बालेन शाहसँगको पुरानो मित्रता र सहकार्यलाई निरन्तरता दिँदै, आसिफ शाहले राजनीतिमा नयाँ ऊर्जा र कलाको आवाज सँगै ल्याएका छन्।
What you should know
काठमाडौँ — आसिफ शाहको सार्वजनिक परिचय टेलिभिजन प्रस्तोता, गायक र कलाकारका रूपमा थियो। यिनै आसिफ अहिले राजनीतिक यात्रामा होमिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा शाहको नाम मुस्लिम पुरुष क्लस्टरको पहिलो नम्बरमा परेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ कदम चालेसँगै आफूलाई पनि राजनीतिमा आउनुपर्ने महसुस भएको आसिफ बताउँछन्। बालेनलाई मेयरमा उठ्न सघाउनेदेखि रवि लामिछाने र कुलमान घिसिङसँगको समझदारीसम्ममा सक्रिय भूमिका खेलेका आसिफ, बालेनको यहाँसम्मको यात्राका सारथीमध्ये एक मानिन्छन्।
'मेयर सापले संसदीय राजनीतिमा आउने विचार बनाइसकेपछि पनि म उहाँसँगै थिएँ। त्यतिबेला रास्वपासँग जाने, कसरी जाने भन्ने खाका बनेको थिएन। जब रास्वपासँग जाने भन्ने कुरा उठ्यो, तब हामीले दुई जनाबीच सहजकर्ताको भूमिकामा वार्ता गरायौँ,' आसिफले भने, 'पछि कुलमान सर पनि जोडिनुभयो। त्यसपछि एउटा त्रिशक्ति नै बन्यो।'
मेयरकै कारण आफ्नो नाम समानुपातिक सूचीमा सिफारिस भएको कुरा आसिफ स्वीकार्छन्। 'त्यो बेलादेखि हामी सँगसँगै हिँड्ने सारथीझैँ भयौँ। सँगै हिँडेकै कारण उहाँले ‘तपाईंहरूलाई पछि पनि चाहिन्छ’ भन्नुभयो। यसरी समानुपातिकमा बस्ने विषयमा आपसी सल्लाह भएपछि मेरो नाम अनुमोदन गरेर पठाइयो,' आसिफले भने।
जेन–जी आन्दोलनपछि राजनीतिलाई हेर्ने युवाको दृष्टिकोण फरक भएको आसिफको बुझाइ छ। युवाको आकर्षण राजनीतितर्फ बढिरहेको वर्तमान परिस्थितिमा सकारात्मक काम गर्न सकिन्छ भन्ने सोचकै कारण आफू राजनीतिमा आएको उनी बताउँछन्।
रास्वपा नेता असिम शाह र आसिफ दाजुभाइ भएकाले पनि राजनीतिबारे बुझ्न उनलाई सहज भएको थियो। सरकारमा पुगेपछि असिमले जस्तै आफूले पनि कला क्षेत्रका विभिन्न समस्याका मुद्दा उठाउने चाहना रहेको आसिफ बताउँछन्। मुस्लिम समुदायका समस्याको समाधान खोज्न पनि भूमिका खेल्ने उनको भनाइ छ। कला र मुस्लिम समुदायका मुद्दा सहायक भए पनि मूल केन्द्रमा देश विकास नै आफ्नो प्राथमिकता रहने उनी स्पष्ट पार्छन्।
'भ्रष्टाचाररहित समाज, बिचौलियातन्त्रको अन्त्य मात्र होइन, सबै नकारात्मक शक्तिको अन्त्य हामी चाहन्छौँ। अहिले देशकै नजर पनि यही टिमले देशलाई राम्रोसँग अघि बढाउँछ भन्नेमा छ। यस्तो टिमसँग जोडिँदा मेरो ऊर्जा पनि सयगुणा बढेको छ,' आसिफले सुनाए।
द भ्वाइस अफ नेपाल’ का प्रस्तोतासमेत रहेका आसिफ कला र राजनीतिलाई सँगसँगै अघि बढाउन चाहन्छन् ।आसिफ र बालेनको सम्बन्ध पहिलेदेखिकै हो। आसिफ पनि र्याप ब्यान्ड ‘द युनिटी’मा आबद्ध थिए, जसले दुवैलाई एउटै क्षेत्रमा जोड्यो। त्यति मात्र होइन, आसिफ र असिमको ‘जी–२१ डिजिटल’ले निरन्तर गीत–संगीत निर्माण गर्दै आएको छ। बालेनले मेयरमा उम्मेदवारी घोषणा गरेदेखि नै आसिफले सहयोग गरेका थिए र आफ्नो समुदायमा बालेनका लागि भोट पनि मागेका थिए।
आसिफको दाबी छ, मेयर बन्दा बालेनले काठमाडौंका करिब सतप्रतिशत मुस्लिम समुदायको मत प्राप्त गरेका थिए। 'उहाँलाई मेयर जिताउन काठमाडौंका करिब सबै मुस्लिमले भोट गरेका हुन्,' उनी भन्छन्।
बालेन मेयरमा विजयी भएपछि आसिफले भनेका थिए—जित मात्र सफलता होइन, यहीँबाट परीक्षा सुरु हुन्छ। त्यसपछि मेयरले गरेका काम, समूहलाई व्यवस्थापन गरेर अघि बढाउने कार्यकौशलले आफूलाई उनको टिममा बसेर काम गर्ने प्रेरणा दिएको आसिफ बताउँछन्।
'युद्धमा जाँदा ‘ब्याटल टेस्ट’ भन्छन् नि, त्यसको तयारी मेयर सापले महानगरपालिकामै गर्नुभयो। उहाँले आफ्नो कौशलता त्यहीँ प्रमाणित गर्नुभयो—समूह कसरी व्यवस्थापन गर्ने, परिचालन गर्ने, समस्या आए समाधान कसरी गर्ने भन्ने सबै अभ्यास गरिसक्नुभएको छ,' उनले भने, 'अहिलेको अवस्थामा नयाँ पुस्तामा उहाँ जत्तिकै दक्ष व्यक्ति कमै छन्। सुरुबाटै यो यात्रामा सँगै हिँडेकाले अबको यात्रामा पनि सँगै हिँड्ने मेरो चाहना हो। सँगै हिँडेर देशका लागि, आफ्नै समुदायका लागि र कला क्षेत्रका लागि केही गर्न सकेँ भने मेरो जीवन सफल हुनेछ।'
‘द भ्वाइस अफ नेपाल’ का प्रस्तोतासमेत रहेका आसिफ कला र राजनीतिलाई सँगसँगै अघि बढाउन चाहन्छन् । राजनीतिलाई पेसा बनाउने होइन भन्ने नै उनको मूल मन्त्र हो। राजनीतिसँगै व्यक्ति आफ्नो पेसामा पनि सक्रिय हुनुपर्छ भन्ने उनको धारणा छ।
आसिफ संलग्न प्रोडक्सन कम्पनी ‘जी–२१’ ले यसअघि ‘२ रुपैयाँ’ फिल्म निर्माण गरेको थियो, जसमा निश्चल बस्नेतको निर्देशनमा आसिफले अभिनय गरेका थिए। आसिफको अभिनय रहेको फिल्म ‘जन्ते बाख्रो’ गत जेठमा प्रदर्शनमा आएको थियो। उनले थुप्रै गीतहरूमा समेत अभिनय गरिसकेका छन्।
सम्बन्धित अन्य समाचार
