कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नागरिक भन्छन्- ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’ : सर्भे

‘आँगन खनेर कोइला निकालेमा निको हुन्छ’ भन्‍ने पनि भेटिए
सरकारको प्रयासबाट सन्तुष्ट छु भन्‍ने धेरै

काठमाडौँ — नेपाली नागरिकहरुले कोरोना भाइरस(कोभिड–१९) संक्रमणले निम्त्याएको जटिल अवस्था सामान्य नभएसम्मका लागि लकडाउनलाई निरन्तरता दिए राम्रो हुने बताएका छन् । शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धित विषयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागी अधिकाशंले स्थिति सामान्य नहुञ्जेलसम्मका लागि लकडाउन गरेकै राम्रो हुने विचार व्यक्त गरेका हुन् । 

नागरिक भन्छन्- ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’ : सर्भे

शेयरकास्ट इनिसियटिभ नेपालका लागि मधु आचार्य, भूमिराज चापागाईं र रमेशप्रसाद अधिकारीले गरेको सर्वेक्षणमा सहभागीमध्ये ६८.२ प्रतिशतले अवस्था सामान्य नहुँदासम्मका लागि लकडाउन गरेकै राम्रो हुने बताएका हुन् । त्यस्तै ५.९ प्रतिशतले भने अझै एक हप्ता लकडाउनको अवधि बढाउँदा राम्रो हुने बताएका छन् । सरकारले दोस्रो पटक लकडाउनको अवधि बढाउँदै वैशाख ३ सम्म पुऱ्याएको छ । त्यस्तै सर्वेक्षणमा अझै २ हप्ता लकडाउन गर्नुपर्छ भन्नेहरु ५.९ प्रतिशत रहेका छन् भने ३ हप्ता र ४ हप्त गर्नुपर्छ भन्नेको संख्या क्रमश: १.७ प्रतिशत र १.६ प्रतिशत रहेको छ ।

त्यस्तै केहीले भने सरकारले लकडाउनको विकल्प सोच्नुपर्ने बताएका छन् । लकडाउनको साटो व्यापक रुपमा स्वास्थ्य परीक्षण र उपचारमा जोड दिनुपर्छ भन्नेहरुको संख्या ५.२ प्रतिशत रहेको छ । त्यस्तै यसबारेमा थाहा नहुने र भन्न नचाहनेको संख्या पनि ११.३ प्रतिशत रहेको छ ।

लकडाउनअघि खाद्यान्न र तरकारी किन्ने धेरै

त्यस्तै सर्वेक्षणमा सोधिएको अर्को प्रश्न ‘लकडाउन सुरु हुनुभन्दा अघि तपाईंले आफ्नो घरपरिवारका लागि आवश्यक के–के सामग्री किन्नु भएको थियो ?’ भन्ने प्रश्नमा अधिकांशले खाद्यान्न र तरकारीको जोहो गरेको बताएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ५३ प्रतिशतले लकडाउन सुरु हुनुभन्दा अघि खाद्यान्न र तरकारी किनेको बताएका छन् । सरकारले पूर्वतयारीको समय नदिएकाले पनि हुन सक्छ झन्डै आधाले भने ‘खासै तयारी केही गरिएन’ भन्ने जवाफ दिएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये ४३.६ प्रतिशतले लकडाउनअघि खासै तयारी नगरेको बताएका छन् । त्यस्तै १७ प्रतिशतले लकडाउनअघि मास्क किनेको बताउँदा एक प्रतिशतले पञ्जा किनेको उल्लेख गरेका छन् । लकडाउनअघि औषधि(प्राथमिक औषधि) किन्नेहरुको संख्या ७.६ प्रतिशत रहेको छ भने स्यानिटाइजरको जोहो गर्नेको संख्या ७.१ प्रतिशत रहेको छ । त्यस्तै लकडाउनअघि ग्याँसको जोहो गऱ्यौं भन्नेको संख्या पनि १६.९ प्रतिशत रहेको छ । सर्वेक्षणमा सहभागीमध्ये २३.५ प्रतिशतले लकडाउनअघि साबुन किनेको बताएका छन् ।

कोरोना भाइरसबाट बच्न मास्क लगाउनुपर्छ भन्ने धेरै

सर्वेक्षणमा कोरोना भाइरसबाट आफू र परिवारका सदस्यलाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा थाहा छ भन्नेहरु ९८.६ प्रतिशत रहेका छन् । यसमा थाहा छैन भन्ने नगण्य १.४ प्रतिशत मात्रै रहेका छन् । तर कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ भन्नेहरुको संख्या भने अत्यधिक रहेको छ ।

सर्वेक्षणमा सहभागी ७५.१ प्रतिशतले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ भनेका छन् । त्यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्छ भन्ने पनि ९० प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । त्यस्तै हाछ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु वा कुहिनाले नाकमुख छोप्नुपर्छ भन्नेको संख्या ३० प्रतिशत रहेको छ । त्यस्तै भीडभाडबाट टाढा रहुनपर्छ भन्नेहरु ८६.३ प्रतिशत रहेका छन् ।

कोरोना भाइरसले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी असर गर्छ भन्ने चिकित्सकहरुको भनाइका कारणले पनि होला सर्वेक्षणमा सहभागीमध्ये १६.९ प्रतिशतले पोषिलो खानेकुरा खानुपर्छ भनेका छन् । अहिलेसम्म घरपालुवा जनावरबाट कोरोना संक्रमणको पुष्टि भएको छ । तर सर्वेक्षणमा सहभागीमध्ये ४.३ प्रतिशतले शाकाहारी बन्दा वा मासु नखाँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सम्भावना रहेको बताएका छन् । त्यस्तै बिरामी, रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहनुपर्छ भन्नेहरु २२.१ प्रतिशत रहेको सर्वेक्षणले देदाएको छ ।

‘कोरोना भाइरस संक्रमणको डर धेरै छ’

सर्वेक्षणमा सोधिएको अर्को महत्वपूर्ण प्रश्न ‘के तपाईंलाई आफू वा आफ्नो परिवारका सदस्यहरु कोरोना भाइरसको महामारीमा परिन्छ कि भन्ने डर लागेको छ ?’ भनेर सोधिएको थियो । यस प्रश्नमा ‘डर लागेको छ’ भन्नेहरु ६४.४ प्रतिशत रहेका छन् । त्यस्तै ३५.६ प्रतिशतले ‘डर लागेको छैन’ भन्ने उत्तर दिएका छन् । यो प्रश्नकै पूरक प्रश्नका रुपमा ‘तपाईंलाई किन डर लागेको होला ?’ भनेर सोधिएको थियो । धेरैले खुला सिमाना भएकाले कोरोना संक्रमणको उच्च जोखिम रहेको उल्लेख गर्दै आफूलाई डर लागेको बताएका छन् । २८.१ प्रतिशतले खुला सिमाना भएको र यसले संक्रमण निम्त्याउन सक्ने उल्लेख गर्दै आफूलाई डर लागेको बताएका हुन् ।

त्यस्तै ‘विदेशबाट फर्केकाहरुको कोरोना परीक्षण नभएकाले गर्दा’ आफूलाई डर लागेको बताउनेहरु २८ प्रतिशत रहेका छन् । त्यस्तै आफ्नो घर समुदायमा विदेशबाट आउनेहरु धेरै भएकाले पनि डर लागेको बताउनेहरु २१.७ प्रतिशत रहेका छन् । स्वास्थ्य परीक्षण र उपचारको सुविधा नभएकाले डर लागेको बताउनेहरु २४.३ प्रतिशत छन् भने कोरोना भाइरसको संक्रमणबाट बच्ने पर्याप्त जानकारी नभएकाले डर लागेको बताउने १४.८ प्रतिशत छन् ।

त्यस्तै साबुन, मास्क र स्यानिटाइजर किन्न आफूसँग पैसा नभएकाले पनि संक्रमणको डर लागेको बताउने १०.२ प्रतिशत रहेका छन् । त्यस्तै ‘मलाई यसबारेमा केही पनि थाहा छैन, त्यसैले लागिहाल्छ कि भन्ने डर लाग्छ’ भन्नेहरु ५ प्रतिशत रहँदा ‘थाहा छैन’ भन्नेहरुले १२.२ प्रतिशत छन् ।

रेडियो सबैभन्दा बढी प्रभावकारी

कोरोना भाइरसको प्रभावसँगै अधिकांश छापामाध्यम बन्द भएका छन् । अहिले रेडियो, अनलाइन र टेलिभिजनबाट नै नियमित रुपमा समाचार प्रकाशन तथा प्रसारण भइरहेको छ । सर्भेले देखाएको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणका बारेमा सबैभन्दा प्रभावकारी ढंगले सूचना सम्प्रेषण रेडियोले गरेका छन् । सर्वेक्षणमा सहभागीमध्ये ६७.३ प्रतिशतले रेडियोबाट नियमित रुपमा सूचना तथा जानकारी पाएको बताएका छन् ।

त्यस्तै ६२.७ प्रतिशतले आफूले प्राप्त गर्ने सूचनाको प्रमुख माध्यम टेलिभिजन बताउँदा ०.७ प्रतिशतले मात्रै पत्रपत्रिकाबाट सूचना पाएको बताएका छन् । पछिल्लो समय नेपालमा अनलाइन न्युज पोर्टलहरुको संख्या बढे पनि सर्वेक्षणमा सहभागीमध्ये ११.६ प्रतिशतले मात्रै अनलाइनलाई आफ्नो सूचना प्राप्त गर्ने माध्यमका रुपमा लिएको पाइएको छ । त्यस्तै फेसबुकबाट नियमित रुपमा जानकारी पाइरहेको छु भन्ने २५.९ प्रतिशत छन् भने ट्विटरबाट ०.७ प्रतिशत मात्रै । त्यस्तै साथीभाइ र परिवारका सदस्यबाट थाहा पाएको छु भन्नेहरु क्रमश: १९.६ प्रतिशत र ११.४ प्रतिशत रहेका छन् ।

‘आँगन खनेर कोइला निकालेमा निको हुन्छ’

कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा पनि विभिन्न अफवाहहरु फैलिएको थियो । कसैले प्राथना गरेमा निको हुन्छ त कसैले बेसार पानी खाएमा निको हुनेसमेतका अफवाह फैलाएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागको छैन । यसबाट निको हुने भनेको अहिलेसम्म आफ्नो रोग प्रतिरोधात्मक क्षमता नै हो । तर सवेक्षणमा सोधिएको ‘तपाईंले कोरोना भाइरसको महामारीका बारेमा घर, छिमेक तथा समुदायमा के कस्ता कुरा सुन्नु भएको छ ?’ भन्ने प्रश्नमा केही उत्तर हाँसोउठ्दा पनि छन् ।

बहुउत्तर शैलीमा सोधिएको यस प्रश्नमा ७.८ प्रतिशतले ‘आँगन खनेर कोइला निकालेमा निको हुन्छ’ भन्ने कुरा छरछिमेक तथा समुदायमा सुनेको बताएका छन् । त्यस्तै भगवानको पूजा गरेमा निको हुन्छ भन्नेको संख्या ३.७ प्रतिशत रहेको छ भने येशुको प्रार्थना गरे निको हुन्छ भन्नेहरु ७.८ प्रतिशत रहेका छन् ।

तर यस प्रश्नमा घरभित्रै बस्नुपर्छ र साबुनपानीले बारम्बार हात धुनुपर्छ भन्ने सुनेको बताउने नै धेरै छन् । ४५.२ प्रतिशतले कोरोना महामारीबाट बच्न घरभित्रै बस्नुपर्छ भन्ने सुनेको बताएका छन् । त्यस्तै ४५ प्रतिशतले भने साबुनपानीले बारम्बार हात धुनुपर्छ भन्ने कुरा छरछिमेक तथा समुदायमा सुनेको बताएका छन् ।

सरकारको प्रयासबाट सन्तुष्ट छु भन्ने धेरै

त्यस्तै ‘कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले हाल गरिरहेको प्रयासबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?’ भन्ने प्रश्नमा ६२.८ प्रतिशतले ‘सन्तुष्ट छु’ जवाफ दिएका छन् । त्यस्तै १४.२ प्रतिशतले ‘न सन्तुष्ट, न असन्तुष्ट’ भन्ने उत्तर दिएका छन् । त्यस्तै ९.४ प्रतिशतले ९.४ प्रतिशतले ‘असन्तुष्ट छु’ भन्ने जवाफ दिँदा ८.६ प्रतिशतले भने ‘एकदमै सन्तुष्ट छु’ भन्ने उत्तर दिएका छन् ।

लकडाउनको पालना कति ?

सर्वेक्षणमा सोधिएको ‘तपाईंको घर वरिपरि सरकारले घोषणा गरेको बन्दाबन्दी वा लकडाउनको कत्तिको पालना भएको छ ?’ भन्ने प्रश्नमा ‘पूर्ण रुपमा पालना भएको छ’ भन्ने ५९ प्रतिशतले जवाफ उत्तर दिएका छन् । त्यस्तै आंशिक रुपमा पालना भएको छ भन्नेहरु ३८.८ प्रतिशत छन् । त्यस्तै १.८ प्रतिशतले कत्ति पालना भएको छैन भन्ने जवाफ दिएका छन् भने ०.४ प्रतिशतले थाहा छैन वा भन्न चाहन्न जवाफ दिएका छन् ।


निष्कर्ष

शेयरकास्ट इनिसियटिभ नेपालले सर्वेक्षणका क्रममा विभिन्न १३ वटा प्रश्न सोधेको थियो । सर्वेक्षणमा सहभागीले दिएका उत्तरको आधारमा अधिकांश नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण कसरी हुन्छ र यसबाट कसरी जोगिने भन्ने कुरा थाहा भएको शेयरकास्टले निष्कर्ष निकालेको छ । त्यस्तै अधिकांशलाई कोरोना भाइरसको लक्षणका बारेमा थाहा भएको र केहीमा मात्रै यससम्बन्धी भ्रम रहेको पनि सर्भेले देखाएको छ । त्यस्तै धेरैले खुला सिमाना र विदेशबाट फर्किएका व्यक्ति आफ्नो समुदायमा धेरै भएको र उनीहरु क्वारेन्टाइनमा नबसेका कारण आफूहरुलाई डर लागेको बताएका छन् ।

कसरी भएको थियो सर्वेक्षण ?

शेयरकास्ट इनिसियटिभ नेपालले यही चैत २२ २३, २४ गते एक हजार एक सय १० जनासँग प्रत्यक्ष टेलिफोन अन्तर्वार्ता गरी तथ्यांक संकलन गरेको जनाएको छ । तथ्यांक संकलनमा तालिमप्राप्त १२ जना गणक सहभागी भएको पनि उसले जनाएको छ ।

सर्वेक्षणमा प्रदेश एकबाट १८५, प्रदेश २ बाट २०१, वाग्मती प्रदेशबाट २६९, गण्डकी प्रदेशबाट ९९, प्रदेश ५ बाट १९१, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ९७ जना सहभागी भएका थिए । उत्तरदातामध्ये ५०‍.४ प्रतिशत पुरुष रहेका थिए भने ४९.६ प्रतिशत महिला थिए ।

शेयरकास्ट इनिसियटिभ नेपालले गरेको सर्भे हेर्नुहाेस्

प्रकाशित : चैत्र २६, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?