मधेशका बस्तीबाट दिनदहाडै कहाँ हराउँछन् बालबालिका ?

मधेश प्रदेशमा एक वर्षमा २९६ बालबालिका बेपत्ता, खोजतलास केन्द्रका अनुसार बालबालिका हराउनेमा मधेश ‘रिस्क जोन’ मा

श्रावण २३, २०८०

रौतहट — घरपरिवारमा भोक छैन, केवल रुवावासीमात्र छ । गरुडा–६ स्थित पोठीयाही टोलकी ३५ वर्षीया तेतरीकुमारी महतोको घरमा हिजोआज चुल्हो बल्ने समय तालिका खलबलिएको छ ।

झन्डै चार महिनाअघि नौ वर्षकी जेठी छोरी किरणकुमारी अचानक बेपत्ता भएपछि महतो परिवारको खुसी हराएको हो । छोरीको पीरले तेतरीको आँखा नरसाएको दिन छैन । ‘सानी बालख छोरीमा कसको आँखा लाग्यो,’ तेतरी बिलौना गर्छिन्, ‘अब त छोरीको अनुहार हेर्नै नपाई मर्छु कि जस्तो भइसक्यो ।’ 

पोठीयाही प्राविमा कक्षा ३ मा पढ्ने तेतरीकी छोरी गत वैशाख २० देखि बेपत्ता भएकी हुन् । छोरी हराएका दिन आमा घरमा सुतिरहेकी थिइन् । बाबु रामप्रवेश काम विशेषले गरुडा बजार गएका थिए । त्यही बेला घरबाटै किरण बेपत्ता भएको परिवारजनको भनाइ छ । ‘साँझसम्मै यतै कतै होला भनेर चुप बस्यौं, जब बेलुका खाना खाने बेलासम्म पनि छोरी आइनन्, मनमा चसक्क भयो,’ तेतरीले भनिन्, ‘रातभरि रोएर बितायौं, बिहान झिसमिसेमा गाउँघर, छरछिमेकी पुगेर खोजखबर गर्‍यौं, तर छोरीको कतै पत्तो लागेन ।’ 

छोरी बेपत्ता भएको भोलिपल्ट महतो परिवारले गरुडास्थित प्रहरीको महिला बालबालिका सेवा केन्द्रमा खोजीका लागि निवेदन पनि दियो । बाबु रामप्रवेशले माधोपुर, खेश्रैयालगायतका गाउँमा रहेका आफन्तकहाँ गएर पनि बुझे । तर, छोरी कहीं फेला परिनन् । रामप्रवेश–तेतरीका चार छोरा, दुई छोरीमध्ये बेपत्ता रहेकी किरण जेठी हुन् । उनीहरूले स्थानीय रेडियो, एफएममा छोरी हराएको सूचनासमेत दिए । तर, अहिलेसम्म कतै फेला परेको खबर आएको छैन ।

किरण बेपत्ता भएपछि गाउँमा अझै छोरी हराउलान् भनेर सतर्कता छ । छोरी हराएपछि परिवारका सदस्यले गाउँकै पण्डितलाई चिना देखाउनेदेखि विभिन्न मन्दिरमा भाकल गरेको सुनाए । ‘पण्डितले दक्षिणतर्फ गएको बताएपछि एक सातासम्म त्यतैतिर खोज्यौं,’ आमा तेतरीले भनिन्, ‘तर, फेला पार्न सकेनौं ।’ छोरी भेटिने आशा रहेको उनले सुनाइन् । तेतरीका श्रीमान् रामप्रवेश ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन् । छोरी हराएपछि काममा नियमित जान नसकेको उनले सुनाए । पोठीयाहीका स्थानीय एवं गैरसरकारी संस्था ग्रामीण विकास केन्द्र नेपालकी सामाजिक परिचालिका वसन्ती साहले गाउँमा यसरी बच्चा हराएको घटना आफूलाई यसअघि कहिल्यै थाहा नभएको बताइन् । 

वाग्मती नदीमा आएको बाढीले घरखेत बगाएपछि किनारमा सानो झुपडी बनाएर बसेको छ, विलास दासको परिवार । राजदेवी–३ चण्डिया गाउँमा रहेको उनको घरखेत २०५० सालमा आएको बाढीले बगाएको थियो । घरखेत बगाउनेभन्दा ठूलो पीर गत वर्ष भोग्नुपरेको विलास दासले सुनाए । ‘एकै दिन ३ नातिनातिनी र बुहारी हराउँदाको पीडा मेरो मुखबाट भन्नै सक्दिनँ,’ उनले भने, ‘पीर पनि कति हो कति ?’

गत चैत १९ गते दिउँसो विलास दासका ३ वर्षीय नाति राम विश्वास, नातिनीहरू ५ वर्षीया पूजा र १ वर्षीया पुण्यकुमारी र बुहारी मीना दास अचानक घरबाट हराए । त्यस दिन छोरा रणधीश काम गर्न जिल्ला सदरमुकाम गौर गएका थिए । ६५ वर्षीया हजुरआमा रजनीदेवी १० वर्षीया नातिनी रूपकलालाई लिएर छिमेकीको खेतमा गहुँ दाइँ हेर्न गएकी थिइन् । त्यहाँबाट फर्केर घर आउँदा उनले घरै सुनसान देखिन् । ‘केटाकेटी कतै खेल्न गएका होलान् भनेर घरको काममा लागें,’ उनले भनिन्, ‘झमक्क साँझ परेपछि पनि बुहारी र नातिनातिनीको अत्तोपत्तो नभएपछि अत्तालिएँ ।’ छरछिमेकीलाई सोधिन् । श्रीमान्लाई तत्कालै बोलाएर बुहारी र नातिनातिनी घरमा नभएको खबर सुनाइन् । परिवारका सदस्यले सबैतिर सोधखोज गरे । सोही दिनदेखि उनको परिवारमा खुसी हराएको छ । ‘नातिनातिना हुँदा घरै उज्यालो थियो, अहिले सुनसान छ,’ रजनीले गहभरि आँसु पार्दै भनिन्, ‘हराएको चार महिना हुन लाग्यो, न सासको टुंगो भयो, न त लासको नै ।’ 

रणधीश अहिलेसम्म श्रीमतीलाई नराम्रो व्यवहार नगरेको बताउँछन् । ‘माया गर्थें, घर छोड्नुपर्ने कुनै कारण थिएन,’ उनले भने, ‘गरिब भए पनि दुई छाक राम्ररी खाएकै थियौं, तर किन घर छाडे थाहै भएन । कि कसैले अपहरण पो गर्‍यो कि ।’ रणधीश गौर जाँदैपिच्छे प्रहरीलाई केही पत्तो लाग्यो कि भनेर सोधी रहन्छन् । जेठी छोरी रूपकला बेपत्ता आमा र भाइबहिनीको यादले निकै नै सताएको पीडा सुनाउँछिन् । उनी भाइबैनी बेपत्ता भएपछि टोलाएर बस्ने भएकी छन् ।

जिल्लामा दिनदहाडै बालबालिका बेपत्ता भएका यी प्रतिनिधि घटना मात्र हुन् । प्रत्येक वर्ष रौतहटमा घरबाट हराउने बालबालिकाको संख्या बढ्दो छ । अभिभावकले प्रहरीमा गरेको उजुरीअनुसार १० देखि १७ वर्षका उमेर समूहका बेपत्ता हुने बालबालिका धेरै छन् । उनीहरूको खोजीमा परिवार र आफन्त मात्र होइन, सुरक्षा निकाय परिचालन भए पनि बालबालिका फेला पार्न सकस पर्ने गरेको छ । 

गौर–शिवनगर खण्डको गरुडा बजारबाट झन्डै ९ किलोमिटर पश्चिम लागेपछि पिपरिया गाउँ आउँछ । गरुडा–७ मा रहेको यो गाउँको पश्चिमतर्फ इनरवती देवीको घर छ । घरअगाडि आँपको सानो रूख छ । रूखको आडैमा चिन्तित अवस्थामा भेटिइन्, इनरवती । २०७८ असार ११ मा १३ वर्षीय कान्छो छोरा नीरज हराएपछि उनको अनुहारबाट हाँसो हराएको छ । स्थानीय कटहरिया माविमा कक्षा ७ मा पढ्ने नीरज कसरी हराए भन्ने प्रश्नको उत्तर कसैसँग छैन । 

उक्त दिन परिवारका सदस्यहरू खेतमा काम गर्दै थिए । काम सकेर साँझ घर फर्किंदा नीरज घरमा थिएनन् । ‘साँझ घरमा छोरा नदेख्दा सबैलाई तनाव भयो,’ इनरवती भन्छिन्, ‘उसका साथीहरूलाई सोध्यौं, बुझ्यौं । कतै फेला परेनन्, अहिलेसम्म छोरा घर फर्केको छैन ।’ 

भोलिपल्टै परिवारका सदस्यले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिए । भारत, पन्जाबलगायतका स्थानमा खोजी गरे । गाउँकै पण्डित रूपलाल साहलाई पनि हात देखाउन पछि परेनन् । पण्डितले पनि छोरो भेटिने भन्दै आश्वस्त पारेपछि परिवारमा केही राहत मिल्यो । तर, अहिलेसम्म नीरजको खबर अज्ञात छ । छोरालाई कसैले बेपत्ता बनायो वा आफैं कतै गयो भन्नेबारे पत्ता लगाउन नसकेको बाबु सत्यनारायणले सुनाए । 

नीरज हराएको २ वर्षपछि गत असार १३ गते साँझपख नेपाली नम्बरको सिमबाट आमा इनरवतीदेवीलाई फोन आयो । फोनमा बोल्ने उनै नीरज थिए । इनरवतीका अनुसार नीरजले आफू सकुशल रहेको मात्रै बताएनन्, चिन्ता नगर्न र आफू नेपालमै रहेको समेत बताए । ‘तर, घर आउने/नआउने विषयमा भने केही बोलेन,’ इनरवतीले सुनाइन्, ‘कुन अवस्थामा छ भन्ने बताउन नपाउँदै फोन काटियो । त्यही नम्बरमा पछि फोन गर्दा लाग्दै लाग्दैन ।’

परोहा–२ जिगंडवाका १२ वर्षीय मोहम्मद साबिक अहिले कहाँ छन् ? परिवारसँग यसको उत्तर छैन । गत असार ५ गते घरबाट साथीहरूसँग खेल्न जान्छु भनेर हिँडेका उनी अहिलेसम्म घर फर्केका छैनन् । उनका काका मोहम्मद नासिर कलामले अचानक बेपत्ता भएका भतिज साबिकको खोजी गर्दा गर्दै आफूहरू थाकिसकेको बताए । उनले आफूहरूले भारतमा रहेका आफन्तकहाँ समेत पुगेर सोधपुछ गर्दा पनि केही पत्तो नलागेको सुनाए । ‘छोरालाई कसले बेपत्ता बनायो, कहाँ गयो, के खाएको होला,’ आमा सन्दिया खातुनले दुखेसो पोख्दै सुनाइन्, ‘अल्लाह (भगवान्) ले चाँडै मेरो छोरालाई घर फकाईदिऊन् ।’ 

गत जेठ ३० मा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा भारतको मुम्बईबाट ३ जना बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । वृन्दावन–९ भुसाहाका १८ वर्षीय जबिबुलाह ०७९ साउन १३ मा घरबाट बेपत्ता भएका थिए । उनलाई झन्डै एक वर्षपछि मुम्बईको झोला उद्योगबाट उद्धार गरी ल्याइएको हो । सामान्य परिवारका उनलाई गाउँकै छिमेकीले जागिरको लोभलालच देखाएर काम गर्न लगेका थिए । उनका काका इसराफिलले भतिजो बिनाकारण घरबाट भागेर भारत पुगेको बताए पनि अन्य कारण खुलाएनन् । ‘छोरा फेला परिसक्यो, अब अरु कुरा नगरौं,’ उनले भने । 

संस्थाले राजपुर–६ का १६ वर्षीय शेख साजिद र यमुनामाई–३ का १४ वर्षीय मोहम्मद जाफरलाई पनि मुम्बईबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको थियो । साजिद ०७८ माघ ६ मा घरबाट भागेर भारत पुगेका थिए । जाफरका आमा साहिना बेगमले छोरा बेपत्ता भएपछि आफूहरू भोकप्यास सबै त्यागेर बसेको सुनाइन् । ‘झन्डै १८ महिनापछि छोरालाई भेट्टाउन सकियो,’ उनले भनिन्, ‘कसले फकाएर भारत लग्यो भन्ने बुझ्नै सकेकी छैन ।’ छोरा जाफरले साथीहरूसित काम गर्न गएको बताएका छन् । तर, साथीहरू कोको हुन् भन्ने केही नखुलाएको प्रहरीले जनायो । 

बारास्थित बाल हेल्पलाइनका इन्चार्ज मुकेश कुशवाहाले गएको आर्थिक वर्षमा भारतका विभिन्न सहरमा काम गर्न गएका १७ जना बालकलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको बताए । 

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले धेरैजसो बालबालिका घरायसी झगडा, गरिबी, साथीभाइको लहलहै र केही घरबाट भागेर बालश्रम गर्न भारत जाने गरेको बताए । ‘बालबालिका बेपत्ता हुनुमा घरको पारिवारिक वातावरण पनि मुख्य कारण हो, कतिपय बालक आमाबुबाबीचको झगडाकै कारण घर छाड्ने गरेको पाइएको छ,’ उनले भने, ‘भारतमा बालश्रम गर्न गएकाहरू आमाबुबाकै कारणले गएको तथ्य फेला पारेका छौं । हराएकाहरूको खोजबिनमा हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ भारतीय सीमाक्षेत्रका सुरक्षा अधिकारीहरूसँग पनि सीमा बैठकमा बालबालिका भारत जाँदा अभिभावकका साथमा छ/छैनन् भन्ने हेर्न अनुरोध गरेको उनले सुनाए । 

बुढामगरका अनुसार ०७३ यता रौतहटमा मात्रै ४ सय ५८ जना बालबालिका बेपत्ता भएका छन् । तीमध्ये २ सय ५१ जना अहिलेसम्म फेला परेका छन् भने २ सय ७ जना अझै बेपत्ता छन् । बेपत्ता भएकामध्ये फेला परे पनि अभिभावकले प्रहरीलाई जानकारी नगराउने एसपी बुढामगरले जनाए । 

कतिपय बालबालिका १५/१६ वर्षको उमेरमा विवाह गरी घरबाट भाग्ने गरेको पाइएको छ । त्यस्ता बालबालिकाको हकमा अभिभावकको निवेदनपछि प्रहरीले दुवैलाई परिवारको जिम्मा लगाउने गरेको छ । मधेश प्रदेशका जिल्ला बालबालिका हराउने ‘रिस्क जोन’ मा रहेको बालबालिका खोजतलास केन्द्र काठमाडौंका बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए । खुला सीमा, जनचेतनाको कमी, चरम गरिबी, परिवारमा विखण्डन, आमा वा बाबुले दोस्रो बिहे गरेपछि बालबालिकालाई ‘झड्केलो’ व्यवहार गर्नुजस्ता कारणले बालबालिकाले घर छाड्ने गरेको उनको भनाइ छ । ‘हाम्रो तथ्यांकमा बालकभन्दा बालिका बढी हराएको उल्लेख छ, बालिकाहरू घरबाट हिँडेपछि विभिन्न रेस्टुरेन्ट, बार, मसाज सेन्टर, गलैंचा उद्योगमा काम गर्छन्,’ उनले भने, ‘१३ देखि १८ वर्ष उमेरका बालिका बढी घर छाड्नेमा पर्छन् । उनीहरू बाहिर श्रमिकका रूपमा काम गर्छन् तर अभिभावकलाई थाहै दिँदैनन् ।’ 

अधिकारीका अनुसार आर्थिक वर्ष ०७९/८० मात्र देशभरिबाट ५ हजार ८ सय २६ बालबालिका हराएका छन् । तीमध्ये ५ हजार १ सय ५० जना फेला परेको तथ्यांक छ । ६ सय ७६ बालबालिका अझै बेपत्ता भएको अधिकृत अधिकारीले जनाए । तीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा मात्र २ सय ९६ जना बालबालिका अझै हराइरहेका छन् । केन्द्रका अनुसार मधेस प्रदेशमा एक वर्षमा १ हजार ३ सय १ जना बालबालिका बेपत्ता भएकामा १ हजार ५ जना फेला परेका छन् । 

बर्सेनि हराउने बालबालिकाको संख्या बढिरहँदा पनि बालबालिकालाई हेर्ने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले प्रभावकारी पहल गरेको देखिँदैन । मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले बालबालिका हराएको, बेपत्ता भएको बारे लेखाजोखा गर्ने काम स्थानीय तह र जिल्ला प्रशासनको भएको बताए । ‘मधेश प्रदेशका जिल्लामा के कति बालबालिका बेपत्ता भए भन्ने मन्त्रालयसित कुनै तथ्यांक छैन,’ उनले भने, ‘यस विषयमा अहिलेसम्म हामीले कुनै अनुसन्धान वा काम गरेका छैनौं ।’ 

महिला अधिकारकर्मी देवकी नेपालले देशभरिबाट बालबालिका हराउने घटना बढिरहँदा किन हराइरहेका छन् भनेर कुनै अनुसन्धान नभएको बताइन् । ‘बालबालिका किन हराउँछन् भन्ने विषयमा हालसम्म सम्बन्धित निकायले कुनै अनुसन्धान गरेको देखिँदैन,’ उनले भनिन्, ‘बालबालिका हराए, भेटिए वा अहिलेसम्म फेला परेनन् भन्ने मात्र तर्क गर्छौं । यसको जरोसम्म पुग्ने काम कसैले पनि गरेको छैन ।’ प्रहरीले पनि मुख्यतः आर्थिक र पारिवारिक कारणले बालबालिका बेपत्ता भएको भन्दै आएको छ । हराउने बालबालिकाको संख्या ठूलो रहे पनि उनीहरू फेला परे–नपरेको विषयमा तथ्यांक अन्तर पर्न सक्ने प्रहरीको भनाइ छ ।

Link copied successfully