पीडितलाई आश्वासन मात्रै ?

हरेक पटक मत माग्दै आउने उम्मेदवारले आफु जितेमा सुकुम्बासीलाई जमिन दिएर उचित बसोबासको व्यवस्था गर्ने भन्दै आश्वासन दिइरहेका छन् 

कार्तिक २९, २०७९

मोहन शाही, भवानी भट्ट

कञ्चनपुर, डोटी — राती शीतले ओछ्यान पुरै भिज्छ । जाडोले निन्द्रा लाग्दैन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बनहरा शिविरकी माखी रावत दुई महिनादेखि पालमुनि बसिरहेकी छिन् । अचेल उनलाई रात पर्ने वितिक्कै चिन्ता लाग्न थाल्छ । ‘दुई महिनादेखि पालमुनि बास छ, शीतभित्र पसेर सुत्नै सकिन्न,’ रावतले भनिन्, ‘नेताहरू आएर भोट माग्न खाली आश्वासन मात्र दिइरहेका छन् ।’

रावतको परिवार २०६२ मा बैतडीबाट विस्थापित भइ यहाँ बसाइँ सरेको हो । बनहरा नदीकिनारमा टहरो बनाएर बसेकी उनले ०६२ पछिका हरेक निर्वाचनमा यस्तै आश्वासन पाइरहेकी छिन् । तर अहिलेसम्म बस्ने ठेगान नै भएको छैन । हरेक पटक मत माग्दै आउने उम्मेदवारले आफु जितेमा सुकुम्बासीलाई जमिन दिएर उचित बसोबासको व्यवस्था गर्ने भन्दै आश्वासन दिइरहेका छन् । तर हालसम्म त्यो बाचा भने कसैले पुरा गरेका छैनन् । ‘अहिले भोट माग्न हुन् हामीलाई भेट्ने,’ रावत भन्छिन्, ‘जितेपछि यहि बाटो भएर झण्डा हल्लाउदै जान्छन्, हाम्रा पीडा कोही हेर्दैनन् ।’ 

विगतमा निर्वाचित भएका उम्मेदवारहरूले जितेपछि बासको व्यवस्था गर्नु त के दुखमा समेत साथ नदिएको उनको गुनासो छ । पूर्वपश्चिम राजमार्ग छेउमै शुक्लाफाँटा–११ बनहरा शिविरमा २८ परिवार भूमिहीनको बसोबास छ । सुदूरपश्चिमका पहाडी जिल्लामा पहिरो, नदी कटानलगायतका कारण विस्थापित भएकाहरू ०६२ देखि यहाँ बस्न थालेका हुन् । शिविरमा भोट माग्नका लागि कुनै पनि दलका उम्मेदवार पुगेका छैनन् । तर तिनका कार्यकर्ता तथा आफन्तहरू भने पुगिरहेका छन् । उनीहरूले विगतमा विभिन्न कारणले काम गर्न नसकेकाले यस पटक जसरी भए पनि बसोबासको व्यवस्थापन गर्ने भन्दै आश्वासन दिइरहेको स्थानीय बताउछन् । नेताकार्यकर्ताहरूले जति आश्वासन दिए पनि विश्वास गर्न नसकिने उनीहरू बताउछन् । यहाँ पनि बनहराको बाढीले बर्षेनी दुख दिने गरेको छ । 

कृष्ण सामुदायिक वनको छेउमै बसिरहेका उनीहरू असोजको बाढीले उक्त क्षेत्रबाट विस्थापित भएका हुन् । वनक्षेत्रबाटै आएको बाढीले घर टहरा भत्काएपछि उनीहरू पालमुनि रात काटन बाध्य भएका छन् । ‘मागेको मानो पनि राख्ने ठाउँ छैन, हामीलाई छाप्रो बनाउने ठेगान भएन,’ बझाङबाट विस्थापित भएर बनहरा शिविरमै बसोबास गरिरहेकी कलावती दमाइले भनिन्, ‘हामीले केही मागेका छैनौं, बस्ने ठाउँ भए पुग्थ्यो ।’ दिनभरि ज्यालादारी गरेर वा गाउँबाट मागेर ल्याएरको पीठो चामल समेत पकाउने ठाउँ नभएको उनले बताइन् । 

असोज पहिलो साता बनहराको बाढीले घर टहरा भत्काउदा उनले एक सातासम्म चाउचाउ र चिउरा खाएर रात काटेकी थिइन् । त्यतिबेला बाढीले घर भत्काउदा उनलाई ज्यान जोगाउनै मुश्किल भयो । बाढीले केही तलसम्म बगाएपछि मात्रै उद्धार भएको हो । गाउँलेले नदेखेको भए उनी बग्थिन् । ‘पहाडमा बाढी पहिरोकै दुखले यहाँ पुग्यौं, यहाँ पनि त्यहि बाढीले सताइरहेको छ,’ डडेलधुराको आलीताल क्षेत्रबाट बाढीकै कारण विस्थापित भएका दलबहादुर बोहोरा भन्छन्, ‘अब त अन्त जाने हिम्मत पनि छैन ।’ आलीतालमा बाढीका कारण उनको घर जमिन सबै बगेपछि उनी तराइ झरेका हुन् । कहिले वनजंगलका छेउमा त कहिले नदीनालाका किनारमा हुँदै उनीपनि ०६२ मा बनहरा शिविरमा पुगेका हुन् । असोज पहिलो साताको बाढीले दुई/तीनबाहेक सबै टहरा भत्काएको छ । विस्थापितहरूले टहरा पुनः बनाउन सकेका छैनन् । सामुदायिक वनकै जमिनमा पाल टांगेर बसिरहेकाले बेला बेलामा वनका पदाधिकारीले छाडन भनिरहेका छन् । तर अन्यत्र जाने ठाउँ नै नभएको उनीहरू बताउछन् । 

शिविरमा बसोबास गर्ने अधिकांस दलित समुदायका छन् । उनीहरू दिनभरि ज्यालादारी गरेर गुजारा चलाइरहेका छन् । केही युवाहरू कामकै खोजीमा भारततिर पसेका छन् । असोजमा आएको बाढीले अधिकांस वालवालिकाका किताबदेखि स्कुल ड्रेस सम्म बगाएको थियो । कतिपयका किताब घर भित्रै भिजेका थिए । भिजेका किताब बिस्कुन हालेर सुकाएका हुन् । किताब बगाएका वालवालिकाका लागि अझै किन्न नसकिएको अभिभावकहरू बताउछन् । लुगा कपडा समेत बाढीले बगाएपछि कतिपय वालवालिकाहरू एकसरो लुगामै रहेका छन् । अहिले नेताहरूले अनेकथरी आश्वासन दिइरहे पनित्यसले पेट नभरिने र चिसोबाट जोगिन नसकिने उनी बताउछन् । 

भूकम्पको त्रासले त्रिपालमुनि बास

डोटी–५८ वर्षीया ललिता बोगटीले तीन दिनयता पूरा निद सुत्न पाएकी छैनन् । चिरा परेको घरभित्र पस्ने आँट छैन । बेलाबेला आइरहने परकम्पले निदाउन पाएकी छैनन् । ‘रातभर सुत्न नपाएको तीन दिन भइसक्यो,’ उनले भनिन्, ‘कठ्यांगि्रँदो चिसोमा आगो बालेर र कुनै बेला त्रिपालमा ओत लागेर जाग्राम बसेकी छु ।’

दिपायल कुमालीकोटका भरतबहादुर कठायत पनि रातभर सुतेका छैनन् । ‘सुरक्षित बस्न रातभर घरबाहिर परिवारसहित आगो तापेर बसे । चिसो भए पनि यतिबेला सुरक्षा महत्त्वपूर्ण छ,’ कठायतले भने, ज्यान जोगाउन गाउँका अधिकांश परिवार रातभर घरबाहिर हुन्छौं ।’ कात्तिक २२ रातिको भूकम्पपछि दोहोरिरहेको परकम्पले यहाँका अधिकांश परिवार रातभर घरबाहिर जाग्राम बसेर रातदिन बिताइरहेका छन् । खप्तड बाबा आश्रम केन्द्रबिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पले पूर्वीचौकी गाउँपालिकामा ६ जनाको ज्यान गएको थियो । भूकम्पले यहाँ २ हजारभन्दा बढी घरमा क्षति भएको छ । 

यहाँको पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिकामा बढी त्रास छ । ‘सामान्य चिरा परेका तथा असर नभएका घर त कुनै बाँकी छैनन्,’ पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले भने, ‘सबै परिवारको बास घरबाहिर नै भएको छ ।’ 

चिरा परेका तथा क्षति पुगेका घरबाट अन्नपात, लुगाकपडालगायत अत्यावश्यक सामग्री स्थानीयले घरबाहिर झिकेका छन् । ती सामग्रीको सुरक्षा पनि पीडितहरूका लागि चिन्ताको बिषय बनेको छ । अलपत्र फालिएका सामानहरू घामपानी र चोरी हुनबाट जोगाउन पनि समस्या भएको पूर्वीचौकी सानागाउँकी सरस्वती खड्काले बताइन् ।  त्रिपालमुनि चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कष्ट भएको छ । रेडक्रस सोसाइटीका प्रदेश महासचिव देवबहादुर बोहराले सबै परिवारलाई त्रिपाल र न्यानो लुगा उपलब्ध गराउन नसकेको बताए । रेडक्रसका प्रारम्भिक अध्ययनअनुसार भूकम्पले ६ सय ७१ घरमा पूर्ण र १ हजार ४ सय ५४ घरमा आंशिक क्षति पुगेको छ । पीडितको संख्या अझै बढ्न सक्ने अनुमान छ । 

मोहन

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully