बेलायतको अल्डरशटमा नयाँ वर्षको स्वागत

चैत्र ३१, २०८१

आश गुरुङ

Welcoming the New Year in Aldershot, UK

बेलायत — बेलायतको अल्डरशट क्षेत्रमा बस्दै आएका नेपालीले नेपाली नयाँ वर्ष २०८२ को भव्य स्वागत गरिरहेका छन् ।यहाँका विभिन्न समुदाय, समाज तथा संघसंस्थाले औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर नयाँ वर्षको स्वागत गरिरहेका हुन् ।

ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले एम्पायर हल अल्डरशटमा शनिबार साँझ आयोजना गरेको विशेष कार्यक्रममा बेलायतीहरु समेत झुमे । जीआरएनसीका अध्यक्ष मान गुरुङका अनुसार सन् २००३ मा स्थापना भएको संस्थाले बेलायतको अल्डरशटमा र नेपालमा समेत विभिन्न परोपकारी कार्य गर्दै आएको छ । नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा संवर्द्धनका कार्य गर्दै आएको उनले बताए ।

यसवर्षको नयाँ वर्ष स्वागत तथा विविध कार्यक्रमको रश्मुर बरो काउन्सिलरका मेयर काउन्सिलर मारा मकुनारा, यसै क्षेत्रका सांसद एवम् नेपाल मामिला प्रमुख अलेक्स बेकर, कार्यक्रमका अध्यक्ष मान गुरुङ र संस्थापक कार्यबाहक अध्यक्ष रामचन्द्र गुरुङले उद्घाटन गरे । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेका धर्म गुरु खेन्पो सेनाङ, खेन्पो फुर्तेम्बा र पण्डित शिव बल्लभ रेग्मीले पूजापाठसहित आशीर्वाद प्रदान गरे ।

‘बेलायत र नेपालको सम्बन्ध सदियौंदेखिको हो । अझै थप गाढा बनाउन आवश्यक छ,’ सांसद अलेक्स बेकरले भनिन् । उनले नेपाली संस्कार र संस्कृति सबैलाई मन्त्रमुग्ध पारेको बताइन् । 

संस्थाका संस्थापक कार्यवाहक अध्यक्ष रामचन्द्र गुरुङले नेपाली एकताले यहाँ मनाउने नेपाली नयाँ वर्ष तथा चाडपर्व सफल रुपमा सञ्चालन हुँदै आएको बताए । 

अंग्रेजी गीतमा बाँसुरीको धुनका साथै लोपुन्मुख घाँटु नृत्य पनि प्रस्तुत गरिएको थियो । लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङले नेपाली नयाँ वर्षले नेपालीलाई जमघट गर्ने र दुःखसुख साटासाट गर्ने वातावरण बनाएको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully