवालाई पनि उम्मेदवारले देखाउने सपना यथार्थमा बदलिन्छ भन्नेमा विश्वास छैन । उनीहरूको बुझाइ छ, ‘जो सत्तामा छन्, उनीहरूले काम गर्दैनन् । जसमा काम गर्ने जोस छ, उनीहरू सत्तामा पुग्दैनन् ।’

नेपालको सबभन्दा होचो स्थान (समुद्र सतहदेखि ५८ मिटर) कचनकवल स्तम्भभन्दा एक किलोमिटर दूरीमा मुस्लिम बाहुल्य सानो गाउँ छ । स्तम्भ अवलोकन गर्न त्यही गाउँको धुलाम्य बाटो हुँदै जानुपर्छ । ७४ वर्षीय नसिरुद्दिन आलमको टहरो घर त्यहीं छ । किराना पसल चलाइरहेका उनले वर्षामा हुने डुबानबाट जोगिन माटोको ढिस्को उठाएर घर बनाएका छन् । निर्वाचनको हावाले उनलाई पनि छोएको छ । उम्मेदवारले आफूले जितेमा ‘यो हुन्छ, त्यो हुन्छ’ भनेको उनलाई विश्वास लागेको छैन । ‘भोट हालेर के हुन्छ ? केही हुँदैन,’ प्रश्नको जवाफ आफैं दिएपछि उनी चुप लागे । चुनावमा देखाएको सपनाले उनलाई आक्रोशित बनाएको छ ।

उम्मेदवारले रोजगारी दिने आश्वासनले दिक्क लगाएको उनले सुनाए । किनकि उनका दुई छोरा भारतमा मजदुरी गर्छन् । कचनकवल–४ का अधिकांश युवा भारत र वैदेशिक रोजगारीमा अन्य देश गएको वडाध्यक्ष नरुजजमा मियाँले जानकारी दिए । ‘यो गाउँमा पुरुष एकदम कम छन्, अधिकांश भारत गएका छन्,’ उनले भने, ‘उम्मेदवारले रोजगार दिन्छौं भन्दा मतदाताले कसरी पत्याउने ?’ गाउँमा शुद्ध खानेपानी, सहजै स्वास्थ्य उपचार र रोजगारीको अभाव देखेका उनको आक्रोश अस्वाभाविक थिएन ।

४२ हजार ९ सय १२ जनसंख्या भएको यो गाउँपालिकामा शैक्षिक गुणस्तर पनि राम्रो छैन । २९ सामुदायिक र १९ संस्थागत विद्यालय रहेको कचनकवलमा १५ वर्षभन्दा माथिको जनसंख्यामा ७१.२४ प्रतिशत मात्र साक्षर छन् । स्थानीय मदरसाका शिक्षक यहसानुल हकले आर्थिक अवस्था कमजोर भएका कारण धेरै विद्यार्थीले स्कुल छाड्ने गरेको बताए । कचनकवल बजार चोकमै आरनमा बसेर गणेश कर्मकार हँसियामा धार निकालिरहेका थिए । चुनावको कुरा निकाल्नासाथ छेउमै रहेका उनका बुबा झोक्किए, ‘नेताहरूले ढाँटेर गएका छन्, मेरो नागरिकता छ, छोराछोरीको बनेको छैन,’ उनले भने, ‘म सिधासिधा कुरा गर्छु, भोट किन दिने ?’ जन्मसिद्ध नागरिकता पाएका कानुका छोराको नागरिकता बनेकाध छैन ।

कचनकवलमा घुम्न आउने पर्यटक बढ्दै गएका छन्, तर माछा आकारको बेसमा स्तम्भबाहेक अरू हेर्ने ठाउँ छैन । ‘यसअघि पर्यटकीय हिसाबले स्तम्भ वरिपरि विकास भएन, अब अवसर आएको छ,’ वडाध्यक्ष कालेन्द्रप्रसाद राजवंशी भन्छन्, ‘होचो बिन्दुको विकास गर्न हामीले ६ करोड विनियोजन गरेका छौं । ट्वाइलेट, क्यान्टिन र प्रतीक्षालय लगायतको विकास हुनेछ ।’ ०४४ पुस १६ मा तत्कालीन राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमण क्रममा २० मिटर अग्लो स्तम्भ कछुवाको आकृतिमाथि बनाइएको थियो ।

***

०१७/१८ सालतिर नुन लिन दिलबहादुर खड्का पाँचथर यासोकबाट अभिभावकसँग झापाको शनिश्चरे बजार झर्थे । गोरेटो बाटोसमेत राम्रो नभएको अवस्थामा शनिश्चरेमा लाग्ने बजारले खड्का परिवारलाई ०२८ सालमा ‘मधेस’ तान्यो । ‘हामी शनिश्चरे झर्दा भर्खर पूर्वपश्चिम राजमार्ग बनाउने सुरसार हुँदै थियो । बिर्तामोड सानो चोक मात्र थियो,’ ७६ वर्षीय खड्काले सुनाए, ‘हेर्दाहेर्दै पाँच किलोमिटर दक्षिणको बिर्तामोड सानो चोकबाट अहिले जिल्लाकै ठूलो सहर बन्यो । हाम्रो शनिश्चरे अहिले पनि धुलो उठ्ने सानो बजारमै सीमित छ ।’

झापामा ठूलाठूला नेता भए पनि जिल्लाको विकासमा उनीहरूको योगदान सम्झनलायक नभएको अघिल्लो पुस्ताको गुनासो छ । ‘शनिश्चरेमा विकास भयो भन्ने के छ र ?,’ ७२ वर्षीय भवानी घिमिरेले भने, ‘नेताहरूले आफू र आफन्तलाई मात्र बनाए, कसैले देश बनाएनन् ।’ जिल्लाको पुरानोमध्येको शनिश्चरे बजार हाल अर्जुनधारा नगरपालिकामा पर्छ । शनिश्चरे बजारको ज्येष्ठ चौतारीमा भेटिएका रुपप्रसाद भट्टराईले नेताहरूका कारण जनतामा राजनीतिप्रति निराशा छाएको बताए । ‘सबै जनताले यो कुरा बुझेका छन् । पहिलापहिला चुनावमा नेतासँग भोट माग्न जानेको लस्कर हुन्थ्यो । अहिले भाषण सुन्ने मान्छे नभेटेर बजार, चोक एरियामा मात्र भाषण गर्न थालेका छन्,’ उनले भने ।

अर्जुनधारा–८ का योगेन्द्र दुलालले यसपालि पार्टीभन्दा मान्छे हेरेर भोट दिने विचार गरेका छन् । ‘पार्टीवालाहरूले केही गरेनन् । यसपालि विश्वास लाग्ने नयाँलाई भोट दिने तयारीमा छु,’ उनले भने । सोही वडाका बाबुराम कार्कीले अहिलेसम्म आफूसमक्ष भोट माग्न कोही नआएको बताए । ‘पहिलाजस्तो उत्साह पनि छैन,’ उनले भने, ‘विगतका उम्मेदवारले केही गरेनन्, अब जित्ने उम्मेदवारबाट पनि खासै ठूलो केही अपेक्षा छैन ।’ अर्जुनधारा–८ खालगाउँका मगर समुदायले एउटा पार्टीको घरदैलो टोलीलाई ‘भोट माग्न नआउनु’ भन्दै बाटोबाटै फर्काइदिएको स्थानीयले सुनाए ।

दुई पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रतुवाखोलालाई नियन्त्रण गर्ने बचन दिँदै आएका छन् । तर उल्टै रतुवाले सयौं बिघा खाइसकेको कमल गाउँपालिका–६ का वीरबहादुर चौहानले बताए । ‘नेताको वाचा सुन्दासुन्दा खोलाले हाम्रो उठिबास लगाइसक्यो, नेताका कुरा कसरी पत्याउनु ?’ उनले भने ।

मेचीनगर–१४ की तालामई हास्दा (सन्थाल) पनि राजनीतिक दलप्रति विश्वस्त देखिइनन् । दुई वर्षअघि उनका श्रीमान्लाई खोलाले बगाएको थियो । एक महिनासम्म शव नभेटिएपछि उनी मृत्यु दर्ता र प्रमाणपत्र बनाइदिन वडा कार्यालय पुगिन् । तर वडाध्यक्षले मानेनन् । ‘खोलामा लापत्ता भनेर प्रहरीलाई रिपोर्ट दिए । श्रीमान्को मृत्यु प्रमाणपत्र नहुँदा सरकारी काम केही हुन सकेन । अरू सुविधा त केही दिएनन्, मृत्यु प्रमाणपत्र पनि दिएनन्,’ उनले भनिन्, ‘नेताबाट अरू के आस गर्नु ?’

झापा–१ मतदाताका बीचमा भेटिएका कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले ०४८ पछि मुलुकमा राजनीतिक, सामाजिक, आर्थिक र भौतिक परिवर्तन भए पनि मतदाताको चित्त बुझाउन नसकेको स्विकारे । ‘घोषणापत्रमा जे लेखिन्छ, त्यो पूरा हुँदैन भन्ने मतदातामा निराशा बढ्न दिनु हुँदैन,’ उनले भने, ‘केही भएको छ, धेरै गर्न बाँकी छ ।’

पुराना राजनीतिक दलका प्रभावशाली नेताहरू ०४८ सालदेखि र ०६३ मा शान्ति प्रक्रियामा आइसकेपछि माओवादीका नेता निरन्तर उम्मेदवार हुँदै आएका छन् । राप्रपाका केही उम्मेदवार पञ्चायतदेखि नै राजनीतिमा छन् । सर्वसाधारणका समस्या उही, उम्मेदवार उनै भएपछि मतदातामा निराशा र आक्रोश हुनु स्वाभाविक भएको विश्लेषकहरू बताउँछन् ।

०४८ को आमनिर्वाचनमा जारी घोषणापत्रले मुलुकलाई पञ्चायती निर्दलीय व्यवस्थाको अन्त्य गरी खुला अर्थतन्त्रमा प्रवेश गराउने प्रतिबद्धता जनाएको थियो । कांग्रेसले बीपीको समाजवादअनुसार गरिबी उन्मूलनको सपना देखाएर चुनाव जित्यो । ०५१ मा एमाले ‘आफ्नो गाउँ आफैं बनाऔं’ नाराका साथ विकास, सामाजिक सुरक्षा र सुधारका आयोजना देखाएर ठूलो पार्टी बन्यो । ०५६ मा कांग्रेसले ०४८ मा पूरा नभएका सपना पूरा गर्ने भन्दै बहुमत ल्यायो ।

०५२ मा सशस्त्र युद्ध सुरु गरेको माओवादीले शान्ति प्रक्रियामा आइसकेपछि नयाँ नेपाल निर्माणको सपना देखाएर ०६४ मा लगभग बहुमत ल्यायो । उसले अघि सारेका पहिचानसहितको संघीयता, राज्य पुनःसंरचनाको अपेक्षित परिणाम आउन नसकेपछि ०७० मा कांग्रेस पहिलो पार्टी बन्यो । ०७४ मा एमाले र माओवादीले स्थायी सरकार र समृद्ध नेपालको सपना देखाएर झन्डै दुई तिहाइ बहुमत ल्याए । ४१ महिना नेकपा नेतृत्वमा ओलीले सरकार चलाए, डेढ वर्षदेखि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार चलाइरहेका छन् । प्रमुख दल सरकारमा जाने र फर्किने क्रम चलिरहेको छ । आम मतदाता भन्छन्, ‘यो निर्वाचनपछि पनि त्यही हुनेछ ।’

‘निराशा बढ्नु लोकतन्त्रका लागि खतरा’

प्राध्यापक कृष्ण पोखरेल, राजनीतिशास्त्री

राजनीतिक दलले संसदीय निर्वाचन केका लागि भनेर मतदातालाई बुझाउन सकेनन् । उनीहरूको आश्वासन मात्रले मतदातामा उत्साह हराएको छ । मूलभूत विकासका काम गर्ने प्रदेश र स्थानीय सरकारले हो । केन्द्रीय सरकारले ठूला आयोजना, परराष्ट्र, मौद्रिक नीति, राष्ट्रिय सुरक्षा नीति बनाउने हो । यहाँ त सांसद भएपछि मन्त्री हुन्छु अनि जिल्लाको तीव्र विकास गर्छु भन्ने आश्वासन दिएपछि मतदातामा निराशा आउँछ । मतदातामा निराशा बढ्नु लोकतन्त्रका लागि खतराको संकेत हो । दलहरूले जनताको आकांक्षाको उर्लंदो भेल निराशाको भेलमा परिणत हुनु राम्रो होइन ।

विकल्प राजनीतिक दलहरूले मात्र दिने हो । सुध्रिनुपर्ने उनीहरू नै हो । सबै दल उस्तै हुन् भन्ने छाप मतदातामा परेकाले केही नयाँ उम्मेदवारले जित्ने सम्भावना पनि देखिन्छ । असन्तुष्ट मतदाताले कुनै बागी, कुनै नयाँ दलका उम्मेदवार जिताउलान्, तर देशभर जिताउन सक्दैनन् । नयाँले संसद्मा वाचडगको भूमिका भने खेल्न सक्छन् । त्यो दलका लागि चेतावनी पनि हो ।

प्रकाशित : कार्तिक ३०, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?