नीति निर्माता र सरोकारवालाको ध्यान नपुग्दा मधेश/तराईको रैथाने खेल कुस्ती केवल मेला–महोत्सवमा सीमित छ भने अखडा पनि हराउँदै छन्
काठमाडौँ — व्यवसायका सिलसिलामा २०३७ सालमा पाल्पाबाट नेपालगन्ज झरेका गणेश विश्वकर्मालाई यो सहरको कुनै कुराले आकर्षित गर्थ्यो भने त्यो अखडामा खेलिने कुस्ती नै थियो । उनी त्यसताका नेपालगन्ज–८, महेन्द्र पार्कस्थित अखडामा दिनहुँ कुस्ती हेर्न पुग्थे । त्यहाँ कुस्ती रमितेको भीड नै लाग्थ्यो ।
अखडा छेउछाउका रूखमा चढेरसमेत कुस्ती हेरिन्थ्यो । अखडाको धूलो उडाउँदै पहलमान एकले अर्कोलाई पछार्दा आउने हुटिङको आवाजले सहर गुञ्जिन्थ्यो । त्यो रोमाञ्चक अनुभूति अहिले हराएको छ । विडम्बना, गत वर्ष अखडास्थल नै वडा स्वास्थ्य चौकी बन्यो । ‘अहिले न अखडा छ, न त त्यो कुस्तीको माहोल नै,’ विश्वकर्माले थपे, ‘सहरकै रौनक त्यस्तो रहेन ।’
उबेला सहरमा मनोरञ्जनका अन्य कुनै माध्यम थिएनन् । ‘न फिल्म हल थिए, न त पार्क नै,’ नेपालगन्जका सुनचाँदी पसल सञ्चालक विश्वकर्माले भने, ‘कुस्तीले नै धेरैलाई आकर्षित र मनोरञ्जन दिएको थियो ।’
टोलटोलका अखडामा हुने कुस्ती प्रतिस्पर्धा जित्नेको सामाजिक प्रतिष्ठाले गर्दा पनि पहलमान बन्नेको संख्या बढ्दो थियो । १५ वर्षको उमेरबाट कुस्ती खेल्न थालेका नेपालगन्ज–११, भवानीबागका पहलमान बेचन वैश्य अहिले ६९ वर्षका भए । उनी आफैंले अखडा नटेकेको ४२ वर्ष भइसक्यो । तर पनि चना र दूधको भरमा दंगल खेल्दाको अनुभव सुनाउँदा उनी अहिले पनि रोमाञ्चित हुन्छन् । आफ्नो समयमा हरेक महिनाजसो भारतको नानपारा र बहराइचमा कुस्ती प्रतिस्पर्धा गर्न पुग्ने बेचन २० वर्षयता कपडा पसल खोलेर बसेका छन् । कुस्तीलाई व्यावसायिक बनाउने प्रयास पूरा नभएपछि र मनोरञ्जनका विभिन्न माध्यम थपिएपछि कुस्ती खेल नै हराउँदै गएको उनको अनुभव छ ।
नेपालगन्ज–११, भवानीबागका ६३ वर्षीय नेपाली कनौजिया पनि कहलिएका पहलमान हुन् । १५ वर्षको उमेरदेखि नै कुस्ती खेल्न थालेका उनी ०६५ सालसम्म अखडामा उत्रिन्थे । पाँचवटा राष्ट्रिय खेलमा सहभागिता जनाएका उनीसँग अहिले सुनाउनलाई भारतको बहराइच, नानपाराका पहलमानसित भिड्न जाँदाको अनुभव मात्र छ । २० वर्षयता उनी चारवाहिनी चोकमा माछामासुको पसल थापेर बसेका छन् । तर पनि उनलाई अझै नसा–नसामा पहलमानी कुदिरहेजस्तो लाग्छ । ‘पेट पाल्न पसल खोलेको छु,’ उनले भने, ‘फुर्सदको समय त अझै पनि कुस्तीलाई दिन्छु ।’ बेचन र नेपालीका अनुसार ४५ वर्षअघि नेपालगन्जमा दुईवटा कुस्ती अखडा थिए ।
नेपालगन्ज–११ स्थित गौशालापछाडि एउटा र नेपालगन्ज–८ स्थित महेन्द्र पार्कमा अर्को अखडा थियो । नेपालगन्ज–८ घसियारन टोलका ५९ वर्षीय समसुद्धिन सिद्धिकी ०५३ सालमा महेन्द्र पार्कको अखडामा कुस्ती खेलेको सम्झना हिजैजस्तो गरी सुनाउँछन् । २४ वर्षको उमेरबाट कुस्ती खेल्न थालेका समसुद्धिनपछि भारोत्तोलन खेलसँग जोडिए । राष्ट्रिय च्याम्पियन बने र थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय पदक पनि जिते । माटोको अखडामा कुस्ती खेलेरै आफ्नो क्षमता देखाएका उनले ०५४ सालका राष्ट्रिय खेलकुद प्रतियोगितामा भारोत्तोलनमा स्वर्ण पदक जितेका हुन् । ‘अहिले न खेलाडी छन्, न त गुरु नै,’ उनले भने, ‘नेपालगन्जमा कुस्तीबाज त अझै छन् तर अखडा बचेनन् ।’ समसुद्धिन पछि राजनीतिमा प्रवेश गरेर साबिकको नेपालगन्ज नगरपालिकाको उपप्रमुखसमेत भए ।
कुस्तीका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसीले नेपालगन्ज पहलमानको सहर भएको बताए । ५४ वर्षीय मुमताजका अनुसार नेपालगन्जमा कुस्तीका पुराना हस्ती टोलटोलमा छन् । उनले चौथो दक्षिण एसियाली खेलकुददेखि नै यहाँका कुस्तीबाजले लगातार पदक जित्न थालेको सुनाउँदै कुस्तीका नयाँ खेलाडीको उत्पादन र स्थानीय प्रतियोगितामा भने अहिले कमी आउँदै गएको बताए ।
तराई/मधेशमा रैथाने खेलका रूपमा चर्चित कुस्ती खेल अहिले हराउँदै जान थालेको छ । नेपालगन्जकै जस्तो व्यथा कपिलवस्तुको पनि छ । गाउँ र नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कुस्ती खेल समेटिएको छैन । न कुनै स्थानीय क्लबले, न त समुदायले नै कुस्ती आयोजना गराइरहेका छन् । पछिल्ला वर्षमा जिल्लामा सञ्चालन हुने औद्योगिक, व्यापारिक, सांस्कृतिक र कृषि मेला तथा महोत्सवमा आकर्षण थप्न कुस्ती प्रतियोगिता आयोजना गर्ने गरिए पनि यसैको भरमा कुस्ती खेलको स्तरोन्नति हुन सक्ने देखिन्न । स्थानीय तह र माथिल्लो तह कतैबाट कुस्तीको प्रवर्द्धनमा योजना नबन्दा यो खेल ओझेलमा परेको कुस्तीका पहलमानहरू बताउँछन् ।
शुद्धोदन गाउँपालिकाको लवनीका भगीरथ यादवले ०७६ माघमा व्यक्तिगत प्रयासमा तीनदिने विराट कुस्ती दंगल आयोजना गरे । तर, यो प्रतियोगिताले त्यसपछि निरन्तरता पाउन सकेन । ‘मौलिक खेल जोगाउन सहयोग पुगोस् भनेर प्रतियोगिता गरेको थिएँ,’ भगीरथले भने, ‘कतैबाट सहयोग नजुटेपछि त्यसलाई निरन्तरता दिन सकिनँ ।’ भारतको अयोध्यास्थित अखडामा कुस्ती खेल्न सिकेका पश्चिम नवलपरासीको रामग्राम–१६ का २९ वर्षीय बैजनाथ यादव सिंगो भेगमै कुस्ती खेल हराउँदै गएको बताउँछन् ।
सन् २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली खेलकुदमा सहभागी यादवले कांस्य पदक जितेका थिए । नियमित प्रशिक्षणको अभाव खट्किरहेको उनी सुनाउँछन् । अहिले नवलपरासीका अतिरिक्त भारतका बिहार, उत्तर प्रदेश, हरियाणा, अयोध्या र बनारसलगायतका स्थानमा हुने कुस्ती प्रतियोगिता तथा मेलामा खेल प्रदर्शन गरेर जीविकोपार्जन गरिरहेको उनले सुनाए । ‘नयाँ पुस्तालाई यो खेलप्रति रुचि नै छैन,’ उनले भने, ‘पुरानाले कति दिन धान्न सक्छन् र ?’ अहिले कुस्ती खेल प्रतियोगिताभन्दा पनि मेला पर्वमा मनोरञ्जनका लागि खेल्न थालिएको छ । दसैं–तिहारजस्ता पर्वमा परासी र आसपासका क्षेत्रमा भारतीय तथा नेपाली पहलमानबीच प्रतिस्पर्धा गराइन्छ ।
रामभवन यादवले २०६० सालमा कुस्ती खेल संरक्षणका लागि विराट दंगल (कुस्ती) व्यवस्थापन समिति गठन गरेर ठूला चाडपर्वमा प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । उनकै नेतृत्वमा पश्चिम नवलपरासीको रामग्राम, सुस्ता, प्रतापपुर, पाल्हीनन्दनमा विभिन्न चाडपर्वमा हुने मेला महोत्सवमा दंगल प्रतियोगिता आयोजना भइरहेको छ । जसमा नेपाल र भारतीय सीमावर्तीका खेलाडी आएर कुस्ती खेल्छन् । १०/१५ हजार रुपैयाँ पुरस्कार राशिका यस्ता प्रतियोगिताका भरमा मात्रै दंगल चलिराख्न नसक्ने यादवले सुनाए । ‘मधेशको प्राचीन खेल हराउँदै गएकामा चिन्ता लाग्छ,’ उनले भने, ‘सांस्कृतिक–सामाजिक सद्भावसँगै कुस्ती खेल जोगाउन नियमित प्रतियोगिता आयोजना गर्न जरुरी छ ।’
रूपन्देहीको कोटहीमाई–३ का ४५ वर्षीय राजेन्द्र यादवसँग ३३ वर्षसम्म कुस्ती खेलेको अनुभव छ । डेढ वर्षयता लुम्बिनी प्रदेश सरकारले उनलाई मासिक २० हजार रुपैयाँ तलब दिएर प्रशिक्षकका रूपमा राखेको हो । ‘हाम्रो पालामा माटोको अखडामा खेल्नुपर्थ्यो,’ उनले भने, ‘अहिले म्याटमा खेल्छन् । फरक यत्ति हो । अरू समस्या उस्तै छ ।’ उनले नयाँ खेलाडी उत्पादन गर्न र तिनलाई खेलमा टिकाइराख्न समस्या भइरहेको पनि सुनाए । ‘चना, दाल, गेडागुडीको रस, रोटी खाएर अखडामा भिड्न परिरहेको छ,’ उनले भने, ‘पोषणकै कमी भएपछि कसरी दंगलमा भिड्ने ?’
कुस्तीलाई पूर्वजको व्यायाम बताउने रूपन्देही ओमसतिया–६ का वडाध्यक्ष शिव धवल पछिल्ला चार वर्षयता ओमसतियामा हुने सांस्कृतिक महोत्सवमा कुस्ती प्रतियोगिता गराउँदै आएका छन् । दुईदेखि तीन दिनसम्म चल्ने यस प्रतियोगितामा नेपाल र भारतीय गरी सयको हाराहारीमा प्रतिस्पर्धी हुन्छन् । ‘कुस्ती प्रतियोगिता हेर्न मात्रै हजारौं दर्शक आउँछन्,’ उनले भने, ‘नेपालमा पहलमानीको संख्या घट्दै गएकाले भारतबाट खेलाडी बोलाउनुपरेको हो ।’
भारतीय कुस्तीबाजमा निर्भर
बाँके, कपिलवस्तु, रूपन्देही र नवलपुरमा जसरी कुस्तीका अखडा सुनसान देखिन्छन् भने मधेश प्रदेशमा पनि अवस्था उस्तै छ । मधेश प्रदेशको सप्तरीमा मेलापर्वमा बाहेक कुस्ती प्रतियोगिता नै हुँदैन । मेलापर्वका आयोजक समितिले मनोरञ्जनका लागि मात्रै यस्ता दंगल गराइरहेको बताउँछन् । जसमा नेपालका कुस्ती खेलाडीको अभावमा भारतबाट कुस्तीबाज ल्याएर खेलाउनु परिरहेको उनीहरूको जिकिर छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ मा पछिल्ला १० वर्षयता हरेक वर्ष वसन्त पञ्चमीका दिन कुस्ती प्रतियोगिता हुन्छ । पूजा आयोजक समितिले नै स्थानीयस्तरबाट चन्दा संकलन गरी धान खेतको माटो हालेर अस्थायी अखडा बनाई कुस्ती प्रतियोगिता सञ्चालन गर्छ । नेपालका विभिन्न जिल्ला र भारतको बिहार, दिल्ली, उत्तर प्रदेश र हरियाणासम्मका पहलमानहरूलाई पारिश्रमिक दिएर यहाँ ल्याई कुस्ती गराइरहेको वडाध्यक्ष दिनेश्वर मिश्रले बताए । पहलमानहरूलाई ल्याउने, लैजाने, खाना र पारिश्रमिकमै ठूलो रकम खर्च हुने गरेको छ,’ उनले भने, ‘त्यसकारण पनि पुरस्कारको व्यवस्था गर्न सकिएको छैन ।’
कुस्तीले मेलामा रौनक थपे पनि पहिलेजस्तो नरहेको स्थानीय मोहन मिश्राले बताए । ‘पहिले र अहिलेको कुस्तीमा आकाश–जमिनको फरक छ,’ उनले भने, ‘हेर्ने मान्छेहरूको भीड पनि पहिलेजस्तो हुनै छोड्यो ।’ तिलाठीमा हुने पाँचदिने मेलामा तीन दिनसम्म कुस्ती चल्छ । तर, यही मेलाका भरमा कुस्ती खेलको विकास हुन नसक्ने उनको बुझाइ छ । ‘न स्थानीयस्तरमा पहलमान छन्, न त नयाँ पुस्ता आकर्षित छ,’ उनले भने, ‘महत्त्वपूर्ण कुरा अखडा नै नभएपछि कहाँबाट कुस्ती खेलको विकास हुनु ?’
तिलाठीसँगै जोडिएको लोनिया गाउँमा पनि पछिल्ला चार वर्षयता दीपावलीका अवसरमा कुस्ती प्रतियोगिता भइरहेको छ । स्थानीय पूजा समितिमार्फत पारिश्रमिक दिएर भारतबाट पहलमानहरू ल्याई प्रतियोगिता गराइरहेको तिलाठी कोइलाडी गाउँपालिका–२ का वडाध्यक्ष कमलकुमार मण्डलले बताए । छिन्नमस्ता गाउँपालिकाको लालापट्टीस्थित लालेश्वरनाथ महादेव मन्दिरमा शिवरात्रिका अवसरमा पछिल्लो चार वर्षयता कुस्ती प्रतियोगिता भइरहेको छ । यसमा पनि भारतबाटै कुस्तीबाजलाई ल्याएर दंगल चलिरहेको छ ।
तिलाठी, लोनिया र लालापट्टीका मेलामा बाहेक जिल्लामा सरकारी तवरबाट कुनै कुस्ती प्रतियोगिता भइरहेको छैन । जिल्ला खेलकुद विकास समिति सप्तरीका निमित्त प्रमुख दिनेश भुजेलले पुराना पुस्ताका धेरै कुस्तीबाजको निधन भइसकेको र नयाँ पुस्ताका पहलमान नभएकाले कुस्ती खेल नै लोप हुने अवस्थामा पुगेको बताए । ०६६ सालयता जिल्लामा सरकारीस्तरबाट कुनै कुस्ती प्रतियोगिता नभएको उनले बताए । त्यसो त जिल्ला खेलकुद विकास समितिमा अहिले कुस्तीका प्रशिक्षक नै छैनन् । ०७६ सालमा कुस्तीका सहायक प्रशिक्षक श्यामनारायण मण्डल खलिफा सेवा निवृत्त भएपछि नयाँ प्रशिक्षक आएका छैनन् । निमित्त प्रमुख भुजेलले केन्द्रले नै प्रशिक्षक नपठाएको बताए ।
सप्तरीमा जस्तै अवस्था छ, बारामा पनि । तीन दशकअघि जिल्लाका भित्री मधेशका गाउँ–गाउँमा कुस्ती प्रतियोगिता र अभ्यासहरू हुन्थे । कुस्तीका ग्रामीण अखडाहरूमा खलिफा भनिने पहलमानहरूले स्थानीय युवालाई कुस्ती सिकाउँथे । जिल्लाको रजवटिया, कचोर्वा, कुडवा, मझरिया, विश्रामपुर, बरियारपुरलगायतका गाउँमा कुस्तीका अखडा थिए । अहिले गाउँघरबाट ती अखडा मासिएको कुस्तीका प्रशिक्षक सत्यन्द्र यादवले बताए । ‘पर्व र मेलामा स–साना कुस्ती प्रतियोगिता हुन्छन्,’ उनले भने, ‘प्रतिस्पर्धा र नयाँ खेलाडी उत्पादनमा भन्दा यी मनोरञ्जनमा केन्द्रित छन् ।’
पाँच वर्षअघि बाराको महागढीमाई नगरपालिकाले ६ लाख बजेट छुट्याएर नगरपालिकाको प्रांगणमै अखडा बनाएर तीन महिनासम्म आवासीय कुस्ती प्रशिक्षण चलाएको थियो । तर, त्यसले निरन्तरता पाउन नसकेको उक्त प्रशिक्षणका प्रशिक्षकमध्येका एक सत्येन्द्रले बताए । ‘पहलमानको अभ्यासशाला बनाएर प्रशिक्षण चलाइयो, तर तीनै तहका सरकारले कुस्तीलाई प्राथमिकता नदिँदा कुस्तीबाजको मनोबल नै घटेको छ । कुस्ती खेलमा लाग्नेहरूलाई प्रोत्साहन नदिँदा र प्रतियोगिताहरू नहुँदा यो खेल ओझेलमा पर्दै गएको हो,’ सत्यन्द्रले भने, ‘पहलमानलाई न पौष्टिक आहारको व्यवस्था छ, न त अन्य कुनै प्रोत्साहन नै ।’ महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले कुस्ती मधेशको संस्कृति भएको बताए । ‘कुस्ती खेलाडीलाई प्रोत्साहन दिन कन्जुस्याइँ नगरौं,’ उनले भने, ‘कुस्तीको संरक्षण र संवर्द्धनका लागि अखडा जोगाउनु पनि उत्तिकै जरुरी छ ।’
कुस्तीमा नेपालले अन्तर्राष्ट्रियस्तरमै पनि राम्रो सफलता हासिल गरेको इतिहास छ । चार वर्षअघि काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा त नेपालले कुस्तीमा ऐतिहासिक सफलता नै हात पारेको थियो । प्रतियोगितामा नेपालकी संगीता धामीले कुस्ती खेलमा स्वर्ण जितेकी थिइन् । उक्त प्रतियोगितामा सहभागी १४ कुस्तीबाजमध्ये १३ जनाले पदक जितेका थिए । ‘हालसम्म कुस्ती खेलमा नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउनेमा अधिकांश तराई–मधेशकै कुस्तीबाज छन्,’ पूर्वप्रमुख प्रशिक्षक खगेन्द्र बस्नेतले भने, ‘तिनमा पनि सप्तरी, सर्लाही, सिरहा, पर्सा, बारा, धनुषाका बढी छन् ।’
अहिले कुस्ती संघभित्रको विवाद र प्रतियोगिताहरू नहुँदा खेलाडी पलायन भएको र अखडाहरू सुनसान बनेको उनले सुनाए । ‘संघ नै विभाजित भएपछि लामो समयदेखि प्रतियोगिताहरू हुन सकेका छैनन्,’ उनले भने, ‘त्यसमाथि खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले गर्ने व्यवहार पनि राम्रो छैन ।’ पदक विजेता पुराना खेलाडीलाई बेवास्ता गर्दा खेलाडीमा निराशा छाएको र खेलाडी पलायन भएको उनले बताए । बस्नेतका अनुसार एक–दुई वर्षको अन्तरालमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताले मात्र खेलाडीलाई खेलमा बाँधिराख्न सम्भव छैन । ‘वर्ष दिनमा हुने प्रतियोगिताका लागि कसले ११ महिना प्रशिक्षण गर्छ,’ उनले भने, ‘न पुराना खेलाडीलाई राज्यले हेरेको छ, न त अहिलेका खेलाडीले नियमित खेल्न पाएका छन् । अनि त अखडाहरू सुनसान हुने नै भए ।’
- रूपा गहतराज (नेपालगन्ज), सन्जु पौडेल (लुम्बिनी), नवीन पौडेल (परासी), मनोज पौडेल (कपिलवस्तु), अवधेश झा (सप्तरी) र लक्ष्मी साह (बारा)
