काभ्रेमा विश्व युवा महोत्सव हुने

माघ १६, २०८१

कान्तिपुर संवाददाता

The World Youth Festival will be held in Kavre

काठमाडौँ — विश्वभरका युवालाई ठूलो प्लेटफर्म दिने उद्देश्यका साथ काभ्रेमा विश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिभल) आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको पहलमा मार्च २७ देखि ३१ तारिखसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो । 

हरेक वर्ष विभिन्न देशमा आयोजना हुँदै आएको महोत्सव यस वर्ष नेपालमा गर्न लागिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले बताए ।

उनले यसका लागि १० वर्षदेखि तयारी गर्दै आएको र अबको डेढ महिनाभित्रमा सम्पूर्ण तयारी पूरा गरिने जनाए । काठमाडौं विश्वविद्यालय परिसरभित्र १ लाख युवाको सहभागितामा महोत्सव गरिने र काभ्रेका विभिन्न क्षेत्रमा अन्य कार्यक्रम पनि गरिने उनले जनाए । 

७५ देशका १० हजार प्रतिनिधि यस युवा महोत्सवमा आउने जनाइएको छ । त्यसमा २ सयभन्दा बढी वक्ताहरू हुनेछन् । ३ लाखभन्दा बढी युवा भेला हुने आशा गरिएको महोत्सवमा ५० भन्दा बढी विभिन्न गतिविधिका कार्यक्रम हुनेछन् ।

महोत्सवमा आजका युवाहरू प्रभावित भएका गहन विषयमा वर्कसप गर्नुका साथै छलफल गरिने आयोजकले जनाएको छ । जलवायु परिवर्तन, लैंगिक एकता, महिला सशक्तीकरण, वाक स्वतन्त्रता, पर्यटन, राजनीति, लिडरसिप, स्थानीय खानालगायतका विषयमा यस युवा महोत्सवमा सघन बहस हुने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully