दिल्लीमा नेपाली परिवारले भोगेको संकट
नयाँदिल्ली — खोटाङकी मीना तामाङ सुत्केरी भएको १२ दिन मात्र भयो । भर्खरै जन्मेकी छोरीका लागि भए पनि उनले पोसिलो कुरा खानुपर्ने हो । तर, लकडाउनका कारण दुई छाक सादा दालभात जुटाउन पनि हम्मे छ । छोरीले पुग्दो गरी आमाको दूध खान पाएकी छैनन् । ‘खोइ दुई छाक खानै मुस्किल छ, पोसिलो खान पाए पो दूध आउँथ्यो,’ मीनाले भनिन् ।
दिल्लीछेउको नोयडा, भंगेलमा बस्छ मीनाको परिवार । तीन महिनाअघिसम्म दुःखजिलो गरी चलिरहेकै थियो । तर परिस्थिति यसरी बदलियो कि उनीहरूमाथि दुःखको पहाडै खसेको छ । पति सञ्जय चार वर्षदेखि इन्दौरको पार्टी प्यालेसमा काम गर्थे । अढाई र दश वर्षका दुई छोरी हुर्किंदै थिए । पतिको कमाइले जेनतेन थेगिरहेको थियो ।
छोरीहरूको हेरचाहकै लागि मीनाले एक वर्षअघि काम छाडेकी थिइन् । सञ्जय पार्टी प्यालेसका चाइनिज कुक हुन् । क्याटरिङमा त्यसै पनि ६ महिना खाली हात बस्नुपर्छ । त्यसैले त्यो समयमा पूरै परिवार गाउँ फर्कने योजना बनाउँदै थिए ।
होलीको केही दिनअघि सञ्जय गर्भवती पत्नीको हेरचाह गर्न भनी बिदा लिएर दिल्ली आए । तर केही दिनपछि नै भारतभरि कोरोना फैलिन थालिहाल्यो । देश लकडाउन गरियो । यसले पूरै परिवारलाई कहिल्यै नसोचेको संकटमा धकेलिदियो । भएको बचत पनि सकिएपछि उनीहरूलाई छाक टार्न मुस्किल छ । खाद्यान्न पसल खुले पनि पैसा नहुँदा किन्न सकेका छैनन् । घरबेटीले सोझै निस्की त भनेका छैनन् । तर पुरानो भाडा नदिएसम्म पानी दिन्नँ भन्न थालेका छन् ।
लकडाउनले समस्या परेकालाई स्थानीय प्रशासनले राहत दिन्छ । तर, उनीहरूसँग रासन कार्ड नभएकाले त्यो पनि पाएका छैनन् । ‘आधार कार्ड छैन तिमीहरूको, त्यही भएर दिन मिल्दैन भने,’ मीनाले भनिन् । राहत नपाएपछि उनीहरूले प्रवासी नेपालीलाई गुहारे । केही मनकारीले सहयोग पनि गरे । तर, लकडाउन लम्बिँदै जाँदा राहत बाँड्नेहरू थाक्दै गए । यता भएको राहत पनि सकिन थाल्यो ।
सुरुमा ३ मेसम्म मात्र लकडाउन हुने भनिएकाले उनीहरूले जेनतेन धानिरहेका थिए । त्यसपछि घर जाने योजना थियो । तर, थप दुई सातालाई लकडाउन लम्बिएपछि मीना र सञ्जयको छटपटी अझ बढेको छ । पाएको राहत मुस्किलले दुई–तीन दिनलाई पुग्छ ।
मीनालाई आफ्नो भन्दा पनि छोरीहरूको चिन्ताले बढी पिरोलेको छ । ‘काखकी त भइहाली, अरू दुइटीले पनि पेटभरि खान पाएका छैनन्,’ उनले भनिन् । दुई छोरीले दिउँसो खाजाको मुख नदेखेको दुई महिना हुन लाग्यो । ‘खाजा कहाँबाट दिनू, त्यही बिहान–साँझको दालभात त नपाउने हुन थाल्यो,’ उनले भनिन् ।
तर, आमाको मन न पर्यो । बेलाबखत छोरीहरूको मुख हेर्छिन् । भोकै पेट भए पनि उनीहरूको अनुहारमा झल्किने मुस्कानले उनलाई थप खपिनसक्नु हुन्छ । तर, उपाय पनि छैन । न छोरीहरूलाई खाजा किनेर दिने पैसा छ न कसैसामु हात थाप्न सक्छिन् । ‘छोरीहरूलाई कहिलेसम्म यसरी राख्नू, सोच्दा पनि कहाली लाग्छ,’ उनले भनिन्, ‘एक्कासि नसोचेको दुःख भोग्नुपर्यो । अब कहिलेसम्म हो ? सरकारसम्म कसरी पुर्याउने हाम्रो दुःख ? सोच्न पनि सक्दिनँ ।’
