एन्फा महिला लिग फुटबलको बुधबार भएको फाइनलमा एपीएफकी खेलाडी सविता रानामगरले दुई गोल गरेर उपाधि मात्र जिताइनन्, प्रतियोगिताकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन्
काठमाडौँ — सविता रानामगरको हाउभाउलाई टाढैबाट हेर्दा पनि मज्जाले भन्न सकिन्छ, उनी फुटबलकी खेलाडी हुन् । निकै बलियो देखिन्छिन् । हाँसो पनि मीठो हुने गर्छ । बोल्नु अगाडि हाँस्ने बानी छ । तर उनलाई मिडियाको सामना गर्न भने गाह्रो लाग्छ । एन्फा महिला लिग फुटबलमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएयता मिडियासामु प्रस्तुत हुँदा उनी साह्रै आत्तिएकी थिइन् । भनिरहेकी थिइन्, ‘के–के पो बोल्ने होला ?’
जति बेला साँच्चै बोल्ने पालो आयो, उनको भनाइ थियो, ‘अब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएपछि खुसी त हुने भयो नै ।’ सबै खेलाडीले उत्तिकै लय मिलाएर कहाँ बोल्न सक्छन् र ? तिनको मुख्य काम त मैदानमै राम्रो गर्ने न हो । उनले यो काम भने मिलाएर गरिन्, आफ्नो टिमका लागि । एपीएफ क्लबले यसपल्ट प्रतियोगिता जित्दा त्यसमा लगभग सबै खेलाडीको योगदान रह्यो । तर, सायद केही बढी योगदान दिने खेलाडी रहिन्, सविता ।
फाइनलमै उनले दुई गोल गरिन् । एपीएफको पहिलो गोल निस्केको थियो, ६४ औं मिनेटमा । त्यसको अर्थ के भने पुलिसले एपीएफको आक्रमणलाई कसरी हो कसरी रोकिरहेको थियो । गोल हुने अवसर नै दिइरहेको थिएन । पुलिसको रणनीति नै थियो, रक्षात्मक खेल । अझ आधुनिक फुटबलको भाषामा भन्दा पुलिसले आफ्नो पेनाल्टी एरियामा सिंगै बस ‘पार्क’ गरिरहेको थियो । पुलिसको खेल ठ्याक्कै ‘पार्किङ द बस’ थियो ।
यस्तोमा डेडलक तोड्ने काम गरिन्, सविताले नै । उनी त्यत्तिमै रोकिएनन् । आफ्नो टिमका लागि तेस्रो गोल पनि गरिन् । यसरी खेललाई ‘मोमेन्टम्’ दिन काम गरेकी थिइन् सविताले । उनी पक्कापक्की फरवार्ड खेलाडी होइनन्, उनलाई विङ्गर भन्दा हुन्छ । मिडफिल्डर भन्दा पनि हुन्छ । खासमा उनी त्यस्तो विङ्गर हुन्, जसले गोल पनि गर्न सक्छ । गोलको अवसर सिर्जना गर्ने काम त भयो नै । यसपल्टको लिगमा सविताले दुवै काम गरिन् ।
त्यो भनेको गोल पनि गरिन्, गोलका लागि अवसर पनि सिर्जना गरिन् । अझ उनी पूरा लिगमै सबैभन्दा बढी गोलको अवसर सिर्जना गर्ने खेलाडी रहिन् । शृंखलाबद्ध ‘एसिस्ट’ निकालिरहिन्, एकपछि अर्को । यही लिगमा आफ्नो प्रदर्शनलाई लिएर उनको भनाइ थियो, ‘लिगको पहिलो चरणमा मेरो प्रदर्शन राम्रो रह्यो । दोस्रो चरणमा अलिकति मिलेको थिएन, मैले यस्तै महसुस गरेकी थिएँ । मैले यसपल्ट प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुन्छु भनेर सोचेको चाहिँ थिइनँ ।’
