फिल्म ‘गोपीकृष्ण’को ‘कहाँ छौ कहाँ’ गीत पहिला बलिउड गायक कुमार सानुलाई गाउन दिने तयारी थियो, तर गायनमा संघर्ष गरिरहेका विराटनगरका रामा मण्डलले आफूलाई गाउन दिन निर्देशक उद्धव पौडेल र संगीतकार भूपेन्द्र रायमाझीलाई आग्रह गरे, त्यही गीतले रामालाई नेपाली संगीत क्षेत्रमा लोकप्रिय बनायो
विराटनगर — एक जमानाका लोकप्रिय गायक रामा मण्डलले गायनको संघर्षताका ३२ वर्ष काठमाडौंमा बिताए । २२ वर्ष रेडियो नेपालमा करारका जागिरे भए । साढे तीन वर्षअघि अवकाश भयो । त्यसपछि रामाको दैनिकी पुरानो थातथलो विराटनगरतिर बितिरहेको छ । बेला–बेला काठमाडौं उक्लिन्छन्, गाउन । त्यही मेसोमा पुराना साथीभाइसँग भेटघाट गर्छन् । पुराना दिन सम्झिएर रोमाञ्चित हुन्छन् ।
हालै काठमाडौंको यात्रामा उनले एक हिन्दीसहित ११ वटा गीत रेकर्ड गराए । त्यसको चाँजो मिलाइदिए, पुराना साथी/संगीतकार भूपेन्द्र रायमाझीले । रामाको गायन रुचि बाल्यकालदेखिकै थियो । आमा कुश्मी देवी विद्यापति, शारदा सिन्हाका गीतहरू गाउँथिन् । आमाको गायन सुनेर उनी मनमनै गम्थे, ‘यस्तै गाउन पाए !’
उनको गायन यात्राको औपचारिक सुरुवात २०३८ सालमा भयो । जतिबेला कोशी अञ्चल आधुनिक गायन प्रतियोगितामा उनी पहिलो भएका थिए । लगत्तै २०३९ मा विराटनगरको वीरेन्द्र सभागृहमा भएको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उनी दोस्रो भए । तत्कालीन रानी ऐश्वर्यको हातबाट नगद ७ सय पुरस्कार थापेपछि उनी गायनमा थप हौसिए ।
त्यतिबेला विराटनगरमा भूपेन्द्र रायमाझीको सांगीतिक समूह थियो, ‘टाइरोज’ । त्यो समूहमा रामा पनि जोडिए । विभिन्न सांगीतिक गतिविधिमा सक्रिय बन्न थाले । बुवा जुट मिलमा काम गर्थे । उनी गणपति कटन मिलका बाल श्रमिक । १४ वर्षको उमेरदेखि नै उनले परिवारको रोजीरोटीका लागि श्रम गर्न थाले । कारखानाबाट बचेको समय गीत–संगीतमा खर्चिन्थे ।
संगीतकार रायमाझी राम्रो गितार वादक थिए । उनी काठमाडौं गएपछि सांगीतिक समूह तितरवितर भयो । रायमाझीकै जोडबलले रामा पनि काठमाडौं उक्लिए । तराईमा जन्मेहुर्केका उनले पहिलो पटक काठमाडौं खाल्डोमा पाइला टेके । रायमाझी रेडियो नेपालमा गितार बजाउँथे । एक दिन उनले रामालाई बोलाए, ‘आउ रेडियो नेपाल हेरेर जाउ न त ।’ यसरी उनको रेडियो नेपालमा आउजाउ सुरु भयो ।
रामाले ‘चाहना र इच्छाहरू सबै फूल जस्तै ओइलिगए,’ बोलको गीतबाट रेडियो नेपालको स्वर परीक्षा पास गरे, करिब २०४१ सालतिर । ‘स्वर परीक्षा पास गरेपछि गीत रेकर्डिङको समय पाइन्थ्यो’, रामा भन्छन्, ‘समय पाउँदा पैसा खर्च हुँदैनथ्यो ।’
उनी त्यही गीत रेकर्ड गराएर पूर्व फर्किए । पुनः उद्योगमा काम सुरु गरे । गीत रेकर्डिङ गर्नुपर्यो भने भूपेन्द्रले बोलाइरहन्थे । उनी रात्रिबस चढेर काठमाडौं उक्लिहाल्थे । रेकर्ड गरेर पुनः फर्किन्थे । यो क्रम निकै समय चल्यो । विराटनगर–काठमाडौंको एकतर्फी भाडा ६० रुपैयाँ थियो । दास कम्पनीको बस जान्थ्यो । ‘६० रुपैयाँ गाडी भाडाको जोडजाम गर्न कहिलेकाहीं धौधौ हुन्थ्यो,’ उनी भन्छन् ।
२०४५ सालताका काठमाडौंमा भेटिएका विराटनगरकै अर्का संगीतकर्मी दीपक कार्कीले रेस्टुरेन्टमा गाउन आग्रह गरे । त्रिपुरेश्वरको मुगल महल नामक रेस्टुरेन्ट त्यतिबेलाको चर्चित मानिन्थ्यो । रामाले रेस्टुरेन्टमा गाउन थाले । त्यही बेला रेडियो नेपालमा जागिर पनि पाए । भारतको इलाहाबाद संगीत विद्यालयबाट संगीतमा प्रभाकर गरेका कारण उनलाई रेडियो नेपालमा जागिर खान सजिलो भयो । रेस्टुरेन्टको गायन र रेडियो नेपालको जागिर पछि उनले विराटनगरको परिवारलाई काठमाडौं बोलाए ।
भारतीय गायिका अनुराधा पौडवालका साथमा रामा ।
त्यसपछि उनलाई सिनेमामा गाउने अफर बाक्लै आउन थाल्यो । पहिलो पटक ‘मनकामना’ फिल्मको शीर्ष गीत ‘जय जय आमा मनकामना’ र ‘बुझ्दै नबुझ्ने यो मनलाई बुझाउन सकिनँ मैले’ गाए । यसले फिल्म निर्माता, निर्देशकको ध्यान तान्यो । विराटनगरकै पुराना बासिन्दा उद्धव पौडेलले ‘गोपी कृष्ण’ नामको नयाँ सिनेमा निर्माणको घोषणा गरे । रामालाई सिनेमामा गाउने मौका मिलाइदिए साथी भूपेन्द्रले । सिनेमाका संगीतकार उनै भूपेन्द्र थिए ।
‘गोपीकृष्ण’ सिनेमाको ‘कहाँ छौ कहाँ’ बोलको गीत गाएपछि त रामा ‘भाइरल’ भइहाले । त्यसपछि उनले पछाडि फर्किनु परेन । खासमा उनको भागमा अर्कै गीत थियो, ‘माया आफैं चोखो हुन्छ, कुनै बन्धन हुँदैन’ । तर रामालाई धनेन्द्र विमलले लेखेको ‘कहाँ छौ कहाँ’ गीतले तानेको थियो ।
२०४८ सालमा निर्देशक उद्धव र संगीतकार भूपेन्द्रको परिवार अनि गायिका लोचन भट्टराईसहित रामा पनि बम्बई (मुम्बई) हानिए गीत रेकर्डका निम्ति । ‘कहाँ छौ कहाँ गीत मलाई गाउन मन थियो,’ रामा सम्झिन्छन्, ‘तर, निर्देशक र संगीतकार मप्रति विश्वस्त हुन सक्नु भएको थिएन ।’ उद्धवको चाहना त्यो गीत बलिउड गायक कुमार सानुलाई गाउन दिने थियो । भूपेन्द्रको इच्छा पनि त्यही थियो । रामाले उद्धवलाई भने, ‘डाइरेक्टर साब मलाई राम्रो गीत गाउन दिनु होला ।’
उद्धवले शंका व्यक्त गरे, ‘यो एकदमै गाह्रो गीत हो । पछि गीत बिग्रियो भने तिम्रो मिहिनेत खेर जान सक्छ ।’ रामाले तत्कालै जवाफ फर्काए, ‘प्राक्टिस गरेपछि किन नसक्नु ।’ उद्धवले संगीतकार भूपेन्द्रको जिम्मामा छोडिदिए ।
रामाले रेलयात्राभरि त्यो गीत अभ्यास गरिरहे र एकै टेकमा रेकर्ड गराए । यो गीतमा त्यतिबेलाकी चर्चित बलिउड गायिका साधना सरगमको पनि स्वर छ । ‘कुमार सानुलाई दिन लागिएको गीत गाउन पाउनु मेरा लागि ठूलो उपलब्धि थियो,’ रामाले सुनाए, ‘त्यो गीत गाएपछि त मैले पछाडि फर्किएर हेर्नै परेन ।’ रामालाई दिने भनेको ‘माया आफैं चोखो हुन्छ’ गीत उदितनारायण झाले गाए ।
गायक उदितनारायण झा लगायत संगीतकर्मीसँग रामा ।
विराटनगरको मिल्स एरियाको घरमा एक शनिबार उनी रेडियो नेपाल सुनिरहेका थिए । गीत संगीतसम्बन्धी कार्यक्रममा सिफारिस गरियो, ‘अब सुन्नुहोस् साधना सरगम र रामा मण्डलको आवाजमा नेपाली चलचित्र गोपी कृष्णको गीत ‘कहाँ छौ कहाँ.....।’ उनी खुसीले उफ्रिए । ‘रेडियो बोकेर छिमेकीकामा पुग्दै भने, मेरो गीत बज्दै छ, सुन्नु त,’ उनी त्यतिबेलाको समय सम्झँदै भन्छन् ।
रामाले नेपालीका अलाबा मैथिली, भोजपुरी, हिन्दी, थारू र अवधी भाषामा सयौं गीत गाइसकेका छन् । करिब ७ सयभन्दा बढी गीतमा स्वर भरेका रामाले करिब डेढ सय बढी त सिनेमामा मात्रै गाएका छन् । ‘यो केटीको ठीक छैन चाला’, ‘न्युरोडमा एउटी केटी पालिस लाउन आकी’, ‘जोडी मिल्ने भो, पन्चेबाजा ठोक्ने भो’, ‘स्वर्गभन्दा सुन्दर छ हाम्रो सानो घर’ जस्ता चर्चित गीतमा उनले स्वर दिएका छन् ।
सिनेबाटै चर्चित बनिसके पनि उनले रेस्टुरेन्टमा गाइरहे । ४५ वर्षको उमेरसम्म एकै रेस्टुरेन्टमा गाए । जब २०७२ वैशाख १२ मा भूकम्प गयो । त्यसपछि उनको रेस्टुरेन्ट गायनमा पूर्णविराम लाग्यो । अहिले ६८ वर्षको उमेरमा पनि उनको स्वर उस्तै छ । नियमित रियाज गरिरहेकै हुन्छन् । निम्त्याइएका कार्यक्रमतिर गइरहन्छन् र गीत सुनाइरहन्छन् ।
