बर्खे भेलमा दाउरा बटुल्नेको लर्को

ज्यानको माया न पर्वाह

श्रावण १५, २०८१

नवीन पौडेल, महेश केसी

A woodcutter's bark in Barkhe Vale

परासी र  रुकुम पश्चिम — पश्चिम नवलपारसीको सुस्ता गाउँपालिका–५ का जीतेन्द्र विन असार दोस्रो सातायता अबेर रातिसम्म नारायणी बगरमै हुन्छन् । नारायणी नदीमा बगेर आउने काठ, दाउरा संकलनका लागि उनी बगरमा सानो टहरा बनाएर बसिरहेका छन् । उनलाई सघाउन परिवारका अरू सदस्य पनि बेलाबेला आउने गर्छन् ।

मध्य बर्खामा उर्लेको भेलमा बगेर आउने दाउरा समात्न स्थानीय ज्यानको बाजी थापेर नारायणीमा हेलिन्छन् । नदीभित्र परसम्म जानुपरे डुंगा पनि राखेका छन् । एक महिनामा जीतेन्द्रले आफूले वर्षभरि खाना पकाउन पुग्ने दाउरा राखेर केही बिक्रीसमेत गरिसकेका छन् । ‘एक ट्याक्टर दाउरा करिब १० हजार रुपैयाँमा बिक्छ,’ उनले भने । धेरै संकलन भएको दिन र घरसम्म लैजान नसक्ने अवस्था भएमा दाउरासँगै बगरकै टहरामा रात बिताउँछन् । ‘सिजनमा दाउरा बटुल्न नसके गुइठा (गोबर सुकाएर बनाइने) मा खाना पकाउनु पर्छ । त्यसले वर्षदिन पुग्दैन । दाउरा भए निकै सजिलो हुन्छ,’ उनले भने, ‘आवश्यक भन्दा धेरै संकलन गर्न सकियो भने सहजै बिक्री पनि हुन्छ । बाढीमा पसेर दाउरा संकलन गर्नु हाम्रो बाध्यता हो ।’

सुस्ता–५ सकरदिन्हीका चन्द्रबहादुर दलार्मी मगर पनि हातमा डोरी र फलामे बल्छी जस्तो बनाएको सामान बोकेर नारायणी किनारमा दाउराको पर्खाइमा बसेका हुन्छन् । एउटा दाउराका लागि धेरैले निसाना लगाउँछन् । टाढैबाट दाउरामा तिखो फलाम फ्याकेर जसले पहिला निशाना लगाउँछ, उसैले त्यो पाउँछ । त्यसैले बाढी आएका बेला नारायणी किनारमा हाट बजारजस्तै दाउरा संकलकको भीड लाग्ने गर्छ ।

A woodcutter's bark in Barkhe Valeभेरी किनारमा दाउरा संकलन गर्दै स्थानीय । तस्बिरहरु : महेश केसी/कान्तिपुर

जिल्लाको दक्षिणी भेगमा सामुदायिक जंगल छैन । त्यसैले खाना पकाउनका लागि आर्थिक रूपमा सक्षम परिवारले ग्यास प्रयोग गरे पनि अधिकांशले दाउरा र गुइठाको भरमै चुल्हो बाल्ने जोहो गर्छन् । समूहमा मिलेर संकलन गर्नेले लाखौंको काठदाउरा पनि बिक्री गर्ने गर्छन् । इन्धनसँगै आम्दानीको स्रोत पनि भएकाले स्थानीय ज्यानको बाजी थापेर दाउरा समाउन नारायणीमा पस्ने गरेका छन् । ‘हाम्रो क्षेत्रमा सामुदायिक वन छैन । मृत्यु संस्कारदेखि खाना पकाउन पनि दाउरा आवश्यक छ,’ मगरले भने, ‘कहिलेकाहीं दाउरा समात्ने क्रममा आँखाअगाडि साथीलाई बगाउँछ, तर के गर्नु, सिजनमा जोखिम नमोले वर्षभरि दुःख पाइन्छ ।’ 

