दोलखा — रैथाने खाना प्रवर्द्धन गर्न चरिकोटमा आइतबारबाट सडक खाना महोत्सव सुरु भएको छ । ‘सडकमा खाऔं सडकमा रमाऔं’ नारा दिइएको महोत्सवमा रैथाने परिकारदेखि अन्य परिकारका स्टल राखिएका छन् ।
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले रैथाने खानको स्वाद लिएर शुभारम्भ गरेका थिए । चेम्बर अफ कमर्स दोलखा र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा भएको महोत्सव तीन दिनसम्म चल्नेछ ।
महोत्सवमा आइतबार विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । रैथाने खाना चिनाउन र नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकलाई लक्षित गरेर सडक खाना महोत्सव आयोजना गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीले बताए ।
‘दोलखामा नयाँ वर्ष मनाउन आएका पर्यटकलाई लक्षित गरेर खाना महोत्सव आयोजना गरेका हौं,’ बुढाथोकीले भने, 'आइतबार मध्यरात आतिसबाजी गरेर यो वर्षको बिदाइ र नयाँ वर्षलाई सांगीतिक कार्यक्रमसहित स्वागत गर्नेछौं ।
यसैबीच, नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकका कारण कालिञ्चोक, जिरी, शैलुङ,चरिकोट लगायतका पर्यटकीय क्षेत्रका होटल यतिबेला भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकले होटल भरिएको कालिञ्चोकका व्यवसायी हरि ओलीले बताए ।
