भारत र चीनसमेत निर्यात हुन्छ रिजाल्को पानी ट्यांकी

तीन दशकअघि खुलेको रिजाल्कोका उत्पादनहरू देशभित्र मात्र नभएर चीनको तिब्बत र भारतमा समेत खपत हुन्छ, उद्योगले करिब ८ सय जनालाई रोजगारी दिएको छ

पुस ७, २०८१

पर्वत पोर्तेल

Rizal water tanks are also exported to India and China

विराटनगर — विराटनगरका उद्यमी नवीन रिजालको कथाले संघर्ष, असफलता र दृढता हुँदै सफलतासम्म पुग्ने प्रेरणादायी यात्राको प्रतिनिधित्व गर्छ । जागिर खान नसक्दा निराश भएका नवीन अहिले सयौंलाई जागिर दिन सक्ने भएका छन् । 

उनको संघर्ष सुरु भएको थियो, २०५० सालमा । त्यतिबेला रिजाल परिवारले सुरु गरेको थियो, प्लास्टिकको पानी ट्यांकी उत्पादन उद्योग । त्यतिबेला अरू जिल्लामा ट्यांकी उद्योग थिए, तर पूर्वमा थिएनन् ।

रिजाल परिवारलाई पानी ट्यांकी उत्पादनको अनुभव पनि थिएन । तर, यो परिवारले चुनौती मोल्ने साहस गरेको थियो । रिजाल परिवारले पूर्वमै पहिलो पटक ‘रिजाल्को’ ब्रान्डबाट उद्योग स्थापना गर्‍यो । पूर्वका उपभोक्ताको माग पूरा गर्ने सुरुवाती लक्ष्य राखेर खुलेको उद्योगको उत्पादन अहिले देशभित्र मात्र नभई विदेशमा पनि खपत हुन्छ ।

४० को दशकमा नवीनका बुबा विनय रिजालको जर्किन उद्योग थियो । त्यो उद्योग सोचेजस्तो नचलेपछि ४५ सालतिर सस्तोमा बिक्री गर्नुपर्‍यो । जर्किन उद्योग बेचेको केही वर्षर्पछि पानी ट्यांकी उद्योग सुरु भएको थियो । व्यापार गर्ने इच्छा नभएर जागिरको खोजीमा भौंतारिएका नवीन जागिर नपाएपछि व्यापारमै फर्किन बाध्य भएका थिए । 

४० को दशकको अन्त्यतिर जागिरको खोजीमा भौंतारिँदै काठमाडौं पुगेका थिए नवीन । स्नातक सकेका उनले जागिरका लागि गरेका धेरै प्रयास खेर गए । ६ महिनासम्म जागिरे बन्न काठमाडौंमै बिताए । अन्ततः निराश भएर घर फर्किए । घर फर्किएपछि, नवीनले अध्ययनलाई निरन्तरता दिए ।

पढाइसँगै व्यवसाय गर्ने हुटहुटी पनि उनीसँग थियो । परिवारको आर्थिक अवस्था सुधार गर्न काम गर्नैपर्ने अवस्थाले उनलाई प्रेरित गर्‍यो । बुबा विनयको सुझावअनुसार २०५० मा ट्यांकी निर्माणको व्यवसाय थालनी गरे । ‘मलाई त्यतिबेला कार्यालय सहायकभन्दा माथि जस्तोसुकै भए पनि जागिर खाने इच्छा थियो, तर पाइनँ,’ नवीनले विगतको पोयो खोले, ‘अहिले लाग्छ जागिरे नभएर ठीक गरिएछ ।’ 

सुरुमा उधारोमा मेसिन किनेर व्यवसाय सुरु गरेको उनको उद्योगमा अहिले करोडौं मूल्यका अत्याधुनिक मेसिन सञ्चालित छन् । सुरुका दिनमा, बैंकबाट ऋण लिन निकै कठिन थियो । त्यो बेला चलेको ब्याजदर १४ प्रतिशत थियो । उनले १८ प्रतिशत ब्याजमा बल्लतल्ल ऋण पाए ।

Rizal water tanks are also exported to India and China

करिब २५ लाख ऋणमा कारखाना खुल्यो । एउटा निजी बैंकले पैसा बुझाएअनुसार कच्चा पदार्थ उपलब्ध गराउँथ्यो । ‘२५ सय रुपैयाँ बुझाएपछि ५ बोरा प्लास्टिक दाना निस्किन्थ्यो,’ नवीन सम्झिन्छन्, ‘त्यसबाट ५ वटा ट्यांकी निर्माण हुन्थ्यो । त्यही बेचेर पुनः कच्चा पदार्थ किन्थ्यौं ।’ बैंकले कच्चा पदार्थ उपलब्ध गराउने, ट्यांकी निर्माण गरी बेच्ने, र पुनः बैंकलाई पैसा बुझाउने यो चक्र निक्कै समय चल्यो । 

जीआई र कंक्रिटका ट्यांकीको बजारमा एकाधिकारजस्तै थियो । रिजालले प्लास्टिक ट्यांकी उत्पादन सुरु गरे । प्रतिस्पर्धी उद्योगले ग्राहक तान्न आफ्नो उत्पादनको मूल्य 

ह्वात्तै घटाए, जसको प्रत्यक्ष असर उनको उद्योगले व्यहोर्नुपर्‍यो । ‘सुरुवाती दिनमा घाटा खेप्नुपरे पनि करिब ७ वर्षपछि उद्योगले लय समात्यो,’ नवीन सुनाउँछन्, ‘उपभोक्ताको चाहनाबमोजिम किफायती मूल्य राख्न र डिजाइन सुधार्न हामीले विशेष ध्यान दियौं ।’ त्यही कारण रिजाल्को ब्रान्डप्रति उपभोक्ता आकर्षित हुन थाले । 

उद्योग खोलेको सुरुवाती दिनतिर नवीनले विज्ञापन गर्ने नयाँ जुक्ति फुराए । ‘पानीभित्र सुन’ भन्ने सन्देशसहित विज्ञापनको फ्लेक्स काठमाडौंका पोलहरूमा टाँगे । उक्त विज्ञापनले उपभोक्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको अनुभव उनको छ । पछि ‘रिजाल्को पोलिट्यांक’ ब्रान्डमार्फत उत्पादनलाई उपभोक्तामाझ परिचित गराए । 

इटहरीमा ४ कट्ठा जमिनमा न्यून पुँजीबाट सुरु गरेको उद्योग अहिले ११ बिघा क्षेत्रमा फैलिएको छ । साथै ६० को दशकपछि यो उद्योग पूर्वमा मात्रै सीमित रहेन । काठमाडौंलगायत क्षेत्रमा पनि विस्तार भयो । २०६३ मा ललितपुरको लुभुबाट पनि ट्यांकीको उत्पादन सुरु गरे । चाँडै काठमाडौंकै बालाजु औद्योगिक क्षेत्रभित्रबाट पनि ट्यांकी उत्पादन सुरु गर्दै छन् ।

खासगरी काठमाडौं र काठमाडौं पश्चिमका उपभोक्तालाई लक्षित गरी उद्योग सुरु गर्न लागिएको उनी बताउँछन् । ‘ट्यांकी उद्योगमा ढुवानी खर्च बढी छ,’ उनी भन्छन्, ‘काठमाडौं र ललितपुरका दुई उद्योगले ढुवानी लागत घटाउने विश्वास छ ।’ 

रिजाल्को उद्योग ट्यांकीमा मात्रै सीमित भएन । २०६७ मा रिजाल्को ग्यास र २०७२ मा रिजाल्को पाइपसमेत उत्पादन गर्न थाल्यो । सुरुवाती लगानी २५ लाख रहेको उद्योगले अहिले वार्षिक करिब अढाई सय करोड रुपैयाँको कारोबार गर्दै आएको छ ।

Rizal water tanks are also exported to India and China

आज रिजाल्को उद्योगले ५० भन्दा बढी प्रकारका ट्यांकी उत्पादन गर्छ । रंगीन ट्यांकी, बिर्कोसहितका ट्यांकी र उपभोक्ताको आवश्यकताअनुसारका डिजाइनका ट्यांकी बजारमा देख्न सकिन्छ । उनको उद्योगबाट १ सयदेखि १० हजार लिटरसम्मका ट्यांकी उपलब्ध छन् । चाँडै स्टिलका ट्यांकी पनि उत्पादन गर्ने लक्ष्य छ ।

 ट्यांकीका लागि विदेशबाट कच्चा पदार्थ आयात गरिन्छ । कोरिया, सिंगापुर, साउदी अरब, मलेसिया, भियतनामजस्ता देशबाट आयात गरिएका कच्चा पदार्थ र केमिकलको प्रयोगबाट ट्यांकी निर्माण गरिन्छ । ‘कच्चा पदार्थ विदेशबाट आए पनि ट्यांकी स्वदेशमै उत्पादन हुन्छ जसकारण उपभोक्ताले गुणस्तरीय सामग्री किफायती मूल्यमा पाएका छन्,’ नवीन भन्छन् । 

रिजाल्को उद्योगले करिब ८ सय श्रमिकलाई प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी दिएको छ । नेपालभरि ५ हजारभन्दा बढी आउटलेटबाट उपभोक्तासम्म उत्पादन पुग्छ । ‘नेपालसँग सीमा जोडिएको चीनको तिब्बत र भारतको केही क्षेत्रमा पनि हाम्रो उत्पादन गइरहेको छ,’ नवीन भन्छन्, ‘तेस्रो देशमा निर्यात गर्ने योजनामा छौं ।’ 

उपभोक्ताको आवश्यकता र इच्छालाई समेट्न सधैं ध्यान दिइएको उनले बताए । डिजाइन परिवर्तन, नयाँ सुविधा थप्ने र उपभोक्ताले वहन गर्न सक्ने मूल्य निर्धारण उद्योगका मुख्य रणनीति हुन् । रंगीन ट्यांकी, बिर्कोसहितको ट्यांकी र कीरा तथा फोहोरबाट बच्नका लागि कभरको व्यवस्था पहिलो पटक यही उद्योगले सुरु गरेको हो । बिर्को उत्पादनपछि ट्यांकीको उत्पादन अझै बढ्यो । बिर्कोका लागि मेसिन लागत उच्च थियो, तर पनि उपभोक्ताको चाहनाबमोजिम उत्पादन सुरु गरेको नवीन बताउँछन् । 

Rizal water tanks are also exported to India and China

यही उद्योगले नयाँ प्रविधिवाट थ्रिडेट क्याप भनेर उत्पादन सुरु गरेको थियो । प्रतिस्पर्धी उद्योगहरूलाई यसको कपी गर्न १२–१३ वर्ष जति लागेको उनी दाबी गर्छन् । पछिल्लो समय ट्यांकीमा हुक लगाउने प्रविधि पनि उद्योगले विकास गरेको छ । हुक जडानपछि १० औं तलामाथि पनि ट्यांकी राख्न सहज हुने नवीनको भनाइ छ । ‘नेपालमा हामी जति भेराइटी अरू कुनै उद्योगले दिन सक्दैन,’ नवीन भन्छन्, ‘यही नै हाम्रो उद्योगको विशेषता हो ।’

नवीनका अनुसार उपभोक्ताले के सोचिरहेको छ ? के चाहिरहेको छ ? उद्योगले त्यसलाई महत्त्वका साथ हेर्छ । ‘उपभोक्ताले किन्न सक्ने मूल्यमा समेत ध्यान दिन्छौं,’ उनी भन्छन्, ‘उपभोक्ताले किन्न नसक्ने ट्यांकी उत्पादन गरेर के गर्नु ?’

 ३२ वर्षे यात्रामा उद्योगले १५ पटकभन्दा बढी डिजाइन परिवर्तन गरिसकेको छ । महँगो हुने भए पनि डिजाइन फेरिरहन्छन् । त्यही कारण रिजाल्को कम्पनीको उत्पादन उपभोक्ताको रोजाइमा परेको दाबी नवीनको छ । रिजालको सफलताको कथा केवल उद्यमशीलताको उत्कृष्ट उदाहरण मात्रै हैन । स्वदेशी उत्पादनहरूको पहिचान र आत्मनिर्भरताको प्रतीक पनि हो । प्लास्टिक ट्यांकी, पाइप र ग्यासको क्षेत्रमा सफलता हात पारेका ‘रिजाल्को’ यात्रा नेपाली उद्योग क्षेत्रका लागि प्रेरणादायी छ । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully