झन्डै १ अर्ब १० करोड इन्टरनेट प्रयोगकर्ता रहेको चीन आफैंमा पनि मोबाइल एपहरूको ठूलो प्रयोगकर्ता हो । सन् २०२३ मा मात्रै चीनमा १ सय १३ अर्बभन्दा बढी एप डाउनलोड भएका थिए । चिनियाँ एपको बजार झन्डै ५३ अर्ब अमेरिकी डलरभन्दा बढीको भइसकेको छ ।
काठमाडौँ — अहिले चिनियाँ एपहरू सर्वाधिक चर्चामा छन् । दुनियाँको ध्यान नै नयाँ–पुराना चिनियाँ एपहरूले तानिरहेका छन् । ‘डिपसिक’, ‘रेडनोट’, ‘लेमन एट’ जस्ता चिनियाँ एप च्याटजीपीटी, इन्स्टाग्राम, म्यासेन्जर, स्न्यापच्याटजस्ता अमेरिकी एपको विकल्पका रूपमा उदाएका मात्रै छैनन्, सस्तो लागतमा बनेर पनि उत्कृष्ट नतिजा दिन सक्षम भएको भन्दै यी चिनियाँ एपहरूको निकै तारिफ हुन थालेको छ ।
प्रयोगकर्ताहरू पनि चिनियाँ एप्सतर्फ द्रुत गतिमा आकर्षित भइरहेका छन् ।
अर्कातिर टिकटक, क्यापकट, विच्याट, पब्जी, क्यास्क्यानरजस्ता चीनका स्थापित एपहरू पनि विभिन्न देशमा मुद्दा–मामिला, प्रतिबन्ध र फुकुवालगायत कारणले सधैं चर्चामा रहँदै आएका छन् । पछिल्लो समय अमेरिकामा टिकटकको भविष्यलाई लिएर अन्योल कायमै छ । जनवरी १९ मा केही समय बन्द नै भएको यो एप नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प आएपछि ७५ दिनको समयसीमा पाएको छ । यस अवधिमा टिकटकले कि त आफ्नो अमेरिको व्यवसाय गैरचिनियाँ लगानीकर्तालाई बेच्नुपर्छ कि अमेरिकामा सञ्चालन बन्द गर्नुपर्नेछ ।
टिकटक केही समय मात्रै बन्द हुँदा अमेरिकी प्रयोगकर्ताहरू अर्को चिनियाँ एप ‘रेडनोट’ तिर झुम्मिएका थिए । टिकटकको विकल्प खोजिरहेका प्रयोगकर्ताहरूले धमाधम ‘सियाओहङ्सु’ नामक चिनियाँ एप डाउनलोड गर्नुलाई रोचक मानिएको थियो । यही एपलाई उनीहरूले ‘रेड नोट’ भनेर अंग्रेजी नामसमेत दिएका हुन् । सन् २०१३ मा स्थापना भएको यो एप चीनको ठूलो सामाजिक सञ्जाल प्लाटफर्ममध्ये एक हो । यसमा हालसम्म ३० करोड मासिक प्रयोगकर्ता छन् । यसलाई चीनको इन्स्टाग्राम पनि भन्ने गरिएको छ ।
ट्रम्पले बाइटडान्सलाई टिकटकको ५० प्रतिशत अमेरिकी स्वामित्व स्थानीय लगानीकर्तालाई बेच्न र ५० प्रतिशत आफैंसँग राख्न प्रस्ताव गरेका छन् । यो स्वीकार नगरे मार्च दोस्रो साता टिकटक पुनः प्रतिबन्धको संघारमा पुग्नेछ । अहिले सिलिकन भ्यालीका ठूला कम्पनीदेखि अमेरिकी उद्यमीहरू टिकटक किन्न इच्छुक रहेको समाचार आइरहेका छन् । बुधबार मात्रै ट्रम्पले टिकटक खरिद गर्न अमेरिकी टेक जायन्ट माइक्रोसफ्ट नै तयार रहेको बताएका थिए ।
एसोसिएटेड प्रेसका अनुसार अमेरिकी एआई कम्पनी ‘पर्प्लेक्सिटी एआई’ ले पनि हालै मात्र टिकटकलाई आफ्नो अमेरिकी सञ्चालन पर्प्लेक्सिटीमा गाभ्न प्रस्ताव गरेको छ । चर्चित युट्युबर मिस्टर बिस्ट अर्थात् जिम्मी डोनाल्डसनले केही लगानीकर्तासँग मिलेर टिकटक किन्न छलफल अघि बढाइसकेको उनका प्रवक्ता म्याथ्यु हिल्जिकले एपीलाई बताएका छन् ।
विश्वकै धनी इलन मस्कदेखि अमेरिकी उद्यमी र्फ्यांक म्याकर्ट, सार्क ट्यांक अमेरिकाका लगानीकर्ता केभिन ओलियरीलगायत कैयौंले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट गरेका छन् । खरिदकर्ता इच्छुक भए पनि बाइटडान्सले भने टिकटकको सेयर बिक्री गर्न चाहेको छैन । विशेषगरी यसको ‘अल्गोरिदम’ साझा गर्न बाइटडान्स अनिच्छुक देखिएको हो । अमेरिकामा मात्रै टिकटक प्रयोगकर्ताको संख्या १७ करोड छ ।
विश्वभर टिकटक चलाउनेको संख्याचाहिँ करिब २ अर्ब रहेको अनुमान गरिन्छ । अमेरिकामा टिकटकको विवाद मत्थर नहुँदै अर्को चिनियाँ एप ‘डिपसिक’ ले पनि त्यहाँको सेयर बजार र अर्थतन्त्रमै तरंग ल्याइदिएको छ । डिपसिक एआई एसिस्टेन्सको उभारपछि एनभिडिया, मेटाजस्ता अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आयो । ओपेनएआईको च्याटजीपीटी, गुगल र मेटाका नयाँ एआई मोडलभन्दा निकै सस्तो लागतमा निर्माण र सञ्चालन भएको भन्दै यसको प्रचार गरिएको छ ।
तर, अहिले डिपसिकले ओपनएआईकै डेटा अनधिकृत रूपमा प्रयोग गरेर आफ्नो डेटाबेस तयार गरेको आशंकासहित ओपनएआई र यसको साझेदार कम्पनी माइक्रोसफ्टले छानबिन थालेका छन् । माइक्रोसफ्टका अनुसन्धानकर्ताहरूले ओपनएआईको ‘एपीआई’ मार्फत केही समयअघि ठूलो मात्रामा डाटा लिक भएको पत्ता लगाएको दाबी गरेका छन् । यसको सम्बन्ध डिपसिकसँग हुन सक्ने उनीहरूको शंका छ । अमेरिकी अधिकारी डेभिड स्याक्सले पनि डिपसिक ओपनएआईको मोडलमा निर्भर रहेको ‘ठोस प्रमाण’ भेटेको दाबी गरेका छन् ।
भू–राजनीतिक प्रतिस्पर्धासँगै सरकार र व्यवसायीहरूबीच एपहरूलाई लिएर विवाद देखिए पनि प्रयोगकर्ताहरू भने चिनियाँ एपमा रमाएका देखिन्छन् । टिकटक, डिपसिक, सिइनजस्ता एप ‘कुल’ भएको उनीहरूले प्रतिक्रिया दिने गरेका छन् । ब्लुमबर्गका स्तम्भकार टाइलर कोवेनले लेखेका छन्, ‘म टिकटकको सक्रिय प्रयोगकर्ता त होइन तर यसको जस्तो चुम्बकीय क्षमता कुनै पनि अमेरिकी भिडियो सेयरिङ प्लाटफर्मले निर्माण गर्न सकेका छैनन् ।’
टिकटककै प्यारेन्ट कम्पनी बाइटडान्सले बनाएको भिडियो एडिटिङ टुल ‘क्यापकट’ अमेरिकामा मात्रै होइन विश्वभर असाध्यै लोकप्रिय छ । वाल स्ट्रिट जर्नलका अनुसार विश्वभर यसका मासिक सक्रिय प्रयोगकर्ता २० करोड छन् । कल, म्यासेज, ग्रुप च्याटदेखि एपमै डिजिटल पेमेन्ट (भुक्तानी) र फुड डेलिभरीको समेत फिचर भएको ‘विच्याट’ विश्वमै सुपर एपको गतिलो उदाहरण मानिन्छ ।
चिनियाँ एप कतिसम्म चर्चित छन् भने सन् २०२० मै भारतले ५९ वटा चिनियाँ एप बन्द गरेको भए पनि त्यहाँ अहिलेसम्म क्यामस्क्यानरजस्ता एप चलिरहेको बारे प्रविधि क्षेत्रको प्रख्यात साइट ‘रेस्ट अफ द वर्ल्ड’ ले खोजी समाचार सार्वजनिक गरेको छ । भारतको चुनाव आयोगदेखि राजस्व विभाग र अन्य सरकारी एवं संवैधानिक निकायहरूले क्यामस्क्यानर एपबाट सरकारी कागजपत्र स्क्यान गर्ने गरेको पाइएको छ ।
‘एप डाउनलोड गर्न नमिले पनि पहिले नै डाउनलोड भएका मोबाइल फोनबाट क्यामस्क्यानर चलाउन मिलेको रहेछ,’ पत्रकार अनन्या भट्टचार्यले विज्ञलाई उद्धृत गरेर लेखेकी छन्, ‘यो एप अफलाइन पनि चल्ने भएकाले प्रतिबन्धले असर गरेको रहेनछ । गुगल ड्राइभ, आइफोनको क्यामरा एप, एडोबी र माइक्रोसफ्ट लेन्सजस्ता क्यामस्क्यानरका विकल्प भए पनि कतिपय प्रयोगकर्ताहरूले यही एप रुचाएको देखियो ।’
झन्डै १ अर्ब १० करोड इन्टरनेट प्रयोगकर्ता रहेको चीन आफैंमा पनि मोबाइल एपहरूको ठूलो प्रयोगकर्ता हो । सन् २०२३ मा मात्रै चीनमा १ सय १३ अर्बभन्दा बढी एप डाउनलोड भएका थिए । चिनियाँ एपको बजार झन्डै ५३ अर्ब अमेरिकी डलरभन्दा बढीको भइसकेको छ । घरेलु रूपमै यति ठूलो ग्राहक रहेका चिनियाँ एपहरूलाई देशबाहिर फैलन र अन्तर्राष्ट्रिय रूपमा प्रयोगकर्ता बढाउन चिनियाँ सरकारले नै प्रोत्साहनसमेत दिँदै आएको छ ।
हालै चिनियाँ नयाँ वर्षको अवसरमा दिएको आफ्नो मन्तव्यका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ एपलगायत प्रविधिको क्षेत्रमा चीनको प्रगतिको प्रशंसा गरेका थिए । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो पटक शपथ लिनुअघि ट्रम्पसँग जनवरी १८ मा कुराकानी गर्दै चिनियाँ राष्ट्रपति सीले टिकटकलगायत चिनियाँ एप र प्रविधि क्षेत्रले भोगेका समस्या एक प्रमुख विषय बन्नुले छिमेकी देशका लागि प्राविधिक उन्नतिले कत्तिको महत्त्व राख्छ भन्ने देखाउँछ ।
डिपसिकका संस्थापकले भनेजस्तै चीन अब पश्चिमा देशहरूसँग पछि पर्न नचाहने र उनीहरूजत्तिकै सक्षम भएको प्रमाणित गर्न पनि एपहरू प्रभावकारी माध्यम बन्दै आएका छन् ।
(एजेन्सीको सहयोगमा)
