विपद्‌का कारण सोमबारसम्म १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

श्रावण १४, २०८१

कान्तिपुर संवाददाता

As of Monday, 143 people have died and 47 people are missing due to the disaster

काठमाडौँ — मनसुनी विपद्‌मा परी गत जेठ २८ गतेदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि सोमबारसम्म बाढीपहिरोलगायत विपद्‌मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ६१ जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा ७१ जनाको उद्धार गरिएको छ । 

बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जनागरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ । 

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । छ सय आठ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ४२ घरपरिवार विस्थापित भएका कार्कीले जानकारी दिए । 

बाढीपहिरो

कान्तिपुर

Link copied successfully