धनगढी — सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको निर्वाचन क्षेत्र नं. ५ धनगढीमा राजनीतिक दलका उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवार भारी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा कांगेसका पूर्व नेता पुष्करनाथ ओझा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्लीराज पन्त र एमालेका निवर्तमान सासंद नारदमुनि राना प्रतिस्पर्धी छन् । कांग्रेसका बागी ओझा स्वतन्त्र उम्मेदवार हुन् ।
धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाका २ वडा कैलाली–५ मा पर्छन् । स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई हराउदै स्वतन्त्रबाट गोपाल हमाल अत्याधिक मतले निर्वाचित भएका थिए । प्रतिनिधिसभामा कांगेसका उम्मेदवार पन्तले वडाअध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारहरूले पाएका मत सबै आफूलाई आउने दाबी गरेका छन् ।
एमाले उम्मेदवार रानाले स्वतन्त्र उम्मेदवार ओझाले कांग्रेसका मत प्रभावित पार्ने र राना–थारू समुदायको मत एकलौटी पाउने दाबी गर्दै आफ्नो जित हुने ठानेका छन् । स्वतन्त्र उम्मेदवार ओझाले कांग्रेसको असन्तुष्ट मतसँगै भेगीय र जातीय रूपमा पर्ने मतले जित हुने बताएका छन् । कैलाली–५ मा १ लाख ६ हजार बढी मतदाता छन् ।
स्थानीय तहमा वडाअध्यक्षले पाएको मतका आधारमा कांग्रेसको मत धनगढी उपमहानगरमा २२ हजार ८६ छ । कैलारी गाउँपालिकाका २ वडाको कांगेसको मतसमेत थप्दा करिब २४ हजार छ । गठबन्धनको अर्का सहयात्री दल माओवादीले स्थानीय तहमा पाएको मत ८ हजार ८७ छ । एकीकृत समाजवादीले स्थानीय तहमा २ हजार ९ मत वडाअध्यक्षमा पाएको छ । गठबन्धनको कुल मत ३२ हजार १ सय ८२ छ ।
एमालेले वडाध्यक्षका उम्मेदवारले पाएको कुल मत १५ हजार ९ सय ७० छ । ‘आफ्नै मतले पनि जित्ने ठाउँमा कांग्रेस उम्मेदवारलाई गठबन्धनका सहयात्रीको समेत साथ छ,’ कांग्रेसका जिल्ला सदस्य रतन कठायतले भने, ‘प्रतिस्पर्धाको दौडमा एमाले र स्वतन्त्र कसैले छोप्न सक्दैन ।’ तर कांग्रेसका पूर्व नेता ओझाको स्वतन्त्र उम्मेदवारी पन्तका लागि भारी भएको कांग्रेसी जानकारले बताएका छन् ।
२०७२ को उपचुनावमा ओझा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए । उनले २०७४ मा कांग्रेसबाट टिकट पाएनन् । ओझाले ०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुलाई सहयोग नगरेको भन्दै कांग्रेसबाट कारबाही गरिएको थियो । आरजुले समेत ओझाको सहयोगबिना हार बेहोर्नुपरेको बताएकी थिइन् । आरजुले यसपटक पनि ओझाको स्वतन्त्र उम्मेदवारीको डरले यो निर्वाचन क्षेत्र छोडेको आरोप लागेको छ ।
कैलाली–५ मा डोटीबाट बसाइँ सरेको समुदायको मतले समेत चुनाव प्रभावित हुने गरेको जानकार बताउँछन् । पन्त र ओझाको समुदाय, जाती र भेगीय मत एउटै रहेकोले बाँडिने संभावना छ । कैलाली–५ मा अर्को निर्णायक मतदाता राना थारू हुन् ।
