माओवादी महासचिव देव गुरूङ कांग्रेसको भरमा, एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरूङ पार्टी मतको सुरक्षित गर्ने कसरतमा
लमजुङ — एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका माओवादीका महासचिव देवप्रसाद गुरुङ र एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङबीचको चुनावी प्रतिस्पर्धा राष्ट्रिय चासो बनेको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका हिसाबमा सत्ता गठबन्धन र एमालेको मत हाराहारी रहेका कारण गुरुङद्वयको प्रतिस्पर्धा भने रोचक देखिन्छ ।
सातपटक संसदीय निर्वाचन लडेका एमाले उपमहासचिव पृथ्वी सुब्बा र तीनपटक निर्वाचन लडेका माओवादी केन्द्रका महासचिव देवप्रसादले दुई–दुईपटक जित हात पारेका छन् । पहिलोपटक आमनेसामने भएका दुवै नेता तेस्रो जित निकाल्ने प्रतिस्पर्धामा छन् । देवप्रसाद सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ‘सबै हिसाबले चुनाव निकै प्रतिस्पर्धात्मक छ, कसले जित्छ यसै भन्न सकिने अवस्था छैन,’ पूर्वसांसद रहेका कांग्रेसका पुराना नेता रामचन्द्र अधिकारी भन्छन् ।
लमजुङमा गत स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्ष उम्मेदवारले ४० हजार १ सय ९७ र सत्ता गठबन्धनका उम्मेदवारले ४१ हजार ४ सय ३ मत पाएका थिए । सत्ता गठबन्धनमा कांग्रेसको ३५ हजार २ सय ७६ र माओवादी केन्द्रको ६ हजार १ सय २७ मत थियो । देवप्रसादले जितका लागि माओवादीको मत सुरक्षित राख्दै कांग्रेसको लगभग सबै मत हँसिया–हतौडा चिह्नमा खसाउनुपर्नेछ । पृथ्वी सुब्बा भने एमालेको मत जोगाएर केही मत तान्न सके संसद्मा छिर्न सक्छन् ।
पृथ्वी सुब्बाले यसपटक मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभा (२) मै लड्ने गरी जमिन्द्रमान घलेलाई प्रतिनिधिसभामा अघि सार्न खोजेका थिए । तर जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनको योजना तुहाइदिए । घले प्रदेशसभा–१ र अधिकारी प्रदेशसभा–२ मा उम्मेदवार बनेका छन् । ‘पृथ्वी सुब्बालाई आफ्नै पार्टीका असन्तुष्टलाई मिलाउन ठूलै चुनौती छ, देवप्रसादलाई कांग्रेसको मत सर्लक्कै जानेमा शंका छ,’ पूर्वसांसद अधिकारी भन्छन्, ‘दुवै नेताका गुण–दोष उस्तै–उस्तै हुनाले पनि मतदातालाई छनोटको समस्या देखिन्छ ।’
एमाले र माओवादी केन्द्रमा दोस्रो तहको ‘हेभिवेट’ नेताको छवि बनाएका पृथ्वी सुब्बा र देवप्रसादका लागि आगामी निर्वाचन पार्टीभित्रको राजनीतिक प्रतिष्ठाका लागि पनि उत्तिकै महत्त्वको रहेको छ । विगतमा मोहन वैद्य समूहमा गएर पुनः मूल पार्टीमा फर्किर्एका गुरुङलाई अध्यक्ष पुष्पकमल दाहालले अन्य विश्वासपात्रलाई काखा लगाउँदै महासचिवको जिम्मेवारी दिएका थिए । पछिल्लो समय पार्टी अध्यक्ष ओलीसँग सम्बन्ध चिसिँदै गएको अवस्थामा एमाले उपमहासचिव पृथ्वी सुब्बालाई पनि यो निर्वाचन जित्नैपर्ने दबाब छ । ‘दुवै नेताले आ–आफ्नो पार्टीमा राम्रै स्थान बनाएका छन् तर आउने चुनावले उनीहरूको राजनीतिक भविष्य पनि तलमाथि होला,’ पूर्वसांसद अधिकारीले भने ।
२०४३ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा जनपक्षीय उम्मेदवार बनेका पृथ्वी सुब्बा निर्दल पक्षधर लेखनाथ अधिकारीसँग पराजित भएका थिए । त्यसपछि उनी लमजुङ–२ बाट २०४८ र २०५१ मा कांग्रेसका रामबहादुर गुरुङसँग र २०५६ मा कांग्रेसकै हरिभक्त अधिकारीसँग पराजित भए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमाले देशैभर कमजोर हुँदा पृथ्वी सुब्बा भने कांग्रेसका दिलबहादुर घर्तीलाई पराजित गर्दै सांसद बने । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी लमजुङ–२ मा कांग्रेसका चन्द्रबहादुर कुँवरसँग पराजित भए ।
देवप्रसादको लमजुङसँगको चुनावी साइनो नियमित र गाढा छैन । जनमोर्चाका तर्फबाट पहिलोपटक २०४८ मा लमजुङ–१ बाट चुनाव लडेका उनी कांग्रेसका रामचन्द्र अधिकारीसँग पराजित भएका थिए । माओवादी सशस्त्र द्वन्द्वमा रहेका कारण २०५१ र २०५६ को निर्वाचनमा उनले प्रतिस्पर्धा गरेनन् । २०६४ को संविधानसभा निर्वाचनमा माओवादीबाट कास्की–१ र मनाङबाट विजयी भए । माओवादी विभाजनपछि मोहन वैद्यतिर गएका उनी पार्टी नीतिका कारण २०७० को निर्वाचनमा सहभागी भएनन् ।
२०७४ मा लमजुङमा एक मात्र निर्वाचन क्षेत्र कायम भयो । सोही निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बन्यो । त्यसपछि देवप्रसाद प्रतिनिधिसभामा र पृथ्वी सुब्बा प्रदेशसभा–२ मा उम्मेदवार बने । दुवैले जिते । निर्वाचनका बेला बनेको वाम गठबन्धन नेकपा हुँदै सर्वोच्चको आदेशपछि पुनः पूर्ववत् अवस्थामा फर्केपछि गुरुङद्वय यसपटक प्रतिस्पर्धी बनेका हुन् ।
मनाङमा जन्मे पनि बाल्यकालको केही समय लमजुङमा बिताएका देवप्रसादमाथि प्रमुख प्रतिस्पर्धी एमालेले ‘फिरन्ते’ नेताको आरोप लगाउने गरेको छ । एमाले जिल्ला कमिटी सदस्य विवश बुढाथोकी देवप्रसाद २०७४ को निर्वाचनमा लमजुङबाट जितेपछि पनि जिल्लामा राम्रोसँग भिज्न नसकेको दाबी गर्छन् । ‘पीएस (पृथ्वी सुब्बा) ले पाँचपटक हारे पनि आफ्नो जिल्ला छाड्नु भएन, यहीँ राजनीति गर्नुभयो,’ उनले भने, ‘उहाँ (देवप्रसाद) भने कहिले कास्की त कहिले मनाङ जानुभयो ।’
पृथ्वी सुब्बामाथि पञ्चायतदेखि नै ठाउँ ओगट्ने तर काम गर्न नसक्ने नेताको आरोप लाग्ने गरेको छ । २०६४ मा सभासद जितेपछि पर्यटनमन्त्री र २०७४ मा गण्डकी प्रदेशको मुख्यमन्त्री बने पनि जिल्लामा देखिने गरी विकासको काम गर्न नसकेको आरोप पृथ्वी सुब्बाले खेप्दै आएका छन् । पर्यटनमन्त्री भएको बेला उनले बाख्रेजगत विमानस्थल निर्माण गर्ने भने पनि सकेनन् । ‘दुईपटक चुनाव जितेपछि उहाँ मन्त्री र मुख्यमन्त्री हुनुभयो तर जिल्लावासीले सम्झिने विकासको ठूलो योजना पार्न सक्नुभएन,’ सुन्दरबजार–९, सिउडीबगरका मगर घलेले भने, ‘पृथ्वी सुब्बालाई जिताए पनि विकास गर्न सक्दैनन् भन्ने जनतालाई परेको छ ।’
विकास गर्न नसकेको आरोप देवप्रसादले पनि खेपिरहेका छन् । २०७४ मा प्रतिनिधिसभामा जिताएर पठाए पनि देवप्रसादले संघीय सरकारका ठूला योजना ल्याउन नसकेको घलेले बताए । विकासको दृष्टिले दुवै नेता सराबरी रहेको उनको भनाइ छ । ‘विगतमा गरेको कामलाई मूल्यांकन गर्ने हो भने दुवै उस्तै हुन्, बरु चुनावको अघिल्लो दिन जसले चलखेल गर्छ उसैले जित्न सक्छ,’ उनले भने ।
१ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको लमजुङमा करिब ३४ प्रतिशत जनजाति मतदाता छन् । कांग्रेस नेता अधिकारीको विचारमा प्रमुख प्रतिस्पर्धी दुवै जना जनजाति समुदायका भएकाले यो मतले खासै प्रभाव पार्ने देखिँदैन । २०६४ मा सभासद भएका बेला संविधानसभामा आदिवासी जनजाति सभासदको समूह (ककस) को नेतृत्व गरेका उनलाई बेलाबेला ‘जातिवादी’ नेताको आरोप लाग्ने गरेको छ । २०७० को निर्वाचनमा पृथ्वी सुब्बाको पराजयलाई जातिवादी परिचयसँग जोडेर हेरिएको थियो । ‘उतिबेला उहाँको पार्टी (एमाले) को राम्रै जनमत थियो तर बढी जातिवादी देखिएपछि गैरजनजाति मतदाता टाढिए,’ विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘यसपटक भने त्यस्तो आरोप खेप्नुपरेको देखिँदैन ।’
पृथ्वी सुब्बाका लागि मर्स्याङ्दीपारिको भूगोल (प्रदेशसभा–१) असन्तुष्ट छ । २०७४ मा प्रदेशसभा–२ बाट निर्वाचित भएर मुख्यमन्त्री भइसकेपछि पनि बेवास्ता गरेको स्थानीयको आरोप छ । ‘एमालेकै साथीहरू पनि भित्रभित्र कुरा काट्नुहुन्छ, मुख्यमन्त्री भएका बेला मर्स्याङ्दीपारि आवतजावत र जनतासँग हेलमेल कम भएकै हो,’ मर्स्याङ्दी गाउँपालिकाका एक एमाले नेताले भने, ‘राष्ट्रिय नेताले पूरै जिल्लालाई समान रूपमा हेर्नुपर्थ्यो ।’
पृथ्वी सुब्बा मुख्यमन्त्री भएका बेला जिल्लाका वडा तहमा रहेका आमा समूह र गुम्बा तथा युवाका लागि पर्याप्त बजेट हालेको लाभ अहिलेको निर्वाचनमा लिने प्रयास गरिरहेका छन् । मुख्यमन्त्री भएका बेला पृथ्वी सुब्बाले जिल्लाको विकासमा पुर्याएको योगदानले मत आकर्षण गर्न सहज भएको एमाले नेता बुढाथोकी बताउँछन् ।
देवप्रसादलाई भने माओवादीप्रति असहिष्णु कांग्रेस फकाउन निकै मिहिनेत गर्नुपरेको छ । कांग्रेस नेता अधिकारीका अनुसार सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी विद्रोहीबाट पीडित लमजुङमा करिब १ हजार ६ सय जना छन् । अंगभंग भएका, घरबार लुटिएका र परिवारका सदस्य गुमाएका ती व्यक्तिलाई फकाउन कांग्रेस र माओवादी नेताहरू लागिपरेको अधिकारीले बताए । ‘मतान्तर झिनो भएकाले प्रतिस्पर्धा निकै कडा छ, कांग्रेसले एकढिक्का भएर भोट दिएन भने त देवप्रसादलाई गाह्रो हुन सक्छ,’ उनले भने, ‘त्यही भएर कांग्रेस र माओवादी केन्द्रको ध्यान गठबन्धनलाई कसरी कसिलो बनाउने भन्नेमै गएको छ ।’
माओवादी केन्द्रका जिल्लास्तरीय नेता हरिजंग तामाङ सत्ता गठबन्धनमा अविश्वास नरहेकाले देवप्रसादका लागि वातावरण अनुकूल बन्दै गएको बताउँछन् । २०७४ मा चुनाव जितेपछि लमजुङको विकासमा प्रतिबद्ध भएर लागेको र जनतासँग प्रत्यक्ष संवादमा रहेको हुनाले जनस्तरमा आलोचनाको मात्रा कम रहेको उनले बताए । ‘उहाँको सरल, मिजासिलो र अनुशासित छविले गठबन्धनलाई कसिलो बनाउन सहज भएको छ, गठबन्धनकै बलले उहाँले जित्नुहुन्छ,’ तामाङले भने ।
एमाले उम्मेदवार पृथ्वी सुब्बाले जिल्लाभर पार्टीको बलियो संगठन रहेको र मुख्यमन्त्री हुँदा जनताको मन जित्ने गरी काम गरेकाले मतदातामा आफूप्रति आकर्षण रहेको बताए । ‘मैले मेरो सम्पूर्ण राजनीतिक जीवन यहीँ बिताएँ, यहीँका जनताका लागि दिनरात सेवा गरें,’ उनले भने, ‘त्यसैले मतदाताको राम्रो रेस्पोन्स पाएको छु, हाम्रो पार्टीभित्र पनि एकमत रहेकाले वातावरण अनुकूल छ ।’ उनले केन्द्रीय मन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा घरघर विकास पुर्याएकाले जित सहज भएको बताए । ‘अहिलेको प्रारम्भिक हिसाब गर्दा म तीन हजारले अघि छु,’ उनको दाबी छ ।
माओवादी केन्द्रका उम्मेदवार देवप्रसादले प्रतिगमन र अग्रगमनबीच संघर्षमा संविधानविरोधी अभ्यासलाई परास्त गर्न गठबन्धन बनेको र गठबन्धनले अघि सारेका मुद्दाकै आधारमा आफूले जित्ने बताए । ‘कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीभित्र पर्याप्त प्रयास गरिरहेको छ, माओवादी केन्द्रमा त समस्या नै छैन,’ उनले भने, ‘मैले पछिल्ला ५ वर्षमा गरेको कामका आधारमा पनि जनतासँग मत माग्न सजिलो भएको छ ।’ उनले मुलुकको राजनीतिक स्थायित्वका लागि गठबन्धनका उम्मेदवार विजयी हुने बताए । २०६४ मा मनाङ र कास्कीबाट चुनाव लडे पनि २०७४ मा लमजुङबाट जितेपछि बसाइँसराइ गरेर यहीँको बासिन्दा भएको उनले बताए ।
