डेब्यु फिल्म ‘सानो संसार’ पछि विनयले गरेको ‘फर्स्ट लभ’ ब्लकबस्टर बन्यो, ‘मेरो लभ स्टोरी’ देखि ‘भिसा गर्ल’ भने चलेनन् । फिल्म हिट नहुँदा विनयको करिअरले पनि उचाइ समातेन । तर, उनी निराश छैनन् । बरु नयाँ फिल्म लिएर आउँदै छन् ।
काठमाडौँ — अभिनयकै लागि चिनिने कलाकार हुन्, विनय श्रेष्ठ । संख्यात्मक हिसाबले थोरै तर, सशक्त अभिनय पस्कने कलाकार ! उनी फिल्मको संख्या बढाउनकै लागि फिल्म गर्दैनन्, विषयवस्तु र चरित्रले आत्मालाई छोएपछि फिल्म गर्छन् ।
त्यसैले उनी फिल्म क्षेत्रमा बेलाबखत मात्रै झुल्किन्छन्, गह्रौं विषय बोकेर । वर्षमा २/३ फिल्म एकसाथ गर्नेहरूका भीडमा विनय बिलाएझैं देखिन्छ ।
झट्ट हेर्दा फिल्म क्षेत्रबाट उनी टाढिएकै देखिन्छ । तर, आफूलाई फिल्म क्षेत्रकै निकट ठान्छन् उनी । ‘म कहीँ हराएको थिएन । फिल्म क्षेत्रमै थिएँ ।’ खासमा ‘रोमियो एन्ड मुना’ पछि विनय फिल्म क्षेत्रबाट टाढिए । कोभिडपछि वेबसिरिज ‘सूत्र’ मै काम गरे । तर, न ‘रोमियो एन्ड मुना’ चल्यो न ‘लभ सूत्र’ ! विनयका अनुसार, गरेको काम नचलेपछि उनीसँग चुप लाग्नुको विकल्प थिएन ।
त्यसपछि उनी राम्रो फिल्मको प्रतीक्षामा थिए । केही अफरहरू पनि आए । केही फिल्मको काम अघि बढ्यो तर कारणबस ती फिल्म पूरा भएनन् । त्यसैले फिल्म क्षेत्रमा उनको लामो ग्याप देखियो । ‘फिल्म भनेको नास्ता बनाएको जस्तो होइन, हरेक बिहान बनाउँदै खाने खानाजस्तो पनि होइन । सबै कुरा जुर्नुपर्ने हुन्छ । मानसिक र शारीरिक रूपले तयार हुनुपर्यो । चरित्रहरू आफ्नो आत्मासँग मिल्न सक्नुपर्यो,’ विनय सुनाउँछन् ।
‘रोमियो एन्ड मुना’ मा पैसा मात्रै होइन, विनयलगायत थुप्रै टिमको मिहिनेत धेरै मिसिएको थियो । फिल्मको कथ्यशैली फरक थियो, विषयवस्तु आफैंमा नवीन थियो । विनयकै शब्दमा भन्नुपर्दा फिल्ममा प्रोडक्सनमा ठूलो खर्च भयो । एनिमेसनमा उस्तै खर्च । निर्देशक नरेशकुमार केसीले प्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यानगगका पेन्टिङको प्रयोगमा सुन्दर एनिमेसन सिर्जना गरे ।
यसरी मिहिनेत गरिएको फिल्मको प्रदर्शन मिति पटक/पटक सरिरह्यो । त्यसले फिल्मलाई असर गर्ने नै भयो, बक्स अफिसमा यो फिल्मले राम्रो उपस्थिति जनाएन । तर, अहिले यही फिल्म युट्युबमा सार्वजनिक गरिसकेपछि धेरैले विनयको अभिनयमा एउटै प्रतिक्रिया दिइरहेका छन्, ‘अन्डररेटेड एक्टर’ ।
अहिले विनयलाई लाग्छ, ‘रोमियो एन्ड मुना’ समय अगाडि प्रदर्शन आएको फिल्म हो । ‘म त कलाकार र निर्माताका हिसाबले खुसी छु । फिल्म चल्नु नचल्नु एक किसिमको जुवा नै हो,’ उनले भने, ‘भाग्ने गरी डुबेको होइन । यस्तै जोखिम मोलेर फिल्म बनाउने हो । आउने जाने हुन्छ, तर सो मस्ट गो अन भनिन्छ नि ।’
थप्नकै लागि फिल्मको संख्या थप्दै गएको भए विनय पनि चर्चामा रहिरहन्थे । तर, उनी कहिल्यै चर्चाको पछाडि कुदेनन् । ‘म पपुलारिटीको पछाडि भाग्दिनँ । तर, त्यस्तो प्रोजेक्ट गर्न रुचाउँछु जसले मलाई पपुलारिटी दिन्छ,’ उनले भने, ‘५ वर्षपछि मार्केटमा आउँदा मेरा लागि दर्शक ओइरिन्छ भन्ने सोचाइ छैन । अहिले त कन्टेन्ट महत्त्वपूर्ण हुने समय आयो ।’
डेब्यू फिल्म ‘सानो संसार’ पछि विनयले गरेको ‘फर्स्ट लभ’ ब्लकबस्टर बन्यो । ‘मेरो लभ स्टोरी’ देखि ‘भिसा गर्ल’ ले भने खासै बक्स अफिस तताएन । फिल्महरू हिट नहुँदा विनयको अभिनय करिअरले उचाइ समातेन । तर, गरेका केही फिल्महरूले व्यावसायिक सफलता नदिँदा पनि उनी खुसी नै छन् । किनभने उनलाई थाहा छ, फिल्म चलोस्, नचलोस् उनी फिल्म गरिरहनेछन् ।
‘फिलिली मेला हेर्न आउनु न दाइ’ निर्माण टिमका एक जनाले विनय श्रेष्ठलाई सिभिल मलको हलमा निम्तो दियो । अघिल्लो दिन नै फिल्मको बुकिङ आक्रामक थियो । टिकट काट्न दर्शकहरू लामबद्ध भएर उभिएको दृश्यले विनयको मन प्रफुल्ल भयो ।
शनिबार शुक्रबारभन्दा दर्शकको घुइँचो बढ्ने नै भयो । त्यही भीडसँग साक्षात्कार गर्न फिल्मका अन्य कलाकार सिभिल मल पुगिसकेका थिए । जब विनय सिभिल मलका लागि निस्किन घरको पार्किङमा रहेको गाडी छेउ पुगे तब जमिन हल्लियो, गाडी हल्लिन थाल्यो । यो २०७२ को विनाशकारी भूकम्प आउँदाको क्षण थियो ।
भूकम्पपछिका ती दिन अब इतिहास बनिसक्यो । त्यही इतिहासको गर्भमा ‘रेशम फिलिली’ ले बक्स अफिसमा लेख्न सक्ने अर्को इतिहास पनि बिलायो । त्यतिबेला काठमाडौंका केही हलमा फिल्म सुरु भएको १५ मिनेट जति भएको थियो । सिभिलमा त फिल्म सुरु हुनै लागेको मात्र थियो ।
घरै हल्लिँदा त्यहाँको दृश्य कस्तो थियो होला ? विनय ती दिन सम्झन चाहँदैनन् । त्यसैले अहिले उनी सिक्वेलमै ध्यान दिइरहेका छन्, अहिले फिल्मको पोस्ट प्रोडक्सन सुरु भइसक्यो । उनीहरूले ‘जालमा’ गीतलाई पनि पुनःसिर्जना गरेका छन् । १० वर्ष
पुरानो यो गीत अहिले पनि दर्शकबीच प्रख्यात छ । उनी अहिले पनि जमघटमा यो गीत सुन्ने गरेका छन् । सिक्वेल निर्माणको घोषणासँगै कतिले ‘पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो’ गुनगुनाउन थालिसके । यो गीतलाई फिल्म प्रचारका लागि उनीहरूले प्रयोग गर्ने सोचेका छन् । र, ‘फेरि जालमा’ शीर्षकमा गीतको सिर्जना गरेका छन् ।
नेपालमा अधिकांश फिल्मकर्मीले त्यस्तो फिल्मको सिक्वेल बनाएका छन्, जसले पहिल्यै बक्स अफिसमा व्यापक सफलता बटुलिसकेको हुन्छ । तर, रेशम फिलिलीले भूकम्पकै कारण व्यावसायिक सफलताको स्वाद चाख्न पाएनन् । तर, पनि विनयलाई फिल्मको कथाले सिक्वेल मागेको अनुभव भयो । त्यसैले उनले सिक्वेल निर्माण गरेका छन्, ‘फेरि रेशम फिलिली’ ।
महाशिवरात्रिदेखि प्रदर्शनमा आउने यो फिल्मलाई पहिल्यैदेखि शृंखलाहरूमा निर्माण गर्ने उनको योजना थियो । उनी सिक्वेलसँग भूकम्प जोड्दै चाहँदैनन् । यो पटक शिवरात्रिको भोलिपल्ट भूकम्प त जाँदैन नि ? प्रश्न पूरा हुन नपाउँदै विनयले थपे, ‘त्यस्तो नभन्नू न ! सबै कथाले सिक्वेल माग्दैन । कतिले कथालाई जबर्जस्ती तन्काएर सिक्वेल बनाइरहेका हुन्छन्,’ विनय भन्छन्, ‘तर जुन फिल्मले राम्रो नतिजा दिन्छ त्यसको सिक्वेल बनाउने हो ।’
विनयका अनुसार उनको प्रोडक्सन कम्पनी वि मोसन पिक्चर्सको राम्रो चर्चा कमाएको फिल्म नै ‘रेशम फिलिली’ हो । त्यसैले आफूले सिक्वेल बनाएको उनी सुनाउँछन् । ‘रेशम फिलिलीको ३ बनाउँछु, ४ बनाउँछु । बनाइरहन्छु,’ उनले भने । यो फिल्मको अन्तर्राष्ट्रिय वितरणले फिल्मबाट निर्माता जोगिए ।
त्यतिबेला बल्ल विदेशमा भएका वितरकहरूको आँखा नेपाली फिल्महरूमा पर्न थालेको थियो । त्यहीमाथि प्रदर्शन अगावै ‘जालमा’ गीतले फिल्मको चर्चा चुचुरोमा पुर्याइसकेको थियो । तर, भूकम्पले निर्माण टिमको सबै मिहिनेत विनाश गरिदियो ।
फिल्मको एउटा दृश्य भने त्यतिबेला निकै भाइरल थियो । जहाँ एक पात्र विमानको ढोकामा उभिएर, बसको सहचालकझैं चिच्च्याइरहन्छन्– कतार, कतार ! गलामा माला, निधारमा रातो टीका, ब्याग भिरेर एक जना पात्र उक्त विमान समात्न कुदिरहन्छन् । त्यही दृश्यलाई फेरि सिक्वेलमा उनीहरूले एनिमेटेड भर्सनमा तयार गरेका छन् । विनयको पात्र रेशम उसैगरी विमानको पछाडि दौडिरहन्छन्, बेतोडले । तर, त्यही रेशमलाई १० वर्षपछि पर्दामा उभ्याउन खुबै मिहिनेत गर्नुपरेको उनी सुनाउँछन् ।
हो, १० वर्षपछि रेशमको चाहना फिरिसक्छ । उपलब्धि फेरिसक्छन् । ती सबै पक्षलाई समात्दै फेरि विनयले रेशमलाई बाँचे । प्रेम, मित्रता र मानवीय सम्बन्धका फरक आयामहरू केलाउने यो फिल्मले त्यतिबेला कमेडी विधामा दर्शक हँसाउँदै थुप्रै कुरा भन्यो, भन्न बाँकी थियो । त्यही तत्त्वलाई फिल्ममा टिप्दै ठूलो क्यानभासमा रेशमको कथा कोरियो– ‘फेरि रेशम फिलिली’ ।
त्यतिबेलाको रेशक सोझो थियो, दुनियाँदारीबाट टाढा थियो । परिवारलाई प्रेम गर्थ्यो, छलकपट गर्न नजान्ने उनी आफैंविरुद्ध भएको छलको सामना गरिरहेको थियो । यो पटकको रेशमका अवतार कस्तो होला ? त्यो त फिल्म रिलिजकै दिन थाहा हुनेछ ।
यत्ति हो, विनयले यो पटक दोब्बर मिहिनेतमा यो चरित्रलाई चरित्रतार्थ गरेका छन् । फिल्मका निर्माता समेत रहेका उनी नेपाली बजारमा देखिएको उपलब्धिले उत्साहित छन् । खासै ठूलो अपेक्षा राख्दैनन्, दर्शककै हातमा सबै नतिजा छोडिदिएका छन् ।
‘अहिले बजारले फिल्मकर्मीलाई उत्साहित बनाएको छ । यो बजारले ५० करोडको कमाइ गर्न सक्दो रहेछ,’ विनयले भने, ‘हामीले सोचेभन्दा राम्रो होस् भन्ने सोचाइ छ । र, म त्यसको लायक छुजस्तो पनि लाग्छ । १५ वर्षको लगानी छ मेरो यो फिल्म क्षेत्रमा त्यसको लगानी त उठ्नुपर्यो नि ।’
मोडलिङ हुँदै विनयले अभिनय थाले । अभिनयसँगै उनले फिल्म निर्माणमा हात हाले । पहिल्यैदेखि फिल्म निर्माणमा होमिन चाहन्थे । त्यसैले आफूलाई मनपर्ने कथाहरूमा फिल्म बनाउन प्रोडक्सन कम्पनी खोले । कोभिडबीच ओटीटी केन्द्रित वेबसिरिज बनाए । तर, वैकल्पिक प्लेटफर्म बलियो नहुँदा युट्युबमा सार्वजनिक गर्नुपर्यो । त्यसको पनि नतिजा सोचेजस्तो आएन । समयभन्दा अगाडि हुँदा आफूले धेरै घाटा व्यहोर्नुपरेको उनले अनुभव गरेका छन् ।
यो १० वर्षमा फिल्मलाई लिएर फिल्मकर्मीहरू महत्त्वाकांक्षी बनेको विनयको अनुभव छ । कथा भन्ने आँट छ, बजार पनि मौलाउन थालेको छ । त्यसैले कथा भन्नका लागि अहिलेको समय उर्वर रहेको उनी सुनाउँछन् । त्यतिबेला फरक–फरक चरित्रहरू गर्ने लोभले विनयले ‘रोमियो एन्ड मुना’ धनी बाबुको बिग्रेको छोरा बने ।
फिल्म खिच्न अमेरिका पुगे, फिल्ममा उनको इन्ट्री सानदार थियो । डेब्यु फिल्ममै पनि उनले यस किसिमको चरित्र गरेका जो थिए । फिल्मको सुरज पात्रलाई धन/सम्पत्तिको आवश्यकतै थिएन । त्यस किसिमको चरित्र निर्माणमा ‘एटिट्युड’ मात्र मिसाइदिन्छन् । तर, रेशमजस्तो चरित्रमा बढी मिहिनेत गर्नुपर्छ । रेशम चरित्रलाई उनले कीर्तिपुरमा भेटेका हुन् ।
कीर्तिपुरमा भेटिएका एक युवालाई पछ्याउँदै जाँदा रेशम चरित्र निर्माण भयो । ‘त्यो भाइ रिसाउँदा कस्तो हुन्छ त ? उसले हिँड्दा कसरी हिँड्छ ? सोच्दा कसरी सोच्छ भन्ने पक्षहरूलाई मैले आफूमा देखाएको न हो,’ विनय विगत सम्झन्छन्, ‘चरित्र निर्माण भनेको त कुनै कलाकारले कला निर्माण गरिरहेजस्तै त हो । नाक कस्तो बनाउने, कसरी बोल्छ भन्ने नै हो ।’
रेशम चरित्रमा आफ्नो मिहिनेत, सिर्जना लागेकै कारण यो पात्र आफ्नो हृदय नजिक रहेको विनय सुनाउँछन् । ‘हो म मेथड एक्टिङ गर्न नसकुँला । तर, मेरो अभिनयको क्षमता कतिसम्म छ भन्ने कुरालाई रेशम चरित्रले देखाउँछ,’ विनयले भने । रेशम, विनयको दोस्रो भर्सन पनि हो । त्यसैले एक दशकपछि त्यही चरित्रलाई उनले त्यसैगरी निर्माण गरेका छन्, सिक्वेलमा । क्यामेरा अगाडि उभिनेबित्तिकै उनी रेशम बनिहाल्थे ।
यसरी काम गर्ने विनयका अधिकांश फिल्म बक्स अफिसमा असफल रहे । त्यसैले पनि उनी यही क्षेत्रमा रहेर पनि गुमनामजस्तै देखिए । आफूलाई बजारमा प्रस्तुत गर्न नजानेकै कारण पनि यस्तो भएको उनको अनुभव छ । ‘सायद, मैले आफूलाई बिकाउन सकिनँ । मैले फिल्म बनाएँ, फिल्मलाई बेच्न सकेँ होला । तर, कलाकारकै हिसाबले आफूलाई बेच्न जानिनँ,’ विनयले आफूलाई नियाले । उनी मात्रै होइन उनका
फ्यानलाई समेत यस्तो लाग्छ । ‘रोमियो एन्ड मुना’ हेरेपछि धेरै फ्यानले कमेन्टमा लेखे, ‘विनय अन्डरेटेड एक्टर’ । रोमियो एन्ड मुनाका निर्देशक नरेशकुमार केसी पनि यो पक्षमा सहमत देखिन्छन् । ‘कलाकारका हिसाबले विनय एकदमै प्रमिसिङ एक्टर हो । सायद विनयले फिल्म निर्माणमा समय दिनुपर्दा कलाकारका हिसाबले आफूलाई देखाइरहन सकेन,’ नरेशले भने, ‘फिल्म त सो बिजनेस हो । यहाँ त देखिरहनुपर्छ ।’
विनय थप्छन्, ‘गीत होस्, जस्तोसुकै फिल्म होस् तपाईं देखिरहनुपर्ने हरेछ । तर, म जहीँ–त्यहीँ देखिन सक्दिनँ ।’ विनयको स्वभाव पनि फरक छ । उनी कहिले पारिवारिक जमघटमा हुन्छन्, कहिले साथीहरूको सीमित घेरोमा ! फिल्मका कार्यक्रममा उतिसारो पुगिरहेका हुँदैनन् । आफ्नो यही स्वभावलाई शक्ति बनाउँदै विनय ‘फेरि रेशम फिलिली’ लिएर फर्किएका छन् ।
नयाँ फिल्मसँगै फिल्म निर्माणको जोस दोब्बर छ, नयाँ ऊर्जा बोकेर आफ्नो शो चलाउन फर्किएका छन् । उनी अभिनयको यो ‘शो’ लाई अगाडि बढाइरहन चाहन्छन्, उनले भनेझैं– द शो मस्ट गो अन !
