जीवनका उतारचढावमा आफ्नो प्रेम बचाउन नारायण–पेमलाले गरेको विद्रोह एक अनुकरणीय कथा हो । उनीहरूका अप्रकाशित चिठीले भन्छन्, नारायण–पेमला महान् प्रेमजोडी थिए ।
काठमाडौँ — नारायणगोपाललाई नेपाली समाजले स्वरसम्राट्को उपाधिले सुभूषित गरेको छ । नेपाली समाजमा उनको गायिकीबारे मात्रै चर्चा नभएर उनीबारेका निकै किस्सा सुनिने गर्छन् । उनको शारीरिक हाउभाउ र आनीबानीलाई इंगित गर्दै धेरै सत्य–भ्रमहरू जनमानसमा फैलाइएका छन् ।
उनको गायिकी जीवनलाई पर राखेर कहिल्यै उनलाई व्याख्या गर्न सकिन्न भन्ने मान्यता अब भत्किन सक्छ ।
उनी बितेको ३४ वर्षमा उनका १७ वटा डायरी र पेमला लामासँगको प्रेमका ९५ वटा प्रेमपत्रहरू भेटिएपछि नारायणगोपाललाई एक कुशल सर्जक, साहित्यमाथि अत्यधिक रुचि भएको र एक प्रतिबद्ध प्रेमीका रूपमा व्याख्या गर्नुपर्ने हुन्छ ।
प्रजातन्त्रको स्थापनासँगै फक्रिन लागेको स्वतन्त्र समाजमा चर्चित बन्दै गएका युवा गायक कसरी एउटी परदेशी र फरक जातकी युवतीसँग प्रेममा पर्छन् भन्ने कुरा उनका चिठीहरूबाट थाहा पाउन सकिन्छ । वि.सं. २०२१ सालदेखि २०२६ सालसम्म चलेको पेमला–नारायणको प्रेम पत्रमित्रताबाट सुरु भएको थियो ।
जीवनका अनेक उतारचढावमा पनि आफ्नो प्रेमलाई बचाउन उनीहरूले गरेको विद्रोह एक अनुकरणीय कथा हो र त्यो कथामा नारायणगोपाल एक महान् प्रेमीका रूपमा खडा हुन्छन् । उनलाई प्रेमका जुनसुकै प्रतीक दिएर व्याख्या गरे पनि कमै हुन्छ ।
‘के तपाईंले मलाई ‘पत्रमित्र’ बन्ने आज्ञा दिन सक्नुहुन्छ ? किन हो, तपाईंलाई पत्र लेख्ने मेरो मनमा ठूलो इच्छा थियो, तपाईंबाट केही शब्द जान्न पाए कृतज्ञ हुनेछु । आशा छ, निराश हुन नपर्ला । ...तपाईंजस्तो महान् कलाकारले निराश पार्नुहुन्न भनी ।’
सन् १९६५ जुलाई ५ तारिखका दिन साथी भीम लामाको सहयोगमा नारायणगोपालको ठेगाना पत्ता लगाएर पत्रमित्रताका लागि पेमला लामाले पहिलो पत्र लेख्छिन् नारायणगोपाललाई, ‘मैले सबैभन्दा पहिला तपाईंको ताराजीसँगको युगल गीत ‘ए कान्छा ठट्टैमा यो’ सुनें, तब मलाई तपाईंप्रति उत्सुकता जाग्यो । तपाईंको ‘कला’ ले मलाई अति नै प्रभावित तुल्यायो । वास्तवमा मेरो हृदयमा कलाकारहरूप्रति अगाध श्रद्धा र रुचि छ ।नेपालको रेडियो कलाकारहरूमध्ये तपाईंको आवाज मलाई अति प्रिय लाग्छ । हुन त यहाँकै प्रवासी कलाकारहरूप्रति मेरो श्रद्धा र रुचि कम होइन तरै पनि नेपालको रेडियो कलाकारहरूमध्ये तपाईंको आवाज मलाई अति प्रिय लाग्छ । ...तपाईंको स्वरमा मैले मिठास अनि गहिराइ पाएँ, जसको मलाई चाख छ ।’
पत्रोत्तर दिने आग्रहसहितको पेमलाको पत्रको नारायणगोपाल जवाफ दिन्छन् । फलतः उनीहरू पत्रमित्रतामा गाँसिन्छन् । एकै महिनामा ३–४ वटा पत्र लेख्न सक्ने जाँगर उनीहरूमा भरिएर आउँछ । नारायणगोपालका गीत र संगीतका गहिराइमा पुगेर पेमलाले खोतलखातल पार्न थाल्छिन् । क्रमशः नारायणगोपाल पनि खुल्न थाल्छन् अनि त्यो पत्रमित्रको सम्बन्ध प्रेमी–प्रेमिकामा परिणत हुन्छ ।
अनि नक्सा अर्थात् फोटो साटासाटको विन्दुसम्म उनीहरू आइपुग्छन् । १६ अगस्ट १९६५ को चिठीमा पेमलाले नारायणगोपालको जात अर्थात् थरबारे जिज्ञासा राख्छिन्, ‘तपाईंलाई अझ एउटा कुरो सोध्ने इच्छा छ... प्लिज डोन्ट माइन्ड...अँ तपाईंको पूरा नाम के... एनि टाइटल ? कि त्यत्ति मात्र ? कारण हाम्रो यता आफ्नो नाम पछि टाइटलमा जात लेख्ने चलन भएकाले मात्र सोधेकी हुँ तर नरिसाउनुहोस् है... ! सुनेकी थिएँ, तपाईं गुरुङ रे भनी, हो... ?’
नारायणगोपाल त्यतिबेला शास्त्रीय संगीत अध्ययनका लागि भारतको बडौदा पुगेका हुन्छन् । उनले त्यहींबाट पेमलालाई पत्र लेख्न थाल्छन् । त्यो समय रेडियो नेपालबाट बज्ने ‘स्वर्गकी रानी मायाकी खानी’ उनको कलेज जीवनमा पनि निकै लोकप्रिय भएको पेमला लेख्छिन् र चिठीमा व्यक्त नारायणगोपालको रिसलाई मत्थर पार्न उनी यसो भन्छिन्—
स्वर्गकी रानी रिसकी खानी नजाऊ कर्केर,
लाजै नमानी रिसाउने बानी छोडी आऊ फर्केर...!
दार्जिलिङ सहरदेखि १० माइल टाढा रहेको सुकिया पोखरीस्थित माइतीमा बसेर मास्टरी जीवन बिताइरहेकी पेमला नारायणगोपालको प्रेममा ‘पागल’ नै हुन थाल्छिन् । आमा–बाबु बितिसकेका, दाजुभाइ र दिदीको रेखदेखमा हुर्किएकी एउटी अबोध नारीप्रति नारायणगोपालको प्रेम यसै–यसै झाँगिएर आउँछ ।
एकदिन नारायणगोपाल मितज्यू गोपाल योञ्जन, कर्म योञ्जन र नगेन्द्र थापालाई लिएर पेमला भेट्न जान्छन् । पेमलाले झुक्किएर नगेन्द्र थापालाई नारायणगोपाल सम्झेर अघि बढेको प्रसंग पनि पेमलाले चिठीमा उल्लेख गरेकी छन् ।
पत्रोत्तरको ३ वर्षको अवधिमा नारायणगोपाल र पेमलाले जीवन–मरणको कसम खाइसकेका हुन्छन् । गीत, संगीत, साहित्यका कुरा आदानप्रदानसँगै पेमलालाई बीएको परीक्षा दिन नारायणगोपालले सुझाउँछन् भने नारायणगोपाललाई पनि बीए पढ्न पेमलाले जोड गर्छिन् । र, नारायणगोपालले इतिहास विषयमा स्नातक उत्तीर्ण गर्छन् ।
नारायणगोपालको सेन्स अफ ह्युमर गज्जबको थियो भन्ने उनका समकालिकबाट नसुनिएको होइन, त्यसको पुष्टि उनले पेमलालाई लेखेका चिठीहरूबाट हुन्छ । ७ नोभेम्बर १९६८ को चिठीमा उनी लेख्छन्, ‘अँ... अब एउटा जोक सुनाऊँ ? हैन, हैन, गीत सुनाउँछु ल ! तिम्रा लागि मीठो–मीठो गीतहरू बनाएको छु मैले । सुनाऊँ ? ल उसो भए एक पेग ...सरी एक ग्लास पानी पिलाऊ न ! गाऊँ ? तिमी डान्स गर ल !...उसो भए म पनि गाउँदिनँ । केको लाज मेरो अगाडि पनि । ल ल, त्यसो मुख छोपेर हाँस्न पाइँदैन । नेपाली डान्स झन् राम्रो छ के ? ...मारुनी नृत्य, मलाई पनि साह्रो मन पर्छ त्यो । ल उठ । अरे के भा’को । धत् कम् अन... ! यहाँ को छ र ल ल, बि अ गुड डार्लिङ, कम् अन ! गीत सुरु गरूँ है ! ल स्याबास... ए ‘रेलीमै मादलको तालमा... ! थ्याङ्क यु डार्लिङ, आई एम सो ग्लाड, कम् अन गिभ मि अ वार्म किस !’
१८ मे, १९६९ को चिठीमा उनले आफ्नो विवाह भएको र सुहागरात मनाउन नगरकोटसमेत गएको प्रसंग जोकका रूपमा उप्काएका छन्, ‘मैले विवाह गरें । आज म औधी नै खुसी छु, सायद जीवनमा अघि यस्तो हर्ष मलाई लागेको थिएन कहिल्यै पनि । बिचरा मायालाग्दो छ मेरी दुलही । हामी एक–अर्कोलाई निकै माया गर्छौं । हामी हाम्रो सफलतामा खुसी मनाउँदै छौं आज नगरकोटको डाँडामा गएर । आज हाम्रो हनिमुन भनौं वा कुन्नि के भनूँ– नगरकोटको यस रमणीय डाँडामा मनाउँदै छौं । मेरी दुलही आज निकै राम्री देखिरहेछु । नुहाएको लामो–लामो कपाल, कति मनपर्छ मलाई । म तिनलाई हेर्दै छु एकतमासले । शरीरको वर्णन गर्न मलाई आउँदैन, कारण म कवि हैन तर प्रशंसा गर्न उनीहरूले भन्दा बढ्ता सक्छु ।’
नारायणगोपाललाई पेमलाले सुरुमा ‘गोपाल’ ले सम्बोधन गरेकी छन् भने पछि उट्पट्याङ कुरा लेख्ने नारायणगोपाललाई ‘छट्टु र छट्टुको सरदार’ उपनाम दिएकी छन् । त्यस्तै, नारायणगोपालले ‘पेमलू, पेमू’ जस्ता सम्बोधन गरेका छन् ।
चिठीहरू पढ्दै जाँदा नारायणगोपाल हामीले सुनिरहेका सर्वप्रिय गायकजस्ता लाग्दैनन् । उनी ठूला कल्पनाशीलता, गम्भीर भावुकता, अटल साहस र कमलो हृदय बोकेका एक प्रेमिल कविजस्ता लाग्छन् । नारायणगोपाल २६ अक्टोबर, १९६९ को चिठीमा लेख्छन्, ‘छातीभरि सुकिया र डाँडाको सम्झना बोकेर म टीकाको दिन घर पुगें । यहाँ पुगेर म सोच्दै छु, के मैले साँच्चै तिमीलाई भेटें र ? फूलको देश, कुहिरोको देश, सपनाको अनि मेरी पेमूको देश, सुकियामा म साँच्चै पुगेको थिएँ र ? ‘सुकिया’, जहाँ म मेरो मुटु अल्झेको छ, आँखा रसाएको छ, सुस्केरा बिउँझेको छ, सपना निस्सासिएको छ अनि यस्तै–त्यस्तै कुन्नि के–के छ, कति प्यारो लाग्छ मलाई ! मैले साँच्चै भेटें र तिमीलाई यसपालि ? लाज लाग्यो ? छट्टुको सरदार !’
व्यक्तिगत रुचि, सन्चो–बिसन्चो, घर–व्यवहार र खानपानमा समेत एक–अर्काको चासो राख्न थालेका उनीहरू आफ्नो स्वभावलाई खुलेरै पत्रमा आदानप्रदान गर्छन् । विशेष गरी पेमलाले नारायणगोपाललाई धेरै रक्सी नखान र चुरोट नपिउन पटक–पटक आग्रह गर्छिन् । साथै चाडपर्व, जन्मोत्सवमा ‘पोस्ट–कार्ड’ पठाएर शुभकामना आदानप्रदान भएका छन् । ‘प्यारमा पगली’ बनेकी पेमला आफ्नै हातले बुनेर स्वेटरसमेत उपहारका रूपमा नारायणगोपाललाई पठाउँछिन् ।
१९६८ को डिसेम्बर महिनामा पेमला आफ्नी दिदी शान्तिसँग काठमाडौं घुम्न आउँछिन् । त्यतिबेला नारायणगोपाल उनीहरूका टुर गाइड बनिदिन्छन् । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँहरू उनी घुमाइदिन्छन् । साथै उनी भूपि शेरचन र पारिजातसँग पनि पेमलाको भेटघाट गराइदिन्छन् । नगेन्द्र थापाको घर पुर्याउँछन् । पेमलाकै आग्रहमा आफ्नी आमासँग पनि भेटघाट गराउँछन्, घरमै लगेर । यही यात्राकै क्रममा नारायणगोपालले नख्खुस्थित कुलदेवताको मन्दिरमा पेमलालाई सिन्दूर हाल्छन् । पेमलाले हतार–हतार धाराको पानीले सिन्दूर पखाल्छिन् । निराश र हतास मानसिकता लिएर पेमला फर्किन्छिन् ।
२४ फेब्रुअरी, १९६८ देखि १५ सेप्टेम्बर, १९६८ सम्म करिब ९ महिना उनीहरूबीच पत्रको आदानप्रदान हुँदैन । सिन्दूर काण्ड नै त्यसको कारण बन्न पुग्छ । अनि १८ फेब्रुअरी, १९६९ को पत्रमा नारायणगोपाल लेख्छन्, ‘स्वयम्भूमा अनि आनन्दकुटीमा मैले भनेको याद छ ? ‘तिमी गयौ भने म यहाँ... !’ मेरो भनाइमा विश्वास लाग्छ ? मलाई पनि विश्वास त लागेको थिएन, तर पछि चाल पाएँ कि मेरा विश्वासहरूले मलाई कत्रो ठूलो धोका दिएको रहेछ । मेरो विश्वास एक भ्रममात्र रहेछ । सिन्दूर त मैले अवश्य राखिदिएको थिएँ तैपनि ! तर सिन्दूरका रूपमा मेरो मुटुको रगत मेरै अगाडि त्यो नक्खु खोलाको पानीसँगसँगै बगेको मैले देख्दा म भित्रभित्रै कति रोएको थिएँ त्यो बेला... पेमलू ! मलाई क्षमा गर, मैले भूल गरें, पाप गरें, तिमीमाथि !’
त्यसको एक वर्षजत्तिको अवधिमा नारायणगोपाल पनि प्रेमको आगोले रापिन्छन्, पेमलाको पत्र नपाउँदा छटपटिन्छन् र लेख्छन्, ‘करिब वर्षदिन बित्न आँट्यो, हाम्रो पत्र व्यवहार नभएको । किन भन्ने कुरा सायद मैले भन्दा तिमीले थाहा पाउनुपर्ने हो । पेमलू ! आश्चर्य त मलाई केमा छ भने यतिका दिन तिमी कहाँ थियौं अनि के गरिराखेकी थियौं र तिम्रो अवस्था कस्तो थियो ? योबीच मलाई यही प्रश्नले सताइराखेको छ । मानसिक चिन्ताले म ग्रस्त भएछु । हामी टाढा छौं, एक–अर्काको स्थितिदेखि अनभिज्ञ छौं । सायद यही प्रश्न तिमीले पनि मलाई गर्न खोजेकी हौली । धन्दा मान्नु पर्दैन, महाकाल बाबाको कसम खाएर लेख कि जे–जति लेख्छौ, सत्य–सत्य लेख्छौ— मेरो कसम, नत्र पाप लाग्ला !’
१५ मार्च, १९६९ को पत्रमा नारायणगोपालले धराशायी हुँदै गएको आफ्नो प्रेम र सिन्दूर हालेको घटनाबारे यसरी लेख्छन्, ‘साँच्चै म अझै पनि भन्छु, सिन्दूर नहाल्नुपर्ने थियो मैले तिमीलाई ! मेरो जीवनमा यस्तो भूल कहिल्यै हुनेछैन अब !’
नारायणगोपाललाई अन्तरजातीय विवाह गर्न घरबाटै वर्जित थियो भने पेमलालाई पनि उनको परिवारले स्वीकृति दिएको थिएन । विशेषगरी उनका दाजु कर्माले यो प्रेमलाई मन पराएका थिएनन् । सोही कारण नारायणगोपालले पेमलालाई पठाएका चिठीहरू हराएका थिए, च्यातिएका थिए । पेमलाले पत्रहरूमा फाट्टफुट्ट पठाउने कविताहरू पढेर नारायणगोपालले उनलाई गीत लेख्न आग्रह गरेका छन् र आफूले संगीत भरेर गाउने आश्वासनसमेत दिएका छन् । पेमला लेख्छिन्—
निभ्दै जान्छ विस्तारै सहरका बत्तीहरू
शान्त पहाड, आकाश, जून र ताराहरू !
साहित्य र संगीतमा अधिक रुचि भएकी पेमलालाई नारायणगोपालले भूपि शेरचनको ‘मैनबत्तीको शिखा’ कविता चिठीमा लेखेर मात्र पठाएका छैनन्, सिङ्गै कवितासंग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ को पहिलो संस्करण हुलाकबाट पोस्ट गरेका छन् । पेमलाले पनि प्रतित्युत्तरमा आफूलाई मन परेका ‘भूपिदाज्यू’ का कविताहरू चिठीमा उल्लेख गरेकी छन् । साथै, नेपालबाट प्रकाशन हुने साहित्यिक पुस्तक पढ्न आफू इच्छुक रहेको बताएकी छन् ।
यो एक सस्तो, भावुक प्रेम मात्रै नभएर साहित्य, संगीत, समाज र संस्कृतिको आदानप्रदानजस्तो पनि देखिएको छ । घर–परिवारले मन नपराए पनि यो जीवन आफूहरूले बाँच्ने र भोग्नुपर्ने भएकाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको नारायणगोपाल लेख्छन्, ‘पेमू ! अगाडि पनि लेखेथें, हामी डिसेम्बरपछि के गर्ने भनेर ! तिम्रो प्रत्येक सल्लाह म मान्नेछु । तिम्रो सहयोग मलाई चाहिएको छ । आज हामी जीवनको बाजी लगाउँदै छौं, एक–अर्काका लागि । मेरो जीवन तिम्रै हो पेमू ! तिमी मेरी । हामी एक हौं । अतः मलाई तिम्रो र तिमीलाई मेरो सल्लाह आज जरुरी छ । अरूहरूको हाहामा हामी नलागौं । हाम्रो जीवन हामी निभाउँछौं, अरूले हैन !’
२५ जुलाई, १९६९ को अर्को पत्रमा बा–आमालाई आफ्नो प्रेमबारे निकै सम्झाएको नारायणगोपालले लेखेका छन् । साथै, पेमलाले पनि बाबा–आमाका लागि एक सन्तानको माया, उन्नति ठूलो र महान् हुने भन्दै आफू बरु टाढै रहेर बाँच्न सक्ने बताउँछिन् । सो पत्रमा नारायणगोपाल भन्छन्, ‘एकातिर म आमाबाबाहरूलाई सन्तोष राख्न चाहन्छु, उनीहरूलाई कम्ता सम्झाइनँ मैले तर के गरूँ, म हारेको छु । अर्कोतिर तिमी छौ, कसरी सम्झाऊँ तिमीलाई ! तिमीलाई त मेरा आमाबाबाहरूको मलाई भन्दा ज्यादा सुर्ता रहेछ । उनीहरूका लागि तिम्ले जसरी आज त्याग र धैर्यको कुरा लेखेर पठायौ, त्यसदेखि म बिलकुल स्तब्ध भएको छु । म घरमा झगडा गर्छु, तिम्रा लागि अनि तिमीबाट यस्तो जवाफ पाउँछु कि म किंकर्तव्यविमूढ हुन्छु । तिम्रो महान् आदर्शका लागि मसँग कुनै उत्तर छैन । घरमा पनि छोराको भलाईका लागि उनीहरूमा राम्रै होला । छोराछोरीमाथि आमाबाबुको कत्रो स्नेह, ममता र कस्तो माया गरेको ! अनि छोराको भलाईका लागि उनीहरूले जहिले पनि राम्रै सोच्छ, काम गर्छ रे ! अनि तिमी ? तिमी कति महान् छौ । तिम्रो महान् आदर्श सीता, सावित्री र दमयन्तीको भन्दा केही कम छैन । बीचमा त म परेको छु पेमू । जिन्दगीमा मैले न घरमा सुख दिएँ, न तिमीलाई । मेरो आमाबाबु र तिमी दुवै ठीकै त छन्, मूर्ख त मै भएँ, सबै कुरा चाहिने मलाई मात्र रहेछ र म यताउता लागिरहन्छु । अन्तमा म जहिले पनि असफल हुन्छु, मेरो जीवन नै असफलताको प्रतीकजस्तो लाग्छ ।’
१९६९ को हिउँदमा पेमलालाई लिन आउने खबर नारायणगोपालले चिठीमार्फत पठाउँछन् । रेस्टुराँमा बसेर लेखेको पत्रमा उनले एउटा गीतसमेत उपहारमा पठाएका छन्—
हराउनेछैन होस यहाँ
ठलमली मातले, पिलाउँदै
जति रहेका शून्यता मलाई दिएर
सल्किरहेछ वेदना
बल्झिरहेछ तेरो तृष्णा मुटुमा
अन्ततः १६ फेब्रुअरी, १९७० को पेमलाको पत्रअनुसार, उनीहरूको विवाह हुन मात्र ८ दिन बाँकी छ । यता नारायणगोपालको आफ्नी प्रेयसीलाई धर्मपत्नी बनाउने तयारी पूरा भएको छ । जीवनका वाचाहरू पूरा गर्ने सर्तमा पत्रमा पेमला लेख्छिन्, ‘अब यस्तो एक्लो साँझहरू बिताउन मैले केवल ८ दिन बाँकी छ ।
त्यहाँदेखि उसो मैले कहिल्यै यस्तो साँझहरू बिताउन पर्दैन होला जस्तो लाग्छ, एक्लै त छाड्नुहुन्न होला नि ! गोपाल, कस्तो होला हाम्रो जीवन, हामी के गरौंला ? तर लाग्छ, जस्तै कठिन परिस्थिति पनि हामी हाँसी–हाँसी सामना गर्न सक्छौं । हामीलाई चाहिएको त एक–अर्काको मायामात्र त हो । भगवान्ले हामीलाई सहायता दिनेछन्, यो निश्चित छ ।’
यसरी विभिन्न उतारचढावका साथमा नारायणगोपाल र पेमला लामा विवाह बन्धनमा बाँधिन्छन्, सन् १९७० को फेब्रुअरी २४ तारिखका दिन । र, त्यो जोडी सदा–सदाका लागि कालजयी प्रेमिल जोडी बन्न पुग्छ । आफ्नो बचनमा प्रतिबद्ध नारायणगोपालले पेमलालाई पठाएका चिठी हराएको जवाफमा लेखेका छन्, ‘मैले एक–एक चिठी सिलसिलाबद्ध रूपमा राखेको छु । पछि यिनै पत्रहरूको किताब निकाल्न चाहन्छु ।’
नारायणगोपालको पुस्तक निकाल्ने सपना अब पूरा भएको छ । नारायणगोपाल संगीत कोषका अध्यक्ष दीपक केसीको संकलनमा प्राप्त भएका सम्पूर्ण सामग्रीहरूको पुस्तक ‘स्वरसम्राट् नारायणगोपाल : डायरी, प्रेमपत्र, संस्मरण र अन्तर्वार्ता’ चाँडै प्रकाशन हुँदै छ ।
