आफ्नो ‘लोकेसन’ वरपरका रेस्टुरेन्टको अनलाइनबाटै मेन्यु हेरेर अर्डर गरे केही बेरमै घरसम्मै खानेकुरा आइपुग्ने
लुम्बिनी — भोक लाग्यो वा कहिलेकाँही फरक स्वाद चाख्न मन लाग्दा तपाईं प्रायः रेस्टुरेन्ट नै छिर्नुहुन्छ होला । अब घरभन्दा बाहिर खान जान दौडधुप गर्नुपर्ने बाध्यता छैन । आफ्नो ‘लोकेसन’ वरपरका रेस्टुरेन्टको अनलाइनबाटै मेन्यु हेरेर अर्डर गरे केही बेरमै घरसम्मै खानेकुरा आइपुग्ने भएको छ ।
यो सुविधाले खानाका पारखीलाई सजिलो बनाइदिएको छ । १ सय ५० भन्दा बढी रेस्टुराँका मेन्यु एउटै प्लेटफर्ममा उपलब्ध भएपछि त झन् रोजीरोजी खान पाइने नै भयो । विगत तीन वर्षदेखि अनलाइन अर्डरका आधारमा ग्राहकलाई ‘फुड डेलिभरी’ को सुविधासहित यहाँ ‘भोज डिल्स एप’ सेवारत छ ।
रूपन्देहीका बुटवल, भैरहवा, बेलहिया, देवदह, तिलोत्तमा, तामनगरका बासिन्दा उक्त एप प्रयोग गरेर लाभान्वित भइरहेका छन् । घरबाहिरको परिकार खानुपर्यो भने उनीहरू यही एपमार्फत अर्डर गर्छन् ।
काठमाडौंमा मुख्यालय रहेको उक्त एपले आफ्नो सेवा क्षेत्रलाई मोफसलका सहरमा समेत विस्तार गरेको हो । ‘भोज डिल्स’ एपको लुम्बिनी प्रदेशकी महाप्रबन्धक नेहा अग्रवाल हुन् । काठमाडौंबाट स्नातकोत्तर गरेकी विराटनगरकी नेहालाई यो व्यवसायमा यतिबेला उनका एक भाइ र बहिनीले समेत सघाइरहेका छन् ।
नेहाको काठमाडौंमा अध्ययनसँगै रोजगारी चलिरहेको थियो । त्यही बेला बुटवल आइपुगिन् । रोजगारीको सिलसिलामा यहाँ उनले अध्यापन हुँदै बैंकिङ क्षेत्र रोजिन् । ‘तीन वर्षजति बैंकमा काम गरेपछि विश्राम लिएँ,’ नेहाले भनिन्, ‘त्यसपछि घरमै बसेर अनलाइन ज्वेलरी सप पनि चलाएँ ।’ चार वर्ष अनलाइन व्यापारको अनुभव बटुलेपछि नेहालाई अरू नयाँ व्यवसाय गर्न मन लाग्यो । ‘मेरा दुई जना भाइले काठमाडौंमा भोज एप चलाइरहेका थिए,’ उनले भनिन्, ‘मैले पनि बुटवल र आसपास हेर्छु भनेर सहकार्यमा यतातिरको बजार हेर्न थालें ।’
उनका अनुसार भोज डिल्समा डेलिभरी र डाइनिङ गरी २ वटा भाग छुट्याइएको छ । जसमध्ये डेलिभरी सेवामार्फत खाजा, खाना, ग्रोसरी र पार्सल घरसम्म पुर्याउने गरिन्छ । उक्त एपबाट घरसम्म खाना मगाउँदा किलोमिटरको आधारमा सेवा शुल्क लाग्ने उनले बताइन् । ‘अहिलेको व्यस्त जीवनमा यो एप अत्यन्तै फलदायी बनेको छ,’ उनले भनिन्, ‘बुटवल क्षेत्रमा बिहान ८ बजेदेखि राति २ बजेसम्म सेवा दिन्छौं भने भैरहवाको बेलहियातिर राति १० बजेसम्म लैजान्छौं ।’
२५ जनालाई रोजगारी दिएर एपमार्फत सेवा प्रदान गरिरहेको उनले जनाइन् । परिवारको सहायता र आफ्नो लगावले प्रविधिमैत्री व्यावसायिक क्षेत्रमा प्रवेश गरेको नेहाले बताइन् । ‘यो व्यापारबाट मलार्ई खुसी मिलेको छ,’ भनिन्, ‘एआईको जमानामा मैले पनि प्रविधिसित घुलमिल भएर काम गरेकी छु, यो खुसीको विषय हो ।’
तीन वर्षमा भोज डिल्सलाई लुम्बिनी क्षेत्रमा चिनाउन सकेकोमा नेहा खुसी छिन् । भोज डिल्सले विभिन्न रेस्टुराँसँग गरेको सम्झौताअनुसार आफ्नो आम्दानीमा ‘मार्जिन’ राखेको हुन्छ । हालसम्म देशका काठमाडौं, ललितपुर, भक्तपुर, विराटनगर, बुटवल, भैरहवा, धरान, इटहरी र वीरगन्ज गरी ९ सहरमा सेवा प्रदान गरिरहेको उनले बताइन् ।
एपमा हालसम्म झन्डै ३ लाख ग्राहक जोडिएकाले सोहीअनुरूप सेवा दिइरहेको उनले बताइन् । भोज डिल्सले काठमाडौंबाट ताजा मिठाईका परिकार रूपन्देहीका स्थानीयको अर्डरअनुसार मगाउने र घरमै पुर्याउने गर्छ भने रूपन्देहीबाट पेडालगायत परिकार काठमाडौंका ग्राहकसमक्ष पुर्याइरहेको छ । अधिकांश समय व्यवसायमा व्यस्त रहने नेहा हस्तकलामा पोख्त छिन् । फुर्सदमा हस्तकलाको काम गर्छिन् ।
नेहाले भोज डिल्समार्फत बनाएको पहिचानलाई अपग्रेड गर्दै लैजाने र यसमा प्रविधिअनुसार सुविधा थप्दै लैजाने बताइन् । यसरी काम गरिरहँदा सरकारी क्षेत्रबाट सुरक्षा भने हुनुपर्ने उनको भनाइ छ । ‘हामी अनुमति लिएर रातिसम्म सेवा दिन्छौं,’ उनले भनिन्, ‘हाम्रा राइडरलाई सडक यात्रामा सुरक्षा चुनौती हुन्छ, त्यसमा सुरक्षा आवश्यक छ, ई–कमर्स बिजनेस भएकाले सरकारले यसमा आवश्यक अध्ययन गरेर हामीलाई अघि बढाउनुपर्छ ।’
