आठौं एल्बम ल्याएका झन्डै ६ वर्षपछि नवौं एल्बम ‘नवमी’ ल्याउने तयारीमा सुगम
काठमाडौँ — कसले भन्छ, नाममा केही हुन्न ? हुन्छ । गायक सुगम पोखरेलको हकमा त अझ धेरै हुन्छ । जस्तो उनका प्रत्येक एल्बम नामकै कारण पनि विशेष छन् । प्रत्येक एल्बमका नामले सुगमको सांगीतिक यात्राबारे श्रोतालाई केही बताइरहेको भान हुन्छ ।
दसैंको छेको पारेर यति बेला उनै सुगम आफ्नो नयाँ एल्बम ल्याउने तयारीमा छन् । पप संगीतमा युवा पुस्तामाझ लोकप्रिय सुगमले आफ्नो नवौं एल्बमको नाम राखेका छन्, ‘नवमी’ ।
पछिल्लो समय फिल्मको पार्श्व गायनमा मस्त तथा व्यस्त सुगमले लामो समयदेखि नयाँ एल्बम ल्याएका छैनन् । त्यसो त ‘सिंगल ट्र्याक’ को ट्रेन्ड रहेको अहिलेको समयमा एल्बम ल्याउनु नै दुर्लभ भएको छ । तर यी ‘वान म्यान ब्यान्ड’ का लागि भने एल्बम ल्याउनु विशेष रहेछ । दुई दशकदेखि निरन्तरको अन्तरालमा यिनले आठ एल्बम ल्याएनन् मात्रै, लगभग शतप्रतिशत सफलता पनि चाखेका छन् ।
सुगम नायक बन्न चाहन्थे । सानै छँदा एक टेलिसिरियलमा अभिनय पनि गरेका थिए तर त्यही अभिनयले नै उनलाई आफू कलाकारका लागि जन्मेको होइन रहेछु भन्ने महसुस भयो रे । त्यही महसुसले नै उनलाई संगीततिर करिअर बनाउन प्रेरित गरिदियो । विराटनगरमा जन्मे, हुर्केका सुगममा बाल्यकालदेखि नै भारतीय संगीतको गाढा प्रभाव पर्यो । नेपालकै हरिश माथेमा, सुनील उप्रेती र सञ्जय श्रेष्ठका गीत सुनेपछि उनलाई लाग्यो, ओहो, यस्ता पनि त नेपाली गीत रहेछन् । अनि २०५९ सालमा पहिलो एल्बम ‘शून्य’ बाट आफ्नो अनन्तः सांगीतिक यात्राको सुरुवात गरे ।
उनले ‘शून्य’ नाम राख्नुको कारण पनि रोचक छ । विराटनगर छँदै केही गीत ल्याए तर ती चल्दै चलेनन् । निराशा र पीडा मात्रै महसुस गरे । अब केही पनि हुन सक्दैन भनेजस्तो अनुभव गरे । ‘त्यसपछि काठमाडौं आएँ । हिम्मत जुटाएर एल्बम निकाल्ने तयारीमा लागें । अनि लाग्यो, अब शून्यबाटै सुरु गर्छु,’ सुगमले भने । अन्ततः ‘शून्य’ एल्बम सफल भयो । यसै एल्बमको गीत ‘फेरि त्यो दिन सम्झन चाहन्नँ’ ले त त्यो बेलाको ‘पप कल्चर’ मा हंगामा नै मच्चायो । त्यसो त यो प्रेम र बिछोडकै गीत थियो । तर, अहिले फर्केर हेर्दा उनलाई लाग्छ, कतै आफू फेरि पुराना दिन फर्कन्नँ भन्ने सोचले नै यो गीतमा मन लगाएर काम गरेको पो थिएँ कि ? यही एल्बमको अर्को गीत ‘मेरो संसार तिमी नै हौ’ पनि निकै चल्यो ।
पहिलो एल्बमकै अत्यधिक सफलताले उत्साहित सुगमले लगत्तै २०६० मा दोस्रो एल्बम ल्याए । शून्यबाट थालेका उनको गायन यात्रा दोस्रो एल्बम आइनपुग्दै राजमार्गमा कुद्न थालिसकेको थियो । यस्तोमा एल्बमको नाम पनि जुराए, ‘हाइवे’ । १० गीत समेटिएको यस एल्बमका ‘कति दिन बिते’ र ‘माया यो धेरै गाह्रो’ खुब चले । ‘हाइवे’ निस्कँदासम्म पनि सुगमको मनमा एउटा कुरा खेलिरहेको थियो, असफलताबाट सफलतासम्म पुग्दा त मज्जै भयो तर सफल भएर असफल भयो भने ?
हुन पनि सुरुवाती दुवै एल्बम बजारमा निकै बिकेपछि उनलाई सफलता टिकाइराख्न दबाब पनि थियो । तर, उनले संगीतमा नै टिकिरहने नयाँ सूत्र भेटाएको महसुस गरे ।
उनले सोचिरहेका थिए, आफ्नो खास परिचय दिने संगीत कस्तो हुनुपर्छ त ? त्यसैले बन्यो, ‘साथी’ गीत । उनका सुरुआती गीत प्रेमसम्बन्धी नै बढी थिए । यही धारमा टेकेर उनले २०६२ मा ल्याए, तेस्रो एल्बम ‘सूत्र’ । जसको एक गीत ‘मेरो एउटा साथी छ’ ले सफलताको अर्को झन्डा गाड्यो । गीतबारे सुगम भन्छन्, ‘यो साथी केटो नै हो । सबैको जीवनमा नजिकका साथी हुन्छन् । मलाई पनि यहाँसम्मको यात्रामा सहयोग गर्ने अनेक साथी छन् । यो गीतबाट मैले उनीहरूलाई धन्यवाद दिन चाहेको हो ।’ यसै एल्बमको अर्को चर्चित गीत हो, ‘मनको दैलो’ ।
तीन एल्बमको सफलतापछि सुगमलाई धेरैले सोध्न थाले, ‘अबको यात्रा के त ?’ सुगमलाई लाग्यो, काठमाडौं आएयता उनको यात्रा नामजस्तै ‘सुगम’ नै बनिरहेको थियो । अनि त चौथो एल्बमको नाम पनि जुर्यो, ‘सुगम यात्रा’ । २०६४ मा आएको यस एल्बमका गीतमध्ये ‘सम्हालिन्छ कहिले मन’ र ‘मनको रानी’ ले पुनः पप गायनमा तहल्का मच्चाए । सुगमलाई भने यसको अर्को गीत ‘मनको रानी’ बढी मन पर्छ रे । चौथो एल्बमसम्म आइपुग्दा सुगम आफ्नो संगीत यात्रालाई लिएर केही आत्मविश्वासी भइसकेका थिए कि ? हुन सक्छ, उनी आफूले तय गरेको यात्राप्रति कृतज्ञ थिए । उनलाई आफ्नो सांगीतिक जीवनमा मज्जा लाग्न थालेको थियो ।
२०६५ सालमा नै फेरि ल्याए, पाँचौं एल्बम, ‘स्कुल पाठशाला’ । यसपालिको नाम भने धेरैलाई अनौठो लाग्यो । स्कुल पनि पाठशाला पनि ? सानैमा सुगमलाई लागेको रहेछ, उनले पढ्ने स्कुलको नाम पाठशाला होस् । एल्बमकै ‘टाइटल सङ’ सँगै ‘झिल्के’ श्रोतामाझ चले । यसपछि भने सुगमले झन्डै तीन वर्ष लगाए, आफ्नो नयाँ ‘सुगम संगीत’ ल्याउन ।
नेपालमा आधुनिक गीतलाई नै सुगम संगीत भन्ने गरिन्छ । सुगमका गीत पनि पपसँगै आधुनिक पनि थिए । उनका गीत, संगीत समकालीन गायकका भन्दा केही फरक र विशेष हुने गर्थे । संगीतका खास पारखीले त एकैपल्टमा सुनेर सुगमको गीत भन्ने थाहा पाइहाल्थे । ‘मेरो जीवन यस्तो होस्’ गीत सायद यस्तै यस्तै छ । गीतको भिडियोमा छन्, रंगकर्मी दाइ सुनील पोखरेल । यस एल्बमका गीतलाई सुगम आफैं ‘प्रोगेसिभ’ भन्न रुचाउँछन् ।
२०७१ को सातौं एल्बम ‘श्वेत हँसिनी’ मा आइपुग्दा सुगम केही हदसम्म आध्यात्मिक पनि भइसकेका थिए कि ? ‘सायद’ सुगम थप्छन्, ‘एक दिन मलाई लाग्यो, यत्रो एल्बम गरिसकें, खासमा म सरस्वतीको चेलो तर सरस्वतीसँग जोडिएका भजन नै किन कम सुनिन्छन् भन्ने चिन्ता थियो ।’ त्यसैले सरस्वतीकै सम्मानमा उनले एल्बमको नाम नै तय गरे । उनको श्वेत हँसिनीको गीत अचेल स्कुलतिर बज्दा भने उनी खुसी छन् ।
काठमाडौं थियो, सुगमको कर्मभूमि । काठमाडौंप्रति साह्रै कृतज्ञ उनी अचेल पाटनतिर बस्छन् र यतिसम्म भन्ने भइसके, ‘जि ला नेवाः बर्मु’ । अर्थात् ‘म त नेवार बाहुन’ । उनी थप्छन्, ‘मैले संसार घुम्ने अवसर पाएँ । तर, यहाँको मोहकता मलाई बढी मन पर्छ । मलाई त अचेल काठमाडौंका बाटोले पनि चिन्छ जस्तो लाग्छ ।’ यही भाव दर्साउन उनले आफ्नो आठौं एल्बमको नामै जुराए, ‘तिलस्मी काठमाडौं’ ।
२०७५ सालमा आठौं एल्बम ल्याएका सुगम झन्डै छ वर्षपछि नवौं एल्बम ‘नवमी’ सहित आउने तयारीमा छन् । पहिलो एल्बम ल्याएपछिको २२ वर्षे सांगीतिक यात्रामा असफलता बेहोर्नु नपरेका सुगमको ‘नवमी’ के कस्तो हुनेछ, त्यो भने प्रतीक्षाकै विषय पनि हो । एल्बम नै निस्कन छोडेको अवस्थामा उनले गरेको यो आँट केही त पक्कै विशेष नै हुने उनका श्रोताको अनुमान छ ।