उनलाई एउटा कुरामा भने पूरा विश्वास छ, आफ्नोतर्फबाट अझ उत्कृष्ट प्रदर्शनको सम्भावना भने बाँकी नै छ । उनलाई लाग्छ, उनी अझै राम्रो खेल्न सक्षम छिन्, चाहे त्यो एपीएफलाई होस् अथवा राष्ट्रिय टिमलाई नै । उनी भन्छिन्, ‘मेरो खेल जीवन भर्खर त सुरु भएको छ । आउने दिनहरूमा अझ राम्रो गर्ने छु । अहिलेको भन्दा पनि अझ राम्रो खेल्ने प्रयास गर्ने छु ।’ नेपाली महिला फुटबललाई चाहिएको पनि त यही हो । यस्तै आत्मविश्वासी, सँगै मिहिनेती खेलाडी पनि ।
हुन पनि उनी भर्खर २१ वर्षकी त भइन् । पछिल्लो समय महिला राष्ट्रिय टोलीकी उनी नियमित सदस्य पनि हुन्, त्यो पनि मैदानमा उत्रने पहिलो रोजाइकी खेलाडीका रूपमा । नेपाली टिमलाई चाहिने नै खेलाडी हुन्, उनी । काठमाडौंमै भएको पछिल्लो साफ च्याम्पियनसिपमा नेपाल दोस्रो हुँदा पनि उनी टिमकी प्रमुख खेलाडी थिइन् । लिग चरणको समाप्तिमा त्यति बेला पनि एक अवसरमा उनी मिडियासामु प्रस्तुत भएकी थिइन् ।
त्यति बेला उनको दाबी थियो, जति बेला प्रतिद्वन्द्वी भारत हुने गर्छ, नेपाली खेलाडीको प्रदर्शन नै बेग्लै हुने गर्छ । सबैमा अझ राम्रो खेल्ने आत्मविश्वास बढ्ने रहेछ । नेपालका लागि उनले खेल्न थालेको पनि धेरै भएको छैन, सन् २०२१ देखि हो । बंगलादेशविरुद्ध त्यति बेला नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । प्रशिक्षक थिए, अस्ट्रेलियाली ग्यारी फिलिप्स । उनले नै सवितालाई डेब्युको अवसर दिए । फिलिप्स भन्थे, ‘सविता उम्दा खेलाडी हुन् ।’
यी प्रशिक्षकले त्यति बेला केही नयाँ अनुहारलाई पहिलो पटक मौका दिने निर्णय गरेका थिए । त्यसमा सवितासँगै प्रीति राई र रश्मिकुमारी घिसिङ पनि पर्छन् । आफ्ना प्रशिक्षकको भनाइलाई सार्थक बनाउँदै सविताले डेब्यु खेलमै गोल पनि गरिन् । त्यो बंगलादेशविरुद्धको पहिलो खेल थियो, खेलको १४ औं मिनेटमा उनले गोल गरेकी थिइन् । यसरी अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको १४ मिनेटभित्र नै उनले आफ्नो गोलको खाता खोलिन् । अहिलेसम्म नेपालका लागि चार गोल गरिसकेकी छन् ।
उनको खेल जीवनको सुरुआत रौतहटबाट भएको थियो । नेपालका धेरै महिला खेलाडीले जस्तै उनले पनि चन्द्रपुरमै रहेर खेल्न सुरु गरेकी थिइन् । आफ्नी आमालाई आदर्श मान्ने सविता आमाकै कारण फुटबल खेल्न सुरु गरेकी बताउँछिन् । एपीएफ छिरेयता उनको खेल अझ राम्रो भएको हो । नेपाली टिमका अहिलेका प्रशिक्षक राजेन्द्र तामाङले पनि दोहोर्याएर भनेका छन्, सविताबाट नेपाली फुटबलले साँच्चै धेरै आस गर्न सक्छ ।
