दशकपछि ‘फेरि जालमा’

नयाँ सिर्जना पहिलाको ‘भाइभ’ भन्दा राम्रो हुनै सक्दैन भन्ने थियो, ‘पारि त्यो डाँडामा’ का सर्जक कालीप्रसादलाई । पुनः सिर्जना गर्दा बिगार्न खोज्यो भन्लान् भन्ने डर उत्तिकै ।

माघ २३, २०८१

रीना मोक्तान

After a decade, ”again in the trap”

काठमाडौँ — गीतकार कालीप्रसाद बाँस्कोटालाई थाहा थियो, ‘जालमा’ दर्शकको मुखैमा झुन्डिएको गीत हो । ‘पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो...’ भन्ने स्थायी त दर्शकका मनमस्तिष्कमा यसरी स्थायी बनेर बस्यो कि ९ वर्षपछि पनि सबैलाई गीतका स्थायीदेखि अन्तरासम्म कन्ठै छ । यही पहिलो रेकर्डिङ (सोलो) ले नै कालीलाई सांगीतिक क्षेत्रमा स्थापित गरायो ।

गीतको चर्चा उतिबेला यति थियो कि यसले फिल्म नै छायामा पार्‍यो । कतिलाई यो गीत ‘रेशम फिलिली’ फिल्मको हो भन्ने नै थाहा थिएन । त्यसै पनि रिलिजकै भोलिपल्ट आएको २०७२ को भूकम्पले फिल्मको प्रदर्शन रोकिएको थियो ।

झन्डै एक दशकपछि फेरि यो फिल्मको सिक्वेल बनाउन तम्सियो, निर्माण टिम । निर्माता रौनक विक्रम कँडेलले ‘फेरि रेशम फिलिली’ बनाउने भन्दै कालीकहाँ यही गीतलाई पुनः सिर्जना गर्ने प्रस्ताव राखे ।

‘यो गीत त नर्सरी राइमजस्तै बनिसकेको थियो । कति जनाको नोस्टालजियासँग जोडिएको छ यो गीत । धेरै फेरबदल पनि गर्नु हुन्न भन्ने थियो । तर, नयाँ भाइभ दिनुपर्छ भन्ने थियो,’ कालीले आफ्ना सुरुवाती चुनौती पोखे । गीतलाई पूर्णतः नयाँ बनाउन उनी चाहन्थेनन् । तर, गीतकार मानस राजले त्यही अडियोका लागि शब्दहरू मिलाए । गीत रिलिजको अन्तिम समयसम्म पनि उनीहरू शब्द रचनामै घोत्लिरहे । ५/६ पटक शब्दहरू फेरबदल गरिरहे ।

उनीहरू गीतको पुरानै भावलाई ती शब्दहरूमा जोगाइरहन चाहन्थे । फिल्मको चरित्र हेर्दै ती भावलाई फेरि ब्युँताउने कोसिसमा लागे । जतिबेला फिल्मका चरित्रका लागि त्यो गीत लेखिएको थियो, अब त ती पात्रहरू पनि परिपक्व हुने भए नै । ९ वर्षपछि उनीहरूमा आउने भावना पनि केही फरक हुने नै भयो । त्यसैले काली र मानसले त्यही भावलाई मध्यनजर गरेर गीतमा काम गरे अनि शब्द रचना गरियो :

पूर्वैको बतासैमा कपाल फरर

राखन न सम्हाली जाली रुमाल...

‘पूर्वैको बतासैमा’ भन्ने शब्द मात्र मैले लेखेको हुँ । यो पटक सबै शब्दहरू मानसले नै लेख्नुभएको हो । ‘जालमा’ मा पनि दुई जनाले मिलेर शब्द लेख्यौं,’ काली सुनाउँछन् । खासमा त्यतिबेला कालीले ‘जालमा’ गीत अरू नै फिल्मका लागि तयार पारेका थिए । तर, उक्त प्रोजेक्टमा यो गीत प्रयोग नै भएन । त्यसपछि यो गीत ‘रेशम फिलिली’ का लागि दिए ।

After a decade, ”again in the trap”

गीतको लय, शब्द र संगीतलाई दर्शकले यसरी रुचाइदिए, ‘कभर डान्स’ को ट्रेन्ड यही गीतबाट सुरु भयो । ‘जालमा’ को अरेन्जमेन्टमा अलमोडा राणा उप्रेतीको जादू पनि मिसिएको थियो । ‘फेरि जालमा’ मा पुरानै गायक/गायिका र उही अरेन्जमेन्ट दोहोरिएका छन् । फरक छन् त केही शब्दहरू मात्रै । ‘पारि त्यो डाँडामा’ जस्तै चलेको ‘हुकलाइन’ बनाउन ‘पूर्वैको बतासैमा’ ल्याइयो । यो गीत बनाउन झन्डै २ महिना लागेको काली सुनाउँछन् ।

‘नयाँ सिर्जना पहिलाको भाइभभन्दा राम्रो हुनै सक्दैन भन्ने हामीलाई थाहा थियो । हामीले साँघुरो घेराभित्र बसेर ठूलो काम गर्नु थियो,’ कालीले सुनाए, ‘केही गीत हामीले सिर्जना गरे पनि ती गीत दर्शकको सम्पत्ति भइदिन्छन् । बिगार्न खोज्यो भन्लान् भन्ने डर थियो, त्यसैले त्यही संवेदनामा बसेर तयार गर्‍यौं ।’ ‘फेरि जालमा’ युट्युबमार्फत सार्वजनिक गरिएको ४ दिनभित्रै १६ लाख बढीले हेरिसकेका छन् । अनि कालीलाई लाग्यो, ‘गीत त व्यापक नै भएछ ।’

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully