अभिनयमा पहिचान खोज्दै प्रदीप खड्का

‘मैले खोजेको पहिचान सुपरस्टार वा स्टारमा होइन, स्टार/सुपरस्टार त धेरै भए, तर एक्टर भनिएको सुनिएन, त्यसैले म मेरो पहिचान कलाकारका रूपमा स्थापित भएको देख्न चाहन्छु’

माघ १६, २०८१

रीना मोक्तान

Pradeep Khadka seeking identity in acting

काठमाडौँ — युवा पुस्ताका दर्शकमाझ अभिनेताका रूपमा स्थापित नाम हो– प्रदीप खड्का । पछिल्लो फिल्म ‘एक्टर : टेक वान’ मा भने उनै प्रदीप पहिचानको संकटमा रहेको पात्र कुशलको भूमिकामा छन्, जसलाई अभिनयको दममा भन्दा पनि तामझामबाट एउटै फिल्मबाट ‘सुपर स्टार’ हुनु छ ।

सोमबार साँझ भक्तपुरको एक हलमा यस फिल्मको प्रिमियर शो हेरेपछि धेरैले भने, ‘कुशलको ‘सुपर स्टार’ सपना सोही पात्रमा खेल्ने प्रदीपले पूरा गर्नेछन् ।’ तर फिल्म ‘एक्टर : टेक वान’ साबिक प्रदर्शन मिति (बुधबार) मा प्रदर्शनमा नआउने भएको छ ।

 फिल्मको कथा र नाम हुबहु ‘चोरिएको’ भन्दै अघिल्लो साता प्रदर्शनमा आएको ‘एक्टर’ को निर्माण पक्षले काठमाडौं जिल्ला अदालतमा उजुरी हालेपछि अदालतले मंगलबार अन्तरकालीन आदेशमार्फत ‘एक्टर : टेक वान’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ । 

आफू र कुशल पात्रबीच धेरै समानता देख्छन् प्रदीप । एक दशकअघि उनी पनि फिल्म क्षेत्रमा हिरो बन्ने भोकमा भौंतारिएका थिए । त्यसबेला उनलाई पनि स्क्रिप्ट के हो, कथा कसरी लेखिन्छ ? अभिनयको गहिराइ कस्तो हुन्छ भन्ने नै थाहा थिएन । थाहा थियो त केवल फिल्मको हिरो बनेर सुपर स्टार बन्ने । कसैले ‘हिरो’ मा नपत्याएपछि आफ्नै लगानीमा आफैं हिरो बन्न तम्सिए, फिल्म ‘स्केप’ बाट । फिल्म बन्यो, उनी हिरोमा नै खेले तर विडम्बना उक्त फिल्म हलमा आए, गएकै दर्शकले वास्ता गरिदिएनन् ।

लाखौंको लगानी त डुब्यो नै, परिवारको समेत गाली खाए । तनाव कम गर्न बिदेसिने सोच पनि बनाएका थिए । तर त्यहीबेला उनले अरूकै लगानीमा फिल्म ‘प्रेमगीत’ मा फेरि एक पटक हिरो खेल्न पाए । ‘प्रेमगीत’ बाटै प्रदीप एकाएक ‘लाइमलाइट’ मा आए । 

Pradeep Khadka seeking identity in acting

‘एक्टर’ को कुशलले फेरि एक पटक उनलाई उही पुरानो प्रदीप सम्झाइदिएको छ, जो अभिनय नजान्दै अभिनयमा हाम फालेका थिए । ‘गाँस बास कपासपछि कसैलाई केही कुरा आवश्यक हुन्छ भने त्यो सामाजिक स्वीकार्य नै हो । आधारभूत आवश्यकतापछि संसारमा केही कुराको संकट छ भने त्यो पहिचानको संकट नै हो,’ प्रदीपले ‘एक्टर’ गर्नु पछाडिको खास कारण सुनाए । फिल्मको पात्र कुशलले भोगिरहेको पहिचानको संकटसँग दर्शकले आत्मसाथ गर्नेमा आशावादी छन्, प्रदीप । 

११/१२ पढ्दा प्रदीपलाई लाग्थ्यो, ‘सबैले मलाई हेरिदिए हुन्थ्यो । सबैको आकर्षणको केन्द्र बन्न पाए हुन्थ्यो ।’ एक दिन कलेजमा सांगीतिक कार्यक्रम भइरहेको थियो । प्रदीप दर्शकको भीडमा संगीतमा झुम्दै थिए । दर्शकको ठूलो समूहले स्टेजका कलाकारलाई दिएको भाउले उनी झल्याँस्स भए, सोचे, ‘म यसरी भीडमा हराउनु हुँदैन, स्टेजमा चढेर दर्शकतिर फर्किनुपर्ने हुनुपर्छ ।’

‘प्रकाश’ फिल्म गर्नुअघि प्रदीप आफूले बुझेको अभिनय र पात्रहरूमै रमाइरहे । ‘प्रेमगीत’ ले चिनाएकै थियो, फिल्महरूको अफर आइरहेकै थिए । लगातार फिल्म गरिरहँदा, दर्शकले चिनिरहेकै थिए । तर, विस्तारै प्रदीपको अभिनयको पनि आलोचना हुँदै थियो । ‘के म साँच्चै राम्रो काम गरिरहेको छैन त ?’ आफैंसँग प्रश्न गर्न थाले । आफ्नै पहिचानको संकट देख्न थाले । अनि आफ्नो अस्तित्व बचाउनतिर लागिपरे । ‘कमाउने कमाइयो, अब बचाउनुपर्छ भन्ने लाग्यो । सबैले एउटै कुरा भनेपछि पक्कै समस्या छ भनेर म प्रकाश, पुजार सार्कीजस्ता फिल्महतिर लागें,’ प्रदीप सुनाउँछन् । 

Pradeep Khadka seeking identity in acting

अभिनयको यो दौडमा आफूलाई लामो रेसको घोडा बनाउन ‘प्रकाश’ अघि रंगकर्मी अनुप बरालसँग अभिनय सिके । हुन त प्रदीपले त्यतिन्जेल ‘प्रेमगीत’ का शृंखलादेखि अन्य फिल्महरूमा अभिनय गरिसकेका थिए । तर, ‘रोज’ र ‘लभ स्टेसन’ सम्म आइपुग्दा आफूले बुझेको अभिनय अर्कै रहेछ भन्ने थाहा भयो । उनलाई लाग्थ्यो, ‘प्रेमगीत’ को प्रेम होस् वा ‘लिलिबिली’ को बिली पात्रमार्फत अभिनय गरिरहेकै छु । ‘लभ स्टेसन’ मा गायक पनि बनें । हरेक फिल्ममा नयाँ चरित्रमा गरिरहेकै छु, किन अभिनय राम्रो भएन भन्छन् ?’ तर रंगकर्मी अनुपसँग ठोक्किएपछि प्रदीपले बल्ल अभिनयको गहनताबारे बुझ्दै गए । 

खासमा अनुपकहाँ उनी ‘प्रकाश’ का निर्देशक दिनेश राउतमार्फत पुगेका थिए । ‘प्रकाश’ मा प्रदीपको चरित्रले जुम्लाको भाषा बोल्नुपर्थ्यो, पात्र त्यहीँको भएपछि लवज त समात्नै पर्‍यो । तर, फिल्मको स्क्रिप्ट हात परेपछि उनी अक्मकिए । ‘प्रदीपले सकेन, फिल्मबाट निकालिदिएँ भनिदिनुस्’ भन्ने सल्लाह दिँदै निर्देशक राउतलाई आफूले फिल्म नगर्ने सुनाए ।

Pradeep Khadka seeking identity in acting

‘म त प्रयास गरूँला, नयाँ चरित्रमा प्रयोग गरिदिएँ भन्दिउँला । तर, मैले आफूले आफैंलाई यसरी प्रयोग गरिरहँदा निर्देशकको भिजन, लेखकको लेखन र निर्माताको पैसा डुब्छ भन्ने लाग्यो । त्यो चरित्र गर्ने विश्वास आफैंमा नहुँदा त फिल्म डुब्ने पक्का हो । त्यसैले मैले फिल्म नगर्ने भनेको थिएँ,’ प्रदीप विगत सम्झँदै भने, ‘त्यसपछि निर्देशकले आफूमा विश्वास छैन भने अभिनय सिक्न अनुप बरालकहाँ जाऊ न त भनेर सुझाउनुभएको थियो ।’ ‘प्रकाश’ र ‘पुजार सार्की’ ले प्रदीपलाई अभिनयमा केही फरक गर्न चाहिरहेको अभिनेताको भीडमा उभ्याइदिएको छ । 

अहिले प्रदीप अभिनयमा नयाँ प्रयोग गर्दै छन् । एकै वर्ष तीन विधाका तीन फिल्म । ‘एक्टर’ मा कुशल बनेका उनी ‘पीताम्बर’ मा रौद्र रूपको चरित्रमा छन् । आगामी वैशाखबाट उनको ‘ऐरी’ छायांकनमा जाने गरी प्रि–प्रोडक्सनको काम चलिरहेको छ । ‘३ वर्ष लगाएर प्रेमगीत ३ बनाइएको थियो । तर, नतिजा खासै राम्रो आएन । त्यसैले अहिले म वर्षभरिमा ३ फिल्म गर्दा कस्तो हुन्छ भन्ने पत्ता लगाउने प्रयासमा छु,’ प्रदीपले भने । 

पहिचानको भोकले कहिले गायनतिर, कहिले मिडियातिर भौंतारिँदै प्रदीप अहिले ठूलो पर्दासम्म आइपुगेका छन् । यो एक दशकमा प्रदीपलाई कतिले ‘स्टार’ को ट्याग भिराइदिए, त कतिले ‘सुपर स्टार’ कै । तर, उनी आफूलाई केवल ‘एक्टर’ भनेर चिनिनु छ, अर्थात् विशुद्ध कलाकारका रूपमा आफ्नो पहिचान बनाउन चाहन्छन् ।

Pradeep Khadka seeking identity in acting

भन्छन्, ‘मैले खोजेको पहिचान सुपर स्टार वा स्टारमा होइन । ‘एक्टर’ फिल्म खेलेर एक्टरकै उपमा पाएँ भने कस्तो होला ? स्टार/सुपर स्टार त धेरै भए, तर एक्टर भनिएको सुनिएन । त्यसैले म मेरो पहिचान कलाकारका रूपमा स्थापित भएको देख्न चाहन्छु ।’ 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully