‘कहाँ छौ कहाँ’ गीतले चिनिएका रामा मण्डल

फिल्म ‘गोपीकृष्ण’को ‘कहाँ छौ कहाँ’ गीत पहिला बलिउड गायक कुमार सानुलाई गाउन दिने तयारी थियो, तर गायनमा संघर्ष गरिरहेका विराटनगरका रामा मण्डलले आफूलाई गाउन दिन निर्देशक उद्धव पौडेल र संगीतकार भूपेन्द्र रायमाझीलाई आग्रह गरे, त्यही गीतले रामालाई नेपाली संगीत क्षेत्रमा लोकप्रिय बनायो

माघ २०, २०८१

पर्वत पोर्तेल

Rama Mandal, who is known for the song 'Kaan Khau Kaan'

विराटनगर — एक जमानाका लोकप्रिय गायक रामा मण्डलले गायनको संघर्षताका ३२ वर्ष काठमाडौंमा बिताए । २२ वर्ष रेडियो नेपालमा करारका जागिरे भए । साढे तीन वर्षअघि अवकाश भयो । त्यसपछि रामाको दैनिकी पुरानो थातथलो विराटनगरतिर बितिरहेको छ । बेला–बेला काठमाडौं उक्लिन्छन्, गाउन । त्यही मेसोमा पुराना साथीभाइसँग भेटघाट गर्छन् । पुराना दिन सम्झिएर रोमाञ्चित हुन्छन् । 

हालै काठमाडौंको यात्रामा उनले एक हिन्दीसहित ११ वटा गीत रेकर्ड गराए । त्यसको चाँजो मिलाइदिए, पुराना साथी/संगीतकार भूपेन्द्र रायमाझीले । रामाको गायन रुचि बाल्यकालदेखिकै थियो । आमा कुश्मी देवी विद्यापति, शारदा सिन्हाका गीतहरू गाउँथिन् । आमाको गायन सुनेर उनी मनमनै गम्थे, ‘यस्तै गाउन पाए !’ 

उनको गायन यात्राको औपचारिक सुरुवात २०३८ सालमा भयो । जतिबेला कोशी अञ्चल आधुनिक गायन प्रतियोगितामा उनी पहिलो भएका थिए । लगत्तै २०३९ मा विराटनगरको वीरेन्द्र सभागृहमा भएको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उनी दोस्रो भए । तत्कालीन रानी ऐश्वर्यको हातबाट नगद ७ सय पुरस्कार थापेपछि उनी गायनमा थप हौसिए । 

त्यतिबेला विराटनगरमा भूपेन्द्र रायमाझीको सांगीतिक समूह थियो, ‘टाइरोज’ । त्यो समूहमा रामा पनि जोडिए । विभिन्न सांगीतिक गतिविधिमा सक्रिय बन्न थाले । बुवा जुट मिलमा काम गर्थे । उनी गणपति कटन मिलका बाल श्रमिक । १४ वर्षको उमेरदेखि नै उनले परिवारको रोजीरोटीका लागि श्रम गर्न थाले । कारखानाबाट बचेको समय गीत–संगीतमा खर्चिन्थे । 

संगीतकार रायमाझी राम्रो गितार वादक थिए । उनी काठमाडौं गएपछि सांगीतिक समूह तितरवितर भयो । रायमाझीकै जोडबलले रामा पनि काठमाडौं उक्लिए । तराईमा जन्मेहुर्केका उनले पहिलो पटक काठमाडौं खाल्डोमा पाइला टेके । रायमाझी रेडियो नेपालमा गितार बजाउँथे । एक दिन उनले रामालाई बोलाए, ‘आउ रेडियो नेपाल हेरेर जाउ न त ।’ यसरी उनको रेडियो नेपालमा आउजाउ सुरु भयो ।

रामाले ‘चाहना र इच्छाहरू सबै फूल जस्तै ओइलिगए,’ बोलको गीतबाट रेडियो नेपालको स्वर परीक्षा पास गरे, करिब २०४१ सालतिर । ‘स्वर परीक्षा पास गरेपछि गीत रेकर्डिङको समय पाइन्थ्यो’, रामा भन्छन्, ‘समय पाउँदा पैसा खर्च हुँदैनथ्यो ।’

उनी त्यही गीत रेकर्ड गराएर पूर्व फर्किए । पुनः उद्योगमा काम सुरु गरे । गीत रेकर्डिङ गर्नुपर्‍यो भने भूपेन्द्रले बोलाइरहन्थे । उनी रात्रिबस चढेर काठमाडौं उक्लिहाल्थे । रेकर्ड गरेर पुनः फर्किन्थे । यो क्रम निकै समय चल्यो । विराटनगर–काठमाडौंको एकतर्फी भाडा ६० रुपैयाँ थियो । दास कम्पनीको बस जान्थ्यो । ‘६० रुपैयाँ गाडी भाडाको जोडजाम गर्न कहिलेकाहीं धौधौ हुन्थ्यो,’ उनी भन्छन् । 

२०४५ सालताका काठमाडौंमा भेटिएका विराटनगरकै अर्का संगीतकर्मी दीपक कार्कीले रेस्टुरेन्टमा गाउन आग्रह गरे । त्रिपुरेश्वरको मुगल महल नामक रेस्टुरेन्ट त्यतिबेलाको चर्चित मानिन्थ्यो । रामाले रेस्टुरेन्टमा गाउन थाले । त्यही बेला रेडियो नेपालमा जागिर पनि पाए । भारतको इलाहाबाद संगीत विद्यालयबाट संगीतमा प्रभाकर गरेका कारण उनलाई रेडियो नेपालमा जागिर खान सजिलो भयो । रेस्टुरेन्टको गायन र रेडियो नेपालको जागिर पछि उनले विराटनगरको परिवारलाई काठमाडौं बोलाए ।

Rama Mandal, who is known for the song 'Kaan Khau Kaan'भारतीय गायिका अनुराधा पौडवालका साथमा रामा । 

त्यसपछि उनलाई सिनेमामा गाउने अफर बाक्लै आउन थाल्यो । पहिलो पटक ‘मनकामना’ फिल्मको शीर्ष गीत ‘जय जय आमा मनकामना’ र ‘बुझ्दै नबुझ्ने यो मनलाई बुझाउन सकिनँ मैले’ गाए । यसले फिल्म निर्माता, निर्देशकको ध्यान तान्यो । विराटनगरकै पुराना बासिन्दा उद्धव पौडेलले ‘गोपी कृष्ण’ नामको नयाँ सिनेमा निर्माणको घोषणा गरे । रामालाई सिनेमामा गाउने मौका मिलाइदिए साथी भूपेन्द्रले । सिनेमाका संगीतकार उनै भूपेन्द्र थिए । 

‘गोपीकृष्ण’ सिनेमाको ‘कहाँ छौ कहाँ’ बोलको गीत गाएपछि त रामा ‘भाइरल’ भइहाले । त्यसपछि उनले पछाडि फर्किनु परेन । खासमा उनको भागमा अर्कै गीत थियो, ‘माया आफैं चोखो हुन्छ, कुनै बन्धन हुँदैन’ । तर रामालाई धनेन्द्र विमलले लेखेको ‘कहाँ छौ कहाँ’ गीतले तानेको थियो । 

२०४८ सालमा निर्देशक उद्धव र संगीतकार भूपेन्द्रको परिवार अनि गायिका लोचन भट्टराईसहित रामा पनि बम्बई (मुम्बई) हानिए गीत रेकर्डका निम्ति । ‘कहाँ छौ कहाँ गीत मलाई गाउन मन थियो,’ रामा सम्झिन्छन्, ‘तर, निर्देशक र संगीतकार मप्रति विश्वस्त हुन सक्नु भएको थिएन ।’ उद्धवको चाहना त्यो गीत बलिउड गायक कुमार सानुलाई गाउन दिने थियो । भूपेन्द्रको इच्छा पनि त्यही थियो । रामाले उद्धवलाई भने, ‘डाइरेक्टर साब मलाई राम्रो गीत गाउन दिनु होला ।’

उद्धवले शंका व्यक्त गरे, ‘यो एकदमै गाह्रो गीत हो । पछि गीत बिग्रियो भने तिम्रो मिहिनेत खेर जान सक्छ ।’ रामाले तत्कालै जवाफ फर्काए, ‘प्राक्टिस गरेपछि किन नसक्नु ।’ उद्धवले संगीतकार भूपेन्द्रको जिम्मामा छोडिदिए ।

रामाले रेलयात्राभरि त्यो गीत अभ्यास गरिरहे र एकै टेकमा रेकर्ड गराए । यो गीतमा त्यतिबेलाकी चर्चित बलिउड गायिका साधना सरगमको पनि स्वर छ । ‘कुमार सानुलाई दिन लागिएको गीत गाउन पाउनु मेरा लागि ठूलो उपलब्धि थियो,’ रामाले सुनाए, ‘त्यो गीत गाएपछि त मैले पछाडि फर्किएर हेर्नै परेन ।’ रामालाई दिने भनेको ‘माया आफैं चोखो हुन्छ’ गीत उदितनारायण झाले गाए ।

Rama Mandal, who is known for the song 'Kaan Khau Kaan'गायक उदितनारायण झा लगायत संगीतकर्मीसँग रामा ।

विराटनगरको मिल्स एरियाको घरमा एक शनिबार उनी रेडियो नेपाल सुनिरहेका थिए । गीत संगीतसम्बन्धी कार्यक्रममा सिफारिस गरियो, ‘अब सुन्नुहोस् साधना सरगम र रामा मण्डलको आवाजमा नेपाली चलचित्र गोपी कृष्णको गीत ‘कहाँ छौ कहाँ.....।’ उनी खुसीले उफ्रिए । ‘रेडियो बोकेर छिमेकीकामा पुग्दै भने, मेरो गीत बज्दै छ, सुन्नु त,’ उनी त्यतिबेलाको समय सम्झँदै भन्छन् ।

रामाले नेपालीका अलाबा मैथिली, भोजपुरी, हिन्दी, थारू र अवधी भाषामा सयौं गीत गाइसकेका छन् । करिब ७ सयभन्दा बढी गीतमा स्वर भरेका रामाले करिब डेढ सय बढी त सिनेमामा मात्रै गाएका छन् । ‘यो केटीको ठीक छैन चाला’, ‘न्युरोडमा एउटी केटी पालिस लाउन आकी’, ‘जोडी मिल्ने भो, पन्चेबाजा ठोक्ने भो’, ‘स्वर्गभन्दा सुन्दर छ हाम्रो सानो घर’ जस्ता चर्चित गीतमा उनले स्वर दिएका छन् ।

सिनेबाटै चर्चित बनिसके पनि उनले रेस्टुरेन्टमा गाइरहे । ४५ वर्षको उमेरसम्म एकै रेस्टुरेन्टमा गाए । जब २०७२ वैशाख १२ मा भूकम्प गयो । त्यसपछि उनको रेस्टुरेन्ट गायनमा पूर्णविराम लाग्यो । अहिले ६८ वर्षको उमेरमा पनि उनको स्वर उस्तै छ । नियमित रियाज गरिरहेकै हुन्छन् । निम्त्याइएका कार्यक्रमतिर गइरहन्छन् र गीत सुनाइरहन्छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully