१ बिघामा २० वटा टनेलभित्र च्याउ खेती गरेका राजनले बर्सेनि ३५ लाख रुपैयाँसम्म कमाइरहेका छन्
लुम्बिनी — त्यसो त ‘बाहुनले च्याउ खाएको न स्वाद पाएको’ भन्ने गरिन्छ । यसो भन्नुमा पहिले–पहिले बाहुन र च्याउबीचको सम्बन्ध खासै नजिकको नभएकाले पनि हो । रूपन्देहीको कञ्चन गाउँपालिका–१ बेलबरियाका गंगाधर शर्माले पनि १३ वर्षअघि च्याउ खेती सुरु गर्दा छरछिमेक उदेक मान्थे ।
अझ त्यतिबेला जंगलको च्याउ खाएर ज्यान गएका घटना बग्रेल्ती सुनिन्थे । त्यस्तो जटिल अवस्थामा गंगाधरले च्याउ खेती सुरु गरेका थिए । उत्पादित च्याउ घरघर लगेर बिक्री गर्दा पनि हत्तपत्त बिक्न गाह्रो पर्थ्यो । दैनिक ३ किलो च्याउ बेच्न पनि उनलाई सकस पर्थ्यो ।
गंगाधरका कान्छा छोरा राजन पौडेल (२९) कक्षा १२ सम्मको पढाइका लागि बुटवलमा डेरा लिएर बसेका थिए । बुबाले उत्पादन गरेको च्याउ बिक्री गर्न उनी बिदाको समयमा साइकलमा टाढा टाढासम्म पुग्थे । ‘मान्छेका घरघर पुगेर च्याउ लिनुस् भन्दा ‘खानु हुँदैन, जंगलबाट ल्याएको होला’ भनेर किन्न मान्दैनथे,’ उनले संघर्षका दिन सम्झँदै भने, ‘तर पनि मैले हार मानिनँ, बिक्री नभएको च्याउ घरै फर्काउँथें । अनि फेरि भोलिपल्ट त्यसैगरी तिनै घरघरै भट्याउँदै पुग्थें ।’
अहिले बाबुको व्यवसायलाई राजनले सम्हालेपछि च्याउको बिक्री वितरणले उछाल लिएको छ । कुनै बेला ३ किलो पनि नबिक्ने च्याउलाई राजनले दिनकै ५ सय किलोसम्म बिक्री हुने अवस्थामा ल्याइपुर्याएका छन् । च्याउ र बीउ बिक्रीबाटै वार्षिक ३५ लाखसम्म कमाइ भइरहेको उनी बताउँछन् । भन्छन्, ‘पश्चिम भेगमा सबैतिर हाम्रो उत्पादन गइरहेको छ, पछिल्लो समय च्याउको सुकुटी र बीउसमेत बनाइने भएकाले माग बढ्दो छ ।’ हाल उनले १ बिघामा २० वटा टनेलभित्र च्याउ खेती गरिरहेका छन् ।
राजनले उत्पादन गर्ने कन्ये च्याउको बजार मूल्य किलोको २ सयदेखि २ सय ५० रुपैयाँसम्म पर्छ । त्यसबाहेक उनले मिल्की च्याउसमेत उत्पादन गर्दै आएका छन् । ‘बाह्रै महिना कन्ये च्याउ फल्छ, त्यसबाहेक सिजन हेरेर मिल्की र डल्ले च्याउ पनि तयार पारिन्छ । अहिले त सुकुटी च्याउको व्यापार पनि राम्रै फस्टाइरहेको छ,’ उनले भने । परिवारका हरेक सदस्यको मिहिनेत र खेती विस्तार गरेकाले यो सफलता हासिल भएको उनले बताए ।
गंगाधरले २०६८ मा बागलुङदेखि रूपन्देही आएर च्याउ खेतीको व्यवसाय सुरु गरेका थिए । सुरुमा च्याउको बीउ कहाँ पाइन्छ र कसरी खेती गर्ने भन्नेमा उनी अन्योलमै थिए । ‘आफूले न च्याउ देखेको थिएँ, न खाएको । धेरैजसोले राम्रो सम्भावना छ भनेपछि च्याउ चाख्न र यसको खेती कसरी गर्ने भनेर सिक्न काठमाडौंसम्म गएँ,’ झन्डै ३ महिना काठमाडौंमा यसबारे अध्ययन गरेपछि गंगाधरले बीउ बोकेर घर फिरे । त्यसपछि उनले घरमै च्याउ उत्पादन गर्न थालेका हुन् । अहिले छोरा राजनले कम्पनी नै खडा गरेर बिक्रीवितरण तथा यसबारे तालिमसमेत दिइरहेका छन् । भने, ‘बुबाले गरेको देखेपछि मैले पनि सिक्दै गएँ, अहिले ल्याब पनि राखेको छु, जाँच गर्ने, बीउ बनाउने, च्याउ खेती गर्न चाहनेलाई सिकाउनेसमेत गरेको छु ।’
कुनै ‘ब्रान्ड नेम’ नभएसम्म उपभोक्ताले झट्टै विश्वास गर्दा रहेनछन् भन्ने थाहा भएपछि राजनले घरेलु तथा साना उद्योग कार्यालयमा ‘स्पिन्जर च्याउ फर्म’ दर्ता गरे । अनि थाले, च्याउका बीउ र सुकुटी पनि बनाउन । पछि टिम स्पिन्जर एग्रो प्रालिका रूपमा कम्पनी दर्ता गरेर उनले च्याउ खेतीलाई व्यावसायिक बनाउँदै लगे । खेतीसँगै उनी अहिले एलएलबी अध्ययन पनि गरिरहेका छन् ।
आफ्ना धेरै साथी विदेशिए पनि बुबालाई सघाउने क्रममा च्याउ खेती व्यवसायमा आकर्षित भएका राजनले गाउँमै बसेर आम्दानी भइरहेकाले विदेशिने कुनै उद्देश्य नरहेको बताए । ‘मलाई विदेश जाने भन्ने सोच कहिल्यै आएन, दुःख गर्न परे पनि आफ्नै देशमा गर्छु भनेर गाउँमै बसेको हुँ । मिहिनेतले फल दिएको छ, यसैमा खुसी छु,’ उनले भने ।
राजन बुबाकै साथ, सहयोग पाएर आफू उद्यमी बन्न सफल भएको बताउँछन् । गंगाधरले पनि राजन मिहिनेती र लगाव राखेर काम गर्ने बानीका कारण सफल भइरहेको बताउँछन् । कन्ये च्याउ गहुँको छ्वाली, मकैका खोस्टा, तोरीको डाँठलगायतमा फलाउन सकिने भए पनि परालमा सहज हुने राजनले बताए । पराललाई बफाएर प्लास्टिकको झोलामा खाँदेर त्यसमा मात्रा मिलाएर बीउ छरिन्छ । २२–२५ डिग्री सेल्सियस तापक्रममा हावा नपस्ने गरी अँध्यारो कोठामा राखेको प्लास्टिकको झोलालाई २२ दिनपछि केही ठाउँमा प्वाल पारेर हल्का हावा पस्ने बनाएपछि च्याउ उम्रन थाल्ने उनले बताए ।
‘१ किलो परालमा ८ सय ग्रामदेखि १ किलोसम्म च्याउ उत्पादन हुन्छ । कहिलेकाहीँ प्लास्टिकको बलमा संक्रमण भएर च्याउ बिग्रने समस्या पनि देखिन्छ,’ उनले भने । यतिबेला राजन च्याउ खेतीका लागि प्रशिक्षकका रूपमा समेत विभिन्न ठाउँमा गएर प्रशिक्षणसमेत दिइरहेका हुन्छन् ।
