कर्णालीमा विशेषज्ञ अभाव, उपकरण अलपत्र

अत्याधुनिक मेसिन पठाइए पनि कर्णालीमा दक्ष जनशक्तिको सधैं अभाव, विशेषज्ञ डाक्टर नहुँदा प्रदेशका जिल्ला र प्रदेश अस्पतालमा बिरामी, गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउँदै

श्रावण १९, २०८०

तृप्ति शाही

वीरेन्द्रनगर — कोरोना महामारी फैलिएका बेला कर्णाली प्रदेश सरकारले सल्यान जिल्ला अस्पतालमा ६ वटा भेन्टिलेटर मेसिन जडान गर्‍यो । अस्पतालमा सघन उपचार विशेषज्ञ तथा एनेस्थेसियोलोजिस्ट नभएका कारण झन्डै ४ करोड रुपैयाँमा खरिद भएका ती भेन्टिलेटर त्यत्तिकै थन्किएका छन् । यो अस्पतालमा हाडजोर्नी शल्यक्रिया गर्ने मेसिन पनि छन् । तर, विशेषज्ञ नभएका कारण ती मेसिन पनि त्यत्तिकै अलपत्र परेका छन् । १५ शय्या अनुमति पाएको यो अस्पताल अहिले ४८ शय्यामा बिरामीलाई सेवा दिइरहेको छ ।

‘अस्पतालमा सामान्यतया सबै खालका मेसिन र उपकरण छन् तर ती चलाउने विशेषज्ञ नहुँदा बिरामीलाई दाङ, नेपालगन्ज र सुर्खेत रेफर गर्नुपर्ने बाध्यता छ,’ अस्पताल प्रमुख डा. पूजा आचार्यले भनिन्, ‘प्रयोगमा नआएका कारण भएका उपकरण पनि खिया लाग्ने अवस्थामा पुगेका छन् ।’ 

सल्यान अस्पतालमै पाठेघरको शल्यक्रियाका लागि आवश्यक उपकरण ल्याइएको छ भने अप्रेसन थिएटरसमेत छ । तर, स्त्रीरोग विशेषज्ञ नहुँदा उपकरण र बनेका संरचना थोत्रा भइरहेका छन् । अस्पतालमा भएको अक्सिजन प्लान्ट पनि त्यत्तिकै खेर गइरहेको डा. आचार्यले बताइन् । ‘बत्तीको भोल्टेज कम भएकाले पनि केही मेसिन सञ्चालन गर्न सकिने अवस्था छैन,’ उनले भनिन्, ‘अक्सिजन प्लान्टलाई प्रयोगमा ल्याउन ट्रान्सफर्मर व्यवस्थापनमा जुटेका छौं, तर अब यसले काम गर्छ कि गर्दैन भन्ने चिन्ता छ ।’ ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएको अस्पतालमा अहिले एमडीजीपी चिकित्सक एक जना मात्र कार्यरत छन् । कोरोनाको दोस्रो चरणमा जुटाइएका यी मेसिन आएदेखि सञ्चालन हुन सकेका छैनन् । सल्यान जिल्लामा अहिले कार्यरत १ जनाबाहेक विशेषज्ञ डाक्टर छैनन् । 

कालीकोट जिल्ला अस्पतालमा पनि कोरोनाका बेला आएका ४ भेन्टिलेटर र १० वटा आईसीयू बेड जनशक्ति अभावकै कारण गोदाममा थन्किएका छन् । अन्य केही मेसिन पनि जनशक्तिकै अभावमा अलपत्र रहेको अस्पतालले जनाएको छ । विशेषज्ञ डाक्टरसँगै भवन अभावका कारण अस्पतालमा भएका मेसिन एकै कोठामा थन्काउनुपरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक कटकबहादुर महतले बताए । ‘३ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ तर १ जना पनि छैनन्,’ उनले भने, ‘मेडिकल अधिकृतकै भरमा अस्पताल चलेको छ, एक त सेवा सुविधा कम भएको भन्दै डाक्टर नै आउन मान्दैनन्, आए पनि २/३ महिना बसेर सरुवा मिलाएर गइहाल्छन् ।’ डाक्टरको अभावले अस्पतालमै उपचार हुने बिरामीलाई पनि बाहिर रेफर गर्नुको विकल्प नभएको उनले गुनासो गरे । उनका अनुसार जिल्लामा गत फागुनबाट विशेषज्ञ डाक्टर छैनन् । त्यसभन्दा अगाडि जिल्लामा १ जना विशेषज्ञ डाक्टर थिए । अहिले महिनाको २ पटक १५/१५ दिनको फरकमा जुम्लाबाट विशेषज्ञ डाक्टर आएर सेवा दिइरहेको अस्पताल स्रोतले जनाएको छ । 

जिल्ला अस्पताल सल्यानमा थन्किएका भेन्टिलेटर मेसिनहरू  ।

सल्यान र कालीकोटको भन्दा फरक अवस्था छैन, डोल्पा जिल्ला अस्पतालको पनि । कोरोनापछि सरकारले दिएको १ थान भेन्टिलेटर मेसिन सञ्चालनमै ल्याउन नसकेको अस्पतालका चिकित्सा विभाग प्रमुख डा. अखण्ड उपाध्यायले बताए । ‘सरकारले मेसिन पठायो । चलाउन सक्ने जनशक्ति पठाएन,’ उनले भने, ‘मेसिन अहिले त्यत्तिकै राखिएको छ, राखेरै बिग्रेलाझैं भइसक्यो ।’ उक्त मेसिन फिर्ता गरेर आफूहरूले सञ्चालनमा ल्याउन सक्ने मेसिन पठाउन बारम्बार प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेको उनले बताए । अस्पतालमा भएको एक्सरे मेसिन पनि बत्तीको समस्याका कारण सञ्चालनमा ल्याउन कठिनाइ भएको उनको भनाइ छ । भिडियो एक्सरे मेसिन पनि सानो भएकाले समस्या छ । अस्पतालमा ३ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि १ जना मात्र कार्यरत छन् । उनलाई पनि आमा सुरक्षा कार्यक्रमबाट राखिएको हो । अहिले १ स्थायी र अन्य ३ अस्थायी मेडिकल अधिकृतकै भरमा अस्पताल सञ्चालनमा छ ।

जाजरकोट जिल्ला अस्पतालमा पनि जिल्लामै उपचार हुने बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि अहिले १ जना एमडीजीपी डाक्टर मात्र कार्यरत छन् । अस्पतालको पुरानै भवन भएकाले भेन्टिलेटर र आईसीयू राख्ने सेटअप नै अस्पतालमा नभएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख प्रतीक्षा भारतीले बताइन् । नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले ती उपकरण यहाँ सेटअप गर्ने तयारी भएको उनको भनाइ छ । 

कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्साकी एक सुत्केरीलाई जिल्ला अस्पतालबाट स्ट्रेचरमा बोकेर घरतर्फ लैजाँदै ।

हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी उपचारका लागि सुर्खेत, नेपालगन्जलगायत सहर झर्न बाध्य छन् । यहाँको अदानचुली गाउँपालिका–२ का बेलबहादुर भण्डारी १ सातादेखि सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराइरहेका छन् । सुरुमा निमोनिया भएका उनी अहिले आन्द्राको अपरेसन गरेर अस्पतालमा आराम गरिरहेका छन् । एक्कासि फोक्सोमा पनि समस्या देखिएको उनले सुनाए । ‘जिल्ला अस्पताल सिमकोटमा विशेषज्ञ डाक्टर छैनन् भन्ने थाहा पाएर दाइलाई सुर्खेत ल्याएँ,’ भाइ जतन भण्डारीले भने, ‘जिल्लामै डाक्टर भए बेलैमा उपचार हुने थियो, यत्रो खर्च पनि हुन्थेन ।’ उनले दाइको उपचार गराउने क्रममा कम्तीमा ५० हजार रुपैयाँ खर्च भइसकेको बताए । 

डाक्टर अभावमा दुर्गम जिल्लाका बिरामी, गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाइरहेका छन् । २०७७ भदौमा दैलेखको ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीले अकालमै ज्यान गुमाइन् । गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा भदौ १२ गते सुत्केरी भएकी उनको अत्यधिक रगत बगेपछि ज्यान गएको हो । ‘स्वास्थ्य केन्द्रमा डाक्टरभएको भए उनको ज्यान जाने थिएन,’ पार्वतीका पति रणबहादुरले भने, ‘गाउँका प्राथमिक स्वास्थ्य केन्द्रमा न डाक्टर आउँछन्, न त औषधि नै हुन्छ ।’ 

कालीकोटको सान्नीत्रिवेणी स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामी । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर

सुर्खेतबाहेक कर्णालीका ९ जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकलगायत अन्य दक्ष जनशक्ति नहुँदा कुनै न कुनै उपकरण थन्किएकै छन् । कोरोना महामारीको समयमा प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा भेन्टिलेटर, आईसीयू र अक्सिजन प्लान्ट जडान गर्न झन्डै ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । कर्णालीको रेफरल सेन्टरका रूपमा सुर्खेतस्थित प्रदेश अस्पतालले पनि जिल्ला अस्पतालको जस्तै जनशक्तिकै अभाव भोगिरहेको छ । सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाको रेफरल सेन्टरसमेत रहेको यो अस्पतालमा पनि आवश्यक डाक्टर छैनन् । 

सरकारले दिएको भत्तासहित कर्णालीमा कार्यरत डाक्टरको हातमा ८०/८५ हजार रुपैयाँ मात्रै पर्छ, त्यति पैसामा डाक्टर यहाँ बस्नै मान्दैनन्

– डा. केएन पौडेल, जनरल फिजिसियन, प्रदेश अस्पताल, सुर्खेत

‘हामीले पनि जनशक्ति अभावमा केही मेसिन थन्काउनुपरेको छ,’ कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘अस्पतालमा अझै नयाँ–नयाँ विधाका डाक्टर आउन सकेका छैनन् ।’ उनका अनुसार अस्पतालमा कार्डियोलोजिस्ट पनि छैनन् । एक गैरसरकारी संस्थाको सहयोगमा अस्पतालमा १ करोड रुपैयाँमा मेसिनमार्फत मुटु रोगीको जाँचसँगै उपचार सुविधाका लागि क्याथल्याबलगायतका केही उपकरण किन्ने प्रक्रिया सुरु गरे पनि डाक्टर नहुँदा अन्योल भएको उनले बताए । न्युरो सर्जरीका डाक्टरको पनि सरुवा भएकाले उपचारमा समस्या हुने देखिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्काले सुनाए । ‘एक महिनाभित्र नयाँ डाक्टर आएनन् भने उपकरण पनि बिग्रिने अवस्थामा पुग्छन्,’ उनले भने, ‘बिरामीले पनि दुःख पाउनेछन् ।’

अहिले प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपणको सुविधा छ । अहिलेसम्म २ जनाको मिर्गौला प्रत्यारोपण सफल पनि भएको छ । तर, यसका लागि प्रमुख डाक्टर भक्तपुरबाटै आउनुपर्ने बाध्यता छ । मुख्य अपरेसनका लागि बाहिरबाटै डाक्टर आउने र आफूहरूले सहयोग मात्र गर्ने डा. खड्का बताउँछन् । ‘यो विषयका डाक्टरहरू प्रदेश अस्पतालमा भइदिए बिरामीको सुविधासँगै मेसिन र औजारले पनि सधैं काम पाउँथे,’ उनले भने, ‘अन्य सरकारी अस्पतालभन्दा हामीकहाँ औजार र डाक्टरहरू छन्, तर चाहिनेजति अझै पुगेका छैनन् ।’ अन्य कर्मचारीको अभाव भने प्रदेश अस्पतालले अझै भोगिरहेको छ । १ सय ५० शय्याको अनुमति पाएको अस्पतालमा बिरामीको चाप बढेपछि ३ सय शय्या सञ्चालनमा छन् । करारसहित झन्डै ५ सय कर्मचारीले अस्पताल चलाइरहेको अस्पताल प्रशासनले जनाएको छ । 

डा. खड्काले ८ सय कर्मचारी भए मात्र अस्पतालले बिरामीको चाप थेग्न सक्ने बताए । ‘कर्णालीलाई अझै पनि दूरदराजको भनेर हेर्ने भएकाले कर्णालीमा डाक्टर आउनै मान्दैनन्,’ उनले भने, ‘अन्य सुविधा पनि नहुँदा र थप अस्पतालमा काम गर्न नपाउने भएकाले पनि यहाँ डाक्टर आउन नमानेका हुन् ।’ प्रदेश लोक सेवा आयोगले डाक्टरको पदपूर्तिका लागि विज्ञापन आह्वान नगरेकाले पनि यो समस्या देखिएको उनको भनाइ छ । जनरल फिजिसियन डा. केएन पौडेल प्रदेश अस्पताल सुर्खेतमा करिब ७ वर्षदेखि कार्यरत छन् । लुम्बिनी प्रदेशको रूपन्देही घर भएका उनी सुर्खेतमै बसेर काम गरिरहेका छन् । ‘सर्भिस सेक्टर भएकाले यहाँका नागरिकसँग नजिक भएर काम गर्न पाएको छु,’ उनले भने, ‘मलाई स्थानीय र अस्पतालको काम गर्ने वातावरणले यहीं नै रोकेको छ ।’ दुर्गम क्षेत्रमा आइसकेपछि डाक्टरहरूले सोहीअनुसारको सेवा सुविधा पनि चाहने उनी बताउँछन् । 

‘सरकारले उल्लेख्य मात्रामा भत्ता दिएको छ, तर यो अझै समयसापेक्ष भएन कि ?,’ उनले भने, ‘सरकारले दिएको भत्तासहित डाक्टरको हातमा ८०/८५ हजार रुपैयाँ मात्रै पर्छ, त्यति पैसामा डाक्टर यहाँ बस्नै मान्दैनन् ।’ अहिले कर्णाली प्रदेश सरकारले चिकित्सकलाई अतिरिक्त भत्ता दिन थालेपछि अन्य प्रदेशले पनि बढाएर भत्ता दिइरहेको उनले बताए ।

कर्णाली प्रदेशमा १२ सरकारी अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्र छन् । तर, प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाहेक अन्य अस्पतालमा नियमित चिकित्सक भेट्टाउन मुस्किल छ । प्रदेशभरि आठौं तहभन्दा माथिका स्वास्थ्यकर्मीको अभाव छ । आठौं तहमा पनि एनेस्थेसिया, रेडियोग्राफरलगायतका कर्मचारीको अभाव रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक अन्य अस्पतालमा ९ सय ८ जनाको दरबन्दी कायम गरिएको निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत वसन्तमान श्रेष्ठले बताए । 

उनका अनुसार कर्णालीमा ३ सय ६३ मात्र स्वास्थ्यकर्मी कार्यरत छन् । अझै पनि कर्णालीमा ५ सय ४५ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको उनको भनाइ छ । उनले प्रदेशभरि ७९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि १० जना मात्रै कार्यरत रहेको बताए । कर्णालीका सबै जिल्लामा दसौं र नवौं तहका विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि करारका डाक्टरको भरमा जिल्ला अस्पतालले सेवा दिइरहेका छन् । 

कर्णाली प्रदेशका ८ जिल्लामा ६९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त छ । त्यस्तै मेडिकल अधिकृततर्फ १ सय ५७ जनाको दरबन्दी रहेकामा ३३ मात्रै कार्यरत रहेको निर्देशनालयका निर्देशक डा. रवीन खड्काले बताए । उनका अनुसार कर्णालीमा ११ औं तहका विशेषज्ञ मुस्किलले ५ प्रतिशत छन् भने १० औं तहको २० प्रतिशत मात्र दरबन्दी पूर्ति भएको छ । ‘कर्मचारी टिकाउन प्रदेश सरकारले आकर्षक प्याकेज ल्याए पनि स्वास्थ्यकर्मीको अभाव सुरुदेखि नै छ,’ उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारका लागि अन्य प्रदेशमा जानुपर्ने बाध्यता छ ।’ उनका अनुसार कर्णालीमा काम गर्ने चिकित्सकलाई टिकाउन जिल्ला वर्गीकरण गरी तलबमानको ७५ देखि १ सय ५ प्रतिशतसम्म भत्ता दिइएको छ । ‘सबै डाक्टर सहरकेन्द्रित छन्,’ उनले भने, ‘विशेष प्रोत्साहन भत्ता दिँदा पनि उनीहरूलाई कर्णालीमा आकर्षित गर्नै सकिएन ।’

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले प्रदेशमा स्वास्थ्य जनशक्ति अभावलाई परिपूर्ति गर्न माथिल्लो तहका चिकित्सकदेखि अन्य प्राविधिक कर्मचारीको विज्ञापन खोलिएको बताए । नयाँ भर्नासँगै कार्यरत कर्मचारीलाई तालिमको पनि व्यवस्थापन भइरहेको उनले बताए । ‘जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेर उपचार सेवा प्रभावकारी बनाउन प्रयासरत छौं,’ प्रशासक शाहीले भने, ‘नयाँ भर्ना र पुरानालाई तालिम दिने काम सँगसँगै भइरहेको छ । विद्युत् नभएका ठाउँमा पावर ब्याकअपको व्यवस्था गर्नेबारे पनि अध्ययन भइरहेको छ ।’

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully