महोत्सवमा थारू परिकार : प्रचारसँगै आम्दानी

माघ २१, २०८१

कान्तिपुर संवाददाता

Tharu Dishes at Festivals: Income with publicity

कञ्चनपुर — थारू पहिरनमा सजिएकी २२ वर्षीया लक्ष्मी चौधरी ग्राहकलाई आफ्ना परम्परागत परिकारबारे बताइरहेकी छन् । घोंगी, ढिकरी, गंगटा, सुँगुरको मासु, सिद्रा र स्थानीय जातका कुखुराका विभिन्न परिकार उनले राखेकी छन् । ग्राहकको मागअनुसार परिकार दिन उनलाई भ्याइनभ्याइ छ ।

महेन्द्रनगरको खुलामञ्चमा चलिरहेको महोत्सवमा उनको परिवारले थारू समुदायको परिकारको स्टल राखेको हो । ८ कक्षा मात्रै पढेकी उनी आफ्नो व्यवसायमा भने पोख्त छिन् ।

कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगरकी लक्ष्मी यसरी महोत्सवमा जान थालेको चार/पाँच वर्ष भयो । दाङदेखि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा थारू परिकारको स्टल राख्दै आएकी छन् । मेला–महोत्सवमा थारू परिकारप्रति आकर्षण देखिन्छ । एउटा महोत्सवबाट एक/डेढ लाखसम्म बचत हुने लक्ष्मी बताउँछिन् । ‘जहाँ जहाँ मेला लाग्छ, त्यहाँ पुगिहाल्छौं,’ उनले भनिन्, ‘हाम्रा लागि आम्दानीको स्रोत यही हो ।’

कैलालीकै जोशीपुर–६ सिमरीका अनुराज चौधरीको पनि हिउँद मेला महोत्सवमै बित्छ । ‘आफ्नो समुदायका परिकारको प्रचारप्रसारसँगै आम्दानी पनि भइरहेको छ, यसमै सन्तुष्ट छु,’ उनले भने । उनले ५ वर्षदेखि विभिन्न जिल्लामा सञ्चालन हुने मेला महोत्सवमा स्टल राख्दै आएका छन् । अनुराजले एक सिजनमा यही पेसाबाट चार–पाँच लाखसम्म कमाउँछन् । त्यसैबाट घरपरिवार र बालबालिकाको पढाइको खर्च व्यवस्थापन हुन्छ ।

उनको गाउँका अधिकांश युवा दसैंतिहार सकिएपछि भारतको काला पहाडतिर लाग्छन् । तर उनी भने मेला महोत्सवका लागि चाहिने घोंगी, सिद्रा माछा, सुँगुरलगायत विभिन्न चिजको खोजीमा जुट्छन् । जब मेला महोत्सवको सिजन सुरु हुन्छ, सामान बोकेर दौडिहाल्छन् । सबै जिल्लातिर पालैपालो महोत्सव लाग्दा उनलाई खाली बस्नुपर्दैन । ‘यसपाली पनि चार वटा महोत्सवमा पुगिसके,’ अनुराज भन्छन्, ‘यसपछि एक–दुई वटा अरू भ्याउन सकिन्छ ।’ 

कैलाली बौनियाकी २७ वर्षीया मधु चौधरी पनि चार–पाँच वर्षदेखि मेला महोत्सवमै रमेकी छन् । परिवार मिलेर महोत्सवमा स्टल सञ्चालन गर्छिन् । यसैबाट हुने आम्दानीले घर खर्च चलाउँछिन् ।

‘गाउँमा पनि थारू परिकारको खोजी राम्रै हुन्छ, महोत्सवमा पनि राम्रै बिक्री हुन्छ,’ उनले भनिन्, ‘तर अहिले घोंगी र सिद्रा माछा पाउन गाह्रो भएको छ, यही कारण मागअनुसार पुर्‍याउन सकिँदैन ।’ गाउँ घरमा मात्रै सीमित रहेका थारू परिकारहरू अहिले आम्दानीको स्रोत बन्न थालेका छन् । यसले थारू समुदायका युवायुवतीलाई व्यवसायी समेत बनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully