टिकटक हुँदै सर्टफिल्ममा

माघ २६, २०८१

भवानी भट्ट

In a short film via TikTok

कञ्चनपुर — भर्खर टिकटक आएको थियो, उनले पनि विभिन्न किसिमका भिडियो बनाएर अपलोड गर्न थालिन् । कोरोना संक्रमणका बेला लकडाउनले घरबाहिर निस्किन गाह्रो थियो । यही मौकामा उनी टिकटकमै रमाइरहेकी थिइन् ।

टिकटकमा भाइरल भइरहने भीमदत्त नगरपालिका–१ की समु चौधरी अहिले थारू समुदायमा चल्तीकी मोडेल भएकी छन् । कक्षा १२ सम्म अध्ययन गरेकी चौधरी सानैदेखि विद्यालय र गाउँटोलका कार्यक्रममा उनी नाच्थिन् । 

विवाहपछि उनी घरकै काममा अल्झिइन् । लकडाउनको फुर्सदमा उनले टिकटक बनाउन थालिन् । त्यही टिकटकबाट भाइरल भएर विभिन्न गीत, छोटा फिल्ममा अभिनय गर्ने मौका पाइन् ।

‘आऊ गोरी वाला झुले, अफन वाहुमे...’ र ‘लेहंगा चोल्यम सुग्घर छैली...’ थारू समुदायमा निकै चल्तीका यी गीतको भिडियोमा समुले अभिनय गरेकी छन् । यस्तै तीन दर्जन गीतमा अभिनय गरेको उनले बताइन् । उनी गीत र छोटा खालका फिल्मको सुटिङका लागि विभिन्न जिल्लामा पुगिरहन्छिन् । 

महिलामाथि हुने हिंसाको विषय समेटेर बनाइएको थारु भाषाको ‘पेन्चर पैया’ उनले अभिनय गरेको सर्टफिल्म हो । दुई वर्षअघि मात्रै उक्त फिल्मको छायांकन गरिएको थियो । विभिन्न किसिमका कार्यक्रममा उक्त फिल्म प्रदर्शन हुने गरेको छ । ‘सानैदेखि गीत गाउने र नाच्ने तथा अभिनय गर्थे, त्यतिबेलादेखि नै कलाकार बन्ने इच्छा थियो,’ चौधरीले भनिन्, ‘त्यतिबेला चिनेजानेको कोही थिएनन्, अभिनय गर्छु भन्दै कोसँग जाने ?, जब टिकटकमा भिडियो अपलोड गर्न थाले त्यसपछि आफन्तबाटै अभिनयका लागि प्रस्ताव आयो ।’

त्यसपछि मात्रै विभिन्न गीत र फिल्ममा अभिनय गर्ने मौका पाएको पाएको उनले बताइन् । उनको माइती घर बेलौरी हो । माइती तर्फकै एक आफन्तले कलाकारसँग भेट गराइदिएपछि अभिनय गर्ने मौका पाएकी उनी बताउँछिन् । उनले अभिनय गरेको थारू भाषकै ‘वीरा’ नामको फलु मुभी छायांकनकै चरणमा छ । तीन वर्षअघि छायांकन सुरु भएको उक्त फिल्मको प्राविधिक कारणले अहिले काम रोकिएको उनले बताइन् । उक्त फिल्ममा समुले नायिकाको भूमिका निर्वाह गरेकी छन् । नायक वीर चौधरी छन् । 

सुत्केरी हुनुभन्दा केही समयअघिदेखि उनी फिल्म तथा गीतको छायांकनमा गएकी छैनन् । तर अहिले पनि उनले टिकटकदेखि फेसबुकको स्टोरीमा विभिन्न भिडियो बनाएर अपलोड गरिरहेकी हुन्छिन् ।

उनले अपलोड गरेका भिडियोहरूमा राम्रै भ्युअर पाइरहेको हुन्छ । २९ वर्षीय चौधरीका दुई छोरा छन् । जेठो छोरा ९ वर्षका भए । उनका श्रीमान् आशिष व्यापार व्यवसायमा थिए । तर अहिले व्यवसाय छाडेर उनी वैदेशिक रोजगारीमा जाने तयारीमा छन् । घरपरिवारबाट पनि उनलाई अभिनयका लागि राम्रो साथ सहयोग पाइएको छ । परिवारकै साथले उनले अभिनयका लागि समय पनि पाइरहेकी छन् ।

युवा ग्यालरी

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully