लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा सानो उमेरमा नै आफ्नो पहिचान र मुद्दाका बारेमा खुल्न थाल्नु उपलब्धि रहेको यस क्षेत्रका अभियन्ताहरूको भनाइ
काठमाडौँ — लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू आफ्ना मुद्दा समाजमा पुर्याउन सामाजिक सञ्जालले सघाएको बताउँछन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले आफ्नो पहिचान र मुद्दालाई समाजमा बुझाउन सहज भएको उनीहरूको भनाइ छ ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायहरूको आवाज, उपस्थिति, अधिकार र आम सञ्चारमाध्यममा उचित प्रतिनिधित्वबारे कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन द काठमान्डु पोस्टले आयोजना गरेको राउन्डटेबलमा उनीहरूले घरपरिवारदेखि समाजमै आफ्नो समुदायको स्वीकार्यता बढेको जनाए ।
आफ्ना समुदायका हकहितका लागि आन्दोलन गर्नुपर्दा सीमित संख्यामा मात्रै हुने गरे पनि सामाजिक सञ्जालका कारण अहिले उपस्थिति बढ्दै गइरहेको इन्क्लुसिभ फोरम नेपालका अध्यक्ष बद्री पुनले बताए । विगत २० वर्षदेखि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि काम गरिरहेका पुनले पछिल्लो समय आफ्ना पहिचानबारे खुल्न सक्ने अवस्था बनेको सुनाए । ‘लैंगिक तथा यौनिक अल्पसंख्यकले आन्दोलन गर्नुपर्दा पहिला ४/५ जना मात्रै देखिन्थे, अहिले संख्या बढेको छ, गर्वका साथ बाहिर निस्कने अवस्था छ, आफू के हो भनेर खुल्ने माहोल बनेको छ, यो सबै सामाजिक सञ्जालकै कारण हो,’ उनले भने ।
सामाजिक सञ्जालका कारण रोजगारीसमेत पाउन सहज भएको उनीहरू बताउँछन् । सामाजिक सञ्जालका कारण काम पाउनसमेत धेरै सहयोग गरेको समर्पण सभ्य समाज नेपालका वरिष्ठ स्वयंसेवक निर्वाण श्रेष्ठले बताए । पुरुष समलिंगी अभियन्तासमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालकै कारण परिवार र समाजमा आफूहरूको स्वीकार्यता बढेको जनाए । ‘सामाजिक सञ्जालका प्लाटफर्महरूले हामीलाई खुलेर बाहिर आउन र रोजगारी पाउन सजिलो भएको छ, परिवारभित्र पनि स्वीकार्यता बढेको छ,’ उनले भने ।
आफ्ना समुदायकालाई खुलेर अघि आउने वातावरण बनेको क्वेयर अभियन्ता विराट विजय ओझाले बताए । ‘केही वर्षअघिको प्राइड परेडहरूपछि गर्वका साथ साना उमेरकाहरू पनि बाहिर आइरहेका छन्,’ उनले भने, ‘१४/१५ वर्षको उमेरमा म पनि खुल्न सकेको थिइनँ, अहिले उनीहरू खुलेर आउन सक्ने वातावरण बनेको छ ।’ उनीहरूले समलैंगिक विवाह, नागरिकता लिन पाउने व्यवस्था आए पनि कार्यान्वयन प्रक्रिया असहज रहेको टिप्पणी गरे । संविधानले नै व्यवस्था गरेको प्रजनन स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकतादेखि राष्ट्रिय जनगणनाले समेत समुदायका सबै व्यक्तिलाई नसमेटेको उनीहरूले सुनाए । सर्वोच्च अदालतमा समलैंगिक विवाहलाई दर्ता गर्न मिल्ने व्यवस्था रहे पनि अझै कानुनी रूपमा अस्थायी नै रहेको उनीहरूको भनाइ छ । अदालतले फैसला गरे पनि वडा, पालिका तथा जिल्ला अदालतकै कर्मचारीहरू जानकार नहुँदा कार्यान्वयन गर्न असहज भएको समेत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू बताउँछन् ।
समलैंगिक विवाहका लागि छुट्टै कानुन आवश्यक नरहेको भन्दै ब्लु डायमन्ड सोसाइटीका कार्यक्रम अधिकृत पिटर राईले विद्यमान कानुनलाई लैंगिक तथा यौनिक अल्पसंख्यकमैत्री बनाइनुपर्ने बताइन् । ‘समलैंगिक विवाहका लागि छुट्टै कानुन चाहिँदैन, विद्यमान कानुनलाई लैंगिक तथा यौनिक अल्पसंख्यकमैत्री बनाउँदा हाम्रा समस्याहरू समाधान हुन्छन्,’ उनले भनिन् ।
नागरिकता, विवाहलगायतलाई लिएर आएका कानुनहरूको पनि कार्यान्वयनको पाटो कमजोर रहेको यौनिक तथा लैगिक अल्पसंख्यक महासंघ, नेपालका सदस्य अनमोल राईले सुनाइन् । मिस पिंक नेपाल, २०२४ की विजेतासमेत रहेकी राईले संविधानले व्यवस्था गरेको स्वास्थ्य, शिक्षा, प्रजननलगायत आधारभूत आवश्यकता पनि आफूहरूले सहज रूपमा उपभोग गर्न नपाएको बताइन् । ‘समलैंगिक विवाह, नागरिकताहरू लिन पाउने व्यवस्था आएको छ, तर कार्यान्वयन हुन सकेको छैन,’ उनले भनिन् । पारालैंगिकहरूको मुद्दामा हर्मोन प्रतिस्थापन थेरापीमा प्रयोग हुने औषधि तथा सेवाहरू नपाइने र पाइए पनि महँगो हुने गरेको उनको गुनासो थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ०.०१ प्रतिशतमात्रै लैंगिक तथा यौनिक अल्पसंख्यकहरू छन् । यो तथ्यांक अझै बढी हुनुपर्ने उनीहरूको भनाइ छ । जनगणनामा छरछिमेक नै गणक भएर आउँदा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरू छुटेको क्वयेर युथ ग्रुपका कार्यक्रम अधिकृत छेसाङ घिसिङको तर्क छ । ‘जनगणना गर्न आउने मान्छे छिमेकीहरू नै हुन्छन्, तर के कस्तो हो भनेर सोध्दैनन्,’ उनले थपिन्, ‘उनीहरूले जे जसरी हेरे, देखे, त्यही अनुसार गर्छन् । जस्तै, पहिला म छोरी थिएँ भने छोरी नै लेख्छन्, जान्छन् ।’
यस्ता विविध प्रक्रिया तथा समस्याका कारण वास्तविक तथ्यांक आउन नसकेको घिसिङको तर्क छ । सरकारले ५ प्रतिशतभन्दा मुनिको जनसंख्यालाई अल्पसंख्यकमा गणना गर्ने भए पनि आफूहरूले केही आरक्षण नपाएको इन्क्लुसिभ फोरम नेपालका अध्यक्ष पुनले गुनासो गरे । ‘५ प्रतिशतभन्दा मुनिका समुदायलाई अल्पसंख्यकमा राखिन्छ, अन्य अल्पसंख्यक समुदायलाई आरक्षणको व्यवस्था छ । तर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई कुनै आरक्षण छैन,’ उनले भने ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसँगै उक्त समुदायभित्रका अपांगता भएकाहरूको पनि यकिन तथ्यांक नभएको रेन्बो डिस्याबिलिटी नेपालका सदस्य तथा दृष्टिविहीन महिला समलिंगी प्रतीक्षा चापागाईंले बताइन् । ‘लैंगिक तथा यौनिक अल्पसंख्यकभित्र पनि धेरै अपांगता भएकाहरू छन्, उनीहरूको कुनै तथ्यांक नै छैन,’ उनले भनिन्, ‘पछिल्लो समय हामीले गरेको प्रारम्भिक अध्ययनले काठमाडौंमा मात्रै १ सय ६८ जना देखिएको छ, देशभरिको तथ्यांक नै छैन ।’ अधिकांश परिवारभित्र स्वीकार गर्न गाह्रो भए पनि पहिलाको तुलनामा अलि सजिलो हुन थालेको उनको बुझाइ छ । मितिनी नेपालका कार्यक्रम अधिकृत विमला गुरुङले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई स्वीकार गर्ने देशमा दक्षिण एसियामा नेपाल दोस्रो रहेको बताइन् । नागरिकतादेखि अस्थायी विवाह दर्तासम्म धेरै कानुनी व्यवस्था भइरहेको उनले बताइन् ।
संवैधानिक अधिकार पनि पूर्णरूपमा प्रयोग गर्न नपाएका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायहरूका बारेमा सञ्चारमाध्यममा समेत रमाइलोका लागि मात्रै समाचार आइरहेकोमा उनीहरूले गुनासो गरे । लेखक तथा अनुसन्धातासमेत रहेका ओझाले लैंगिक तथा यौनिक अल्पसंख्यकको समुदायबारे समाचार लेख्न सबै सञ्चार गृहमा सोही समुदायको प्रतिनिधि राख्नुपर्ने बताए । ‘सञ्चार गृहमा पूर्णकालीन कर्मचारी नभए फ्रिलान्सरका रूपमा पनि उक्त समुदायका मान्छेलाई राख्नुपर्यो,’ उनले भने, ‘हाम्रो समुदायको समाचार लेख्दा शब्द चयनमा ध्यान दिनुपर्यो, रमाइलो र सधैं नकारात्मक समाचार मात्रै लेख्नु भएन ।’
ब्लु डायमन्ड सोसाइटी नभएको भए लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई बाहिर आउन अझै गाह्रो हुने समर्पण सभ्य समाज नेपालका सचिव तथा पारालैंगिक अभियन्ता हनी महर्जन स्मरण गर्छिन् । ब्लु डायमन्ड सोसाइटीकै कारण उपत्यकाभित्रकै कीर्तिपुरमा आफूलाई खुल्न सहज भएको उनले सुनाइन् । महर्जनले स्थानीय तह उपनिर्वाचन २०८१ मा कीर्तिपुर नगरपालिकामा मेयर पदमा उम्मेदवारीसमेत दिएकी थिइन् । कानुन बनाउने तहमा समुदायको प्रतिनिधित्व भए मात्रै अझै सहज हुने भन्दै चुनावमा उम्मेदवारीसमेत दिएको उनले सुनाइन् । ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट कीर्तिपुर नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएको गुगलमा आउँदा खुसी लाग्छ,’ उनले भनिन् ।
