बहराइचको क्‍वारेन्टाइनमा ३० नेपाली

१२ जनाको पीसीबर रिपोर्ट नेगेटिभ आए पनि घर फर्किन पाएनन्

वैशाख २४, २०७७

कमल पन्थी

बर्दिया — बर्दियासँग जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लाको मिहिंपुरुवास्थित विभिन्न चार वटा विद्यालयको क्वारेन्टाइनमा तीस जना नेपाली करिब एक महिना देखि बस्दै आएका छन् ।

तीमध्ये १२ जनाको पीसीआर परीक्षण नेगेटिभ देखिएको छ । रिपोर्ट नेगेटिभ देखिए पनि उनिहरु भने नेपाल फर्कने वातावरण नभएका कारण क्वारेन्टाइनमा रहेको स्थानीय सञ्चारकर्मी सतिश कुमारले बताए । उनीहरु करिब एक महिनाअघि लखनउबाट हिँडेर नानपारा आएका थिए । उनीहरुलाई भारतीय सुरक्षा अधिकारीले मिहिंपुरुवास्थित क्वारेन्टाइनमा पठाएका थिए । १२ जनामध्ये बर्दियाका दुईबाहेक प्यूठान, सल्यानलगायत जिल्लाका छन् । 

तीन दिनअघि दैलेख, सुर्खेत, तनहुँ, स्याङ्जालगायत जिल्लाका १८ जना लखनउ, दिल्ली र मुम्बईबाट रुपैडिहातर्फ आउन लाग्दा भारतीय प्रहरीले नानपाराबाट नियन्त्रणमा लिई मिहीपुरुवास्थित क्वारेन्टाइनमा पठाएको छ । मिहिंपुरुवास्थित कस्तुरवा बालिका विद्यालय, नवयुग इन्टर कलेज, सर्वोदय महाविद्यालय र लिटिल एन्जेल्स विद्यालयमा राखिएको सञ्चारकर्मी सतिश कुमारले टेलिफोनमा जानकारी दिए । क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरेकाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुले स्वदेश फर्कन नपाउँदा निकै कष्टकर जीवन बिताउन बाध्य भएको गुनासो पोखेका छन् ।  

उनीहरुले करिब ३/४ सय किलोमिटर हिँडेर त कतै ट्रक चढेर आएको बताएका छन् । १८ जनाको पीसीआर गरिएको छैन । सम्भवत: बिहीबार गरिने भएको छ । क्वारेन्टाइनमा एक महिलासहित सबै पुरुष रहेका छन् । नेपाली महिलासँगै उनका श्रीमान् क्वारेन्टाइनमा रहेका छन् । उनीहरुले नेपाल सरकारले स्वदेश फिर्ता गरी त्यहीँको क्वारेन्टाइनमा राख्न भारतीय अधिकारीसँग माग गरेका छन् । हाम्रा माग छिमेकी जिल्ला बर्दियाका प्रशासनलाई पुऱ्याइदिन भारतीय अधिकारीलाई आग्रह गरेका छन् । भारतको मिहीपुरुवा सदरमुकाम गुलरियाबाट करिब ३० किमी दक्षिण पूर्वमा पर्छ । 

यसैगरी गुलरिया नगरपालिका–३ का दुई महिला र एक पुरुष मिहीपुरुवास्थित क्वारेन्टाइनमा बसेर सीमावर्ती सलारपुरमा आएका छन् । सलालपुर भारतीय गाउँबाट उनीहरु घर फर्कन नपाएपछि त्यहाँका ग्राम पञ्चायतले दुई रात खाने र बस्ने व्यवस्था गरेका थिए ।

लामो समयसम्म खाने, बस्ने व्यवस्था गर्न असम्भव भएपछि उनीहरुले बर्दिया आएर पुन: क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन नगर प्रमुख मुक्तिनाथ यादवसँग आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सीमा नाका बन्द भएकोले जो सुकै भए पनि स्थिति साम्य नभएसम्म बर्दिया ल्याउन नमिल्ने बताए । यसैबीच गुलरियासँग जोडिएको भारतीय नाका चित्तलहवा हुँदै १९ वर्षीय एक युवक भित्रिएका छन् । सुरक्षाकर्मीलाई छल्दै आएका गुलरिया–८ ती युवालाई आइसोलेसनमा राखिएको छ ।

बुधबार बिहान भारतको कानपुरबाट आएका एक नेपालीलाई एसएसबीले गुलरिया पस्न नदिई फिर्ता पठाएको छ । उनले नेपाली दूतावासबाट नेपाल प्रवेश गर्ने पत्र लिएर आए पनि एसएसबीले बर्दिया–बहराइच जिल्लाका डीएम र केन्द्रीय सरकारको अनुमति नआएसम्म प्रवेश गर्न दिन नमिल्ने बताएको प्रहरी स्रोतले बतायो ।

लकडाउनकोरोना भाइरससीमानाका

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully