पलेंटीमा नयाँ पुस्ताको प्रस्तुति

कोभिडले अवरुद्ध सांगीतिक कार्यक्रम पलेंटी करिब ६ वर्षपछि सुरु भएको हो, नयाँ पुस्ताका प्रतिभा अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले दिवंगत संगीतकर्मीलाई श्रद्धाञ्जलीस्वरूप २ घण्टाको सांगीतिक प्रस्तुति दिएर यो शृंखला पुनः आरम्भ भएको छ

माघ २१, २०८१

रीना मोक्तान

Introducing a new generation in Palanti

काठमाडौँ — नेपालयले सञ्चालन गर्दै आएको पलेंटी शृंखला फेरि सुरु भएको छ । यसअघि कोभिडले अवरुद्ध यो सांगीतिक कार्यक्रम करिब ६ वर्षपछि सुरु भएको हो । नयाँ पुस्ताका प्रतिभाका प्रस्तुतिसँगै पलेंटी को नयाँ शृंखला आएको गायक, संगीतकार तथा पलेंटी संयोजक आभासले बताए ।

काठमाडौंको कालिकास्थानस्थित नेपालयको कार्यालयमा भएको ‘आर कार्यशाला’मा अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीको २ घण्टाको सांगीतिक प्रस्तुति दिएका थिए । अभिज्ञा र बेनुपले यसअघि पलेंटीमा प्रस्तुति दिइसकेका दिवंगत गायक/गायिकाको श्रद्धाञ्जलीस्वरूप प्रस्तुति दिएका हुन् ।

फत्तेमान राजभण्डारी, कुमार सुब्बा, प्रेमध्वज, भीम विराग, अमर गुरुङ, योगेश वैद्य, राममान तृषित, माधवप्रसाद घिमिरे, मीरा थापा, विनोद स्याङ्देनलगायतलाई उनीहरूले आफ्ना प्रस्तुतिमार्फत श्रद्धाञ्जली दिए । 

पलेंटी शृंखलामा यसअघि ५६ गायक, गायिकाले सांगीतिक प्रस्तुति दिइसकेका छन् । पलेंटीसँग आबद्ध भएर दिवंगत भएका ११ जना गायक, गायिका र संगीतकारको सम्झना गर्दै ‘फूल’ शीर्षकमा प्रस्तुति भएका थिए । 

हुन त यसबीच पनि पलेंटी शृंखला छिटपुट भइरहेकै थियो । तर, अब भने अंग्रेजी महिनाको अन्तिम शुक्रबार शृंखला गर्ने लक्ष्य राखिएको छ । ‘शुक्रबार र शनिबारको कार्यक्रममा हाम्रा लगातार आइरहने दर्शकलाई निम्तो गरेर कार्यक्रम गर्‍यौं । अब भने टिकट सो हुन्छ,’ आभासले भने, ‘यो कार्यक्रम विशेष त पलेंटीमा आबद्ध दिवंगत हुनुभएका कलाकारलाई सम्झेर गरेका हौं’ । कार्यक्रम २० औं वर्षमा टेकेसँगै अबदेखि हरेक महिना यो शृंखला गर्ने आयोजक संस्था नेपालयको लक्ष्य छ । 

शुक्रबार र शनिबारको प्रस्तुतिमा अधिकांश गीत फूलसँग सम्बन्धित थिए । फूलमाथि आभासले निबन्ध पनि लेखेका थिए । त्यही निबन्धको वाचनसँगै प्रस्तुति गरिएको थियो । गीति निबन्ध शैलीमा आफूहरूले यो पटक पलेंटी सुरु गरेको आभास सुनाउँछन् । निबन्ध तिनै दिवंगत कलाकारसम्बन्धी थियो । शनिबार र शुक्रबारको कार्यक्रममा ९० भन्दा बढी दर्शक उपस्थित थिए । पलेंटीको यो शृंखला ‘आर शाला’मा आयोजित थियो । त्यही हलमा अबदेखि पलेंटी आयोजना हुनेछ । 

नेपाली आधुनिक संगीतलाई पलेंटीले आफ्नो विधा बनाउँदै आएको छ । सन् २००५ मा स्थापना हुँदा आभासले यो प्लेटफर्म आफ्ना लागि खोलेका थिए । २००५ मा वर्षभरि आभासले आफ्नो मात्रै प्रस्तुति दिएका थिए । सन् २००६ देखि भने नेपाल बाहिर र भित्रका पुराना कलाकारका लागि पलेंटी प्लेटफर्म बन्यो । जहाँ कुनै बेला गीत गाएर चर्चा कमाइसकेका तर छायामा परेका पुराना कलाकारलाई पलेंटीले मञ्च दिँदै आएको हो ।

 ‘नेपाली आधुनिक संगीत हामीले पहिल्यैदेखि सुन्दै आएको विधा हो । यो संगीत मौलिक र सिर्जनशील रचना हो । यसमा साहित्य र संगीत पनि हुने भयो । म त्यही विधामा लागिरहेको हुनाले एक्लैले यो अभियान चल्दैन भन्ने लागेपछि नेपालयसँग मिलेर शृंखला सुरु गरेका हौं,’ आभास पलेंटी स्थापना गर्दाको क्षण सम्झन्छन् । 

नेपालयसँग मिलेर पलेंटी सुरु गर्दा सुरुवातमा फत्तेमानले प्रस्तुति दिएका थिए । त्यतिबेला आभास पनि बाहिरका मञ्चमा कमै निस्कन्थे, साधनामै लिप्त हुन्थे । त्यतिबेला नेपालयले नै यसरी पुराना कलाकारलाई मञ्च दिने आइडिया सुझाएसँगै पलेंटी सुरु भयो । यी पुराना कलाकारलाई पलेंटीमा संयोजन गर्ने जिम्मेवारी भने आभासले पूरा गरेका हुन् । 

‘नेपालको आधुनिक संगीतमा मञ्चमा गाउने खासै चलन थिएन । तर, पलेंटीमा उहाँहरूले सोलो प्रस्तुति दिन पाउनुभयो । उहाँहरूलाई सुरुमा त्यसका लागि मनाउन गाह्रो पर्‍यो । तर, बिस्तारै कलाकार आफैं पनि तयार हुनुभयो,’ आभासले भने । अब भने नयाँ पुस्तालाई पुरानो पुस्तासँग जोड्ने उद्देश्यले अवसर दिइने आभास सुनाउँछन् ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully