कालिका मन्दिरमा सुरु भयो चैतेदसैंको रौनक

चैत्र १९, २०८१

प्रकाश बराल

The festivities of Chaitedsain began at Kalika Temple

बागलुङ — चैतेदसैं बागलुङे मेलैमाज्यादै माया बस्यो नि ख्यालख्यालैमाचैतेदसैंको रौनकबारे चर्चित लोकगायक तिलकबम मल्लले उहिल्यै गीत गाएका थिए । यो वर्ष पनि बागलुङ कालिका मन्दिरमा चैतेदसैं मेला हुने भएको छ । चैत २० देखि २५ गतेसम्म दसैं मेला लाग्ने भएको हो । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाको व्यवस्थापन गरेको हो ।

सयौं वर्षदेखि मेला लाग्दै आएको कालिकामा गुठीले व्यवस्थापन गराउने अध्यक्ष कुमार खड्काले बताए । मेला व्यवस्थापनका लागि गुठीले स्थानीय रामरेखा सामुदायिक वन लगायतका संस्थाको पनि समन्वय गर्नेछ । त्यसबाहेक बागलुङ युनिटी क्लबले कालिका परिसरमै वैशाख २ गतेसम्म नयाँवर्ष मेला पनि आयोजना गरेको छ ।

चैत्र शुक्ल प्रतिपदादेखि नै मन्दिरमा चहलपहल सुरु भएकामा बुधबारदेखि भने विशेष मेलाकै आयोजना गरिएको खड्काले बताए । देशभरबाट मेलाको अवलोकन तथा कालिकाको पूजाका लागि भक्तजन आउने भएकाले मेलालाई विशेष पर्वका रुपमा लिने गरिएको छ । चैतेदसैंको प्रतिपदादेखि रामनवमीसम्म ५ लाख भक्तजन तथा आन्तरिक पर्यटक आउने अनुमान छ ।

चैतेदसैंकै अवसर पारेर गाउँगाउँ र विभिन्न जिल्लाबाट आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको पनि व्यवस्था गरेको छ । मेलामा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता र छेलोसमेत खेलाइने छ । The festivities of Chaitedsain began at Kalika Temple

मेलामा ग्रामीण किसानले उत्पादन गरेका काठ, बाँस र बेतबाट बनाएका सामानको बिक्री गरिने चलन छ । ठेका, डाला र नाङ्ला किन्न पाइने भएकाले गाउँगाउँबाट सयौं आउने गरेका छन् । मेला सुरु हुनु साताअघि नै यहाँ ग्रामीण क्षेत्रबाट साना व्यवसायी आइसकेका छन् । 

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर यहाँ मेला र पूजा सुरु भएको पाइन्छ । अहिलेसम्म बागलुङ कालीका बारेमा तीनवटा मात्र पुराना लेखोट फेला परेका छन् । मन्दिरको भित्तामा १४ वटा विभिन्न शक्तिका मूर्ति कुँदिएका छन् । प्यागोडा शैलीमा निर्मित मन्दिर जंगलको बीचमा रहेको छ । १०८ वटा तामाका दियो जडित मन्दिरलाई तामाकै छानाले छाइएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully