भ्यालेन्टाइनमा सम्झिइने नारायणगोपाल-पेमलाको प्रेम यात्रा

पेमलाले लेखेकी छिन्, 'साँच्चै मैले तपाईंको हृदय बुझ्न सकिनँ क्यारे, तर तपाईंको माया सधैं सधैं बुझिदिएकी छु मैले ।'

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Narayangopal-Pemla's love journey remembered on Valentine's Day

काठमाडौँ — नारायणगोपाल आफ्नो स्वरका कारण मात्रै चर्चित छैनन्, उनी जीवनका अनेकन् किस्साका कारण पनि सधैं सम्झिइरहन्छन् । उनका रोचक आनीबानीबारे अनेकन् कहानी छन् । पेमला लामासँगको प्रेम प्रसंगका कारण पनि उनको चर्चा भइरहन्छ ।

वि.सं. २०२१ सालदेखि २०२६ सालसम्म चलेको पेमला–नारायणको प्रेम पत्रमित्रताबाट सुरु भएको थियो । यो प्रेमयात्रामा उनीहरुबीच अनेकन् पत्र आदानप्रदान भए ।

उनीहरूको प्रेमिल पत्रमित्रतामा जीवनका अनेकन् स-साना प्रसंग स्वादिलो शैलीमा आएका छन् । उनीहरूबीच एकै महिनामा ३–४ वटा पत्र लेख्न सक्ने जाँगर देखिन्छ ।

पेमलाले नारायणगोपाललाई लेखेको एउटा पत्रको सुरुवातमा लेखिएको छ, 'प्रिय छट्टुजी ! धेरै धेरै माया ।'  

यो पत्रको अन्त्यमा पनि पेमला उही मायालु भावमा लेख्छिन्, 'धेरै धेरै माया मेरो छट्टुलाई ।'

पत्रमा पेमलाले लेखेकी छिन्, 'गोपाल अब हाम्रो झगडा कति लम्बाऊँ ?  झगडा गर्न त पूरै जीवन हाम्रो अघि छ, होइन ?' 

पेमलाले अन्तरहृदयदेखि नै पत्रमा मायाको भाव पोखेकी छिन् । उनले लेखेकी छिन्, 'साँच्चै मैले तपाईंको हृदय बुझ्न सकिनँ क्यारे, तर तपाईंको माया सधैं सधैं बुझी दिएकी छु मैले ।'

नारायणगोपाल एक समय शास्त्रीय संगीत अध्ययनका लागि भारतको बडौदा पुगेका थिए । उनले त्यहींबाट पेमलालाई पत्र लेख्न थाल्छन् । त्यो समय रेडियो नेपालबाट बज्ने ‘स्वर्गकी रानी मायाकी खानी’ उनको कलेज जीवनमा पनि निकै लोकप्रिय भएको पेमला लेख्छिन् र चिठीमा व्यक्त नारायणगोपालको रिसलाई मत्थर पार्न उनी यसो भन्छिन्-

स्वर्गकी रानी रिसकी खानी नजाऊ कर्केर,

लाजै नमानी रिसाउने बानी छोडी आऊ फर्केर...!

दार्जिलिङ सहरदेखि १० माइल टाढा रहेको सुकिया पोखरीस्थित माइतीमा बसेर मास्टरी जीवन बिताइरहेकी पेमला नारायणगोपालको प्रेममा ‘पागल’ नै हुन थाल्छिन् । आमा–बाबु बितिसकेका, दाजुभाइ र दिदीको रेखदेखमा हुर्किएकी एउटी अबोध नारीप्रति नारायणगोपालको प्रेम यसै–यसै झाँगिएर आउँछ ।

पत्रोत्तरको ३ वर्षको अवधिमा नारायणगोपाल र पेमलाले जीवन–मरणको कसम खाइसकेका हुन्छन् । गीत, संगीत, साहित्यका कुरा आदानप्रदानसँगै पेमलालाई बीएको परीक्षा दिन नारायणगोपालले सुझाउँछन् भने नारायणगोपाललाई पनि बीए पढ्न पेमलाले जोड गर्छिन् । र, नारायणगोपालले इतिहास विषयमा स्नातक उत्तीर्ण गर्छन्।

Narayangopal-Pemla's love journey remembered on Valentine's Day

विभिन्न उतारचढावका साथमा नारायणगोपाल र पेमला लामा विवाह बन्धनमा बाँधिन्छन्, सन् १९७० को फेब्रुअरी २४ तारिखका दिन। र, त्यो जोडी सदा–सदाका लागि कालजयी प्रेमिल जोडी बन्न पुग्छ । आफ्नो वचनमा प्रतिबद्ध नारायणगोपालले पेमलालाई पठाएका चिठी हराएको जवाफमा लेखेका छन्, ‘मैले एक–एक चिठी सिलसिलाबद्ध रूपमा राखेको छु । पछि यिनै पत्रहरूको किताब निकाल्न चाहन्छु ।’

नारायणगोपाल-पेमला प्रेम पत्राचारबारे कान्तिपुर कोसेलीमा भूपेन्द्र खड्काद्वारा लिखित यो सामग्री :

प्रेमपुजारी नारायणगोपाल

भ्यालेन्टाइन विशेष

कान्तिपुर

Link copied successfully