गुमनाम लाहुरेनीकी ‘डिस्क्लोजर’

गोर्खा लाहुरेका इतिहास लेखियो, प्रचार गरियो । तर लाहुरेनीका चाहना, सपना, भोगाइ र संघर्षलाई पनि दुनियाँले बुझ्नुपर्छ भन्ने लागेर सुजना त्यसैको अनुसन्धानमा लागिन्

चैत्र १९, २०८१

गगनशिला खड्का

Anonymous Lahureni's 'Disclosure'

गुल्मी — गाउँका हजुरआमाहरुले आफ्ना श्रीमान् विश्वयुद्ध लडेको कुरा गर्दा सानै उमेरकी सुजना थापा श्रीस चाख मानेर सुन्थिन् । हजुरबुबाहरु युद्धमा जाँदा हजुरआमाहरुका जिम्मेवारी, चिन्ता र एक्लोपनका आँसु भरिएका कथाले उनको मन छुन्थ्यो ।

गोर्खा लाहुरेका इतिहास त लेखिए, प्रचारमा आए । तर लाहुरेनीका मनभित्र दबिएका चाहना, सपना, भोगाइ र संघर्षलाई पनि दुनियाँले बुझ्नुपर्छ भन्ने लागेर उनी त्यसैको अनुसन्धानमा लागिन् । त्यहीँ अनुसन्धानमार्फत् उनले गोर्खा पल्टनका लाहुरे र उनका गुमनाम श्रीमती लाहुरेनीहरुलाई डिजिटल माध्यमबाट संसारभर चिनाउने अभियान चलाइन् ।

सत्यवती–८ भार्से घर भइ क्रिएटिभ आर्टस् इनिसिएटिभ प्रालिमार्फत् काठमाडौं बसेर आफ्नो पुर्ख्यौली लाहुरेहरुको गाउँ भार्से र भार्सेलीलाई विश्वमा चिनाउने अभियानमा लागेकी उनले लाहुरेनी बज्यैहरुको अनुभवको भिडियो तथा पोट्रेट चित्र प्रदर्शनीका साथै लिटरेचर फेस्टिभलहरुमा उनीहरुको बारेमा संवादसमेत चलाउने गरेकी छन् ।

‘बाजे र बजैहरुको कथाव्यथा सुन्दै हुर्किएँ । पढाइको क्रममा ज्ञान आर्जन गरिसकेपछि त्यस्ता कुरालाई सोसल साइन्स रिसर्चबाट यसलाई प्रिजर्भ गर्न सक्छौं, स्टोरीटेलिङ वा डिजिटल अर्काइभिङलगायतको माध्यमबाट अरुको माझमा ल्याउन सक्छौं भन्ने लाग्यो’, उनी भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा पछिको पुस्ताको लागि अनुसन्धानमूलक अर्काइभ स्टडीको लागि पनि काम हुन्छ भनेर यसमा काम गरेको हुँ ।’

Anonymous Lahureni's 'Disclosure'

गोर्खा सैनिकका श्रीमतीहरुको विषयमा उनको अध्ययन सन् २०१८ देखि सुरु भयो । धरान, गोरखा, पोखरा, बाग्लुङ, भार्से (गुल्मी) र बुटवलका गोर्खा सैनिक परिवारका बज्यैहरूसँग भेट्न थालिन् । यो अनुसन्धानको यात्रा २०२० सम्म चल्यो । २०१८ मा ‘भार्सेलीज गोर्खा फ्रम स्टोरीज टू पोट्रेट’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेबाट सुरु भएको लाहुरेनीको कथा प्रदर्शनीले लामो अनुसन्धान र अध्ययन पछि गत वर्ष मंसिरमा काठमाडौंको आर्ट काउन्सिलमा ‘गोर्खा वुमन : एन इको इन द स्टोरी’को रुप लियो । सोही प्रदर्शनीले उनलाई ‘गुमनाम लाहुरेनीको ‘डिस्क्लोजर’ को परिचय दियो ।

प्रदर्शनीमा भूतपूर्व तथा वर्तमान गोर्खा सैनिकका परिवार, कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिले गोर्खा सैनिकका श्रीमतीहरूका फोटो, भिडियो, उनीहरुका कथा र उनीहरूसँग सम्बन्धित पोसाक, गहनालगायतको अवलोकन गरेका थिए ।

‘गोर्खाको २ सय वर्ष लामो इतिहास छ । त्यसमा आफ्नो दिमाग लगाएर अथेन्टिक प्रोजेक्ट ल्याउन सकेँ । ७० वर्षभन्दा माथिका ५० भन्दा बढी बज्यैहरुको अन्तर्वार्ता गरेँ । अबको पुस्ताले त्यो गर्न नसक्ला,’ आफ्नो मेहनतपछिको उपलब्धिलाई सम्झँदै उनी भन्छिन्, ‘त्यसलाई अनुसन्धान गरी डिजिटल्ली अर्काइभ गर्नु नै मैले ठूलो कम गरेँ । गाउँगाउँ डुलेर सानो बजेट, सानो टिम लिएर प्रदर्शनी सफल पार्नु निकै ठूलो लाग्यो ।’ सुजनाका अनुसार यी वस्तु केवल सामग्री होइनन्, यी महिलाको संघर्ष र मायाका साक्षी हुन् ।

हुन त गोर्खा भर्तीका कारण उनीहरुको पारिवारिक पृष्ठभूमि राम्रो बन्यो । उनी आफैं पनि बाजे लाहुरे नभएको भए आफूहरु गाउँमै हुने र सहरमा पढेर यो अवस्थामा सोच्ने बुझ्ने अवस्थामा पुग्न नसक्ने उनको भनाइ छ ।

‘बाजे लाहुरे नभएको भए हाम्रो माइग्रेसन नै हुँदैन थियो, यो पृष्ठभूमि नभएको भए हामी गाउँतिरै हुन्थ्यौं होला’, उनी भन्छिन्, ‘गोर्खा भर्तीपछि सोसियो इकोनोमिक ज्ञान त बढ्यो तर डिजिटल अर्काइभिङ, रिसर्च, बुक लेख्ने काम अलि कम थियो, गरेको भएपनि पर्याप्त थिएन । त्यसले गर्दा मलाई त्यो अनुसन्धान गर्न निकै गाह्रो भएको थियो ।’ यो ऐतिहासिक तथ्य अध्ययनका लागि उनी कुनै ठूलो योजना बनाएर काम गरिनन् । आफूले अन्य प्रोजेक्टमा काम गर्दै संकलन गरेको रकम र भाइहरुलाई सहयोग मागेर काम गरेको उनको भनाइ छ । भन्छिन्, ‘बीचमा फण्डहरु सकिएर मैले फेरि अरु प्रोजेक्टहरुमा काम गरेँ । बीचमा धेरै ठक्कर खाइयो । पहिला सहयोग गर्छु भनेकोहरु पनि पछि आएर हिच्किचाउनुभयो । तर पनि ठूलो संघर्षले सफल भयो ।’

गुमनाम लाहुरेनीको कथालाई उनले प्रदर्शनीमा मात्र सीमित राखिनन्, गत वर्ष पोखरामा सम्पन्न लिटरेचर फेस्टिभलमा समेत प्रवेश गराइन् । ‘लाहुरेनीका कथा व्यथा’ सेसनमा विश्वयुद्धदेखि बम, गोली र बारुद्धको बीचमा लाहुरे आत्मविश्वास बनेका ‘लाहुरेनी’हरू जहिल्यै छायामा परेको वक्ताले बताए । यसले पनि एउटा बहसको सिर्जना गरेको उनको बुझाइ छ ।

Anonymous Lahureni's 'Disclosure'

एक समयको प्रदर्शनी वा बहसले मात्र त्यसलाई जीवन्तता नदिने ठानेर उनले पुर्ख्यौली थलो भार्सेमै गोर्खा ग्यालरी स्थापनामा समेत भूमिका खेलेर आफ्नो सबै अध्ययनको अभिलेखीकरण गरेर राखेकी छन् । त्यसमा उनका बुबा बोमबहादुर थापाले सहयोग गरे, जो नेपाल सरकरको अधिकृतबाट सेवा निवृत्त हुन् ।

कला र चलचित्र सम्बन्धी विभिन्न कामका साथै रेडियो प्रस्तोताको रुपमा अनुभव संगाली सकेकी सुजना कला क्षेत्रमा रुचि राख्थिन् ।

‘चित्र बनाउने मात्र होइन यसको विभिन्न पार्ट पर्फमेटिभ आर्टस्, भिजुअल आर्ट, म्युजिक, फिल्म, थिएटर सबैमा रुचि राख्छु’, उनी भन्छिन्, ‘त्यसबाहेक अलिकति एड्भन्चरस काम पनि मनपर्छ । किताब पढ्ने र संकलन गर्ने पनि मेरा रुचिका विषय हुन् ।’

त्यसो त उनको जीवन सहज तरिकाले बितेको होइन । सानै उमेरमा जन्मदिने आमा गुमाउनु पर्दाको पीडालाई लुकाएर जिम्मेवारी र समस्यासँग जुध्ने र जीवन निर्माण गर्ने आधार बनाइन् ।

‘१७/१८ वर्षमै ठूलो रेस्पोन्सिब्लिटी काँधमा लिएकोले विभिन्न विघ्न बाधालाई कसरी ट्याकल गर्ने, परिवारलाई कसरी सम्हाल्ने, पारिवारिक जिम्मेवारीलाई कसरी आत्मसाथ गरेर अगाडि बढ्नेलगायत अरु जिम्मेवारी थाहा पाएँ,’ उनी भन्छिन् ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully