रहेनन् लोकगायक लालबहादुर गन्धर्व

भूमिसुधारसम्बन्धी गीत गाएर रेडियो नेपालमा स्वर परीक्षा पास गरेका उनले २०२२ मा पहिलो गीत ‘खरबारीको छेउ’ रेकर्ड गराएका थिए

माघ २५, २०८१

हरिराम उप्रेती

Folk singer Lal Bahadur Gandharva is no more

गोरखा — २०२२ सालमा राजाले बोलाएको भन्दै प्रहरी घरमा आइपुग्दा लालबहादुर गन्धर्वका मनमा अनेक तर्कना आए । तत्कालीन राजा महेन्द्रले सारंगी रेटेर गाउन सक्ने गन्धर्वहरूलाई दरबार बोलाएको खबर लिएर प्रहरी आउँदा कतिपय डराएर भागेका थिए ।

तर गोरखाबाट लालबहादुरसहित ५ जनाले राजाकहाँ जाने निधो गरे । देशभरबाट बोलाइएका गन्धर्वमध्ये लालबहादुर ३० जनाभित्र छानिए । 

भीमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालस्थित घरमा कात्तिक अन्तिम साता भेटिँदा लालबहादुरले विगतका अनेक किस्सा सुनाएका थिए । उनले भनेका थिए, ‘तीन महिना तालिम लियौं, अन्तिम छनोटमा झलकमान (गन्धर्व) सँगै म थिएँ ।’

महेन्द्रको अगाडि भूमिसुधारसम्बन्धी गीत गाएर धर्मराज थापामार्फत रेडियो नेपालमा जोडिएका उनको त्यसपछि नै सांगीतिक यात्रा सुरु भएको थियो ।

भूमिसुधार खुलाई पाम झट्ट 

कोल्टे पाथी बेचेर चौपट्ट

हजार मुरी धान हुने एउटा घोडा चढ्ने 

गरिबले जग्गा मागे शरीर शरण पर्ने

रेडियो नेपालमा छनोट हुँदा गाएको यही गीत उनले प्रायः गुनगुनाउँथे । ‘गाडी मोटर केही थिएन, त्यो बेला हिँडेरै काठमाडौं पुगेको, भूमिसुधारसम्बन्धी यहीँ गीत गाएर छनोट भएँ,’ उनी भन्थे, ‘रेडियो नेपालमा जागिर गर्दा ३ सय तनखा थियो ।’ रेडियो नेपालको जागिर भने उनले लामो समय गरेनन् । त्रिशूलीमा झ्याउरे भाका हालेर सारंगीको धुनमा गीत गाएपछि उनलाई सेनामा जागिर मिलेको थियो ।  

‘रेडियो नेपालको जागिर ५ वर्ष पनि गरिनँ, २०२७ मा त्रिशूली बजार पुगेर सारंगीको धुन सुनाउँदा त्यो बेला आर्मीको हाकिमले मन पराउनुभयो, सेनाको जागिर मिल्यो,’ उनी सम्झन्थे । सेनामा पनि उनले २ वर्ष मात्र काम गरे । २०३० मा आफ्नै थातथलो घ्याम्पेसाल फर्किएपछि भने उनी यतै रमे । सारंगीको धुन सुनाउँदै गोरखाका गाउँ, पाखा डुले ।

 तत्कालीन समयमा रेडियो नेपालमा ९ वटा गीत रेकर्ड गराएका लालबहादुरको जीवन नै सारंगीको धूनमा रमेरै बित्यो । १९९० को भूकम्प, पृथ्वीनारायण शाहको नेपाल एकीकरणसम्बन्धी कर्खा, डाँफे चरीको जीवन, जंगबहादुर राणाको बेलायत यात्रा, विश्वयुद्ध, केटी माग्ने गीत, गोरखनाथको मंगललगायत गीतले उनलाई राष्ट्रिय रूपमा चर्चामा पुर्‍यायो । गत वर्ष राष्ट्रिय कलाकार घरमै भेट्न आउँदाको खुसी उनको मुहारमा देखिन्थ्यो । २०७६ मा काठमाडौंमा प्रज्ञा प्रतिष्ठानमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ’ पनि भएको थियो । 

झलकमानसँगै रेडियो नेपालमा जोडिएका उनै लोकगायक लालबहादुरको बिहीबार ७९ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय आन्द्राको समस्याबाट गुज्रिएका उनले २ वर्षदेखि आँखाको ज्योति पनि गुमाएका थिए । शारीरिक रूपमा निकै गलेका भए पनि सारंगी रेट्न र गीत गुनगुनाउ भने छोडेका थिएनन् । उनी प्रायः धर्मराज थापाको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ गीत गुनगुनाउँथे । २००२ वैशाख १४ मा जन्मिएका उनले ९ वर्षको उमेरदेखि नै बाबुको सिको टिपेर सारंगी बजाउन थालेका थिए । उनको सारंगी मोह बुढ्यौली लाग्दासम्म उस्तै थियो ।  

उनले २०२२ असार २२ मा ‘खरबारीको छेउ’ गीत पहिलो पटक रेकर्ड गराएका थिए । उनका ९ छोरा र १ छोरी छन् । आफ्नो शेखपछि यो पेसालाई कसले निरन्तरता देला भन्दै चिन्ता जनाउँथे । ‘उहाँले सकुन्जेलसम्म सारंगी बजाउन छाड्नुभएन,’ स्थानीय भीमसेन काजी बानियाँले भने, ‘दिनमा कम्तीमा पनि एकपल्ट सारंगी लिएर गीत गुनगुनाउनै पर्थ्यो ।’ 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully