पोखरा — भक्तपुरको बिस्केट जात्रा अब पोखरामै हेर्न पाइने भएको छ । होटल संघ पोखराको आयोजनामा शनिबारदेखि सुरु भएको २० औं फेवा नववर्ष महोत्सवमा बिस्केट जात्रा अवलोकन गर्न पाइने भएको हो ।
नयाँ वर्षको अवसरमा वैशाख १ सम्म लेकसाइडको ड्यामसाइडदेखि खहरेसम्म सडकमै महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा पञ्चेबाजा, भजन, रत्यौलीसहित नाच महोत्सव आकर्षणको रुपमा रहेका छन् । लेकसाइडको अम्बोटमा आयोजित सभामा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरे । उद्घाटनअघि खहरे र ड्यामसाइडबाट निकालिएका झाँकीसहितका र्याली सभास्थल पुगेका थिए ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेका छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित रेटमा २० प्रतिशत छुट प्रदान गरेका छन् । अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए । आन्तरिक पर्यटन प्रवर्द्धन र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनको भनाइ थियो ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महोत्सवले भूमिका खेल्ने सुवेदीले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिँदै जाने विश्वास पनि व्यक्त गरे ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए । उनले पोखरामा पर्यटन सम्बन्धी लगानी र ‘ब्रान्ड’ थपिँदै गएको र यो सुखद् पक्ष भएको सुनाए । होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागको माटो निकालेर सानो ताल बनाएर त्यहाँ जल गतिविधि सञ्चालन गर्न सकिने सुझाव राखे ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका समावेश छन् । संस्थागत ब्याडमिन्टन कप प्रतियोगिता पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामग्रीको प्रदर्शनी, लोकदोहोरी लगायत गतिविधि छन् ।
