व्यापारिक क्षेत्र नारायणगढलाई ६० वर्षअघि नै उपत्यकाबाहिरको कला केन्द्र बनाउन सफल नारायणी कला मन्दिर अहिले स्रोत र व्यवस्थापनको अभावमा सुनसान
चितवन — एक समय यस्तो थियो, नारायणी कला मन्दिरमा कुनै नाटक वा प्रहसन चल्दा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । ४० को दशकमा कला मन्दिरमा गीति नाटक ‘मालती मंगले’ १७ दिनसम्म १९ शो मञ्चन भएको थियो । मह जोडीको प्रहसन ‘विज्ञापन’ नौ दिनसम्म चल्दा पनि भीड उत्तिकै थियो । ०६२ सालमा नाटककार पुष्प आचार्यको नाटक ‘मैना’ कला मन्दिरमा ६ महिनासम्म लगातार मञ्चन भएको थियो । तर, कला मन्दिरमा अचेल यस्ता नाटक र भीड देख्नै पाइन्न ।
अहिले मन्दिरको आँगन प्रायः सुनसान देखिन्छ । कला मन्दिरको आफ्नै सक्रियतामा वार्षिक क्यालेन्डरमा रहेका केही सांगीतिक साँझबाहेक यहाँ कुनै रौनक छैन । बैठक गर्न बेलाबखत संस्थाका पदाधिकारी यहाँ आउँछन् । तर, कलाको अभावमा सिर्जनशीलहरूको चौतारी मानिने कला मन्दिरले पुरानो साख फर्काउन सकेको छैन । विधिवत् दर्तापछिको ६० वर्ष लामो इतिहास बोकेको कला मन्दिर उपत्यकाबाहिर उत्साही कला–रंगकर्मीहरूले खोलेको संस्था मात्रै थिएन, यो त कला रंगमार्फत सिंगो समाज बदल्ने एउटा आन्दोलन पनि थियो । कला मन्दिर एक समय सिंगो चितवनको सान थियो, कलाकार उत्पादन गर्ने थलो थियो । कला मन्दिरसँग अहिले सुनाउन लायक इतिहासको कथा त छ तर उत्साहको वर्तमान भने छैन ।
२०१६ सालमा अनौपचारिक रूपमा गठन भएर २०१९ मा विधिवत् दर्ता भएको कला मन्दिरसँग अहिले रंगकर्म र अन्य ठूला कार्यक्रम गर्न सकिने चार सय सिट क्षमताको सभा हलसहित १४ कट्ठामा फैलिएको प्रांगण छ । कला मन्दिरलाई यहाँसम्म ल्याइपुर्याउन कैयन् रंगकर्मी र कला पारखीको योगदान मिसिएको छ । पाल्पाको तानसेनमा जन्मेका ८० वर्षीय ऋद्धिचरण श्रेष्ठ तिनै योगदानकर्तामध्येका एक हुन् ।
६० वर्षे इतिहास बोकेको मन्दिर उत्साही कला–रंगकर्मीहरूले खोलेको संस्था मात्रै थिएन, यो त कलामार्फत सिंगो समाज बदल्ने एउटा आन्दोलन पनि थियो
०१५ सालमा आफ्ना पिताको निधनपछि पिताकै हाकिम धनशमशेरका नातेदार पुण्यप्रताप राणाको साथ लागेर उनी चितवन आइपुगेका थिए । चितवन नआउँदै उतिबेलाका नाम चलेका कलाकर्मीसँग ऋद्धिचरणको राम्रै संगत थियो । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ जस्ता गीत गाउने एलपी जोशी र साहित्यकार तुलसी दिवसजस्ताको संगतले आफ्नो मन कला साहित्यतिर डोरिएको उनले सुनाए ।
नारायणगढस्थित नारायणी कला मन्दिरको भवन ।
उनी चितवन झरेको वर्षमा नारायणगढमा बन्दीपुरका नेवार समुदायको बाक्लो बसोबास सुरु भइसकेको थियो । बन्दीपुरेहरू जात्रा, ख्यालीजस्ता सांस्कृतिक कार्यक्रम गरिरहन्थे । उनको मनमा पलाएको कला चेतलाई यस्ता सांस्कृतिक गतिविधिले मलजल गरेको उनले सुनाए ।
ऋद्धिचरणले ०१६ को दसैंताका साथीहरूसँग मिलेर नारायणगढमा ‘विजय’ नाटक मञ्चन गर्ने जमर्को गरे । उनीहरूले ड्रमहरूमाथि काठका फलेक जोडेर खुला स्टेज बनाए । जसमा बल र शक्ति देखाउने ‘बलबहादुर’ को भूमिका उनी आफैंले निर्वाह गरेको सुनाए । यही नाटकको सफलताले उत्साहित भएपछि उनीहरू सांस्कृतिक संस्था गठन गर्ने सल्लाहमा नारायणी नदी किनारमा भेला भएका थिए । त्यही भेलामा कुरैकुरामा ‘नारायणी कला मन्दिर’ नामक संस्था गठन गर्ने सहमति जुटेको उनले बताए ।
कला मन्दिरको नाम जुरे पनि यसले संगठित गतिविधि सुरु गरिसकेको थिएन । यिनै दिनमा प्रसाद श्रेष्ठ यो गतिविधिमा जोडिन पुगे । हास्यव्यंग्यमा जमेका नरेन्द्र हाडासँग मिलेर स्टेज शोहरू गर्ने प्रसादका बाबुको नारायणगढमै बसाइ थियो । ०१७ सालपछि प्रसाद पनि स्थायी रूपमै चितवन बसाइँ सरे । अनि, उनी पनि कलाप्रेमीहरूको यही समूहमा जोडिन पुगे ।
०१९ सालको पुसमा राजा महेन्द्र चितवन आउने खबर थाहा पाएर प्रसादसहितको टोलीले राजाको स्वागतमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भयो । प्रसादले सुनाए, ‘हामीले कार्यक्रम देखाएको खबर नारायणी कला मन्दिरद्वारा कार्यक्रम प्रस्तुत भन्ने मुख्य शीर्षकमा गोरखापत्रमै छापियो ।’ यस कार्यक्रमपछि आफूहरूको ख्याति जिल्लाबाहिर पनि फैलिएको उनले सुनाए ।
रंगकर्ममा उत्साहित भएर लागे पनि कला मन्दिरसँग आफ्नै भवन र मञ्च थिएन । ०३० सालतिरको एउटा घटनाले उनीहरूलाई किन आफ्नै भवन चाहिने रहेछ भन्ने महसुस गरायो । स्वर सम्राट नारायणगोपालसहित दार्जिलिङबाट आएका दावा ग्याल्मो, डेजी बराइली, दुर्गा खरेलहरू कार्यक्रम गर्न नारायणगढ आएका थिए । त्यतिबेला नारायणगढमा यस्तो कला कार्यक्रम गर्ने एउटै ठाउँ थियो, गणेश चलचित्र मन्दिर । प्रसादका अनुसार दुईदिने उक्त कार्यक्रमको सबै टिकट तात्तातै बिक्री भयो । तर, पहिलो दिनको खचाखच दर्शकमाझ कार्यक्रम सफल भएपछि हल मालिकले दोस्रो दिनका लागि हल दिन नसक्ने अड्को थापे । उनीहरूले अनेकतिर हारगुहार गरेर हल मालिकलाई मनाए । कार्यक्रम सफल पनि भयो । तर, स्थानीय आयोजकलाई त्यही दिन लाग्यो, आफ्नै हल नभएसम्म सधैं दुःख पाइन्छ ।
हारमोनियम बजाउँदै प्रसाद श्रेष्ठ ।
यो घटनापछि कला मन्दिरका पदाधिकारीले आफ्नै जग्गा खोज्ने र प्रेक्षालयसहितको भव्य हल बनाउने निधो गरे । कला मन्दिरका पूर्वअध्यक्षसमेत रहेका ऋद्धिचरणका अनुसार तत्कालीन नारायणगढ गाउँ पञ्चायतले अहिले पोखरा बसपार्क रहेको ठाउँ कला मन्दिरलाई दिए पनि स्थानीयको विरोधपछि उक्त जग्गा नपाएको सुनाए । ‘तत्कालीन प्रधानपञ्च इन्द्रलाल श्रेष्ठले लेखेर दिएपछि हामी नापजाँच गर्न जाँदा स्थानीयले चर्को विरोध गरे,’ उनले भने, ‘खबरदार ! यो ठाउँमा बसपार्क राख्ने हो भनेपछि हामी लुरुलुरु पछि सर्यौं ।’
ऋद्धिचरण त्यतिबेला बालकुमारी स्कुलको प्रधानाध्यापक पनि थिए । स्कुलले चर्चेको १० बिघाजति जग्गामा पूर्व–दक्षिणको भाग टुँडो परेर गएको थियो । शिक्षा कार्यालयका हाकिमसमेत रहेका कला मन्दिरका शुभचिन्तक सूर्यबहादुर मास्केसँग उक्त जग्गाबारे सल्लाह गरेको उनले सुनाए । ‘के स्कुलको टुँडो परेको जग्गा कला मन्दिरका नाममा ल्याउन सकिन्न ?,’ उनले भने, ‘विद्यालय सञ्चालक समिति, शिक्षा कार्यालयको निर्णयमा मन्त्रालय पनि सहमत भएपछि उक्त जग्गा पाइयो ।’
प्रसादका एक जना इन्जिनियर साथी थिए, उदय श्रेष्ठ । उनले कल्पनाको भवन नक्सामा उतार्न र निर्माण खर्च अनुमान गर्न उदयलाई जिम्मा लगाए । उनका अनुसार त्यो भवन बनाउन कम्तीमा २ लाख ६२ हजार रुपैयाँ खर्च लाग्ने प्रारम्भिक हिसाब निस्कियो । तर, संस्थाको कोषमा त्यसबेला ६ हजार रुपैयाँ मात्रै थियो । प्रसादका अनुसार उत्साही युवाहरूले कला मन्दिर बनाउन सुरु गर्ने बेलामा काठमाडौंमा माधवप्रसाद घिमिरेको गीति नाटक ‘मालती मंगले’ मञ्चन भएर ख्याति कमाएको थियो । मालती मंगलेको टिमले कला मन्दिरको निर्माण सकिए आफूहरूले त्यहीं आएर नाटक मञ्चन गर्ने भनेपछि प्रसादसहितका साथीहरू कस्सिएको ऋद्धिचरणले सुनाए । ‘मालती मंगलेको टोली आउने कुरा गर्दा हामीले कुर्सीसमेत राख्न भ्याएका थिएनौं,’ उनले भने, ‘टाँडीमा ज्योति हल बन्दै थियो । त्यसैका कुर्सी ल्याएर कार्यक्रम सम्पन्न गर्यौं ।’
त्यो बेला भीडभाडका साथ ‘मालती मंगले’ १७ दिनसम्म १९ शो चलेको उनले सुनाए । मालती मंगलेपछि कला मन्दिरले सुस्ताउने समय पाएन । त्यसलगत्तै हास्यव्यंग्य क्षेत्रमा उचाइ बनाइरहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह जोडी’ आएर ‘विज्ञापन’ प्रहसन गर्यो । देखाए । मह जोडीले ९ दिनसम्म प्रहसन मात्रै देखाएन, कला मन्दिरको स्टेजमा मखमली पर्दा पनि फेरिदियो ।
कदरपत्र देखाउँदै ऋद्धिचरण श्रेष्ठ ।
राजधानी काठमाडौंका रंगकर्मीसँगको संगतले चितवनका रंगकर्मीहरू उत्साहित मात्रै थिएनन्, मोफसलको कला कर्म राजधानीसँग जोडिनसमेत थालेको थियो । कला मन्दिरले सुरु गरेको रंग यात्रामा जोडिएर धेरै कलाकार चितवनबाट उदाए । ऋद्धिचरण ०४० सालमा निजी लगानीमा बनेर व्यावसायिक सफलता पाएको चलचित्र ‘कान्छी’ बाट चरित्र अभिनेतामा उदाए । नाटक लेखक निर्देशकका रूपमा कला मन्दिर छिरेका शिव रेग्मीले एकपछि अर्को सफल चलचित्र पस्किए । अल्पायुमै अस्ताएका रेग्मीको नाम नेपाली सिने जगत्मा सफल निर्देशकका रूपमा सधैं सम्झिइन्छ । मौसमी मल्लदेखि, गणेश उप्रेती, विमल पौडेलजस्ता नेपाली सिने जगत्का चम्किला अनुहारले कला मन्दिरकै आँगनबाट कला यात्रा सुरु गरेका थिए । रेग्मीभन्दा केहीपछि कला मन्दिर पुगेका पुष्प आचार्य अहिले पनि नाटक लेखन, निर्देशन, प्रस्तुति र टेलिफिल्म निर्माण निर्देशनमा सक्रिय छन् ।
०४८ देखि ०५० सम्म कला मन्दिरको नेतृत्वमा रहेका प्रसाद श्रेष्ठ र त्यसलगत्तै दुई वर्ष नेतृत्वमा रहेका भगवानदास श्रेष्ठ सिनेमा निर्माणमा होमिएपछि चितवनको कला यात्राले थप गति लियो । त्यतिबेला कला मन्दिरले नृत्यमा निपुण बनाउने अभियान नै चलाएको पूर्वअध्यक्ष गायत्री श्रेष्ठ सम्झिन्छन् । चितवनतिर छायांकन हुने धेरैजसो चलचित्रमा नृत्य कलाकार अक्सर कला मन्दिरका उत्पादन हुन्थे । गीत लेखनमा राम्रो दक्खल भएका साहित्यकार प्रेमविनोद नन्दनको जोस र जाँगरले कला मन्दिरको सिर्जनात्मक पाटोलाई सहयोग पुर्यायो । भगवानदासको पालामा कला मन्दिरको टोली सांस्कृतिक कार्यक्रम देखाउन बेलायतसम्म पुगेको थियो ।
पछिल्लो एक दशकयता कला मन्दिरमा चहलपहल र चमक कम हुँदै गएको नेपाली आधुनिक गीत संगीत र सिनेमा निर्माण क्षेत्रका परिचित प्रसाद श्रेष्ठ र कला मन्दिरका पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठले सुनाए । ‘लगभग सुनसानजस्तै छ,’ कला मन्दिरको प्रांगणमा भेटिएका उनीहरूले एकै स्वरमा भने, ‘वार्षिक कार्यक्रम पूर्णिमा साँझ, जुनेली रातका साथै वर्षका केही जात्रा र सांस्कृतिक कार्यक्रम आयोजना गर्नेबाहेक कला मन्दिरमा अहिले खासै केही भइरहेको छैन ।’ चलचित्र निर्माताको विगत बनाएका प्रसादका अनुसार कला मन्दिर एक समय सम्पर्कको एउटा ठूलो मञ्च भए पनि अहिले त्यो सबै मीठो विगत मात्रै भएको छ ।
कला मन्दिरका वर्तमान अध्यक्ष सुविर श्रेष्ठ पहिलाको जस्तो लगाव र भिजन भएकाहरू कला मन्दिरले पाउन गाह्रो भएको यथार्थ सुनाउँछन् । ‘पहिला त मनोरञ्जनको माध्यम यही कला मन्दिरमा मात्र थियो,’ उनले भने, ‘अहिले त टिकटक, युट्युबबाटै संसारभर पुग्न सकिन्छ ।’ नियमित बजेट र आर्थिक स्रोत नभएको एवं समग्र कला क्षेत्र नै अहिले उपेक्षामा परेको उनले सुनाए । ‘कार्यक्रम गर्दा पनि सहयोग जुटाउनुपर्ने हुँदा साथीहरू दिक्क भएझैं लाग्छ,’ उनले भने ।
नाटक लेखन र निर्देशनमा सक्रिय पुष्प आचार्य ०४८ सालदेखि नै कला मन्दिरमा आबद्ध छन् । कला मन्दिरका लागि ०४९ मा उनले पहिलो पटक निर्देशन गरेको नाटक ‘छर्किदेऊ सिन्दूर लासमाथि’ मञ्चन भएको थियो । नाटककार आचार्य पूर्ण लगन र समर्पणका साथ जसले कला मन्दिरलाई साथ दिए ती चम्केको बताउँछन् । ‘अहिले यस्तो लगाव छैन । लगाव कम भएपछि प्रस्तुति पनि राम्रो हुने कुरै भएन,’ उनले भने, ‘राम्रो प्रस्तुति नहुँदा कलाकार र सर्जक पछाडि पर्छन् । कला मन्दिरको अहिलेको अवस्था यही हो ।’ कला मन्दिरलाई गीत–संगीत अध्ययन हुने महाविद्यालय बनाउने योजना यसका संस्थापकसँग भए पनि त्यो अधुरै रहेको आचार्यले बताए ।
ऋद्धिचरण पनि कला मन्दिरको गौरवपूर्ण इतिहास सम्झिँदा जति उत्साहित सुनिन्छन्, यसको अहिलेको अवस्था देख्दा उत्तिकै निराश पनि छन् । ‘४० को दशकपछि कला मन्दिरले लिएको गति अहिलेसम्म कायम हुन्थ्यो भने यसको ख्याति अन्तर्राष्ट्रिय तहसम्म पुग्थ्यो,’ उनले भने, ‘तर, त्यो सपना अपूरै रह्यो ।’ कला मन्दिरका पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठ पनि आफूले गर्न खोजेका धेरै काम अधुरै रहेको बताउँछन् ।
भव्य सभा हलसहितको बहुउद्देश्यीय भवन बनाउने, पाठ्यक्रम बनाएर कक्षा चलाउनेजस्ता योजना पूरा गर्न सफल नभएको उनले बताए । बजेटको समस्या छ । राम्रो आयस्रोत छैन,’ उनले भने, ‘अन्यसँग सहयोग लिन खोज्दा नीतिगत अड्चन आउँदो रहेछ । सर्त मानेर सहयोग लिँदा हाम्रै पहिचान र इतिहास हराउला भन्ने डर भयो ।’
