ढिलो सुरु भएर रफ्तारमा कुदेको पूर्णिमाको शिखर यात्रा र उपलब्धि शिखरजत्तिकै अग्लो बनेको छ, यही सफलताले पूर्णिमालाई पनि पूर्णताको अनुभव दिलाएको छ
काठमाडौँ — मनोविद्हरू भन्छन्– बाँच्ने उपक्रममा जीवनको यस्तो बिन्दुमा हामी आइपुग्छौं, जहाँ एक गहिरो रित्तोपनले हृदयलाई अत्याउँछ । यस्तो बेलामा मन पर्ने कुनै काममा हात हालिएन भने आनन्दभन्दा चिन्ताको पल्ला भारी हुन्छ र जीवनमा रहरलाग्दा कुनै कुरा बाँकी रहन्नन् । यसको विपरीत, मनले खाएको कुनै काम गर्न पाइयो भने तनावहरू हराउँछन् र जीवन नीत नवीन भएर देखा पर्छ ।
कुनै समयकी फोटोग्राफर पूर्णिमा श्रेष्ठलाई पनि यस्तै भयो । तस्बिर खिच्ने उपक्रममै पूर्णिमाले एक दिन अचानक आफूलाई के मन पर्दो रहेछ भन्ने पत्तो पाइन् । ‘मलाई त हिमाल चढ्न मन पर्दोरहेछ,’ सन् २०१७ मा सगरमाथा आधार शिविरमा क्यामेर भिरेर पुगेपछि भएको अनुभवबारे पूर्णिमा भन्छिन्, ‘नजिकबाट हिमाललाई भेटेपछि मलाई अहोरात्र आरोहणको भूतले सताएको सतायै गर्न थाल्यो ।’ त्यसपछि लगातार आरोहणमा सरिक भएकी पूर्णिमा भर्खरै काठमाडौं फर्केकी छन्, पाकिस्तानस्थित संसारको दोस्रो अग्लो हिमाल केटुको शिखरलाई चुमेर । पाकिस्तानको यो शिखर चढ्न जति सास्ती भयो पूर्णिमालाई, त्यहाँसम्म पुग्न त्यसभन्दा बढ्ता सास्ती खेप्नुपर्यो । आरोहण आफैंमा जोखिमपूर्ण काम हुँदै हो, यो खर्चिलो पनि उत्तिकै छ । ‘हामीकहाँजस्तो पाकिस्तानमा पर्वतारोहण व्यावसायिक पटक्कै रहेनछ,’ पूर्णिमाले आँखिभौं खुम्च्याइन्, ‘बेस क्याम्पसम्म पुग्न हिँड्नुपर्ने १० दिन लामो बाटोमा कतै पनि होटल र रेस्टुरेन्टहरू थिएनन्, गाइड त झन् हुने कुरै भएन, केही गरी दुर्घटनामा परियो भने उद्धारका लागि नेपालमा जस्तो हेलिकोप्टरको सुविधा पनि रहेनछ ।’
शेर्पा गाइड, एक महिनालाई पुग्ने खानेकुरा र भान्छेसमेतको २५ राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्वतारोहीका साथ जेठ ३१ गते काठमाडौंबाट पाकिस्तानका लागि उडेकी थिइन् उनी । काठमाडौंबाट पाकिस्तान सिधै उडान नहुनाले टर्की हुँदै घुमेर त्यहाँ पुग्नुपर्ने झन्झटका बारेमा उनलाई त्यसअघि अत्तोपत्तै थिएन । यो लामो र खर्चिलो पर्वतारोहणका लागि कम्तीमा ५० लाखको जोहो गर्ने चुनौती पूर्णिमालाई थियो । यसका लागि उनले सामाजिक सञ्जालमा शुभेच्छुकलाई आग्रह के गरेकी थिइन्, ‘मागेर रहर पूरा गर्न लाज छैन ?’ भन्ने व्यहोराका अनेकन खिसिट्युरीयुक्त टिप्पणीको ओइरो नै लाग्यो । त्यसलाई झेल्न पर्दा हिमाल चढ्न सुरु गर्नुअघि नै पूर्णिमालाई थकान लाग्यो । ‘एक मनले त आ होस्, छाडिदिन्छु चढ्ने कुराजस्तो पनि लाग्यो,’ गालीले गलेका दिनको सम्झनामा उनी बोलिन्, ‘अर्को मनले भने आरोहणै रोक्न मान्दै मानेन ।’
शिखरभन्दा अग्ला आकांक्षालाई टार्न नसक्दा सामाजिक सञ्जालका अजनवी गालीकर्तालाई झेल्दै उनले सहायताको याचना जारी राखिन् । तर पनि २५ लाखभन्दा बढ्ता उनले जुटाउन सकिनन् । त्यसपछि उनलाई साँच्चै नै पीर पर्यो, ‘कै पैसाकै कारण आरोहण रोकिने भयो अब ?’ रातदिन यही प्रश्नले मन गलाएका बेला उनी आरोहणका क्रममा रहेको आठ हजार मिटरभन्दा अग्ला १४ शिखरहरू चुमेर चर्चाको उपल्लो चुलीमा पुगेका निर्मल पुर्जाले मनकारी हात फैलाए । ‘लौ नपुगेको रकम म हालिदिन्छु,’ उनले पूर्णिमालाई भरोसा दिलाए, ‘तिमी आरोहण नरोक्नू ।’ निर्मलसँगको यति संक्षिप्त संवादले पूर्णिमाका ओइलाएको जाँगर फेरि बौरियो । उनी पूर्ण तयारीका साथ आरोण यात्रामा निक्लने चाँजोपाँजोमा लागिन् र पाकिस्तान पुगिन् । बेसक्याम्प पुगेपछि उनले देखिन्, आरोहणका लागि केटु साँच्चै नै दुसाध्य हिमाल रहेछ । यो उनले सुनेकी त थिइन् तर देखेपछि पत्तो पाइन्, यो कति डरलाग्दो अक्करे भीर हो भन्ने कुरो ।
‘हेर्दा टोपी नै खस्ने गरी ठाडो रहेछ केटु त, जहाँ पुग्नु साँच्ची नै मृत्युलाई जिस्क्याउनुजस्तो लाग्यो मलाई,’ आरोहण गर्न खोज्दा धेरैको इहलीला समाप्त पारिसकेको यो जोखिमपूर्ण हिमालमा ठेस लागेको पूर्णिमाको हरेसले भन्यो, ‘यस्तो ठाउँमा यतिका हन्डर खाएर तँ किन आइस् ?’
आरोहणका क्रममा भएको हन्डर सहन नसकेर आफैंले आफैंलाई सराप्दै उनी धरधरी रोइन् । १० पटक सगरमाथा चढिसकेकी लाक्पा शेर्पा पनि उनीसँगै केटुको पहिलो आरोहणमा थिइन् । जतिखेर पनि रोइरहने पूर्णिमालाई लाक्पाले बाटोभरि नै धेरै आडभरोसा दिइरहिन् । ‘तिमीमा पक्कै कुनै शेर्पा केटाको आत्मा पसेको हुनुपर्छ,’ एकै पाइला पनि चिप्लिए ज्यान जाने बर्फिलो चट्टानमा अत्ताल्लिएकी पूर्णिमालाई लाक्पाले हँसाउन खोजिन्, ‘नत्र, नेवारकी छोरीले के खान यो दुःख बेसाउँथी र ?’
यो सुन्दा पूर्णिमालाई पनि हो कि त भनेजस्तो भएछ । ‘हुन पनि मेरो कुल खान्दानमा कोही आरोही छैन, म आफैंले पनि हिमाल चढ्ने कल्पना सपनामा समेत नगरी २५ वर्ष खुसीले बिताएकै थिएँ,’ पूर्णिमा स्वयंले पत्याउन नसकेको आरोहण हुटहुटीका बारेमा भन्छिन्, ‘तर अचानक मलाई चुचुराहरूले बोलाउन थाले र म एउटा पागलपनका साथ आरोहणमा तानिएँ, जो सम्झँदा आफैंलाई अचम्म लाग्छ ।’
डर, आश्चर्य र आरोहणको त्रिवेणीमा डुबुल्की मार्दै साउन १ मा हिमाच्छादित पर्वत शृंखलाको चुचुरोमा पूर्णिमाले आफूलाई एक्लै उभिरहेको पाइन् । ‘केटुको आरोहण मेरा लागि कष्टकर सपना थियो, किनभने यहाँ पुग्नु भनेको अक्सर मृत्युलाई निम्ता दिनुजत्तिकै हो,’ पाकिस्तानबाट नेपाल फर्केकै साँझ साउन ११ मा भेटिएकी पूर्णिमा भन्छिन्, ‘त्यहाँबाट फर्किएपछि मैले नयाँ जीवन पाएजस्तो भएको छ, जसको खुसीलाई भन्ने भाषा मैले जानेकै छैन ।’
आरोहणका क्रममा सँगै हिँडेको एक पाकिस्तानी पर्वतारोही हिउँमा चिप्लिएर अक्करे भीरमा खस्न पुगे, जो पूर्णिमाको आँखैअगाडि भएको घटना थियो । बाटो कतिसम्म साँघुरो थियो भने, भीरमा झुन्डिएर उद्धारका लागि छट्पटाउँदै पसारेको हातलाई पूर्णिमाले चाहेर पनि समात्न सकिनन् । अलिक माथि, यस्तै भाग्य व्यहोरेको कुनै गुमनाम आरोही चिरनिद्रामा भेटियो । नजाने कति वर्षअघि अन्तिम सास फेरेको त्यो मानिसको अनुहारचाहिँ यति तरोताजा थियो कि, ऊ गहिरो समाधिमा लिन भएजस्तो देखिन्थ्यो । मानौं, अलिकति पनि होहल्ला भयो भने ऊ ब्युँझिनेछ !
हिउँमा शव गल्दैन भन्ने पूर्णिमाले सुनेकी थिइन् तर देखेको चाहिँ केटुको त्यही अक्करे यात्रामा थियो । ‘ठाडो भीरमा बनेको अलिकति बाटोमा तुर्लुङ्ग झुन्डिएको त्यही लासलाई छेउ पारेर हामी अघि बढ्नुपर्ने भयो,’ उनले हैरानी पोखिन्, ‘यसरी लास पन्छाउँदै हिँड्दा र आँखैअगाडि कसैले अन्तिम सास फेरेको देख्दा मलाई क्वाँक्वाँती रुन आयो ।’ यसरी मुटु नै हल्लाउने त्रासद क्षणहरूबाट गुज्रिँदै पूर्णिमाले शिखरमा पाइला के राखेकी थिइन्, यता सामाजिक सञ्जालमा मानिसहरूले उनको साहसिक यात्राका बारेमा होहल्ला मच्चाए । त्यतिखेर गाली गर्नेहरूभन्दा माया गर्नेहरू धेरै रहेछन् संसारमा भन्ने बोधले पूर्णिमालाई थप हौसला दियो ।
सफलतामा अहिले हाँसे पनि पूर्णिमा शिखरमा पुगेपछि झन् बढी रोएकी थिइन् । तर, यो रुवाइमा पीडा होइन, आनन्दको पुट थियो । ‘शिखरमा पुगेपछि म सधैं रुन्छु, यति आनन्दको महसुस हुन्छ कि त्यसले मलाई एउटा शून्य संसारमा हुर्याइदिन्छ,’ पूर्णिमाको शिखर अनुभव छ, ‘यस्तो बेला मेरो बोली फुट्दैन, आफैं खसेका आँसुले त्यसलाई अभिव्यक्त गर्छन् ।’ केटुको शिखरमा चाहिँ उनी अलिक बढ्तै रोएकी थिइन्, किनभने आनन्द पनि बढ्तै भएको थियो । हुन पनि यो विस्मयकारी उपलब्धिले पूर्णिमाको यात्रामा एक कोसेढुंगा थपिदिएको छ । ‘अब मैले चढ्नुपर्ने शिखरहरू आधा मात्रै छन्,’ पूर्णिमा भन्छिन्, ‘केटु पुगेको दिन आरोहण यात्राको म एक अविश्राम यात्री हुँ भन्ने अनुभव पनि गरें ।’
केटु पुग्नुअघिका ५ वर्षमा उनले नेपालका ८ हजार मिटर अग्ला चुचुरामध्ये सातवटाको आरोहण गरिसकेकी थिइन् । केटु चढिसकेपछि विश्वका त्यस्ता १४ शिखरमध्ये अब चढ्न ६ मात्रै बाँकी छन् भन्ने भावले उनलाई दीर्घसन्तुष्टिको अनुभव पनि गराएको छ ।
आधार शिविरमा पुगेर फर्किंदा उनमा पर्वतारोहणका लागि एक अतृप्त तिर्खा जागेको थियो तर त्यसलाई मेटाउने कुनै उपाय सुझेको थिएन । गहिरो पुकारका साथ गरिएको कुनै कामना जतिसुकै दुर्जेय भए पनि त्यो साकार हुन्छ भन्ने उत्प्रेरणावादीहरूको मत छ । मोहनी लागेजस्तो रातदिनै हिमालको झझल्कोले बिथोलिन थालेकी पूर्णिमाको जीवनमा यो त्यतिबेला चरितार्थ भयो, जब उनले त्यसै वर्ष मनास्लुको आरोहण गरिन् । सुरुवातमा आफैंलाई ‘मनको लड्डु’ जस्तो लागेको सपना मनास्लुको चुचुरोमा प्रकट वास्तविकता बन्न पुग्यो ।
समुद्री सतहभन्दा ५ सय ८५ मिटर उचाइको गोरखाको आरुघाटमा जन्मेहुर्केकी पूर्णिमाले पहिलो आरोहण आफ्नै जिल्लामा उभिएको मनास्लुबाट गरिन् । सन् २०१७ को सेप्टेम्बरमा ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमालमा उनका पाइलले शिखर चुम्नुको आनन्द दिलाए । संसारको आठौं अग्लो शिखर मनास्लु पूर्णिमाका लागि भौतिकभन्दा बढी भावनात्मक आरोहण थियो । किनभने, उनका बालक आँखाले पहिलो पटक देखेको हिमाल नै मनास्लु थियो । आरुघाटबाट सुरु हुने मनास्लु सर्किटको पदयात्रा गर्न र मनास्लुको आरोहण गर्न जाने पश्चिमाहरूलाई बुझ्ने भएदेखि नै देखेकी थिइन् पूर्णिमाले । मौसम सफा हुने वसन्त र शरद ऋतुमा प्रकट हुने आरोहणको वर्षौंवर्षको ती पर्यटकीय दृश्यले सायद सानी पूर्णिमाको हृदयमा उतिबेलै चुचुरोप्रतिको प्रेम रोपिदिएको थियो । हुन सक्छ, यसको प्रकट अनुभव उनलाई २५ वर्षपछि सोलुखुम्बुमा भयो । तर, पहिलो आरोहणका लागि भने उनले सगरमाथा होइन, उही बाल्यकालीन स्मृतिमा अलग ठाउँ बनाएको मनास्लुलाई नै रोजिन् । पूर्णिमाका लागि मनास्लु आरोहणका प्रत्येक पाइला गहिरो आत्मनिरीक्षणले भरिएका थिए । किनभने, त्यसमा उनका पाइलाहरू चिप्लिएका भए दोस्रो वर्ष सगरमाथाको आरोहण नहुन सक्थ्यो । संसारको सर्वोच्च शिखरलाई चुम्दाको क्षणमा उनले अनन्त शून्यताको अनुभव गरिन् ।
‘म त्यस क्षण विचारहरूबाट मुक्त भएँ र आफैं हिमाल भएजस्तो अनौठो अनुभव गरें,’ पूर्णिमाले भनिन्, ‘हिमालमा जे छ, त्यस्तो त कहीं पनि छैन मेरा लागि ।’ त्यसपछि अर्को वर्ष पूर्णिमाले संसारकै सुन्दर हिमाल भनेर चिनिने आमादब्लमको आरोहण गरिन्, सन् २०१९ मा । सगरमाथा उभिएको जिल्ला सोलुखुम्बुमै पर्ने आमादब्लमको उचाइ ६ हजार ८ सय १२ मिटर छ, जो ८ हजार मिटरमाथिका उनका विजयी शिखरहरूको सूचीमा पर्दैन । प्रत्येक वर्ष एउटा हिमाल चढ्ने उनको सपना कोभिड महामारीले २०२० मा पूरा हुन पाएन । तर, त्यसको सोधभर्ना गर्दै सन् २०२१ को वसन्तमा उनले अन्नपूर्ण प्रथम र शरदमा धौलागिरिको आरोहण गरिन् ।
बादलभन्दा माथि उक्लने सपनाहरूको सुमधुर धुनले पूर्णिमालाई सन् २०२२ मा एकपछि अर्को गर्दै लगालग तीन हिमाल चढायो । त्यस वर्ष मे ५ मा उनले कञ्चनजंघा टेकिन्, त्यसको एघारै दिनपछि मे १६ मा ल्होत्से चढिन् र मे २७ मा मकालुको शिखरमा पुगेर आनन्दको सास फेरिन् । यसरी एकपछि अर्को गर्दै बिजुली गतिमा ८ हजार मिटरभन्दा माथिको उचाइका नेपालका सात शिखर छोटो अवधिमा आरोहण गर्न सफल भइन् ।
केटु चढेर आएपछि पूर्णिमाको सूचीमा अब ८ हजार मिटरमाथिका ६ हिमाल बाँकी छन्– चोयु, सिसापाङमा, ब्रड पिक, नाङ्गा पर्वत, गासेरब्रम पहिलो र गासेरब्रम दोस्रो । यीमध्ये चोयु नेपालमा पर्छ भने सिसापाङमा तिब्बतमा । बाँकी चारै चुचुरा पाकिस्तानमा पर्छन् । यी सबलाई उनी सक्दो छिटो आरोहण गरेर संसारका चौधै सर्वोच्च शिखरको तीर्थयात्रालाई टुंग्याउने धुनमा छन् ।
पूर्णिमाको यो आरोहण यात्रामा शेर्पाहरूको अनगिन्ती भरथेग छ । ‘डोरी टाँग्नेदेखि बाटो देखाउनेसम्मका काममा उहाँहरूको साथ छ,’ पूर्णिमा भन्छिन्, ‘मेरो सफलतामा यसको ठूलो अर्थ छ ।’ पर्वतारोहणको रोमाञ्चकारी यात्रामा यसरी चुचुराहरूलाई एकपछि अर्को गरी जित्ने र चुनौतीलाई अँगाल्नेहरूको बेग्लै संसार छ । ८ हजार मिटरमाथिका आठै हिमालमा पुगिसकेकी पूर्णिमा त्यसै संसारको एक हिस्सा बनिसकिछन्, जसको पत्तो उनी आफैंलाई धेरैपछि मात्रै भएको छ ।
‘म हिमाल नचढी बस्नै नसक्ने भइसकेछु,’ पूर्णिमा भन्छिन्, ‘एकपछि अर्को आरोहण गर्दागर्दै मैले आफ्नो जवानी खर्च गरें, यसको अनुभव भने मलाई अरूले बिहे गर्ने होइन भनेर गाली गर्दाखेरि ज्यादा हुन्छ ।’ उनका दमाली साथीहरू सबको बिहेवारी भइसक्यो । पूर्णिमा भने ३० कटिसक्दा पनि हिमाल मात्रै ताकेर बसिरहेको देख्दा परिवारजन र आफन्तले बिहेको कुरा बढ्तै निकाल्ने नै भए । ‘मलाई चुचुराहरूसँग प्रेम छ, घरजमसँग होइन,’ पूर्णिमा भन्छिन्, ‘मैले आफ्नो जवानी नै हिउँका टाकुराहरूलाई दिएकी छु तर मानिसहरू यो बुझ्दैनन् र एकोहोरो बिहे गर् भनेर उपदेश मात्रै दिइरहन्छन् ।’
पूर्णिमालाई मानिसहरू आरोही हुन् भनेरसम्म झट्ट पत्याउँदैनन् । ‘तिमीले हिमाल चढ्यौ र !’ पो भन्छन् उल्टै । यस्तो बेला, पूर्णिमा उनीहरूको अपत्यारिलो हाँसोमा आफ्नो विजयी हाँसो पनि मिसाउँछिन् र भन्छिन्, ‘अनि, कसले चढ्यो त ?’
त्यसपछि मन लागे शिखरमा पुग्दाका तस्बिर र भिडियोहरू पनि ती शंकालु मानिसलाई देखाएर तिनलाई वाल्ल पार्दाको मज्जा लिन्छिन् पूर्णिमा । पूर्णिमाले २५ वर्षको हुँदा नजिकबाट हिउँ देखिन् र त्यसै वर्ष हिमाल पनि चढिन् भन्ने जानकारी सप्रमाण पाएपछि अपत्यारमा उनलाई गिज्याउने आँखाहरू आश्चर्यमा ट्वाल्ल पर्छन् । पूर्णिमाको यात्रा सुरुदेखि नै अपारम्परिक थियो । किशोर उमेरदेखि बिस्तारै चुनौतीहरूको सिँढी चढ्ने धेरै पर्वतारोहीहरूको जीवनविपरीत पूर्णिमाले एकै पटक २५ वर्षमा आरोहण सुरु गरेर ६ वर्षमै आठ हजार मिटरमाथिका आठै चुचुरा चढेर आफैंलाई छक्क पारेकी छन् । ढिलो सुरु भएर रफ्तारमा कुदेको यो यात्रा र उपलब्धि शिखरहरूजत्तिकै अग्लो बनेको छ । यही अनुभूतिले पूर्णिमालाई पूर्णताको अनुभव पनि गराएको छ । ‘आरोहणका प्रत्येक पाइला जीवन र मृत्युको दोसाँधमा उभिएका हुन्छन्,’ पूर्णिमा भन्छिन्, ‘मृत्युको आलो गन्ध शिखरबाट नफर्केसम्म पाउँछु, जसले मलाई बाँच्ने नयाँ आशा पनि दिन्छन् ।’
