सविता ‘मोस्ट भ्यालुएबल प्लेयर’

एन्फा महिला लिग फुटबलको बुधबार भएको फाइनलमा एपीएफकी खेलाडी सविता रानामगरले दुई गोल गरेर उपाधि मात्र जिताइनन्, प्रतियोगिताकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन्

माघ १७, २०८१

हिमेश

Savita 'Most Valuable Player'

काठमाडौँ — सविता रानामगरको हाउभाउलाई टाढैबाट हेर्दा पनि मज्जाले भन्न सकिन्छ, उनी फुटबलकी खेलाडी हुन् । निकै बलियो देखिन्छिन् । हाँसो पनि मीठो हुने गर्छ । बोल्नु अगाडि हाँस्ने बानी छ । तर उनलाई मिडियाको सामना गर्न भने गाह्रो लाग्छ । एन्फा महिला लिग फुटबलमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएयता मिडियासामु प्रस्तुत हुँदा उनी साह्रै आत्तिएकी थिइन् । भनिरहेकी थिइन्, ‘के–के पो बोल्ने होला ?’ 

जति बेला साँच्चै बोल्ने पालो आयो, उनको भनाइ थियो, ‘अब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएपछि खुसी त हुने भयो नै ।’ सबै खेलाडीले उत्तिकै लय मिलाएर कहाँ बोल्न सक्छन् र ? तिनको मुख्य काम त मैदानमै राम्रो गर्ने न हो । उनले यो काम भने मिलाएर गरिन्, आफ्नो टिमका लागि । एपीएफ क्लबले यसपल्ट प्रतियोगिता जित्दा त्यसमा लगभग सबै खेलाडीको योगदान रह्यो । तर, सायद केही बढी योगदान दिने खेलाडी रहिन्, सविता । 

फाइनलमै उनले दुई गोल गरिन् । एपीएफको पहिलो गोल निस्केको थियो, ६४ औं मिनेटमा । त्यसको अर्थ के भने पुलिसले एपीएफको आक्रमणलाई कसरी हो कसरी रोकिरहेको थियो । गोल हुने अवसर नै दिइरहेको थिएन । पुलिसको रणनीति नै थियो, रक्षात्मक खेल । अझ आधुनिक फुटबलको भाषामा भन्दा पुलिसले आफ्नो पेनाल्टी एरियामा सिंगै बस ‘पार्क’ गरिरहेको थियो । पुलिसको खेल ठ्याक्कै ‘पार्किङ द बस’ थियो । 

यस्तोमा डेडलक तोड्ने काम गरिन्, सविताले नै । उनी त्यत्तिमै रोकिएनन् । आफ्नो टिमका लागि तेस्रो गोल पनि गरिन् । यसरी खेललाई ‘मोमेन्टम्’ दिन काम गरेकी थिइन् सविताले । उनी पक्कापक्की फरवार्ड खेलाडी होइनन्, उनलाई विङ्गर भन्दा हुन्छ । मिडफिल्डर भन्दा पनि हुन्छ । खासमा उनी त्यस्तो विङ्गर हुन्, जसले गोल पनि गर्न सक्छ । गोलको अवसर सिर्जना गर्ने काम त भयो नै । यसपल्टको लिगमा सविताले दुवै काम गरिन् । 

त्यो भनेको गोल पनि गरिन्, गोलका लागि अवसर पनि सिर्जना गरिन् । अझ उनी पूरा लिगमै सबैभन्दा बढी गोलको अवसर सिर्जना गर्ने खेलाडी रहिन् । शृंखलाबद्ध ‘एसिस्ट’ निकालिरहिन्, एकपछि अर्को । यही लिगमा आफ्नो प्रदर्शनलाई लिएर उनको भनाइ थियो, ‘लिगको पहिलो चरणमा मेरो प्रदर्शन राम्रो रह्यो । दोस्रो चरणमा अलिकति मिलेको थिएन, मैले यस्तै महसुस गरेकी थिएँ । मैले यसपल्ट प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुन्छु भनेर सोचेको चाहिँ थिइनँ ।’ 

उनलाई एउटा कुरामा भने पूरा विश्वास छ, आफ्नोतर्फबाट अझ उत्कृष्ट प्रदर्शनको सम्भावना भने बाँकी नै छ । उनलाई लाग्छ, उनी अझै राम्रो खेल्न सक्षम छिन्, चाहे त्यो एपीएफलाई होस् अथवा राष्ट्रिय टिमलाई नै । उनी भन्छिन्, ‘मेरो खेल जीवन भर्खर त सुरु भएको छ । आउने दिनहरूमा अझ राम्रो गर्ने छु । अहिलेको भन्दा पनि अझ राम्रो खेल्ने प्रयास गर्ने छु ।’ नेपाली महिला फुटबललाई चाहिएको पनि त यही हो । यस्तै आत्मविश्वासी, सँगै मिहिनेती खेलाडी पनि । 

Savita 'Most Valuable Player'

हुन पनि उनी भर्खर २१ वर्षकी त भइन् । पछिल्लो समय महिला राष्ट्रिय टोलीकी उनी नियमित सदस्य पनि हुन्, त्यो पनि मैदानमा उत्रने पहिलो रोजाइकी खेलाडीका रूपमा । नेपाली टिमलाई चाहिने नै खेलाडी हुन्, उनी । काठमाडौंमै भएको पछिल्लो साफ च्याम्पियनसिपमा नेपाल दोस्रो हुँदा पनि उनी टिमकी प्रमुख खेलाडी थिइन् । लिग चरणको समाप्तिमा त्यति बेला पनि एक अवसरमा उनी मिडियासामु प्रस्तुत भएकी थिइन् । 

त्यति बेला उनको दाबी थियो, जति बेला प्रतिद्वन्द्वी भारत हुने गर्छ, नेपाली खेलाडीको प्रदर्शन नै बेग्लै हुने गर्छ । सबैमा अझ राम्रो खेल्ने आत्मविश्वास बढ्ने रहेछ । नेपालका लागि उनले खेल्न थालेको पनि धेरै भएको छैन, सन् २०२१ देखि हो । बंगलादेशविरुद्ध त्यति बेला नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । प्रशिक्षक थिए, अस्ट्रेलियाली ग्यारी फिलिप्स । उनले नै सवितालाई डेब्युको अवसर दिए । फिलिप्स भन्थे, ‘सविता उम्दा खेलाडी हुन् ।’ 

यी प्रशिक्षकले त्यति बेला केही नयाँ अनुहारलाई पहिलो पटक मौका दिने निर्णय गरेका थिए । त्यसमा सवितासँगै प्रीति राई र रश्मिकुमारी घिसिङ पनि पर्छन् । आफ्ना प्रशिक्षकको भनाइलाई सार्थक बनाउँदै सविताले डेब्यु खेलमै गोल पनि गरिन् । त्यो बंगलादेशविरुद्धको पहिलो खेल थियो, खेलको १४ औं मिनेटमा उनले गोल गरेकी थिइन् । यसरी अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको १४ मिनेटभित्र नै उनले आफ्नो गोलको खाता खोलिन् । अहिलेसम्म नेपालका लागि चार गोल गरिसकेकी छन् । 

उनको खेल जीवनको सुरुआत रौतहटबाट भएको थियो । नेपालका धेरै महिला खेलाडीले जस्तै उनले पनि चन्द्रपुरमै रहेर खेल्न सुरु गरेकी थिइन् । आफ्नी आमालाई आदर्श मान्ने सविता आमाकै कारण फुटबल खेल्न सुरु गरेकी बताउँछिन् । एपीएफ छिरेयता उनको खेल अझ राम्रो भएको हो । नेपाली टिमका अहिलेका प्रशिक्षक राजेन्द्र तामाङले पनि दोहोर्‍याएर भनेका छन्, सविताबाट नेपाली फुटबलले साँच्चै धेरै आस गर्न सक्छ ।

हिमेश

Link copied successfully