सुस्ताकै १४ वर्षका विवेक बढई पनि शनिबार दिउँसो नाराणी नदी किनारमा बसेर बगेर आएको दाउरालाई निशाना लगाउँदै थिए । उनी विद्यालय बिदाको दिनभर र अन्य दिन बिहान–बेलुका बगेर आएका दाउरालाई निशाना लगाएरै बस्छन् । साना काठ एक्लैले समात्न सके पनि कहिलेकाहीं सिंगै रुख पनि बगाएर ल्याउँछ । त्यस्तो अवस्थामा समूहमा मिलेर डुंगामार्फत नदीको बीचमै पुगेर समात्नुपर्ने उनीहरू बताउँछन् । ‘यो काममा निकै जोखिम छ भन्ने थाहा भए पनि हामीले वर्षौंदेखि गरिरहेका छौं,’ मगरले भने । 

A woodcutter's bark in Barkhe Valeभेरी किनारमा स्थानीय । 

पश्चिम नवलपरासीको दक्षिणी भेग नारायणी नदी किनारमा बालबालिकादेखि वृद्धवृद्धासम्म वर्षायामका दुई महिना यसरी नै दाउरा संकलन गर्न व्यस्त हुन्छन् । स्थानीय प्रशासन र गाउँपालिकाले जोखिम मोलेर बाढीमा नपस्न आग्रह गरे पनि उनीहरूले बेवास्ता गर्छन् । वडामार्फत सूचना नै प्रकाशित गरेर नारायणी किनारमा बाढीमा पसेर दाउरा संकलन नगर्न आग्रह गरे पनि अटेर गरेको सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । ‘केही दिनअघि एक युवालाई दाउरा संकलन गर्ने क्रममा नदीले बगायो, हामीले सूचना नै निकालेर बाढीमा नपस्न आग्रह गर्दासमेत स्थानीयले टेर्दैनन्,’ उनले भने । स्थानीय तहको संरचनाअघि तत्कालीन जिल्ला विकास समितिले नदीमा काठ–दाउराको ठेक्का लगाउने गर्थ्यो । पछिल्लो समय स्थानीय तहले यसको व्यवस्थापन गर्न सकेको छैन ।

०००

उता रुकुम पश्चिमको भेरी किनारका बासिन्दालाई पनि बर्खाका बेला नदीमा दाउरा बटुल्ने चटारो हुने गरेको छ । डोल्पातर्फबाट ठूली भेरी र रुकुम पूर्व तर्फबाट सानीभेरी जाजरकोट र रुकुम पश्चिमको रिम्नामा मिसिएपछि भेरी नदी बन्छ । बर्खामा उर्लेर आउने भेरीले आसपासका सर्वसाधारणमा सधैंका बर्खामा डर पैदा गरिदिन्छ । यही डरको पर्वाह नगरी नदीले बगाएर ल्याएका काठपात संकलन गर्न एकाबिहानै घरबाट निस्किन्छिन् विमला रोका ।

उर्लेको भेलमा लठ्ठीको सहाराले दाउरा तान्न सिपालु रोका मात्रै होइनन्, धेरै स्थानीयले यसैगरी दाउरा तान्ने जुक्ति लगाउने गरेका छन् । बलियो लौरोमा लामो काँटी ठोकेर फलामे बल्छीमा दाउरा तान्न बालक, वृद्ध, युवा, महिला प्रायः सबै भेरीको तटमा पुग्ने गरेका छन् । विमला भन्छिन्, ‘दाउरा पाउने वन गाउँदेखि टाढा छ । जान सम्भव हुन्न । बर्खामा नदीमा बगेर आएका दाउरा तान्न सके वर्षभरि बाल्न पुग्छ ।’ वर्षा बढी भएको दिन नदीमा काठ–दाउरा बगेर आउने भएकाले उनीहरू बिहानै बगरमा गएर बस्ने गरेका छन् । A woodcutter's bark in Barkhe Valeभेरी किनारमा दाउरा संकलन गर्दै स्थानीयहरु । 

स्थानीय राजेशकुमार पुनले भेरी बढेपछि आफूहरू खुसी हुने बताए । बस्ती नदीको समीपमै भए पनि अहिलेसम्म यसले नोक्सानी नगरेको पनि राजेश बताउँछन् । बर्खामा भेरीको भेलले यसरी दाउरा र काठ बगाएर ल्याएको संकलन गर्ने र हिउँदमा यही भेरीमा माछा मारेर गुजारा चलाउने गरेको स्थानीय बताउँछन् ।

बाढीपहिरो

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully