मेरा लागि हरेक दिन प्रेम दिवस : मिस नेपाल वर्ल्ड आश्मा

‘प्रेमका नाममा हुने दुर्व्यवहारबारे पीडितले बलियोसँग आवाज उठाउनुपर्छ । प्रेमका नाममा कतै मैले अरूलाई पीडा त दिइरहेको छैन ? हरेकले सोच्नुपर्छ’

फाल्गुन २, २०८१

नुमा थाम्सुहाङ

Every day is love day for me: Miss Nepal World Ashma

काठमाडौँ — मिस नेपाल वर्ल्ड २०२४ की आश्माकुमारी केसी ‘भ्यालेन्टाइन डे’लाई फरक रूपमा बुझ्छिन् । किनकि, उनी हरेक दिनलाई प्रेमको उत्सव हो भन्ठान्छिन् । त्यसैले एक दिन मात्र नभएर हरेक क्षण सबैसँग प्रेम फैलाउनुपर्ने उनको बुझाइ छ ।

‘एउटा दिनलाई मात्र प्रेमको सेलिब्रेसन गर्ने भन्दा पनि माया सधैं वरिपरि नै छ,’ उनी भन्छिन्, ‘त्यही भएर हरेक दिन प्रेम फैलाउनुहोस् । प्रेम गर्नुहोस् । हरेक दिन नै मेरा लागि प्रेम दिवस हो ।’ 

उनको विचारमा प्रेमको अर्को अर्थ करुणा भएकाले सबैसँग करुणापूर्ण व्यवहार गर्नुपर्छ । प्रेम शब्द सुन्दा सामान्य लागे पनि यसको गहिरो परिभाषा रहेको आश्माको बुझाइ छ । भन्छिन्, ‘तपाईं कसैसँग बोल्दै हुनुहुन्छ, कसैसँग कुराकानी मात्र गरिदिनुहुन्छ भने नम्र भएर बोलिदिनुहोस् । आफूले करुणा मात्र फैलाउनु भयो भने त्यही प्रेम हो ।’ 

उनका अनुसार प्रेममा एकअर्काको सम्मान गर्नुपर्छ । यसैगरी जीवनको यात्रामा कसैसँग सम्बन्ध जोडिनु र बिछोडिनु सामान्य भएको आश्माको बुझाइ छ । 

तर प्रेमका नाममा हुने दुर्व्यवहारबारे पीडितले बलियोसँग आवाज उठाउनुपर्ने तर्क उनी गर्छिन् । धेरै किशोरी प्रेमका नाममा दुर्व्यवहारमा परेका घटना सार्वजनिक हुनु दुःखद भएको उनी बताउँछिन् । 

यस्तो किन हुन्छ भन्ने प्रश्नमा मिस नेपाल आश्माको जवाफ छ, ‘सचेतनाको कमीले यस्तो हुन्छ । आफूले गरिरहेको क्रियाकलाप थाहा हुनुपर्‍यो । कतै मैले प्रेमका नाममा अरूलाई पीडा त दिइरहेको छैन ? यसमा सबै जना सचेत हुन जरुरी छ ।’ 

Every day is love day for me: Miss Nepal World Ashma

अरूलाई प्रेम बाँड्नुभन्दा पहिले आफूले आफैंलाई प्रेम र सम्मान गर्नुपर्ने बुझाइ राख्ने आश्मा प्रेमका नाममा कैयन् युवा भित्रभित्रै पीडित बनिरहेको विषयबारे पनि उत्तिकै जानकार छिन् । त्यसैले त उनी पीडितहरूले पनि आफूले भोगेका घटना आमाबुवा अथवा जोसँग सहज हुन्छ, उसैसँग साट्नुपर्ने सुझाव दिन्छिन् । 

‘म बुझ्छु पीडितलाई आवाज उठाउन एकदमै कठिन हुन्छ । तर आफूले नै आफ्नो आवाज बाहिर ल्याउन भने घरबाटै सुरुवात गर्नुपर्छ,’ उनले भनिन्, ‘यदि छोरीहरूलाई ‘स्ट्रङ वुमन’ भनेर हुर्काउन सक्यौं भने यस्तो अवस्थामा किशोरीहरू पुग्दैनन् जस्तो लाग्छ ।’ 

साथै आफूमाथि जे भइरहेको छ, त्यो कुरा गलत भइरहेको भन्ने कुरा महसुस गर्न आवश्यक रहेको र यस्तो बेला अरूलाई सहयोग माग्नसमेत हिचकिचाउन नहुने उनले बताइन् ।

‘समस्या र पीडामा छ भने सहयोग माग्नलाई हिचकिचाउनु भएन । किनभने, हामी कति कुरामा मद्दत माग्नै लजाउँछौं,’ आश्मा भन्छिन्, ‘म बुझ्छु– हाम्रो समाजमा महिलाका लागि यस्तो कुरा अगाडि ल्याउन सहज छैन । तर यदि पीडितले यस्तो कुरा ल्याएनन् भने हाम्रो समाज सधैं यस्तै हुन्छ । आफू नै अगाडि बढ्न जरुरी छ ।’ 

मिस नेपाल वर्ल्ड २०२५ को तयारीमा रहेकी आश्मा यतिबेला ‘ब्युटी विथ द पर्पोज’ प्रोजेक्टमा व्यस्त छिन् । ‘यो प्रोजेक्टमा हामीले देशको कुनै पनि समुदायमा सकारात्मक प्रभाव पर्ने, जीवनमा सुधार हुने, समाजमा केही परिवर्तन गर्नुपर्ने प्रोजेक्ट गर्नुपर्ने हुन्छ,’ उनले आफ्नो तयारीबारे सुनाइन्, ‘मिस वर्ल्डमा सौन्दर्य मात्र होइन, आफ्नो देश र समाजमा के गर्नुहुन्छ भन्ने कुराको असाध्यै ठूलो महत्त्व हुन्छ ।’ 

आश्माले यस प्रोजेक्टका लागि पोखरामा बालुवा चालेर र बालुवा बोकेर जीवन गुजारा गरिरहेको एक समुदायसँग जोडेर काम गरिरहेकी छन् । त्यतिमात्र नभई आश्माको आफ्नै आयात र निर्यातसम्बन्धी व्यवसाय छ । त्यसैले उनले महिलालाई आर्थिक सशक्तीकरणमा जोडेर प्रोजेक्ट सञ्चालन गरिरहेको सुनाइन् ।

‘म सानो उमेरदेखि नै उद्यम क्षेत्रमा छिरेको मान्छे हो । त्यही भएर उद्यमशीलतामा केन्द्रित रहेर पोखराको एउटा यस्तो समुदायसँग काम गर्दैछु, जहाँका मान्छेहरू बालुवामा निर्भर छन्,’ आफ्नो प्रोजेक्टबारे आश्मा भन्छिन्, ‘त्यसैले उहाँहरूको सीप विकास र आर्थिक रूपमा निर्भर रहने उद्यमशीलताको तालिमहरू प्रदान गर्दैछु ।’ यस परियोजनाबारे आगामी दिनमा उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी समेत गराउने सुनाइन् ।

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully