प्रेमको परिभाषा र जातको पर्खाल
मानिसको जन्मसँगै ऊभित्र प्रेमको जन्म हुन्छ । यसको दायराभित्र पर्ने सबै प्रेम र विवाह, कुनै जात, धर्म, वर्ग र भूगोलको सीमाभित्र अट्न सक्दैन । प्रेम जहाँ उम्रन्छ, त्यही फुल्न र फैलन चाहन्छ ।
यो प्राकृतिक रूपले स्वायत्त हुन्छ । यसर्थ, मानव निर्मित जात, धर्म, वर्ग र कुनै शासकको आदेशले रोक्न, छेक्न मिल्ने कुरै होइन । तर पनि नेपाली समाजमा प्रेम र विवाहजस्तो पवित्र सम्बन्धलाई निश्चित जात, धर्म र वर्गको सीमाभित्र जबर्जस्त संकुचित बनाइन्छ ।
जात व्यवस्थाका मालिकको उर्दी आज पनि कायमै छ । वास्तवमा उमेर पुगेका प्रेमिल जोडीहरूको प्रेम र विवाहको परिधि आज पनि उसैगरी शासककै हुकुम, रुढिवादी सोच र संकीर्णताले जकडिएको छ ।
युवकयुवतीहरु अहिले प्रेम सप्ताहमा निमग्न छन् । तर प्रणय दिवसको महत्त्व र यसको इतिहास बुझेर प्रेम गर्नेहरू नेपाली समाजमा कमै छन् । किनकि यहाँ सम्बन्ध प्रेमसँग भन्दा नि जातसँग जोडेर हेर्ने गरिन्छ । किनकि, प्रेम र विवाह सम्बन्धमा समाजको हस्तक्षेप र नियन्त्रण छ । यही साँघुरो खोँचमा प्रेम र विवाहलाई सीमित गर्ने शासकविरुद्ध आफ्नै रोजाइको प्रेम पाउन सेन्ट भ्यालेन्टाइनले रोमन राज्यमा खुलेर विद्रोह गरे ।
यो क्रम सेन्ट भ्यालेन्टाइनदेखि यता नेपालमा अजित मिजार, नवराज विक, कोसिला महतो, भीष्म भण्डारी र सत्येन्द्र राम (चमार)को कठिन संघर्षसम्म जारी छ । उनीहरूको प्रेम र परिवर्तनलाई साथ र हौसला दिनु त कता हो कता ! उल्टै रोक्न, छेक्न र अनेकन् जालझेल गृहमन्त्रीबाटै भएको खबर छ्याप्छ्याप्ती बाहिर आएको छ । यो दु:खद र अन्यायपूर्ण छ । समाजले मात्रै होइन, सरकारले नै प्रेम र विवाहलाई जातभित्र खुम्च्याउन खोजिरहेझैँ देखिन्छ ।
किन मनाइन्छ प्रेम दिवस ?
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस उत्सव मात्र होइन, यसलाई प्रेम विवाहका लागि गरिएको बलिदान, संघर्ष र लडाइँका रूपमा लिइन्छ । जहाँ रोमन सम्राटले प्रेम र विवाहप्रति लगाएको निषेधाज्ञा तोड्न भ्यालेन्टाइनले गरेको संघर्ष र बलिदानको इतिहास बोकेको छ । तेस्रो शताब्दीमा रोमन सम्राट् क्लाउडियस द्वितीयले आफ्नो देशमा सैनिकलाई विवाह नगर्न उर्दी जारी गरेका थिए ।
किनभने, सेनाहरू विवाहको जालमा फसे भने युद्ध गर्न सक्दैनन् भन्ने राजाको सोच थियो । तर राजाको उर्दी सन्त भ्यालेन्टाइनलाई धर्म विरुद्ध नै हो भन्ने लाग्यो । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने उनको बुझाइ थियो । त्यसैले राजाको उक्त निर्णयको उनले डटेर विरोध गरे । राजाको आज्ञालाई अवज्ञा गर्दै प्रेम र विवाह गर्न सबैलाई प्रेरित गरे । सोहीअनुसार युवकयुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न पनि गरे ।
त्यसपछि आफ्नो निर्णयविरुद्ध भ्यालेन्टाइनले प्रेम र विवाहका लागि अरुलाई उक्साए भन्ने सम्राट् क्लाउडियसलाई लाग्यो र भ्यालेन्टाइनलाई बन्दी बनाउन क्लाउडियसले आदेश जारी गरे । त्यसपश्चात् भ्यालेन्टाइनलाई कालोकोठरीमा बन्दी बनाइयो । राजाको प्रेम र विवाहको निषेधाज्ञा तोडेको आरोपमा सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिइयो । फाँसीमा चढ्नुअघि भ्यालेन्टाइनले जेलरलाई भनेका थिए, म मरेपछि मेरा आँखा तपाईंकी दृष्टिविहीन छोरीलाई दिनू ।’
त्यसका साथै उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । सन्देशको मुनिपट्टि लेखिएको थियो, 'फ्रेम योर भ्यालेन्टाइन’ । प्रेम सन्देशसँगै उनले प्रेमपूर्वक फूल उपहार पठाएका थिए आफ्नी प्रेमिकालाई । त्यस दिनदेखि प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा सेन्ट भ्यालेन्टाइन डेका रुपमा विश्वभरि प्रणय दिवस मनाइन्छ । यसको आफ्नै गर्विलो इतिहास छ । यो एउटा प्रेम उत्सव मात्र नभई शोक दिवस पनि हो ।
नेपालमा प्रेमविवाह र कहालीलाग्दो अवस्था
सेन्ट भ्यालेन्टाइनले रोमन सम्राट्को निर्णयविरुद्ध प्रेम र विवाहका लागि गरेको संघर्ष र बलिदानलाई सम्झिरहँदा नेपालमा भने त्यस्तै संघर्ष र बलिदान गर्नेहरूको संख्या कम छैन । जात व्यवस्थाले निषेध गरेको जातीय संरचनाको सिन्डीकेट तोडेर प्रेम र विवाहका लागि विद्रोह गर्ने नेपाली युवकयुवतीको संघर्ष आज पनि उत्तिकै गर्विलो छ । जसका कारण धेरैको बीभत्स हत्या भएका घटना हाम्रै आँखाअगाडि छन् । फेरि, जातीय विभेदका घटनामा अपत्यारिला प्रश्न सोधिन्छन् । समाजमा अझै जातीय विभेद छ र राज्यको ओहोदामा रहेको मान्छेले यस्तो पनि गर्छ । आउनुहोस्, एकछिन त्यसै विषयमा चर्चा गरौं । कसले गर्दैन जातीय विभेद, कसरी गर्छ राज्यले हाकाहाकी हस्तक्षेप जातीय विभेदमाथि ।
सर्लाहीको बरहथवा नगरपालिका-४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा-५ की नेहा रौनियारको अन्तरजातीय प्रेमविवाहमाथि गृहमन्त्री र आईजीपीबाट गैरकानुनी हस्तक्षेप भएको समाचार सामाजिक सञ्जालभरि एकक्षत्र छायो । जसका विरुद्ध सडकदेखि सदनसम्म विरोध भयो ।
यता सर्वोच्च अदालतले पनि ती अन्तरजातीय जोडीको विवाह वैध भएको आदेश जारी गर्यो । तैपनि, नेपालमा बस्ने वातावरण नभएपछि २१ मंसिरमा मुम्बई घुम्न गएका सत्येन्द्र र नेहाको जोडीलाई नेपालबाट प्रहरी नै खटाएर अपराध गरेजसरी जबरजस्ती नेपाल फर्काउने काम भयो । उनीहरूमाथि शारीरिक र मानसिक यातना दिने काम भयो । त्यतिमात्र होइन, गाउँबाट सत्येन्द्रको परिवारको उठिबास लाग्यो । तर पनि सत्येन्द्र र नेहा समाज र राज्यले आफूमाथि गरेको अन्याय र ज्यादतिविरुद्ध एकरत्ति पछि नहटेर साहस र सानका साथ लडिरहेका छन् ।
आजभन्दा आठ वर्षअघिको कुरा हो । २५ असार ०७३ मा काभ्रेको पाँचखालनजिकै ज्याम्दीकी पराजुली थरकी किशोरीसँग दुई वर्षको प्रेमसम्बन्धपछि अजितले २५ असार ०७३ मा प्रेमविवाह गरेका थिए । विवाह भएको चार दिनपछि रिचार्ज कार्ड लिन गएका अजित मिजार घर फर्किन नपाई अस्ताए । ३० असार २०७३ मा धादिङको गजुरी फुर्के खोलाको प्रतिक्षालयमा घुँडा टेकिएको र घाँटीमा पलास्टिक त्रिपालको डोरीले झुण्ड्याइएको अवस्थामा अजितको शव फेला परेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको थियो । बेबारिस लास भेटिएको भन्दै प्रहरीले भोलिपल्ट नै खाल्टो खनी गाड्ने काम भएको थियो । अजितको मृत्यु नभई हत्या गरिएको हो भन्दै दलित अधिकारकर्मीहरूले पटक-पटक उनको न्यायका लागि बोल्दै आएका छन् । विडम्बना ! आजसम्म पनि अजितले न्याय पाएका छैनन् ।
प्रेमबापत मृत्यु भोग्न बाध्य हुने घटनाहरू यतिमै सकिँदैनन् । १० जेठ २०७७ मा रुकुम पश्चिममा कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीलाई हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको नरसंहार हत्याकाण्डको घटना ताजै छ । नवराज विकसहित ६ जनाको हत्या गर्नमा स्थानीय तहका वडाध्यक्ष डम्मरबहादुर मल्लको प्रमुख संलग्नता रहेको कुरा अदालतले प्रमाणित गरिदियो । यो घटनाको मूल कारण थियो, अन्तरजातीय प्रेम-सम्बन्ध ।
किन अस्वीकार्य छ आज पनि अन्तरजातीय प्रेम-विवाह
नेपाली समाजमा अन्तरजातीय विवाह जयस्थिती मल्लकालीन शासन व्यवस्थादेखि नै पूर्णरुपमा निषेध थियो । यदि कोही कसैले अन्तरजातीय प्रेम र विवाह गरिहाले पनि त्यतिखेरकै कानुनअनुसार दण्ड सजाय दिइन्थ्यो । अझै भन्ने हो भने अन्तरजातीय विवाहलाई अपराधकै रुपमा लिइन्थ्यो ।
बिहेवारीको धारा २० मा लेखिएको छ, 'एउटा माथिल्लो जातको पुरुषले तल्लो जातको महिलासँग बिहे गरेमा उसको जात महिलाको जातमा झर्नेछ ।'
त्यसैगरी मुलुकी ऐन घटीजातमा मिल्छु भन्ने जनाएको धारा १२ मा उल्लेख भएअनुसार यदि तल्लो जातको महिलासँग बिहे गरेमा उक्त पुरुषको सम्पूर्ण सम्पत्ति खोस्नु पर्दछ । 'यदि त्यो व्यक्ति तागाधारी रहेछ भने त्यसको जनै खोस्नु पर्दछ । यदि ऊ गैरतागाधारी रहेछ तर छूत रहेछ भने उसको जात महिलाको जातमा झारी दिनु पर्दछ,' मुलुकी ऐनमा भनिएको छ ।
यसैबाट पनि प्रष्ट हुन्छ- नेपाली समाजमा अन्तरजातीय विवाहलाई राज्यले कसरी निषेधित गरेको थियो भन्ने कुरा । जसले गर्दा प्रेम गर्ने जोडीले आफ्नो जातको सीमारेखा तोडेर बिहे गर्ने कुनै अवस्था नै थिएन । दलितसँग विवाह गर्ने युवकयुवतीलाई ‘बिटुलो’ शब्दले नामकरण गरेर समाजबाट अलग्याउने अधिकार समाजका कथित उपल्लो भनिएकालाई जातका मानिसलाई रहेको थियो ।
हुन त, जातीय विभेदलाई सामाजिक समस्या हो भनेर टार्ने गरिन्छ । तर यसको समाधानको खोजी गरिँदैन । जसले गर्दा समाजमा दुई समुदायबीच अन्तरघुलन हुन सकेको छैन । किन जातकै समस्यामा अल्झिएको छ समाज ? कारण खोतल्दा धेरै भेटिन्छ । मनुस्मृतिको अध्याय ३ मा लेखिएको छ, 'शूद्रले शूद्र कन्यासँगै बिहे गर्नुपर्छ, वैश्यले वैश्य र शूद्र कन्यासँग, क्षत्रीयले क्षत्रीय, वैश्य र शूद्र कन्यासँग र ब्राह्मणले चारै वर्णका कन्यासँग विवाह गर्नुहुन्छ ।'
मनुस्मृतिको अध्याय ८ मा उल्लेख छ, 'शूद्रले अन्य जातिकी स्त्रीसँग संग्रहण गर्छ भने उसलाई प्राणदण्ड दिनुपर्छ । चारै वर्णले सबैभन्दा बढी आफ्ना स्त्रीहरूको रक्षा गर्नुपर्छ।'
मनुस्मृतिको अध्याय ९ मा लेखिएको छ, 'शूद्रले आफ्नै वर्णका स्त्रीलाई मात्रै पत्नी बनाउनुपर्छ । अर्का वर्णका स्त्री ल्याउने अधिकार उसलाई छैन । त्यसैले उसकी स्त्रीका सयवटा नै छोरा भए पनि बाबुको सम्पत्ति सबैलाई बराबर मिल्छ ।'
यस्ता कठोर कानुन बनाएर अन्तरजातीय विवाहलाई प्रतिबन्धित गरिएको थियो । यो कानुन राजालाई थियन । जनतालाई मात्र थियो । यसका जराहरू अहिलेसम्म समाजमा रहनु लाजमर्दो छ । नेपालमा जेजति व्यवस्था परिवर्तन भए पनि समाज र राज्यको चरित्रमा पुरानै गन्ध छ ।
अब नेपालमा पनि नयाँ पुस्ता प्रेम र विवाहको परिधि फराकिलो बनाउन कठिन संघर्ष गर्न लाग्नुपर्छ । प्रेमजस्तो पवित्र सम्बन्ध कुनै शासन, जात, धर्म र वर्गको सीमिततामा रहनु हुँदैन भन्ने चेतनाको विकास नेपाली युवा पुस्तामा हुनपर्ने जरुरी छ । जसरी ‘सेन्ट भ्यालेन्टाइन’ ले रोमन सम्राट्को आज्ञाको अवज्ञा गरेका थिए । समाज र राज्यले निर्माण गरेका मान, हित र प्रकृति नियमविपरितका नियम तोड्न सजातीय विवाहको सीमाबाहिर आउनुपर्छ । प्रेम कसैको अधिनबाट गुड्नु हुँदैन।
प्रेम मानव मन-मस्तिष्कबाट स्वस्फुर्त पैदा हुने भाव हो । शान्ति, खुसी र प्रेरणा प्रदान गर्ने शक्ति हो प्रेम । वास्तवमा प्रेम र विवाह कसले कोसँग गर्ने भन्ने अधिकार कुनै जात, धर्म, वर्ग र शासको नियमले निर्धारण गरिनु हुँदैन । प्रेमलाई आफ्नै अस्तित्वमा बग्न दिनुपर्छ । फुल्न दिनुपर्छ । फैलन दिनुपर्छ । प्रेम र विवाहलाई सामाजिक पिँजडामा कैद गर्नु हुँदैन । चरीजस्तै प्रेमलाई उड्न दिनुपर्छ । नीलो आकाशजस्तै समाज बन्नु पर्छ । एकअर्काकामा हुने प्रेम वास्तवमा प्रेमजस्तै भएर फक्रिन पाउनुपर्छ ।
